आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

हिंसा विरुद्ध महिला जागरुक बन्नु पर्नेमा जोड

बिहीबार, १० मङ्सिर २०७२, १५ : ०४
बिहीबार, १० मङ्सिर २०७२

लहान– महिलामाथि हुने हिंसा विरुद्ध स्वयम् महिला जागरुक भए हिंसा न्यूनीकरण गर्न सघाउ पुग्ने महिला अगुवाहरुले जोड दिएका छन् । २५ औं अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्धको दिवसको सन्दर्भमा सिरहाको लहान नगरपालिका १३ बस्तीपुर पक्कीटोलमा आयोजित अन्तक्र्रिया कार्यक्रममा सहभागी महिला अगुवाहरुले महिलामाथि हुने सांस्कृतिक, शारीरिक, मानसिक, यौनिक, सामाजिक हिंसा अन्त्यका लागि स्वयम् महिला जागरुक बन्नु पर्ने औंल्याएका हुन् । अन्तक्र्रियामा स्थानीय किशोरी समूहकी सचिव रञ्जना शर्माले विद्यालयमा पढ्न जाँदा होस् वा घाँस दाउरा वा घरायसी किनमेल गर्न हाट बजार जाँदा, केटा साथीसँग बोल्दा समेत औंला उठाउनेहरुको मानसिकता परिवर्तन नगरेसम्म महिला हिंसा अन्त्य नहुने बताइन् ।

‘छोरीलाई पढ्न पठाउँदा समेत छिमेकीहरुले खिसीट्युरी गर्छन्, छोरीलाई लेखपढ गराएर आर्थिक रुपले आत्मनिर्भर बनाउन सके त्यसले पनि महिला हिंसा न्यूनीकरण गर्न सघाउँछ’ शर्माले भनिन् ।

स्थानीय अर्की किशोरी निर्मला महतोले छोरीलाई सम्मान नदिएसम्म महिला हिंसा न्यून नहुने औंल्याउँदै त्यसका लागि दहेज निर्मूल गर्नु पर्नेमा जोड दिइन् । अधिकारकर्मी सुनिलकुमार साहले महिला सशक्तिकरण गर्दै महिलाप्रतिको मानसिकता परिवर्तन गरिए महिला अगाडि बढ्न प्रेरित हुने र आत्मनिर्भर बन्दै जाने उल्लेख गरे ।

घरेलु महिला हिंसा विरुद्ध सञ्जालकी जिल्ला संयोजक रामकुमारी दासले आ–आफ्नो घरबाट हिंसा अन्त्य गर्ने अभियान थालिनु पर्नेमा जोड दिंदै महिलामाथि लगाइने कथित बोक्सीको आरोप विरुद्ध महिला नै उठ्नु पर्ने आवश्यकता औंल्याइन् ।

अन्तक्र्रियामा महिला पुनःस्थापना केन्द्रकी जिल्ला संयोजक निलम यादव, महिला अगुवा आशा महतो, रामकुमारी चौधरी, सुगावती पासवान, आशा साह, मानवअधिकार संरक्षण केन्द्र सञ्जाल सिरहाका संयोजक मणिलाल विश्वकर्मा लगायतले हिंसा जसबाट भएपनि त्यसको शिकार महिला हुने भएकाले त्यसका विरुद्ध घरघरबाट जागरण अभियान थालिनु पर्नेमा जोड दिए । महिला मानवअधिकार रक्षक सञ्जाल सिरहाकी सदस्य रिकमा विश्वकर्माको अध्यक्षता र महिला अधिकारकर्मी गंगा अधिकारीको उद्घोषणमा भएको अन्तक्र्रियामा १६ दिवसीय अभियानको उद्देश्यको विषयमा देवकुमारी महराले बोलेकी थिइन् । महिला पुनः स्थापना केन्द्र सिरहाका अनुसार सन् २०१५ को जनवरीदेखि नोभेम्वरसम्म सिरहा जिल्लामा एक सय ४१ वटा महिला हिंसाका घटना भएका छन् । महिला हिंसाका घटनामध्ये सबैभन्दा बढी कुटपिट ४५, घरेलु महिला हिंसा ३६, बहुविवाह १२, यौनिक हिंसा ११, आत्महत्याका ९ वटा घटना भएका छन् । त्यस्तै, बलात्कार ६, सामाूहिक बलात्कार २, बलात्कार प्रयास ३, हत्या प्रयास ४, दहेजको कारणले भएको हिंसा ४, बोक्सी आरोप ३ अन्य ७ वटा महिला हिंसाका घटना भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप