शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

के हो समाजवाद र पुँजीवाद ?

मङ्गलबार, १९ पुस २०७९, १२ : १८
मङ्गलबार, १९ पुस २०७९

अहिले नेपालमा नेपाली राजनीतिक दलहरूले आफूलाई समाजवादी भनेर नामको पछाडि फुर्को जोड्ने चलन बढ्दै गइरहेको छ । यो सँगसँगै नेताहरूको बोलीमा समेत समाजवाद र पुँजीवादका बढी कुराहरू आउने गर्छन् । 

समाजवादी पार्टी भनेर फुर्को जोड्नेहरूमा जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टी केही ठुला पार्टी हुन् भने अन्य दलहरूले पनि समाजवादी भन्ने नामसँग साइनो गाँस्न रुचाएका छन् । त्यस्तै नेपाली काँग्रेसले समाजवादलाई पार्टीको सिद्धान्तमा राखेतापनि आफूलाई बढी मात्रामा पुँजीवादी पक्षधर भन्ने गर्दछ । 

समाजवाद आफैमा एउटा अति राम्रो शब्द हो तर यो शब्दको धेरैले दुरुपयोग गर्ने गरेका छन् र समाजवादी आचरण देखाउँदैनन् । त्यस्तै आफूलाई समाजवादी वा पुँजीवादी पक्षधर भन्नेहरूले पनि समाजवाद र पुँजीवाद भनेको के हो भन्ने कुरा विस्तृतमा बुझेका छैनन् । 

कार्यकर्ता तहसम्म त समाजवाद र पुँजीवाद भनेको के हो भनेर कसैले प्रश्न गरिहालेमा अक्क न बक्क बन्नुपर्ने स्थिति छ । यी समस्याहरू हटाउन र आजकाल अत्यन्तै बढी मात्रामा प्रयोग हुने गरेको समाजवाद र पुँजीवाद के हो भन्ने कुरामा नै आधारित रही यो आलेख तयार गरिएको छ ।

वास्तवमा समाजवाद राज्यको त्यस्तो आर्थिक अवस्थासँग गाँसिएको शब्द हो, जहाँ देशको सम्पूर्ण अर्थतन्त्रको स्वामित्व सरकारमा निहित हुन्छ । यसलाई अर्को शब्दमा सामाजिक स्वामित्व पनि भनिन्छ । यदि सामाजिक स्वामित्व नीति अँगाल्ने राज्य छ भने त्यसलाई समाजवादी राज्य भनिन्छ । सामाजिक स्वामित्व भन्नाले वस्तुको उत्पादन, नियन्त्रण र व्यवस्थापन सबै राज्यमै केन्द्रित हुनु हो । यसरी समाजवादको सिद्धान्तलाई वकालत गर्ने व्यक्ति वा समूहलाई समाजवादी भनिन्छ । 

समाजवादमा निजीत्वको सम्भावना न्यून हुन्छ र सामूहिकताको सम्भावना बढी हुन्छ । समाजवादमा कुनैपनि कच्चा पदार्थ, औजार र उपकरण, कलकारखाना तथा श्रम सबै उत्पादनसँग सम्बन्धित तत्व हुन् । र, यसबाट उत्पादित वस्तु समूहमा सङ्कलन गरिन्छ तथा आवश्यकताअनुसार वितरण गरिन्छ वा यसमा निजी संघ संस्थाको कुनै गुन्जायस छैन भनिन्छ । 

संसारका अधिकांश कम्युनिस्ट मुलुकहरूले आफूलाई समाजवादी मुलुक भन्न रुचाउँछन् र ती राज्यले सामाजिक स्वामित्व विधि अपनाउँछन् । समाजवादको उस्तै अर्थ कम्युनिस्ट हो, त्यसकारण प्रायः कम्युनिस्टहरूले नै आफूलाई समाजवादको व्याख्याता र समाजवादी भन्ने गर्छन् ।

सामाजिक स्वामित्वका पनि विभिन्न प्रकार हुन्छन्, जसलाई आफ्नो देश र परिवेश सुहाउँदो तरिकाले लागु गर्न पनि सकिन्छ । जस्तै साझा स्वामित्व, सहकारी संस्थान, प्रत्यक्ष सार्वजनिक स्वामित्व र राज्यद्वारा सञ्चालित स्वतन्त्र संस्थान आदि । 

समाजवादी सिद्धान्त लागु गरिएका देशमा व्यक्तिले गरेका उत्पादनलाई तलब वा सामानका रूपमा प्रदान नगरी उनीहरूको स्वास्थ्य, शिक्षा, सुरक्षा र अन्य आवश्यक प्रयोगमा लगाउने गरिन्छ भने लेनिनवादी दृष्टिकोणमा भने राज्यले सङ्कलन गरेका यस्ता उत्पादनलाई आवश्यकताका आधारमा नभई कामका आधारमा वितरण गर्नुपर्छ भन्ने रहेको छ । 

संसारका अधिकांश कम्युनिस्ट मुलुकहरूले आफूलाई समाजवादी मुलुक भन्न रुचाउँछन् र ती राज्यले सामाजिक स्वामित्व विधि अपनाउँछन् । समाजवादको उस्तै अर्थ कम्युनिस्ट हो, त्यसकारण प्रायः कम्युनिस्टहरूले नै आफूलाई समाजवादको व्याख्याता र समाजवादी भन्ने गर्छन् । उदाहरणको लागि उत्तर कोरिया, भियतनाम, क्युवा आदि । तर चीनले आफूलाई समाजवादी भन्दा पनि पुँजीवादी राज्य भन्न रुचाउने गर्छ ।

समाजवादसँग आउने अर्को शब्द पुँजीवाद पनि हो । यहाँ पुँजीवाद भन्नाले समाजवादको ठिक विपरीत अर्थ हुन्छ । समाजवादले श्रम, उत्पादन र नियन्त्रण व्यक्तिको नभई संयुक्त रूपमा समाजको वा राज्यको हुन्छ भन्ने मान्यता राख्छ भने पुँजीवादले श्रम, उत्पादन र त्यसको नियन्त्रण व्यक्ति स्वयंको हुने कुरा गर्छ । वस्तु उत्पादन भएपछि त्यसको बिक्री वितरण खुला बजारमा प्रतिस्पर्धाको माध्यमबाट दर कायम गरेर हुन्छ भन्नु पुँजीवाद हो । 

त्यस्तै पुँजीवाद र कम्युनिज्मबिच फरक छुट्याउने हो भने कम्युनिज्ममा उत्पादन र त्यसको पारिश्रमिक आफूले काम गरेको आधारमा पाउनुपर्ने हुन्छ भन्ने तथ्य पाइन्छ । यसरी शुद्ध समाजवाद र समाजवादी अवस्था पाउन अहिले निकै कठिन छ र यो अवस्था कुनै मुलुकमा पनि पाईंदैन । 

विश्वको औद्योगिक क्रान्तिपश्चात प्लेटोको समयावधिमा बढी मात्रामा प्रचलनमा आएको यो समाजवादी व्यवस्था हाल इतिहास भैसकेको छ । वास्तवमा समाजवादको यो सिद्धान्तलाई सन् १८३० को सेरोफेरोमा आइपुग्दा विभिन्न रुपले अर्थ लगाउने गरिएको इतिहास छ । 

सन् १८४८ मा आइपुग्दा पुँजीवादका प्रमुख व्याख्याता कार्ल मार्क्स र एंगेल्स्ले ल्याएको कम्युनिस्ट घोषणापत्रमा समाजवादलाई हरेकको स्वतन्त्र विकासको शर्त नै सबैको स्वतन्त्र विकास हो भन्ने धारणा आएपछि यसको व्याख्या वैज्ञानिक समाजवादको ढंगले हुन थालेको हो । 

मार्क्स र एंगेल्सले ल्याएको त्यतिबेलाको अवधारणा समाजमा रहेका कुरीति, अन्धविश्वास, थिचोमिचो, चरम गरिबी, काला र गोराबिचको प्रवृत्ति वा दास प्रथा आदि सुहाउँदो थियो, जसले गर्दा यो निकै लोकप्रिय हुन पुग्यो र मार्क्सको दर्शन अहिलेसम्म पनि उत्तिकै सह्रानीय रहेको छ । 

वैज्ञानिक समाजवाद भनेको पुराना समाजवादी सिद्धान्तलाई आवश्यक परिमार्जन गर्दै देश सुहाउँदो समाजवाद लागु गर्ने कुरा हो भन्ने धारणा पर्छ । यस अन्तर्गत दलाल पुँजीवादको विरुद्ध वकालत गर्दै समुन्नत समाज निर्माणका लागि राष्ट्रिय पुँजीको निर्माण गर्ने योजना पार्टीले अघि सारेका छन् । 

तर अहिलेका कम्युनिस्टले गर्ने समाजवादको व्याख्या भन्दा अहिलेको परिवेशमा सामाजिक प्रजातन्त्र वा प्रजातान्त्रिक समाजवाद भन्ने अवधारणा नै भरपर्दो र कार्यान्वयन योग्य हुन पुगेको छ । प्रजातान्त्रिक समाजवादमा उत्पादनमा राज्यको पूर्ण नियन्त्रण नभई जनताद्वारा निर्वाचित सरकारले उत्पादन र आयलाई स्वच्छतापूर्वक वितरण गर्छ र आर्थिक वृत्तिविकासलाई बढी महत्त्व दिन्छ भन्ने मान्यता स्थापित भएको छ । यही मान्यतालाई स्वीडेन र डेनमार्कले अपनाएका छन् भने चीन जस्तो कम्युनिस्ट मुलुकले पनि यसलाई परिमार्जन गरी आत्मसात् गरेको छ र चीन विश्व अर्थतन्त्रमा उदाउँदो सर्वशक्तिमान राष्ट्र बन्ने क्रममा छ । 

यसरी निष्कर्षमा के भन्न सकिन्छ भने कम्युनिस्ट र समाजवाद राजनीतिक र आर्थिक प्रणालीको रूपमा रहेको छ भने पुँजीवाद एक आर्थिक प्रणालीको रूपमा र प्रजातन्त्र राजनीतिक पाटोको रूपमा रहेको छ । यसको अर्थ समाजवादीले कम्युनिस्ट सिद्धान्तको राजनीति गर्छन् भने पुँजीवादीले पुँजीलाई आर्थिक प्रणालीको रूपमा विकास गर्ने र प्रजातन्त्रलाई राजनीतिक प्रणाली मान्दछन् । त्यसकारण सबै कम्युनिस्ट समाजवादी हुन् भने सबै समाजवादी चाहिँ कम्युनिस्ट होइनन् ।

जे होस् अहिलेको बदलिंदो परिवेशमा विश्वभरबाट कम्युनिस्ट वा समाजवादी सिद्धान्त एक हिसाबले असफल सावित भैसकेको अवस्थामा संसारभर पुँजीवादको लहर आएको छ । नेपालले पनि पुँजीवादकै बाटो समाएको छ । यस्तो स्थितिमा पुँजीवादबाट हुने फाइदाको बारेमा बुझ्नुपर्ने हुन्छ । पुँजीवाद नै अहिलेको एक्काइसौँ शताब्दीको सफल प्रयोग हो र यसलाई अपनाउनुपर्छ भन्ने पक्षमा निम्न मत अगाडि राख्न सकिन्छ–

̵ व्यक्तिगत उत्पादनलाई खुला बजारमा प्रतिस्पर्धा गर्न दिँदा उपभोक्तालाई कम मूल्यमा, बढी गुणस्तरीय र मन लागेका उत्पादन प्रयोग गर्ने बाटो खुल्छ ।

̵ खुला बजारको प्रतिस्पर्धालाई अनुमान गरी व्यक्तिले आफ्नो क्षमतालाई भरमग्दुर उपयोग गरी बढी उत्पादन गर्ने र बढी श्रम गर्ने क्षमता विकास गर्छ, जसले गर्दा उत्पादकत्वमा वृद्धि हुन्छ ।

̵ बढी श्रम गर्ने बानीको विकास हुन्छ र श्रमको उचित कदर गर्ने परिपाटी बस्छ ।

̵ धेरै जनालाई गरिबीबाट बचाउन र जनजीवन उच्च कायम गर्न मद्दत पुर्‍याउँछ ।

̵ दिनहुँ भइरहने नयाँ प्रतिस्पर्धामा जुध्न आधुनिक विधिहरूको अनुसन्धान तथा अवलम्बन गर्न सहयोग पुग्छ ।

̵ परिश्रमी जनशक्तिका कारण देशको आर्थिक स्तर माथि उक्लन्छ, जसले गर्दा आर्थिक रूपमा स्वतन्त्र, समृद्धि र मानवीय प्रगति हुन्छ ।

̵ राज्यको आयस्तर पनि बढ्छ र विकासको लागि बाटो खुल्छ ।

̵ राज्यको आयस्तर बढ्दै गएमा न्यून तथा मध्यम आयस्तर भएका, पछाडि परेका, अशिक्षित वर्ग तथा महिलाहरूलाई विशेष आरक्षण गरी उनीहरूको अवस्थालाई पनि माथि उकास्ने कार्यक्रम लागु गर्न सकिन्छ ।

अन्तमा, नेपालमा स्थापित समाजवादी नामधारी पार्टीले आफ्ना धारणाहरू अघि सार्ने क्रममा समाजवादलाई वैज्ञानिक समाजवादको यात्रामा अघि बढ्ने भनेका छन् । 

वैज्ञानिक समाजवाद भनेको पुराना समाजवादी सिद्धान्तलाई आवश्यक परिमार्जन गर्दै देश सुहाउँदो समाजवाद लागु गर्ने कुरा हो भन्ने धारणा पर्छ । यस अन्तर्गत दलाल पुँजीवादको विरुद्ध वकालत गर्दै समुन्नत समाज निर्माणका लागि राष्ट्रिय पुँजीको निर्माण गर्ने योजना पार्टीले अघि सारेका छन् । 

दलाल पुँजीवाद भनेको पुँजी सङ्कलन टाठा बाठा र धनाढ्यहरूले गरेर उद्योगधन्दा तथा उत्पादनमूलक काममा लगाउनुको साटो अनुत्पादक काममा खर्च गर्नु हो । यसबाट जनतालाई रोजगारी पनि नहुने, राजस्व पनि सङ्कलन नहुने र देश गरिबीतर्फ धकेलिने डरलाग्दो अवस्था सिर्जना हुनु हो । 

पुँजी वास्तवमा कृषि, उद्योगधन्दा, पशुपालन वा दिगो आय आर्जन हुने काममा लगाउनुको सट्टा वित्तीय कारोबार गर्ने संस्थामा लगाउने वा जग्गा प्लटिङ वा घर निर्माणमा मात्र लगाउँदा उत्पादनमूलक काम हुँदैन । र, यसले देशको अर्थतन्त्र थप धराशायी भएर जाने हुँदा त्यस्तो पुँजी सञ्चालन गर्ने व्यक्तिलाई दलाल पुँजीवादी भनिन्छ । यस्ता व्यक्तिले अनुत्पादक क्षेत्रमा पुँजी लगानी गरी आफूले कमिसन खाने र झन् धनी बन्दै जाने गर्छन् । त्यसकारण पुँजीवादी अर्थ प्रणालीमा यस्ता व्यक्ति बाधक हुन्छन्, जसलाई राज्यले नियन्त्रण गर्नुपर्नेमा झन् नेपालमा त्यस्ता व्यक्तिलाई थप हौसला दिने गरिन्छ, जुन देश र जनताको लागि दुर्भाग्य हो ।

लेखक मध्यविन्दु बहुमुखी क्याम्पस, कावासोती, नवलपुरमा प्राध्यापनरत छन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरनाथ पाण्डे
नरनाथ पाण्डे
लेखकबाट थप