शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘देउवाले बिदा लिनु पार्टी र उहाँको स्वास्थ्यका लागि राम्रो हो’

आलोपालोको समझदारी थियो भने कार्यान्वयन गर्नुपर्थ्यो : गुरुराज घिमिरे
मङ्गलबार, १२ पुस २०७९, १० : ०९
मङ्गलबार, १२ पुस २०७९

नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले गठबन्धन जोगाउन नसकेको भन्दै पार्टी सभापति शेरबहादुर देउवाले राजीनामा दिनुपर्ने बताएका छन् । माओवादी केन्द्रलाई साथमा राख्न नसक्दा केन्द्रदेखि प्रदेशसम्म कांग्रेस सत्ता विमुख भएकाले  नैतिकताका आधारमा देउवाले पार्टी सभापतिबाट राजीनामा दिनुपर्ने उनको भनाइ छ ।

देउवाले पार्टी सभापति र संसदीय दलको नेताबाट राजीनामा दिँदा कांग्रेसको स्वास्थ्यका लागि राम्रो हुने उनले बताए । साथै सबै पद गुम्नुको जिम्मेवारी सभापतिसँगै पदाधिकारीले पनि लिनुपर्ने घिमिरेको भनाइ छ । महामन्त्रीले हस्तक्षेपकारी भूमिका नदेखाएकोप्रति पनि उनको गुनासो छ ।

सत्ता समीकरणमा आएको उलटफेर र कांग्रेसले गुमाएको अवसरबारे कांग्रेस नेता घिमिरेसँग गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ –

नेपाली कांग्रेसमा २०७२ सालको भन्दा ठूलो भूकम्प गयो है ?

एउटा कोणबाट हेर्दा सर्वनास भयो भनेर भन्न सकिन्छ । अर्को कोणबाट हेर्दा राजनीति हो, तलमाथि हुन्छ । पार्टनरहरुलाई जोगाएर सरकार बनाउन सकिएन । राजनीतिमा यस्तो घटना भइराख्छ भन्न सकिन्छ ।

गुरुराज घिमिरे जस्तो नेतालाई यो भूकम्पले खासै हल्लाएन ? मन्त्री हुने तयारीमा रहेकालाई धक्का महसुस भए पनि तपाईलाई यसले नछोएकै हो ?

म सत्ता निरपक्ष मान्छे होइन । सत्ता सर्वस्व भन्ने पनि होइन । जनताको काम गर्नका लागि सत्ता आवश्यक हो । सत्ता मौका र जिम्मेवारी पनि हो । हिजोको घटना नेतृत्वको क्षमताको अभावका कारण हो । हामीले माओवादी केन्द्रलाई साथमा राख्न सकेनौं । गठबन्धनमा लेनदेन हुन्छ । सबै आफै राखेर हुँदैन । राष्ट्रपति लिएर प्रधानमन्त्रीमा सभापति लचिलो हुनुहोला भन्ने थियो । सैद्धान्तिक राजनीति छाडेर व्यवहारवादी राजनीति गर्नुपर्थ्यो । राष्ट्रपति लिएर प्रधानमन्त्री माओवादीलाई नदिँदा संघ र प्रदेशमा गरी ३५ वटा राजकीय पद गुमाउनु प¥यो । संवैधानिक पद, कुटनीतिक क्षेत्र पनि गयो । पार्टीका साथीहरु र मुलुकका विज्ञहरुले प्राप्त गर्ने अवसर गए । अब रहेका पनि जान सक्ने भए । राज्यका सबै अवसर गुम्दा नेपाली कांग्रेसलाई क्षति भएको छ ।

यो कसका कारणले भयो ?

सबैभन्दा बढी सूचना प्रधानमन्त्रीको कार्यालय वा उहाँको निवासमा हुन्छ । त्यहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सूचना पुग्छन् । माओवादीले एमालेसँग पनि समानान्तर वार्ता गरिरहेको हामीलाई समेत थाहा थियो । देश र विदेशमा पनि विभिन्न गतिविधि भइरहेका थिए । हाम्रो पहुँच भएका नेतालाई यो कुरा भनिराखेका थियौं । हाम्रो सभापतिजी गठबन्धन चलाउन सक्षम हुनुहुन्छ । गठबन्धन चलाएको लामो अनुभव पनि छ । गठबन्धनलाई एकदमै रिझाएर चलाउन जान्ने मान्छे पनि हो । खुबी पनि छ भनेर नेताहरुले भन्नुहुन्थ्यो । तर आँखै अगाडि गठबन्धनको एउटा घटक विपक्षीसँग मिलेर सरकार बनाउनु अनौठो घटना हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री बन्ने लालसाका कारण यो गठबन्धन टुट्यो ?

हुन सक्छ । प्रधानमन्त्री बन्न सतहमा नदेखिएको शक्ति वा उहाँका वरिपरि उपसभापति पूर्णबहादुर खड्का, नेता रामचन्द्र पौडेल, पूर्व उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, शशांक कोइराला, प्रवक्ता प्रकाशशरण महत र ज्ञानेन्द्र कार्की देखिनु हुन्थ्यो । उहाँले के गर्नु भयो ? यो कुरा केन्द्रीय समितिको बैठकमा आउँला । कसले रोक्यो, किन रोक्यो, किन एउटा घटक फुत्कियो भन्ने आउला ।

पार्टीका महामन्त्रीलाई पनि छलफलमा राख्नु भएको देखिएन नि ?

यति ठूलो राजनीतिक घटनाक्रममा पार्टीका उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको पनि संलग्नता देखिनँ । सहमहामन्त्रीको पनि संलग्नता देखिएन । १४ औं महाधिवेशनमा प्रतिस्पर्धा गरेको शेखर कोइरालाको पनि सहभागिता देखिएन । उहाँहरुले नआउनु भएको हो या सभापतिले संलग्न नगराउनु भएको हो ? प्रधानमन्त्रीमा नेपाली कांग्रेसले नै दिनुपर्ने वा प्रचण्डलाई दिनुपर्ने दुविधाको अवस्था भएको भए पदाधिकारी सबै बसेर निकास खोज्न सक्नुहुन्थ्यो । सभापतिले संलग्न किन गराउनु भएन वा उहाँहरु आफै संलग्न किन हुन सक्नु भएन ? संलग्न हुन खोज्नु पनि पर्थ्यो । यति ठूलो घटनामा महामन्त्रीले गएर यो के हुँदैछ भनेर सोध्नु पनि पर्छ । वाकओभर दिनु हुँदैन थियो ।

नेता शेखर कोइराला, महामन्त्री गगन थापाहरुले कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री लिनुपर्छ भन्ने अडान लिनु भएको थियो नि ?

ठूला दलको हैसियतले राष्ट्रपति र प्रधानमन्त्रीमा दाबी गर्नुपर्छ भन्ने कुरा स्वाभाविक थियो । ठूलो दल भएर प्रधानमन्त्रीको दावा नै गरेन भने जनतामा कस्तो असर पर्छ ? दाबी गर्नु प्राकृतिक हुन्छ भनेर सबैले भने । तर गठबन्धन छ । आलोपालोको कुरा आएको छ । समझदारी भएको कुरा पनि आएको छ । समझदारी कार्यान्वयन गर्नुपर्थ्यो । गठबन्धनमा एक सिट भएको राष्ट्रिय जनमोर्चाले पनि प्रधानमन्त्रीमा दाबी गर्न पाउँछ । किनभने गठबन्धन यो अवस्थामा पुग्नुमा उसको पनि योगदान छ । ३२ सिट भएको माओवादीले किन दाबी गर्न नहुने भन्ने हो । माओवादीसँग समझदारी भएको भए दिनुपर्थ्यो भनेर मैले अन्य अन्तरवार्तामा पनि भनेको थिएँ ।

कांग्रेस केन्द्रदेखि प्रदेशसम्म सत्ता विमुख भएको छ । यसले कांग्रेसका सबै कार्यकर्तालाई निराश बनाएको छ । यो जोगाउन नसक्नुमा नेता शेखर कोइराला र महामन्त्रीद्वयको जिम्मेवारी होइन ?

सबै मिलेर जोगाउनु पर्दैन भनेर प्रश्न गर्नु भयो । काम गर्दा सबै मिलेर गर्नुपर्दैन ? काममा सहयोग माग्ने सभापतिले हो । उहाँले सबैको सहयोग माग्नुपर्दैन ? उहाँले प्रकाशमान सिंह, विमलेन्द्र निधि, रामचन्द्र पौडेललाई काम लगाउनु भयो । सरकार बनाउन धनराज गुरुङ, गगन थापा विश्वप्रकाश शर्मा सबैलाई काम दिनुपर्थ्यो । काम चाहिँ एउटा पक्षलाई दिने र अर्को पक्षलाई रमिते बनाउने ? अर्को पक्षका पदाधिकारी सभापतिले गरेको कामको रमिता हेर्न निर्वाचित भएका हुन् ? उहाँहरुको दायित्व रमिता हेर्ने हो ? तर एउटा कमजोरी उहाँहरुको पनि भयो । उहाँले जबरजस्ती चासो राख्नुपर्थ्यो । तर सभापतिले सबैलाई समदृष्टि राखेर सबैलाई समान भूमिका दिएको भए आज प्रश्न उठ्दैन थियो । पदाधिकारी हामीलाई थाहा छैन भन्नुहुन्छ ।

सत्ता परिवर्तन हुँदा कांग्रेसका महामन्त्री पोखरा घुम्दै हुनुहुन्छ । उहाँ त विन्दास देखिनु भयो नि ?

सभापतिले महामन्त्रीलाई फोन गरेर तपाईको कार्यक्रम के छ भनेर सोध्नुपर्थ्यो । जुन बेला पनि काम हुन सक्छ, काठमाडौं नछोड्नु होला भनेर भन्नु पर्दैन ? सभापतिले वास्ता नगर्ने, नबोलाउने भएपछि के गर्छन् त विचरा महामन्त्रीहरु ?

निर्वाचित महामन्त्रीले त हस्तक्षेप गर्नुपर्ने होइन र ? सभापतिले अह्राएको काम गर्ने कारिन्दा हो र ? सभापतिले अह्राएको काम गर्ने भए किन चाहिन्थ्यो गगन थापा र विश्वप्रकाश शर्मा ? पूर्णबहादुर खड्का र प्रकाशशरण महतले नै गरिहाल्थे नि ?

तपाईँले भन्नु भएको कुरा जायज हो । महामन्त्रीले सभापतिले लाए, अह्राएको काम मात्र गर्ने होइन । महामन्त्री कार्यकारी पद हो । महामन्त्री कारिन्दा होइन, नेता हो । महामन्त्री संस्था पनि हो । त्यसैले सभापतिले महामन्त्रीलाई आफू नजिकै लान्छ । महामन्त्रीमार्फत पार्टी सञ्चालन गर्ने हो । हाम्रोमा सभापतिले केन्द्रीय सदस्यलाई काम लगाउने र पदाधिकारी हेरिरहने परिपाटी देखिएको छ । मैले महामन्त्रीलाई महामन्त्री हो भन्ने आभास दिलाउनुस् है भनेर पटक पटक भनेको छु ।

केन्द्रीय कार्यसमिति र संसदीय दलमा सभापति शेबरहादुर देउवाको मजबुत अवस्थामा देखिनुहुन्छ । कांग्रेसमा आगामी ४ वर्ष उहाँलाई हल्लाउन नसकिने नै हो ?

सकिन्छ । आज हामीले यो अवस्थाको जिम्मेवारी लिनुपर्छ भनिरहेका छौं ।

०७४ को चुनाव हार्दा राजीनामाको कुरा गर्नुभयो । विशेष महाधिवेशनको कुरा गर्नुभयो । सभापतिले नैतिक जिम्मेवारी त लिनु भएन, अहिले के होला र ?

जिम्मेवारी लिनुपर्छ । पहिलेका जस्तो छैन ।

अब कांग्रेसले के गर्छ त ?

यो घटनाको गम्भीर रुपमा छलफल हुनुपर्छ । केन्द्रीय समिति बैठकको माग भएको छ । नैतिक जिम्मेवारी सभापतिले लिनुपर्छ । यसमा को को संलग्न भएर परिस्थिति निर्माण भयो भनेर सभापतिले खुलस्त पार्नुप¥यो । निराशाको बादल छाएको छ । कार्यकर्ता आक्रोशित छन् । पार्टीका साथीहरुलाई पीडा छ ।

अब केन्द्रीय समिति बैठक बोलाएर सभापतिको राजीनामा माग्नुहुन्छ ?

त्यो पदाधिकारीको काम हो, के गर्नु हुन्छ मलाई थाहा छैन । पार्टीको कार्यकर्ताको नाताले नैतिक जिम्मेवारी लिनुपर्छ । उहाँले सभापति पद छोड्नुपर्छ । उहाँको आत्मबलले पार्टी संगठन चल्दैन । उहाँले संसदीय दल पनि छोड्नुपर्छ । यो घटनालाई देखाएर उहाँले सम्मानजक रुपमा अवकास लिनुपर्छ । पार्टीमा अभिभावक भएर बस्नुपर्छ ।

सभापति शेरबहादुर देउवाले राजीनामा दिनु होला र ?

राजीनामा दिनु पार्टी र उहाँको स्वास्थ्यका लागि राम्रो हो । प्रतिपक्षमा बसेर पाँच वर्ष पार्टी चलाउनु पर्ने छ । उहाँको नेतृत्वमा पार्टी पाँच वर्षमा थप नाजुक हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोहित दाहाल
रोहित दाहाल
लेखकबाट थप