शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कञ्चनपुरका दुई पालिकामा धमाधम आधुनिक सडक निर्माण हुँदै

सोमबार, १९ मङ्सिर २०७९, २२ : २९
सोमबार, १९ मङ्सिर २०७९

एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर र राजमार्गमा पर्ने झलारी बजारको आधुनिक सडक निर्माण तीव्र गतिमा भइरहेको छ । सन् २०१५ मा सुदूरपश्चिमको कैलालीस्थित धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, कञ्चनपुरको शुक्लाफाँटा र भीमदत्त नगरपालिका गरी चारवटा पालिकाका मुख्य सहरमा आधुनिक सडक निर्माणका लागि छनोट भएका थिए ।

सोही अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिका र शुक्लाफाँटा नगरपालिकाका सडक स्तरोन्नति, ढल व्यवस्थापनका साथै फोहरमैला प्रशोधन केन्द्रको निर्माण भइरहेको छ । सदरमुकाम महेन्द्रनगरका पाँचवटै गल्ली र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मूलगेटसम्म सडकलगायत ढल, साइकल लेनलगायतका संरचनाहरू निर्माणाधीन अवस्थामा रहेको निर्माणको जिम्मेवारी पाएको जेडआइइसी–लामा जेभीका इन्जिनियर भूपेन्द्र सिंहले जानकारी दिए ।

उनका अनुसार महेन्द्रनगरमा एडिबीको सहयोगमा निर्मित आधुनिक सडकको ५५ देखि ६० प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिए । योजनाअन्तर्गत बजार क्षेत्रको सडक स्तरोन्नतिका साथै निकुञ्जको मूलगेटसम्म नमूना सडक, सौर्य बत्ती जडान र पैदल मार्गलगायतका काम भइरहेका छन् । यहाँ साढे १४ किलोमिटर सडक कालोपत्र गर्नुपर्ने सम्झौता अनुरूप अहिले साढे आठ किलोमिटर कालोपत्र भइसकेको छ ।

रु ८७ करोडमा ठेक्का सम्झौता भएको निर्माणका लागि निर्माण कम्पनीले आगामी असारसम्मका लागि म्याद थपका लागि पहल गरिरहेको जनाएको छ । सुरुआतमा निर्माणका लागि दुई वर्षको अवधि तोकिएको थियो । भीमदत्त नगरपालिकामा फोहोर मैला प्रशोधन केन्द्रका लागि जग्गा प्राप्तिको विषयमा भने टुङ्गोमा पुग्न सकेको छैन ।

भीमदत्त नगरपालिका कार्यालयले प्रशोधन केन्द्रका लागि जग्गा खोजबिन गर्दै आएपछि विभिन्न स्थानमा स्थानीयवासीको विरोधले त्यो कार्य अघि बढ्न सकेको छैन । तत्कालीन राजा महेन्द्रले गुरुयोजना बनाएर बसाएको महेन्द्रनगर बजार र आसपासको क्षेत्रमा पछिल्लो समय ढल निकासको समस्याले डुबान हुने, बजार क्षेत्रमा अतिक्रमणलगायतका कारणले कुरूप बन्दै गएको थियो । स्थानीयवासी एडिबीको सहयोगमा पुनः महेन्द्रनगर सुन्दर सहर बन्नेमा आशावादी देखिएका छन् ।

भीमदत्त नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले फोहोरमैला प्रशोधन केन्द्रका लागि जग्गा खोज्ने प्रक्रियामा नगरपालिका रहेको बताए । “विगतमा धेरै ठाउँमा यो विषयमा स्थानीयवासीले विरोध गरे”, उनले भने, “जग्गा खरिद गरेर भए पनि प्रशोधन केन्द्र बनाउने गरी पहल गर्दैछौँ ।”

आयोजनाअन्तर्गत यहाँको शुक्लाफाँटा नगरपालिकाको झलारी बजारमा समेत सडक, नाली र फुटपाथ निर्माणको काम भइरहेको छ । यहाँ पाँच किलोमिटर सडक कालोपत्र गर्ने कार्यक्रम अन्तिम चरणमा पुगेको छ । यहाँ सडक कालोपत्र गर्न आठ सय मिटर मात्रै बाँकी रहेको छ भने सवा चार किलोमिटर नाली निर्माण भइसकेको छ । 

सडक, नाली र फुटपाथका लागि यहाँ रकम–केएस जेभीले रु २४ करोडको ठेक्का लिएको छ । शुक्लाफाँटा नगरपालिकामा फोहोरमैला प्रशोधन केन्द्रको निर्माणका लागिसमेत ठेकेदार नियुक्त भइसकेको छ । यहाँको कृष्ण सामुदायिक वनको पाँच हेक्टर क्षेत्रमा प्रशोधन केन्द्र निर्माण गर्नका लागि रु २६ करोड ७७ लाख लागत लाग्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप