थरुहट नेताहरू आन्दोलनमा सँगसँगै, चुनावी मैदानमा एक्ला एक्लै
मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवारहरू अन्तिम कसरतमा छन् । आ–आफ्नो पक्षमा मत केन्द्रित गर्न हरसम्भव भगीरथ प्रयत्नमा उम्मेदवारहरू लागेका हुन् ।
दलीय उम्मेदवार जस्तै कैलाली जिल्लामा थरुहट/थारूवानलगायत पहिचान आन्दोलन हाँकेर आफ्नो राजनीतिक छवि बनाउन सफल पहिचान आन्दोलनका सारथीहरूलाई पनि चुनावी धपेडी छ ।
आन्दोलनमा प्रायः एकै मोर्चामा देखिने अनुहारहरू निर्वाचनमा भने एक्ला एक्लै चुनावी मैदानमा होमिएका छन् । पहिलो हुने (प्रत्यक्ष) निर्वाचन निर्वाचन प्रणालीभन्दा समानुपातिकतर्फ उम्मेदवार रहेकाहरू पनि दौडधुपमा छन् । थरुहट/थारूवानलगायत पहिचान आन्दोलनमा कम्मर कसेर लागेकाहरू को को छन् त चुनावी मैदानमा ?
भानुराम थारु
भानुराम थारु (६७), थरुहट आन्दोलनको पर्यायवाची झैँ छन् । लामो समयदेखि थरुहट, आदिवासी जनजाति आन्दोलनको अग्रपङ्क्तिमा देखिने उनी पनि चुनावी मैदानमा छन् ।

नेपाल लोकतान्त्रिक पार्टीका केन्द्रीय अध्यक्ष समेत रहेका भानुराम आफ्नै पार्टीबाट समानुपातिक उम्मेदवार छन् ।
कैलारी गाउँपालिका–१ रानामुडाका उनले सप्तरी, सुनसरी, मोरङ, सिरहा, धनुषा, महोत्तरी, रौतहट, बारा, पर्सा, नवलपुर, नवलपरासी, रुपन्देही, सुर्खेत, कैलालीलगायत जिल्लामा पार्टीका उम्मेदवार रहेको बताए ।
समग्रमा हालको संविधान स्वीकार नगरिएकोले संविधान संशोधन जरुरी रहेको बताउने उनी संविधानमा अस्वीकार गरिएको बुँदा कार्यान्वयन गर्न आफूहरू आन्दोलनरत रहेको सुनाए ।
उनले भने, ‘हाम्रो माग पहिचानसहितको भूगोल, भूगोलसहितको प्रादेशिक संरचना १० जोड १ हुनुपर्ने हो । मौजुदा सुदूरपश्चिम प्रदेश संरचनालाई स्वीकारेका छैनौ । तर बाध्यात्मक अवस्थाले मान्नुपर्ने अवस्था भएकाले कानुन निर्माणमा जोड दिनुपर्ने माग हो ।’
गच्छदार नेतृत्वको मधेसी जनाधिकार फोरम लोकतान्त्रिक र थरुहट तराई पार्टी नेपालको २०७४ वैशाख ७ मा एकीकरणपछि नेपाल लोकतान्त्रिक फोरम गठन भयो, जसको अध्यक्ष गच्छदार र सहध्यक्ष भानुराम थारु थिए ।
२०७४ को स्थानीय तह निर्वाचनमा नेपाल लोकतान्त्रिक फोरमले समानुपातिकतर्फ सवा लाख भोट पायो । ४६६ जना निर्वाचित प्रतिनिधि थिए ।
तर गच्छदारले २०७४ असोज ३० गते फोरमलाई काँग्रेसमा विलय गराए । तर भानुराम थारूलगायत नेताहरू गच्छदारको सँगै काँग्रेसमा नगई २०७४ फागुन १२ गते नेपाल लोकतान्त्रिक पार्टीको नाममा पार्टी पुनर्गठन गरे । पुनर्गठित पार्टीको अध्यक्ष आफै रहेका थारूले २०७५ साउन ३० गते निर्वाचन आयोगमा दर्ता गरे ।
गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले पाएको ‘नमस्ते’ चुनाव चिन्ह नेपाल लोकतान्त्रिक पार्टीले पाएको छ । यसको सहअध्यक्ष गीता राणा छिन् ।
धनुषा निर्वाचन क्षेत्र नं. ४ मा डा. कृष्णचन्द्र प्रसाद साह, नवलपरासीको निर्वाचन क्षेत्र नं. २ धर्म चौधरी र सप्तरीको निर्वाचन क्षेत्र नं. १ श्रवण थारुलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको सो पार्टीले ३ सिट जित्ने दाबी गरेको छ ।
इन्दु थारु
पहिचान तथा अधिकारवादी आन्दोलनकी प्रखर वक्ता, लेखिकाको रूपमा आफ्नो पहिचान बनाएकी इन्दु थारु (३३) पनि चुनावी मैदानमा छिन् ।
वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनदेखि कैलालीमा उदाएको नागरिक उन्मुक्ति पार्टीबाट उनी प्रतिनिधि सभा सदस्यको लागि समानुपातिक उम्मेदवार छिन् ।

उनले भनिन्, ‘थरुहट आन्दोलन तथा टीकापुर विद्रोहबाट नागरिक उन्मुक्ति पार्टीको जन्म भएको हो । खास गरी न्याय, पहिचान र विकासको लागि सो पार्टीबाट मेरो उम्मेदवारी हो ।’
इन्दु थारु २०६२/२०६३ जनआन्दोलन हुँदै आदिवासी थारु जातिलाई मधेसीको रूपमा करार गरेपछि त्यसको विरुद्धमा अग्रमोर्चामा आफूलाई उभ्याइन् ।
संविधान लेखनको क्रममा भएको थरुहट/थारुवान् आन्दोलनमा पनि नेतृत्वदायी भूमिकामा रहेको उनी थारु, दलित, महिला अधिकारको क्षेत्रमा वकालत गर्दै आएकी छिन् ।
कैलालीको कैलारी गाउँपालिका–१ रानामुडाकी इन्दु १० वर्षे सशस्त्र जनयुद्धको शहीद परिवारकी हुन् । उनी जनयुद्धताका तत्कालीन शाही सेनाको कारवाहीमा परेर ज्यान गुमाएका कम्युनिष्ट नेता एवं प्रगतिवादी लेखक जोखन चौधरीकी छोरी हुन् । जोखन चौधरीलगायतका समूहले त्यसताका भूमिगत अवस्थामै क्रान्तिकारी विचारधारा बोकेको ‘मुक्तिक डगर’ म्यागजिन प्रकाशन तथा सम्पादन गर्दै आएका थिए ।
बुवाको लेखन र विचारबाट प्रभावित इन्दुले आफ्नो बुवालाई नै प्रेरणाको स्रोत मानिन्छन् । उनी निलम्बित निबन्ध (लेख संग्रह) र बुवाले प्रकाशसन गरेको मुक्तिक डगर म्यागजिन प्रकाशन गरेकी छिन् ।
तर उनी माओवादी पार्टीमा आबद्ध नभइ रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीमा क्रियाशील छिन् ।
माओवादी पार्टीमा तपाईंको परिवारको ठूलो बलिदानी छ । बुवा आबद्ध पार्टीमा नलागेर नागरिक उन्मुक्ति पार्टी किन अँगालेको भन्ने जिज्ञासामा उनले भनिन्, ‘मेरो बुवाले देश र जनताको लागि रगत बगाउनुभएको हो । तर कसैको कुर्सीको लागि होइन । माओवादी पार्टीले आफ्नो मुद्दा बिर्सिँदै गयो । संविधान नै विभेदकारी ल्याउनमा भूमिका माओवादीको छ । निर्दोष थारुलाई ठग्ने, जेल कोच्ने काम भयो । यसकारण मेरो रोजाइ नागरिक उन्मुक्ति बन्यो ।’
माधव थारु
थरुहट/थारुवान् आन्दोलनको हरेक मोर्चा तथा आन्दोलनमा अग्रपङ्क्तिमा देखिने अनुहार हो माधव थारु । उनलाई पनि चुनावी चटारोले भ्याइ नभ्याइ छ । नेपाल लोकतान्त्रिक पार्टीको जिल्ला अध्यक्षसमेत रहेका उनी प्रदेश सभा सदस्यतर्फको समानुपातिक बन्द सूचीको पहिलो नम्बरमा छन् ।
कैलालीको गोदावरी नगरपालिका–८ फकलपुरका उनको राजनीतिक जीवन २०६४ देखि विद्यार्थी राजनीतिबाट सुरु भएको हो ।
थरुहट तराई पार्टी नेपाल हुँदै नेपाल लोकतान्त्रिक फोरम र हाल नेपाल लोकतान्त्रिक पार्टीबाट राजनीतिमा सक्रिय उनी थरुहट/थारुवान् संयुक्त संघर्ष समिति कैलालीका प्रवक्ता, थरुहट/थारुवान् मोर्चाका संयोजक तथा थारु कल्याणकारिणी सभा कैलालीका कार्यवाहक सभापति पनि हुन् ।

उनले हालको संविधान अपूर्ण रहेको बताउँदै त्यसमा संशोधनसहित समानुपातिक निर्वाचन प्रणालीमा सुधार ल्याउनुपर्ने, राज्यको हरेक निकायमा समानुपातिक प्रतिनिधित्वको सुनिश्चिता, टीकापुर मुद्दा राजनीतिक रूपमा समाधान गर्नुपर्ने एजेण्डाका साथ चुनावमा होमिएको बताए ।
विकास चौधरी
टीकापुर नगरपालिका–१, टीकापुरका बालकृष्ण चौधरी ‘विकास’ माओवादीको तर्फबाट सुदूरपश्चिम प्रदेश सभातर्फ समानुपातिकको थारु कोटामा पहिलो नम्बरमा छन् । आफै उम्मेदवार भएपछि प्रत्यक्षतर्फका उम्मेदवारहरूको लागि भोट माग्न चटारो छ उनलाई ।
नेकपा माओवादी केन्द्रका प्रदेश समिति सदस्य तथा थारु राष्ट्रिय मुक्ति मोर्चाका प्रदेश सचिव रहेका विकास चौधरीको पार्टीभित्रै विद्रोही छवि छ ।

जनयुद्धका घाइते समेत रहेका उनी पहिलो संविधान सभाबाट पहिचानसहितको संघीयता, संघीयतासहितको संविधान नबनेपछि मोहन वैद्य नेतृत्वको माओवादी ड्यासमा आबद्ध भए । पछि नेत्रविक्रम चन्द –विप्लव) र वैद्यबीच पनि फुटको अवस्था आएपछि उनी पुनः प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा फर्किए ।
२०७२ को संविधान अझै अपूरो रहेको, राज्य पुनसंरचना सर्वस्वीकार्य नरहेको उनको बुझाइ छ । राज्य पुनःसंरचनामा थरुहट पक्षधरलाई उपेक्षा गरेकोले पार्टीभित्र अन्तरसंघर्ष गर्दै आएको बताउने उनी थरुहट आन्दोलनको हरेक मोर्चामा अगाडि हुन्छन् । आफू प्रदेश सभा सदस्य भएमा यिनै मुद्दा उठान गर्ने उनको भनाइ छ ।
उर्मिला चौधरी
जनयुद्धकालीन प्रखर गायिका एवं एक लडाकु उर्मिला चौधरी ‘प्रतिक्षा’ पनि नेकपा माओवादी केन्द्रबाट प्रदेश सभाको समानुपातिक उम्मेदवार हुँदा प्रत्यक्ष तर्फका उम्मेदवारसँगै घरदैलोमा छिन् ।
जनयुद्धताका जिल्ला जनसाँस्कृतिक संघ कैलालीकी संयोजक समेत रहेकी उर्मिलाले जनवादी गीतमार्फत क्रान्तिको बिगुल फुक्ने आफूहरू कता–कता सामाजिक संरचनामा रुमल्लिएको अनुभूति गर्छिन् ।
उनले भनिन्,‘हाम्रा एजेण्डा अधुरै रहे । कहाँ गए थारुवान् राज्य र महिला अधिकारका एजेण्डा ? पार्टी धेरै पटक सरकारमा गयो तर आफ्नो एजेण्डा लागु गर्न सकेन । हुँदाहुँदै विद्यमान सामाजिक संरचनाले अझै पनि महिलालाई अधिकार दिनुपर्छ भन्ने मान्यतामा गएको देखिन्न ।’ आफू प्रदेश सांसद भएको अवस्थामा ती आधुरा सपना पूरा गर्न आवाज उठाउने बताउँछिन् ।

धनगढी उपमहानगरपालिका–१९ फूलबारीमा २०३९ मङ्सिर २२ गते जन्मिएकी उर्मिला१६ वर्षकै उमेरमा २०५७ साउन ११ गते माओवादीले सञ्चालन गरेको जनयुद्धको क्रममा भूमिगत भएकी थिइन् ।
उनी जिल्ला जनसाँस्कृतिक संघ कैलालीकी संयोजक थिइन् । उनी र उनको टीम हरेक मोर्चामा जनवादी गीत गुनगुनाउन पुग्थ्यो । महिला हिंसा, घरेलु हिंसा, विभेद तथा सबैखाले विकृतीका विरुद्ध वस्ती–वस्तीमा गीतमार्फत् जनजागरण अभियान सञ्चालन गरेको उनी स्मरण गर्छिन् ।
हाल उनी नेकपा माओवादी केन्द्रको कैलाली जिल्ला समन्वय समिति सदस्य र अखिल नेपाल महिला संघ क्रान्तिकारीको केन्द्रीय सदस्य छिन् ।
आफूहरूको एजेण्डा अधूरै रहेको बताउने उनी क्रान्तिका बिगुल फुक्ने कालजयी गीतहरू, जनयुद्धताका एजेण्डाहरू, सहयोद्धा शहीदका चित्कारहरू आफूलाई रातदिन झस्काउने गरेकोले कार्यान्वयन गर्ने स्थानमा पुगे ती सपना पूरा गर्ने आफ्नो उद्देश्य रहने बताउँछिन् ।
थरुहट आन्दोलनकारी समूह छिन्नभिन्न रूपमा चुनाव लड्दा अधिकार पाउन नसकेको अधिकारकर्मी दिलबहादुर चौधरी बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण