बुधबार, २४ वैशाख २०८२
ताजा लोकप्रिय

बर्सिम घाँसको बीउबाटै लाख कमाउँछन् किसान

मङ्गलबार, २३ वैशाख २०८२, ०६ : ०७
मङ्गलबार, २३ वैशाख २०८२

दाङ । घोराही उपमहानगरपालिका–६ का मिकसर चौधरीले २२ कट्ठा जमिनमा बर्सिम घाँसखेती गरेका छन् । उनले दुईटा दुहुना भैँसी र आठ वटा भेँडा पालेका छन् । 

कात्तिकदेखि वैशाखसम्म हरियो घाँस काटेर भैँसी र भेँडालाई खुवाउने र बीउ बिक्री पनि गरिरहेको उनले बताए । चौधरीले पोहोर मात्रै दुई लाखको घाँसको बीउ बिक्री गरेको जानकारी दिए । यो वर्ष पनि प्रसस्त दाना लागेको भन्दै गत वर्षभन्दा बढी आम्दानी हुने उनले विश्वास व्यक्त गरिन् ।  

‘बर्सिम घाँस खेतमा छर्न थालेपछि हिउँदको समयमा घाँस खोज्न जान परेको छैन, समयको बचत भएको छ । हरियो हुँदा घाँस खुवाउन पनि पाइने र त्यसको दानालाई बीउका रूपमा बिक्री हुन्छ’ उनले भने । उनका अनुसार दाङका किसानले घाँसको बीउ बिक्री गरेर लाखौँ रुपैयाँ आम्दानी गर्न थालेका छन् ।

घोराही–६ का प्रेम चौधरीले तीन वटा भैँसी, एउटा गाई र छ वटा बाख्रा पालेका छन् । उनले भने, ‘१९ कट्ठा खेतमा बर्सिम घाँस छरेको छु, वस्तुभाउलाई घाँस खुवाउन सहज भएसँगै पशुपालन सजिलो भएको छ । हिउँदमा  हरियो घाँस खाएर भैँसीले दूध पनि बढाएका छन् ।’

घरमा बीउ उत्पादन गरेर बर्सेनि घाँसखेती गर्ने गरिरहेको भन्दै प्रेमले घाँसका लागि पशुपालक किसानको घाँसखेतीमा आकर्षण बढेको जानकारी दिए । ‘वर्षात्को समयमा लगाएको धान काट्नुभन्दा अगाडि मसुरो छरे जस्तै गरेर यो घाँसको बीउ छर्ने गरिन्छ । घाँस उम्रँदा धान काटिसकेको हुनुपर्छ, कसैले यसलाई खेत जोतेर पनि छर्ने गरेका पनि छन्’, उनले भने । गएको वर्ष ९० हजारको घाँसको बिउ बिक्री गरेको जनाउँदै प्रेमले यो वर्ष एक लाखभन्दा बढीमा बिक्री हुने अनुमान गरेको बताए ।   

घोराही–५, ६, ७, ८ र १७ का कृषकले १५ कट्ठादेखि २५ कट्ठासम्ममा घाँसखेती गरेका घाँस बीउ उत्पादक सङ्घले जनाएको छ  । अन्य बालीभन्दा धेरै फाइदा हुने भएपछि यसतर्फ किसानको आकर्षण बढेको सङ्घका सचिव विमल अधिकारीले जानकारी दिए । 

घोराही–६ को गुरुवागाउँ, गुरगै, जजरागाउँ, बेरुवागाउँ, बेरगै, फचकपुर र अघरा तथा घोराही–१७ को कर्जाही र गैरागाउँका किसानले विगत १० वर्षदेखि बर्सिम घाँसखेती गरिरहेका उनले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप