शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

कविता : तिमीले जित्यो, मैले हारेँ

शनिबार, ०२ पुस २०७९, ०६ : ४८
शनिबार, ०२ पुस २०७९

तिम्रा सनातनी जितको
अस्तित्व लरखराए
आस्थाका गहिरो सागरमा तुफान चले
नीति, विधि र सिद्धान्तको धज्जी उडे
सिधा म जस्तै बबुरो भुइँमान्छेहरु
आँखा चिम्लेर स्वीकार्न विवश 
जर्जर छातीभित्र पीडाले 
चिरा चिरा पारेको छ ।
तिम्रो कायर परम्परासँग
सति गएछु पट कपटक 
फाइदा तिम्रो भयो 
तिमीले जित्यो, मैले हारें ।

परिवेश,
बार बार मृत्यु घोषित भएर
जन्म लिइरहे 
देउता ढुंगा भए 
निर्जीव ढुंगालाई पूजा गरेझैं 
तिमीलाई पनि पुजा गरिरहें । 
मेरो सोझोपनको छिद्रबाट छिरेर
मेरो खुशी लुट्यौं ।
तिम्रो बठ्याई, 
घाम जून बनेर
मेरो जिन्दगीको आकाशमा उदाउदैं
आफ्नै स्वार्थमा लतारेर,
घर न घाटको बनाई छाडे 
तिमीले जित्यो, मैले हारें ।

परिवर्तनका जँघार उक्लँदै
मेरो बा ले तिम्रो लागि
जिन्दगीलाई उमेरमै मृत्यु उपहार दिएर
कहिल्यै पुग्न नसक्ने जंगलमा 
रगत बगाए ।
रगतले सिँचेर हुर्केका रुख ठुला भए
उस्कै रगतको छिटा म,
उनको माया केवल सम्झी सम्झी
सम्झनाले आँशुमा भिजेको सिरानीमा
बाको मायालाई याद बनाउन बाध्य भएँ 
तिमीले जित्यो, मैले हारें ।

मेरो आमाको सिउँदो पखालेर,
रंगीन भएको फुलको माला
खदिलो बंगुरे गला भरी लगाएर,
चुनावी र्यालीमा 
स्वार्थको र्याल चुहाउँदैं
अवसरवादी र नातावादको
भीड बोकेर,
हिँडेका ती यात्राहरू
कहिले मूल बाटो बने
कहिले दोबाटो बने
म एकतमासे बनेर 
निरीह बनेर हेरिरहें ।
तिम्रा आश्वासनका पुलिन्दाहरु
मेरो स्वर्गको टुक्राझैं
बस्ती र गाउँलाई 
कल्पनाको पुल तराउँदैं
सिंगापुर र स्वीटजरल्याण्डको धाक दिंदै
विदेशी ब्राण्डको दारुले
सजिएको साँझहरुमा
बेहोशी मन बोकी 
पाप प्रायश्चित जति गर ।
इतिहासले सजाय दिनेछ पक्का 
तिमीले जित्यो, मैले हारें ।

तिम्रो,
समकालीन इतिहासको अनुहारहरू
बहुरुपी रङ्गमा बदलिए
बेहिसाब फिक्का बने
म,
चुपचाप पहाडझैं उभिएँ
चुपचाप नदीझैं बगें
चुपचाप बतास भएर बहेँ
तिम्रो दासत्व स्वीकारें 
मेरो मन जति स्खलित हुनु थियो, भएँ
तर अब,
म चुपचाप सहेर 
तिम्रो आदेशको झरीमा
रुझेर नबस्ने कसम खाएको छु ।
म मेरो बा को,
अज्ञात चिहान खोजेर 
गाडेको अधुरो सपनाहरू खोतल्ने छु ।
अन्तिम पटक,
तिमीले जित्यो, मैले हारें ।
जंगलमा जित्यौं
मेरो बाको सपनालाई हरायौं ।
सहरमा जित्यौं,
चुपचाप सहरले सहे,
तराईमा जित्यौं,
मुसहर, डुम र चमार
सिमानामा ढलेको जंगे पिलर
कति रोए कति
रुदा रुदै हाँसे
हाँस्दा हाँस्दै रोएँ 
फेरि पहाड छिर्यौं ।
पहाडले एक पटक जिताएको छ ।
तर म
फेरि पनि हारेको छु ।
तिमीले जित्यो, मैले हारें ।
मैले हारें ।।

                    
काभ्रे, पाँचखाल
हालः लिमासोल, साइप्रस

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप