बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

नयाँ सरकार बनाउन बाटो खुला : प्रधानमन्त्री देउवा कि प्रचण्ड ?

बिहीबार, २९ मङ्सिर २०७९, १४ : ४७
बिहीबार, २९ मङ्सिर २०७९

निर्वाचन आयोगले मंसिर ४ मा सम्पन्न आम निर्वाचन–२०७९ को परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएसँगै राजनीतिक दलहरुलाई नयाँ सरकार गठन गर्ने बाटो खुला भएको छ । आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीहरुले चुनाव सम्पन्न भएको २५ दिनपछि बिहीबार शीतलनिवास पुगेर राष्ट्रपति भण्डारी समक्ष मत परिणामको विवरण प्रतिवेदन बुझाएका हुन् ।

मंसिर २८ गते बुधवार आयोगले निर्वाचनको सबै परिणाम सार्वजनिक गरेको थियो । चुनावी परिणाम अनुसार प्रतिनिधि सभामा ८९ सिट जित्दै कांग्रेस पहिलो दल भएको छ । त्यसैगरी एमालेले ७८ सिट, नेकपा (माओवादी केन्द्र) ३२ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीले २० सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले १४ सिट, जनता समाजवादी पार्टीले १२ सिट, नेकपा (एकीकृत समाजवादी)ले १० सिट, जनमत पार्टीले ६ सिट, लोकतान्त्रिक समाजवादी पार्टीले ४ सिट जितेका छन् ।

निर्वाचनमा जम्मा सदर मतको १० प्रतिशत भन्दा कम मत ल्याउने ४ हजार २८५ जना उम्मेदवारहरुको धरौटी रकम जफत भएको छ । प्रतिनिधि सभातर्फ पुरुष १ हजार ७७२ र महिला १८९ गरी जम्मा १ हजार ९६१ जनाको धारैटी रकम जफत भएको र प्रदेश सभातर्फ पुरुष २ हजार ८६, महिला २३७ र अन्य १ गरी जम्मा २ हजार ३२४ जनाको धरौटी रकम जफत भएको छ । त्यस्तै प्रतिनिधि सभामा प्रत्यक्ष तर्फको निर्वाचनमा १ सिट पनि प्राप्त नगर्ने ४० वटा दलको धरौटी जफत भएको राष्ट्रपति समक्ष बुझाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रदेश सभातर्फ भने प्रदेश १ मा ३०, मधेस प्रदेशमा २६, वागमती प्रदेशमा ३३, गण्डकीमा २४, लुम्बिनी प्रदेशमा २२, कर्णाली प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा २८ वटा दलको धरौटी रकम जफत भएको छ । समानुपातिकमा ३ प्रतिशत मत र प्रत्यक्ष निर्वाचनमा कम्तीमा १ सिट प्राप्त गरी ७ वटा दलले राष्ट्रिय दलको मान्यता पाएका छन ।

प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ १ करोड १० लाख ४७ हजार ३४ (६१ दशमलव ४१ प्रतिशत) मतदान भएको थियो । जसमध्ये १ करोड ४ लाख ८७ हजार ९५८ मत सदर भएको छ । ५ दशमलव  शून्य ६ प्रतिशत मत भने बदर भएको उहाँको भनाई छ । त्यसैगरी प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड ११ लाख २६ हजार २२६ (६१ दशमलव  ८५ प्रतिशत) मतदान भएकोमा १ करोड ५ लाख ६० हजार ८२ मत सदर भएको  र ५ दशमलव  शुन्य ९ प्रतिशत मत बदर भएको बताउनु भयो । प्रदेशतर्फ भने प्रत्यक्षतर्फ १ करोड १० लाख ३४ हजार ५०० (६१ दशमलव  ३६ प्रतिशत) मतदान भएकोमा १ करोड ५ लाख ८५ हजार ३०० मत सदर भएको र ४ दशमलव शुन्य ७ प्रतिशत मत बदर भएको बताइएको छ । प्रदेश सभाको समानुपातिक तर्फ १ करोड १० लाख २८ हजार ३७६ (६१ दशमलव  ३१ प्रतिशत) मतदान भएकोमा १ करोड ३ लाख ६ हजार ११ मत सदर भई ६ दशमलव ५५ प्रतिशत मत बदर भएको आयोगको भनाइ छ ।

निर्वाचन आयोगले प्रतिनिधि सभातर्फ पुरुष १८४ जना (६६ दशमलव ९० प्रतिशत) र महिला ९१ जना (३३ दशमलव १० प्रतिशत) निर्वाचित भएको जानकारी गराएको छ । त्यस्तै प्रदेश सभातर्फ पुरुष ३५० जना(६३ दशमलव ६४ प्रतिशत)र महिला २०० जना (३६ दशमलव ३६ प्रतिशत) निर्वाचित भएको जनाइएको छ । 

दलहरू आन्तरिक छलफलमा

२७५ सिट रहेको प्रतिनिधिसभामा नेपाली काँग्रेस काँग्रेस पहिलो दल, एमाले दोस्रो दल र माओवादी केन्द्र तेस्रो दलको रुपमा हुन पुगेको छ भने नयाँ शक्तिको रुपमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी चौथो दलका रुपमा उदाएको छ । यो परिणाम अनुसार संसदको सबैभन्दा ठूलो दल कांग्रेसले अन्य गठबन्धन दलको सहयोगमा सरकार बनाउने अनौपचारिक प्रयास थालेपनि औपचारिक रुपमा गठबन्धनभित्र नयाँ सरकार गठनबारे कुनै प्रयास नभएको नेताहरुको भनाइ छ ।

प्रधानमन्त्रीका एक आकांक्षी समेत रहेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नयाँ सरकारबारे औपचारिक रुपमा छलफल सुरु भैनसकेको प्रतिक्रिया दिए । ‘अहिलेसम्म नयाँ सरकार गठनबारे दलहरुबीच औपचारिक छलफलको प्रक्रिया सुरु भएको छैन । भर्खर आयोगले चुनावी नतिजा सार्वजनिक गरेर राष्ट्रपतिलाई बुझाएको छ । अव त्यसबारे छलफल होला’, नेता पौडेलको भनाइ छ । त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पनि नयाँ सरकार र पावर सेयरिङबारे औपचारिक छलफल नभएको बताए । ‘अहिलेसम्म नयाँ सरकार कसको नेतृत्वमा बनाउने भन्ने छलफल भएको छैन’, अध्यक्ष नेपालले भने, ‘राष्ट्रपतिले नयाँ सरकार बनाउन दलहरुलाई आव्हान गरेपछि प्रकृया सुरु होला ।’

निर्वाचनसँगै कांग्रेसभित्र प्रधानमन्त्रीका आकांक्षी धेरै बन्दा त्यसको व्यवस्थापन गर्न कांग्रेसलाई थप चुनौती छ । कांग्रेसभित्र सभापति देउवासहित पौडेल, महामन्त्री गगन थापा, नेता डा. शेखर कोइराला, प्रकाशमान सिंह लगायतका नेता प्रधानमन्त्रीका आकांक्षी छन् । कांग्रेसको अलवा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ पनि प्रधानमन्त्रीका आकांक्षी देखिएका छन् । यसअघि देउवा र प्रचण्डबीच आलोपालो सरकार गठन गर्ने भद्र सहमति भएका समाचारहरु सार्वजनिक भएका थिए ।

प्रधानमन्त्री देउवा कि प्रचण्ड ?

प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रदेश प्रमुख र मुख्यमन्त्रीलगायतका पदमा प्याकेजमै सहमति गर्ने सत्ता गठबन्धनको तयारी छ । सोही अनुसार उनीहरुबीच एकअर्कामा अनौपचारिक दावी र छलफल भएपनि ठोस रुपमा छलफल भइसकेको छैन । 

स्रोतका अनुसार कांग्रेसले अहिलेसम्म प्रधानमन्त्री र राष्ट्रपति दुवै नछोड्ने संकेत देखाएको छ । पछिल्लो समय प्रधानमन्त्री तथा सभापति देउवालाई भेट्ने नेताहरुले देउवाको ‘मुड’ प्रधानमन्त्री र राष्ट्रपति दुवै नछोड्ने रहेको बताएका छन् । कांग्रेसले यी दुवै महत्वपूर्ण पद नछोडे र माओवादी र नेकपा समाजवादी सहमतिमा नआए हालको गठबन्धन भत्कन सक्ने समेत आँकलन भइरहेका छन् । 

देउवाको यही मुड बुझेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमालेका नेताहरूसँग समेत नियमित सम्पर्कमा रहेका छन् । तर बुधबार उनले पोखरा पुगेर हालकै गठबन्धनले सरकार बनाउने बताइसकेका छन् । कांग्रेसले प्रधानमन्त्री राखे माओवादी र समाजवादीले राष्ट्रपति र सभामुख पाउनुपर्ने दुई पार्टीका नेताहरूको बुझाई छ । साथै सोही अनुसार प्रदेश प्रमुख र मुख्यमन्त्रीलगायतका पदको फाँडबाट गर्नुपर्ने अनौपचारिक कुराकानीमा ति पार्टीका नेताहरूले बताउने गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप