बुधबार, १८ माघ २०७९
ताजा लोकप्रिय

भोगटेको फेदमा जन्मेको ‘लेउवासङ्घ’: जसले चिनायो लेखनाथलाई

शनिबार, २४ मंसिर २०७९, ०९ : ०७
शनिबार, २४ मंसिर २०७९

कवि शिरोमणि लेखनाथ पौड्यालको नामबाट २०५३ साल माघ १८ गते लेखनाथ नगरपालिकाको घोषणा गरिएको थियो । यस क्षेत्रका तत्कालीन राखी, लेखनाथ, शिशुवा र बेगनास गाउँ विकास समितिलाई मिलाएर नगरपालिका घोषणा गरिए पनि यस क्षेत्रको पहिचान हुन नसकेको वास्तविकता त्यसै बेलादेखि चासो र चर्चामा रहेको यहाँका अगुवा बताउँछन् ।

नगरपालिकाको घोषणासँगै यस क्षेत्रको पहिचान एवं संस्थागत प्रयासलाई अपरिहार्य ठान्दै गरिएका विभिन्न कार्यमध्येको महत्वपूर्ण प्रयास लेखनाथ उद्योग वाणिज्य सङ्घ रहेको सङ्घका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य बताउँछन् । नगरपालिकाको घोषणा हुनुअघि यस क्षेत्रभित्रका हालका पोखरा महानगरपालिका वडा नं २६, २७, २८, २९, ३०, ३१ र ३२ मा खासै गन्न लायकका उद्योग सञ्चालनमा नआएका अवस्थामा क्रमशः उद्योग व्यवसाय बढ्दै गएको यहाँका स्थानीय सम्झनछन् । सुरुमा लेखनाथ क्षेत्रमा तोरी, तेल, चकलेट, खाद्यान्न कुटानी, पिसानी फर्निचर आदि उद्योग सञ्चालनमा आएकोमा पछि विस्तारै बिस्कुट, चाउचाउ, साबुनलगायतका उद्योग थपिँदै गएको हो ।

तत्कालीन समयमा यहाँका मुख्य व्यापारिक केन्द्रमा शिशुवा, अर्घौ पौवा, बूढीबजार, बेगनासाताल, गगनगौँडा, सातमुहाने, राजाको चौतारा रहेका थिए । सात तालको सहरका रुपमा तत्कालीन समयदेखि नै चर्चामा आए पनि यहाँका ताल पर्यटकीयरुपमा उपयोग हुन सकेका थिएनन् । कर्माचार्यका अनुसार यिनै वास्तविकताका बीचमा नगरपालिका घोषणा पछि यहाँका उद्योगी व्यवसायीले लेखनाथमा उद्योग वाणिज्य सङ्घको आवश्यकता महसुस गरेका थिए । 
    
निरन्तरका छलफलसँगै सङ्घ गठन गर्ने कुरामा एकमत भएका व्यवसायीले २०५४ साल असार ३० गते शनिबार बिहान पोखरा महानगरपालिका वडा नं २६ विजयपुरमा विचित्रमोहन भट्टराईको बगैँचामा भोगटेको बोटमुनि भएको भेलाबाट चन्द्रकृष्ण कर्माचार्यको संयोजकत्वमा लेखनाथ उद्योग वाणिज्य सङ्घको तदर्थ समिति गठन गरेका थिए । पछि सोही समितिलाई विधिवत् दर्ता गरिएको थियो ।

सङ्घ स्थापनाको रजत वर्षसम्म आइपुग्दा त्यसबीचमा यसले उद्योग व्यवसाय क्षेत्रको विकासमात्र नभई समग्र लेखनाथको पहिचानलाई कायम गराउन उल्लेख्य भूमिका खेलेको छ । सङ्घकै अगुवाइमा यहाँको प्रवद्र्धनसँगै स्थानीय उत्पादनको बजारीकरणलाई जोड दिँदै सुरु गरिएको लेखनाथ महोत्सव १८ औँ संस्करणसम्म आइपुगेको छ ।
    
प्रत्येक वर्षको चिसो मौसमको पारिलो घाममा गरिने महोत्सवको समयमा खुल्ने सुन्दर मनमोहक हिमालले कास्की र आसपासका मात्र नभई पोखरा घुम्न आउने पर्यटकलाई पनि लठ्याउने गरेको लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष छत्रधर आत्रेयले बताए । सामान्यतः पुसको दोस्रो सातादेखि एक हप्ताभन्दा बढी गरिने यस महोत्सवलाई लेखनाथवासीले सुरुदेखि नै साथ र सहयोग गर्दै आएको उनले बताए ।

“लेखनाथ क्षेत्रका सर्वसाधारणले यो महोत्सवलाई अपनत्व गरेका कारण पनि यो महोत्सवको पनि महोत्सव बनेको हो”, उनले भने, “यस वर्ष पनि  पुसको ७ गतेदेखि १८ गतेसम्म तालचोकमा महोत्सव गर्ने गरी तयारी गरेका छौँ ।”
    
लेखनाथ महोत्सवमा विभिन्न कला सांस्कृति झल्किने नाचगानको प्रस्तुतिसँगै स्थानीय उत्पादन र एकै ठाउँबाट घरायसी प्रयोगका धेरै सामग्री किन्न पाउने भएका कारण यसप्रतिको आकर्षण र विश्वास बर्सेनि बढ्दै गएको सङ्घका महासचिव उपेन्द्रराज सुवेदी(राजु)ले बताए ।    
    
पन्ध्र वर्षअघि सुन्तला महोत्सवबाट सुरु भएको लेखनाथ महोत्सवमा एउटै थलोमा उत्पादकदेखि उपभोक्तासम्मको जमघट गराउने अभ्यास भइरहेको उनले बताए । ‘लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नाराका साथ गरिँदै आइएको महोत्सवले उत्पादकत्व वृद्धि गर्दै उत्पादित वस्तुको बजारीकरणमा सहयोग पुर्याउँदै आएको छ । 
    
महोत्सवमा बचत हुने रकमबाट प्रदर्शनीस्थल र सङ्घको भवन स्तरोन्नति, औद्योगिक क्षेत्रको निर्माणका लागि पहल एवम् सहयोग, कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल विकास एवं बेगनासताल, रुपाताललगायतका तालको पर्यटकीयस्थलको प्रवद्र्धन गर्न खर्च गरिने उनले बताए ।

सुन्तला महोत्सवबाट लेखनाथ महोत्सवको सुरुआत भए पनि यस क्षेत्रका हंसपुर, भरतपोखरी, थुम्कीलगायतका स्थानमा रोगका कारण सुन्तला मासिनु यतिखेर चुनौतीका रुपमा देखिएको छ । सङ्घले स्थापनाकालदेखि विभिन्न संस्थासँगको सहकार्यमा २०६२–२०६६ मा स्थानीय आर्थिक विकास कार्यक्रम, २०६४–२०७३ मा एक गाउँ एक उत्पादन कार्यक्रम, २०७०–२०७२ मा एक जिल्ला एक उत्पादन कार्यक्रम र व्यवसाय प्रवद्र्धन कार्यक्रम गर्दै आएको छ । सङ्घले नेपाल उद्योग वाणिज्य महासङ्घबाट २०५८ सालमा ‘घ’ वर्गबाट उत्कृष्ट सम्मान प्राप्प्त गरेको छ भने २०५९, २०६०, २०६१ र २०६४ सालमा ‘ग’ वर्गको उत्कृष्ट सम्मान पाएको छ । त्यस्तै २०६४ सालमा ‘क’ वर्गमा क्षेत्र वृद्धि भएको सङ्घ २०७५ सालमा ‘क’ वर्गबाट र २०७७ सालमा ‘क’ वर्गबाट महासङ्घ गण्डकी प्रदेश उत्कृष्ट सम्मान प्राप्त गरेको छ ।
    
सङ्घ स्थापनाको साढे दुई दशक यहाँको पहिचानका लागि महत्वपूर्ण सावित भएको अध्यक्ष आत्रेयको भनाइ छ । “शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई मुख्य आधार बनाएर यहाँका विभिन्न सङ्घ संस्था, आमा समूह, टोल विकास, आर्थिक तथा सांस्कृतिक समूह आदिसँग सहकार्य र समन्वय गर्दै लेखनाथको समृद्धिका लागि सङ्घ निरन्तर लागि रहेको छ”, उनले भने ।

लेखनाथ क्षेत्रका धार्मिक, सांस्कृतिक, शैक्षिक, साहित्यिक, पुरातात्विक पर्यटकीयस्थलको संरक्षण र प्रवद्र्धन गर्दै यहाँका मठ मन्दिर, कोट भञ्ज्याङ, तालतलैया, दुन बेसी, खेलमैदान नदीनाला आदिको पहिचान संरक्षण र विकाससँगै पर्यटकीयरुपमा जोड्ने लक्ष्यका साथ सङ्घ लागिरहेको उनले बताए । सङ्घकै अग्रसरतामा बेगनास ताल पारीको बराह मन्दिर निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट रु ५० लाख बजेट तथा कार्यक्रम स्वीकृत भएको जानकारी दिँदै अध्यक्ष आत्रेयले करिब रु १० करोड लागतमा सम्पन्न हुने परियोजना सम्पन्न गर्न सङ्घ लागिरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप