शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

फिफा विश्वकपमा नसोचेका टिमले जितेका ती चर्चित खेलहरू

बिहीबार, ०८ मङ्सिर २०७९, ११ : १२
बिहीबार, ०८ मङ्सिर २०७९

एजेन्सी । कतारमा जारी विश्वकपमा साउदी अरेबियाले दुई पटकको विश्वकप विजेता अर्जेन्टिनालाई २–१ ले पराजित गर्दै फिफा विश्वकप इतिहासको नसोचेको परिणाम निकाल्यो । 

अर्जेन्टिनाले गरेका ती तीन गोललाई अफ–साइड घोषित नगरेको भए फिफा वरियतामा ५१औँ स्थानमा रहेको साउदी टोलीले पहिलो हाफमै खेल गुमाइसक्ने थियो । तर साउदीका खेलाडीले हाफ टाइमपछिको १० मिनेटभित्र दुई गोल गर्दै फुटबल इतिहासमा अभूतपूर्व जित हात पारे । 

बुधबार जापानले जर्मनीलाई २(१ गोल अन्तरले हराएको छ । बुधवार भएको पहिलो खेलमा पहिलो हाफमा १(० ले पछि परेको जापानले पुनरागमन गरेको थियो । 

यस्ता खेलले विश्वकपलाई विशेष बनाउँछ । विश्वकप इतिहासमा नसोचेको परिणाम निस्किएको यो पहिलो पटक भने होइन । बीबीसीले यस्ता १० खेलहरूबारे चर्चा गरेको छ :ः

२००२ : दक्षिण कोरिया २, इटाली १

सन् २००२ को विश्वकप दक्षिण कोरियाका लागि एउटा सुन्दर सपना जस्तै रह्यो । यस प्रतियोगितामा टिम एकपछि अर्को खेल जित्दै सेमिफाइनलमा पुगेको थियो । यसै क्रममा कोरियाली टोलीले नकआउट चरणमा इटालीलाई २–१ ले हराएर सनसनी मच्चाएको थियो ।

रोचक के थियो भने दक्षिण कोरियाका आन जाङ्घ्वा इटालीको क्लब पेरुगियाबाट खेल्थे र विश्वकपअघिका पछिल्ला दुई सिजनमा उनलाई क्लबबाट एक खेल पनि खेल्ने मौका दिइएको थिएन । उनै आनले इटालीविरुद्धको अतिरिक्त समयमा स्वर्ण गोल गर्दै दक्षिण कोरियालाई अन्तिम आठमा पुर्‍याएका थिए ।

उनको एक गोलले जियानलुइगी बुफोन, पाओलो माल्डिनी र अलेसेन्ड्रो डी पिएरो जस्ता सुपरस्टारहरूको टोलीलाई धराशायी बन्यो । घरेलु दर्शक सामु दक्षिण कोरियाले क्वार्टरफाइनलमा इटालीलाई हराएको थियो ।

२०१४ः नेदरल्याण्ड ५, स्पेन १

सन् २०१४ को विश्वकपको उद्घाटन खेल स्पेनले कहिल्यै बिर्सने छैन । ब्राजिलमा भएको उक्त विश्वकपमा नेदरल्याण्ड्सले डिफेन्डिङ च्याम्पियनलाई ५–१ ले हराएको थियो । यो कुनै पनि डिफेन्डिङ च्याम्पियनले भागेको सबैभन्दा ठुलो हार थियो । नेदरल्याण्डलाई हराएर स्पेन सन् २०१० को विश्वकप बिजेता बनेको थियो । चार वर्षपछि नेदरल्याण्डले यसैको बदला ठुलो अन्तरको जितमार्फत लियो ।

५१ वर्षमा पहिलो पटक स्पेनले पाँच वा सोभन्दा बढी गोल खाएको थियो । एलन शियरर २०१४ को विश्वकप स्पेनका लागि राम्रो नभएको बताउँछन् । अर्को खेल पनि हारेपछि डिफेन्डिङ च्याम्पियन बाहिरिएको थियो । लिनेकरका अनुसार त्यस दिन नेदरल्यान्ड्स हरेक हिसाबले स्पेन भन्दा राम्रो टोली थियो ।

१९७४ : पूर्वी जर्मनी १, पश्चिम जर्मनी ०

के कुनै सानो टोलीले फ्रान्ज बेकेनबाउर र गर्ड मुलर रहेको पश्चिम जर्मन टोलीलाई हराउन सक्छ ? तर सन् १९७४ को विश्वपमा त्यही भयो । युरोपेली च्याम्पियन र विश्वकपको आयोजक भएकोले पश्चिम जर्मनी फेभरेटको रुपमा खेलमा प्रवेश गरेको थियो । 

तर खेलको अन्तिम क्षणमा पूर्वी जर्मनीका युर्गेन स्पारवासरले गोल गरेर पश्चिम जर्मनीलाई हराए । यो फरक कुरा समुह चरणमा पराजित भए की बेकनबाउरको टोलीले फाइनल जितेर विश्वकपको उपाधि जित्यो ।

सन् १९७४ मा पूर्वी र पश्चिम जर्मनीले पहिलो पटक कुनै पनि विश्वकप खेलेका थिए । ४१ वर्ष विभाजित रहदाँको समयमा यही विश्वकपमा मात्र यी दुईको भेट भएको थियो । 

सन् २००२ : सेनेगल १, फ्रान्स ०

अर्को विश्वकप र अर्को पहिलो राउण्डको खेल र डिफेन्डिङ च्याम्पियनको पुन अर्को हार । सेनेगलका पापा बूबा डिओपको गोल नै पहिलो विश्वकप खेलिरहेको सेनेगलाई जिताउन पर्याप्त भयो । यो गोलले सुपरस्टारले भरिपूर्ण फ्रान्सेली टोलीको सबै गौरव चकनाचुर गरिदियो । 

अर्कोतर्फ, सेनेगलले यस जितबाट यति धेरै प्रेरणा पायो की टोलीले क्वार्टरफाइनलसम्मको यात्रा तय गर्यो । अर्कोतर्फ, यो हारपछि फ्रान्सेली टोली यति हतोत्साहित भयो कि उ समूहको पुछारमा रह्यो, प्रतियोगिताबाट नै बाहिरियो । 

सेनेगलका अल हादी उक्त खेलको ‘म्यान अफ द म्याच’ बने र २४ घण्टाभित्रै लिभरपुलले उनलाई अनुबन्ध गरेको थियो । 

सन् १९७८ : स्कटल्यान्ड ३, नेदरल्याण्ड २

कयौँ खेल विज्ञ सन् १९७८ को नेदरल्यान्ड्सविरुद्ध स्कटल्याण्डका आर्ची ग्यामिलले गरेको गोललाई विश्वकपका केही उत्कृष्ट गोलमध्ये एकका रूपमा समावेश गर्दछ ।

खेलमा स्कटल्यान्ड २–० ले अगाडि थियो र खेल सकिन २० मिनेट मात्र बाँकी थियो । गेमिल तीन डच डिफेन्डरलाई छकाउदै अगाडि बढे । गोलकिपर उनीतिर लम्किँदै थिए तर जेमिलले बिस्तारै बललाई किपरको टाउकोमाथिबाट नघाएर गोल गरे । यो सुन्दर गोलको अहिले पनि चर्चा हुन्छ ।

नेदरल्याण्ड्समाथि जित हासिल गरे पनि स्कटल्यान्ड नकआउट चरणमा पुग्न सकेन ।  यस खेलमा पराजयपछि पनि नेदरल्याण्ड्स भने प्रतियोगिताको फाइनलसम्म पुग्यो । 

सन् २०१० : स्पेन ०, स्विट्जरल्याण्ड १

सन् २०१० को विश्वकपमा स्पेन फेभरेट थियो । यो टोली युरोपेली च्याम्पियन थियो तर दक्षिण अफ्रिकामा भएको यो विश्वकपमा स्पेनको सुरुवात दुःस्वप्न जस्तै भयो ।

इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडका पूर्व मिडफिल्डर गेस्लान फर्नान्डिसले स्पेनलाई धुलो चटाएका थिए । स्विट्जरल्यान्डसँग पराजित भएपछि स्पेनले आफ्ना पछिल्ला ६ खेलमा कुनै गोल नखाईकन जित हात पार्दै पहिलो पटक विश्वकप जित्न पुग्यो । 

१९५० : अमेरिका १, इङ्गल्याण्ड ०

यस विश्वकपमा अमेरिकी टोलीमा एक दुई मात्र व्यावसायिक खेलाडी थिए । अर्थात धेरैका लागि फुटबल मुख्य करिअर थिएन । अर्कोतर्फ, इंग्ल्याण्ड बलियो टोली थियो, जसलाई केही विज्ञहरूले विश्वकप जित्ने टोलीका रूपमा हेरिरहेका थिए ।

अमेरिकाविरुद्धको खेलमा इंग्ल्याण्डले सजिलै जित्ने अपेक्षा गरिएको थियो । तर हाइटीमा जन्मेका अमेरिकी फुटबलर जो गेटजेन्सले खेलको परिणाम अर्कै निकालिदिए । ब्रुकलिनको एक रेस्टुरेन्टमा भाँडा माझ्ने गेटजेन्सले खेलको एकमात्र गोल गर्दै इंग्ल्याण्डलाई हराए ।

ग्यारी लिनेकरले त्यो हारबारे बोल्दै भन्छन् ,‘ इंग्ल्याण्डको टोलीमा बिली राइट, स्टान मोर्टेनसेन र टम फिन्नी जस्ता सुपरस्टार थिए । इंग्ल्याण्डको लागि यो एक ठुलो लज्जाको हार थियो । ’ अमेरिकाको सो खेल जित्ने सम्भावना ५०० मा एक भए पनि उसले स्टार खेलाडीले भएिको टोलीलाई हराएर जित्यो । 

१९९०ः अर्जेन्टिना ०, क्यामरुन १

चार वर्षअघि डिएगो म्याराडोनाको जादुले अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाएको थियो । तर यो वर्ष क्यामरुनले मिलानको प्रसिद्ध सान सिरो रंगशालामा म्याराडोनाको टोलीलाई हराएर सबैलाई चकित पारिदियो । 

क्यामरुनका फ्रान्स्वा ओमाम–बेइकको हेडरले क्यामरुनलाई ऐतिहासिक जित दिलायो । इटालीमा भएको यस प्रतियोगितामा क्यामरुन क्वार्टरफाइनलसम्म पुग्न सफल भयो, जसमा इङ्ल्यान्डसँग दुईको विरुद्ध तीन गोलले पराजित भयो । ग्यारी लिनेकर क्यामरुनको टोलीले सुन्दर फुटबल खेलेको विश्वास गर्छन् । 

सन् १९८२ः स्पेन ०, उत्तरी आयरल्याण्ड १

यो विश्वकपको समूह चरणको अन्तिम खेलमा उत्तरी आयरल्यान्डको जित होला भन्ने कसैले सोचेका थिएनन् । स्पेन आयोजक राष्ट्र थियो र बलियो टोली पनि । दोस्रो हाफको सुरुमै ग्यारी आर्मस्ट्रङले गोल गर्दै उत्तरी आयरल्यान्डलाई विश्वकपको सबैभन्दा ठुलो जित दिलाए । यो गोल पनि विशेष थियो किनभने दोस्रो हाफमा उत्तरी आयरल्याण्डको टोली १० खेलाडी मात्रै खेलिरहेको थियो । 

एलन शियररले स्पेनमाथि उत्तरी आयरल्यान्डको जित चमत्कार भएको विश्वास गर्छन् । गेरी लिनेकरका अनुसार यो गोल ग्यारी आर्मस्ट्रङका लागि जीवन परिवर्तन गर्ने क्षण थियो । लिनेकर भन्छन् ,‘ त्यसपछि उनी स्पेन गए । त्यहाँ उनी फुटबलको एक्सपर्ट बने । यदि एक गोलले तपाईंको जीवन परिवर्तन गर्न सक्छ भने त्यो उनको उदाहरण थियो ।’

सन् १९६६ : इटाली ०, उत्तर कोरिया १

यो विश्वकपमा इटाली निकै बलियो टोली थियो । टोलीलाई क्वार्टरफाइनलमा पुग्नको लागि मात्र बराबरी भए पुग्ने थियो । र उत्तर कोरियासँगको खेल त्यति चुनौतीपूर्ण मानिएको थिएन । तर पाक डु–इकको गोलले इटाली हार्‍यो र उ प्रतियोगिताबाट बाहिरियो । उत्तर कोरिया अन्तिम १६ मा पुग्न सफल भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप