बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नाक कोट्याइरहने बानी छ ? यसो गर्दा दिमागमा ब्याक्टेरिया छिर्छ, सबै कुरा बिर्सन्छ

बिहीबार, ०८ मङ्सिर २०७९, १६ : ०२
बिहीबार, ०८ मङ्सिर २०७९

हामीमध्ये धेरैले नाक कोट्याउँछौँ तर निकै कमले यसलाई स्वीकार गर्नेछन् । यस्तो गर्दागर्दै कसैले देखिहाल्यो भने पनि लाज मानेर यताउता हेर्न थाल्छौँ । मानिसहरु सामान्यतया यसलाई एक गलत बानी मान्छन् । तर के तपाईंलाई थाहा छ, तपाईंको यो बानीले तपाईंलाई बिरामी बनाउन सक्छ ।

चिकित्सीय भाषामा नाक कोट्याउनुलाई राइनोटिलेक्सोमेनिया भनिन्छ ।

भारतका मनोवैज्ञानिक डा. प्रितेश गौतम र चिकित्सक राजेश सिंहले यो बानीबारे चर्चा गरेका छन् ।

सबैभन्दा पहिला नाकमा रौँ हुन्छ भनेर थाहा छ ?

नाकको रौँले हावा फिल्टर गर्ने काम गर्छ । जब हामीले सास लिन्छौँ, नाकमा भएको रौँले हावामा भएको धुलोका कण, परागकण र एलर्जीलाई फोक्सोमा प्रवेश गर्नबाट रोक्छ । नाकको कपालले त्यहाँ रहेको म्यूकस मेम्ब्रेनलाई बाहिर निकाल्नबाट रोक्छ ।

अब नाकमा औँला हाल्ने बानीमा फर्किऔँ । यो एक गलत बानी हो ।  यसलाई सुधार गर्न सकिन्छ । तर यसले शरीरमा कुनै असर गर्दैन,  यदि तपाईं पनि यस्तै सोच्नुहुन्छ भने त्यो तपाईको गल्ती हो । यो कति खतरनाक छ भनेर एकपटक बुझौँः

नाक कोट्याउने बानी तत्काल छोड्नुहोस्, स्थिति गम्भीर हुनसक्छ । किनभने –

– हातको किटाणु नाकमा जानेछ, नेजल र फंगल इन्फेक्सन फैलनेछ ।

– नङले नाकको पत्रलाई हानी पुर्याउँछ, टिस्यू काटिनेछ, ब्याक्टेरिया बढ्नेछ ।

– स्टेफिलोकोकस नामको ब्याक्टेरिया पनि फैलनेछ । यसले निमोनिया र हड्डीको रोग लाग्न सक्छ ।

– ब्याक्टेरिया दिमागमा पुग्न सक्छ । यसले अल्जाइमर र डिमेन्सियाको जोखिम बढ्नेछ ।

– नाक सुन्निनँ सक्छ, कतिपटक घाउ पनि हुनसक्छ ।

– यो वेस्टीबुलाइटिसको कारण बन्न सक्छ । यसले नाक दुख्ने र चिलाउने हुन्छ ।

– नाकको दुईवटा प्वाललाई सेप्टमलाई छुट्याउँछ, बारम्बार औँला छिराउँदा यसमा प्वाल पनि पर्न सक्छ ।

हालै भएको अनुसन्धानमार्फत् यसलाई विस्तृत रूपमा बुझौँ

अष्ट्रेलियाको ग्रिफिथ युनिभर्सिटीका अनुसन्धानकर्ताले मुसामा एउटा अध्ययन गरेका थिए । उक्त अनुसन्धानमा ब्याक्टेरिया नाकको माध्यमबाट मुसाको मस्तिष्कमा पुगेको खुलासा भएको थियो । यो ब्याक्टेरियाका कारण अल्जाइमरको संकेत पाइयो ।

यो अध्ययन विज्ञान पत्रिका साइन्टिफिक रिपोर्ट्समा प्रकाशित भएको थियो । जसमा ‘कलामिडिया निमोनिया’ नामक ब्याक्टेरियाले मानिसलाई संक्रमण गर्न सक्ने बताइएको छ । यो ब्याक्टेरिया निमोनियाका लागि जिम्मेवार हुन्छ ।

अनुसन्धानकर्ता तथा प्राध्यापक जेम्स सेन्ट जोनले यो राम्रो बानी नभएको बताए । यदि नाकमा औँला हालेका कारण कुनै नाकको पत्रलाई क्षती पुग्छ भने ब्याक्टेरिया दिमागसम्म पुग्न सक्छ । यसका कारण तपाईंले आफ्नो सुँघ्ने क्षमता गुमाउन सक्नुहुन्छ । यो अल्जाइमरको सुरुवाती पनि हुनसक्छ ।

 प्रश्न –  यो अल्जाइमर के हो, जसको कुरा अनुसन्धानकर्ताले निकालेका छन् ?

उत्तर – अल्जाइमर मस्तिष्कसँग सम्बन्धित रोग हो । जसमा मानिसको स्मरणशक्ति कमजोर हुन्छ वा पूर्णतया नष्ट हुन्छ । यसले सोच्ने र बुझ्ने क्षमतालाई असर गर्छ । यति मात्र होइन, एक समय यस्तो पनि आउन सक्छ जब मानिसले सामान्य दैनिक कामसमेत गर्न सक्दैनन् ।

प्रश्न– सबैभन्दा महत्त्वपूर्ण कुरा, मानिसहरू किन नाक कोट्याउँछन् ?

उत्तर –  यी २ कारणले मानिसले नाक कोट्याउँछन्

– बाल्यकालमा बानी लाग्छ ।

– यसले खुसी दिन्छ ।

प्रश्न –  नाक कोट्याउनुको कुनै मनोवैज्ञानिक कारण छ  ?

उत्तर – हो, अवश्य पनि, यसलाई तीनवटा वर्गबाट ​​बुझ्ने प्रयास गरौँ ः

बालबालिका – जब हामी साना बच्चाहरूलाई केहि दिन्छौं, उनीहरूले यसलाई आफ्नो मुखमा हाल्ने प्रयास गर्छन् । बच्चाहरूले सोच्छन कि यसबाट मात्र मलाई खुसी मिल्छ । थोरै ठूला बच्चा अर्थात् ३ वर्षका बच्चालाई एङ्जायटी कम्पलसन्स हुन्छ । जब यस्ता बच्चा नाक कोट्याउँछन् तब उनीहरुलाई लाग्छ कि यसो गर्दा केही बाहिर निस्कनेछ । जसलाई हामी महसुस गर्छौँ ।

किशोर–किशोरी – यो उमेरका मानिस नाक कोट्याउनुका साथै अनुहारको रौँ वा नाकको रौँ निकाल्ने गर्छन् । यसो गर्दा उनीहरुलाई खुसी मिल्छ । यो बानीलाई ट्राइकोटिलोमेनिया भनिन्छ । कसैको मनमा केही कुरा खेलिरहेका बेलामा पनि मानिसहरुले नाक कोट्याउन सक्छन् । नाक कोट्याएर मात्रै उनीहरुले केही कुरा सोच्न सक्छन् ।

वयस्क – वयस्कहरूमा पनि नाक कोट्याउने बानी हुन्छ । किनभने यसो गर्दा उनीहरूको मस्तिष्कमा डोपामाइन न्यूरो ट्रान्समिटर रिलिज हुन्छ र ब्रेनले रिवार्ड पनि पाउँछ । रिवार्ड पाउने भएकोले मस्तिष्कमा त्यो काम बारम्बार गर्ने प्रवृत्ति पैदा हुन्छ ।

यीबाहेक, अन्य एक कारण पनि हुन सक्छ । मानिसहरूले नाकमा केही अवरोध महसुस गर्न वा असहज महसुस गर्न सक्छन् । यस्तो हुँदा पनि मानिसले नाक कोट्याएर यसलाई मिलाउने प्रयास गर्न सक्छन् ।

प्रश्न – बच्चाको नाक कोट्याउने बानीले आमाबुवालाई समस्यामा पारिरहेको हुन्छ । यो बानीबाट छुटकारा पाउने कुनै उपाय छ ?

उत्तर –  बच्चाको नाक कोट्याउने बानीलाई यसरी छुटाउन सकिन्छ ।

कारण बुझ्नुहोस् – बच्चाको नाकमा कुनै समस्या भइरहेको छ कि भनेर बुझ्नुहोस् जस्तै धुलो–माटोले एलर्जी भएको हुनसक्छ, रुघा खोकी लागेको वा चिलाइरहेको पनि हुनसक्छ । उनीहरुले किन नाक कोट्याइरहेका छन्, त्यो बुझ्नुहोस् ।

व्यस्त राख्नुहोस् – बच्चाको नाक कोट्याउने बानी छ भने यो छुट्न सक्छ । यसका लागि उसलाई व्यस्त राख्नुहोस् ताकि दिमाग र हात दुबै प्रयोग भइरहोस् ।

टेप लगाउनुहोस् – सुरुमा बच्चालाई सम्झाउनुहोस् । उनीहरुले मानेनन् भने दुई वा तीनवटा औँलालाई एकैपटक मिलाएर टेप लगाइदिनुहोस् । यो तरिका घरमा मात्रै आफ्नो रेखदेखमा गर्नुहोस् ।

डिहाइड्रेट हुन नदिनुहोस्– सुख्खापनका कारण पनि बच्चा नाकमा औँला हाल्छन् । डिहाइड्रेशनको समस्या नहोस् भनेर उनलाई समय–समयमा पानी पिलाउनुहोस् ।

रुमाल दिनुहोस् – बच्चालाई रुमाल राख्ने बानी सिकाउनुहोस् र नाकबाट निस्कने फोहोरलाई रुमालले सफा गर्नुपर्छ भनेर सिकाउनुहोस् । त्यसपछि हात धुनुपर्छ भनेर पनि सिकाउनुहोस् ।

प्रश्न – यदि ठूलाको पनि नाक कोट्याउने बानी छ भने उनीहरुले आफ्नो यस्तो बानी कसरी छुटाउने ?

जवाफ – तपाईंले बच्चाको जस्तै आफ्नो यो बानीको कारण खोज्नुपर्ने हुन्छः

यस विषयमा हामीले केही व्यक्तिसँग कुरा गर्दा उनीहरुले नाकमा सुक्खा हुने भएकाले पटक–पटक नाक कोट्याउने गरेको बताए । यदि तपाईंलाई पनि यस्तै समस्या छ भने तल दिइएको टिप्स अपनाउनुहोस्ः

धेरैभन्दा धेरै तरल पदार्थ पिउनुहोस् ।

डाक्टरलाई सोधेर कुनै नाक स्प्रे प्रयोग गर्नुहोस् ।

सम्भव भएमा नरिवलको तेलको केही थोपा नाकमा हाल्न सकिन्छ ।

मनतातो पानीले नाक सफा गर्न सकिन्छ ।

रुघाखोकी लागेको छ भने नाकमा औँला हाल्नुको सट्टा अपनाउनुहोस् यी टिप्स –

– चिकित्सकको सल्लाहमा औषधि खानुहोस्, यसलाई बेवास्ता गर्दा समस्या बढ्छ र काममा ध्यान दिन सक्नुहुन्न ।

– नेजल स्प्रे पनि प्रयोग गर्न सकिन्छ ।

नाकमा ब्लकेज महसुस हुन्छ भने अपनाउनुहोस् यी टिप्स–

– नाकसँग सम्बन्धित व्यायाम गर्नुहोस्, यसले ब्लकेज खुल्छ । जस्तै – योग वा प्राणायाम ।

यी सुझावहरू वयस्कहरूका लागि हुन्, त्यसैले उनीहरूले आफूलाई नियन्त्रण गर्न सक्छन् ।

प्रश्न –  यो बानीको कुनै फाइदा छ ?

जवाफ – छैन, केही पनि छैन । यो बानीमा हानि मात्र छ ।

प्रश्न– ठीक छ, त्यसोभए किन केही मानिसहरू यो बानीलाई तनाव कम गर्ने उपाय मान्छन् ? के यो साँचो हो ?

उत्तर –  यो बानी मात्र होइन, हामी धेरै गलत बानीलाई तनाव कम गर्ने उपायका रूपमा लिन्छौँ । कसैले नङ टोक्छन्, कसैले औँला चाट्छन् । यसो नगर्नुहोस् ।  आफ्नो तनाव कम गर्न केही प्रोडक्टिभ तरिका खोज्नुहोस् ।

तनाव कम गर्न अपनाउनुहोस् यी उपाय

– गीतहरू सुन्नुहोस्

– लामो सास फेर्नुहोस्

– आफूलाई व्यस्त राख्नुहोस्

– ह्यान्ड बल प्रयोग गर्नुहोस्

यदि तपाइँ यी उपायहरू गरेर पनि आफ्नो तनाव कम गर्न सक्षम हुनुहुन्न भने, त्यसपछि काउन्सलरको मद्दत लिनुहोस् ।

– दैनिक भास्कर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप