बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

घाइते नगर प्रहरीको अवस्था बुझ्न नर्भिक अस्पताल पुगे बालेन

सोमबार, १२ मङ्सिर २०७९, २१ : १७
सोमबार, १२ मङ्सिर २०७९

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल सोमबार साँझ नर्भिक अस्पतालमा पुगेका छन् ।  थापाथलीको सुकुम्बासी बस्तीका घर टहरा भत्काउने क्रममा झडप हुँदा घाइते भई उपचार गराइरहेका महानगरका प्रहरीहरूको स्वास्थ्य अवस्था बुझ्न मेयर शाह र उपमेयर डंगोल छुट्टाछुट्टै समयमा नर्भिक पुगेका हुन् । 

सुरुमा साँझ करिब ७ः ४० बजेतिर पुगेका बालेन्द्र शाहले त्यहाँ उपचाररत घाइतेहरूको अवस्थाको विषयमा चिकित्सकसँग ब्रिफिङ लिएका थिए । सो क्रममा नर्भिक अस्पतालका इमर्जेन्सी इन्चार्ज तथा डेपुटी मेडिकल डाइरेक्टर डा.ओमर प्रधानले घाइतेमध्ये ३ जनाको टाउकोमा गहिरो चोट रहेका कारण अब्जरभेसनमा राखिएको बताएका थिए । 

नर्भिकले ३४ जना घाइतेहरूको छोटो अवधिमै उपचार व्यवस्थापन कसरी मिलाउनुभयो भनेर बालेनले डा. प्रधानसँग चासो राखेका थिए । उनले नर्भिकको इमेरजेन्सीको मूल विशेषता भनेकै आकस्मिक अवस्थामा घाइते तथा बिरामीहरूको सही व्यवस्थापन गर्ने रहेको, घाइतेहरूको अवस्थाको आधारमा रेड, ग्रीन र एल्लो जोनमा उनीहरूलाई राखेर सोहीअनुसारको उपचार प्राथमिकतामा आधारमा दिइने गरिएको र आज पनि त्यसै गरिएका कारण ३ घण्टाको अवधिमा ३४ जनामध्ये ३१ घाइतेलाई उपचार गरी घर फर्काउन सम्भव भएको बताएका थिए । 

मेयर शाहले नर्भिकमा गम्भीर चोट लागेर उपचार गराइरहेका आफ्ना ३ नगर प्रहरी र उनका परिवारजनसँग पनि स्वास्थ्य अवस्थाको विषयमा कुराकानी गरेका थिए । करिब ३ मिनेट जति अस्पताल बसेर मेयर शाह फर्किएका थिए । 
उनी फर्किएको केहीबेरमै उपमेयर सुनिता डंगोल पनि अस्पताल पुगेकी थिइन् ।

उनले पनि नगर प्रहरीको स्वास्थ्य अवस्थाको विषयमा बुझेकी थिइन् । सो क्रममा उनले नर्भिकको उपचार पद्धति तथा आकस्मिक अवस्थामा गरेको कुशल व्यवस्थापनको खुलेरै प्रशंसा गरेकी थिइन् । उनले सो क्रममा नर्भिकको टिमलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप