सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

‘फुड ट्रक’बाट मनग्य आम्दानी

आइतबार, २४ पुस २०७९, ०७ : ४७
आइतबार, २४ पुस २०७९

मोरङको सुन्दरहरैंचाका नेपाली युवासँग वैवाहिक सम्बन्धमा बाँधिएर नेपाल आएकी  फिलीपिनो महिला रोज ग्रान्डा समाजका लागि उदाहरण बनेकी छन् । कोरोनाकालमा आर्थिक अभावका कारण वैदेशिक रोजगारीमा जान ठिक्क परेका आफ्ना पति जङ्गबहादुर विश्वकर्मालाई नेपालमै काम गर्नका लागि  ग्रान्डाले प्रोत्साहित गरिन् । ती दम्पतीले अहिले ‘फुड ट्रक’ सञ्चालन गरी प्रशस्त आम्दानी गरिरहेका छन् ।

विश्वकर्मा र ग्रान्डाले फुड ट्रक सञ्चालन गरिरहेका छन् । फुड ट्रक भनेको चार चक्के गाडीमा मांसाहारी र शाकाहारी खानाका विभिन्न परिकार पकाएर बिक्री गर्ने होटल हो ।
विराटनगर–४ को कञ्चनबारीको सडक छेउमा यी दम्पतीले दिनको ३ बजेदेखि बेलुकीको ७ बजेसम्म फुड ट्रक चलाउने गरेका छन् । विराटनगरमा यो एकमात्र फुड ट्रक हो । फुड ट्रकबाट दैनिक रु १५ देखि २० हजारसम्मको व्यापार हुने गरेको छ ।

विसं २०५२ मा दुबईको स्पिनिस क्याटेरिङमा व्यवस्थापक पदमा काम गर्न विश्वकर्मा दुबई गएका थिए । त्यहीको अर्को कम्पनी केयरफोरमा काम गर्ने फिलिपिन्सकी महिला ग्रान्डासँग विश्वकर्माको प्रेम बस्यो । २०७५ मा दुवै  स्वदेश फर्किएर अदालतमा आधिकारिक विवाह गरे ।

विसं २०७६ चैत ११ गतेदेखि देशमा कोरोनाका कारण लकडाउन लागेपछि विश्वकर्मा र ग्रान्डालाई पनि आर्थिक समस्या प¥यो । लकडाउन खुल्नेबित्तिकै विश्वकर्माले पुनः वैदेशिक रोजगारमा जाने तयारी गर्न थाले । तर ग्रान्डाले नेपालमै प्रशस्त सम्भावना देखे र आफ्ना श्रीमान्लाई नेपालमा नै व्यवसाय गर्न प्रेरित गरे । 

चार चक्के गाडीमा विभिन्न खानेकुराको परिकार बनाएर घुम्ती होटलको व्यवसाय चलाउनु विदेशमा सामान्य हो । क्याटेरिङमा काम गर्नुभएका विश्वकर्मालाई खाना बनाउने ज्ञान थियो । ग्रान्डाको सल्लाह र सुझावमा विश्वकर्माले गाडी किन्नुभयो र होटलको आकार दिए । यसमा उनको रु २२ लाख खर्च भयो । गाडीवाला होटलले हाल दैनिक रु २० हजारसम्मको कारोबार गर्ने गरेको छ ।  शान्त र जति पनि अवसर रहेको नेपाल छाड्न मनै नलागेको ग्रान्डाले बताए ।

उहाँले वैदेशिक रोजगारीमा जाने युवायुवतीका लागि नेपालमै प्रशस्त अवसर रहेको जनाउनुभयो ।  तीन महिनाअघि मात्र नेपाली नागरिकता पाउनुभएकी ग्रान्डा आफ्ना श्रीमान् विश्वकर्मासँग अङ्ग्रेजीमा वार्तालाप गर्छिन् भने ग्राहकसँग मज्जाले नेपालीमा कुराकानी गर्छिन् । 

विराटनगर–४ स्थित नोबेल मेडिकल कलेजका चिकित्सक डा सूर्यप्रकाश सोनीले आफू फुड ट्रकको नियमित ग्राहक भएको बताए । उनले फिलिपिन्सकी महिलाको मेहेनत देखेर आफू दङ्ग हुने गरेको बताए ।

विराटनगर–२ की रेणुका श्रेष्ठले गाडीमा पकाएको खाना स्वादिष्ट हुने गरेको तर्क गरे । उनले फिलिपिन्सबाट आएकी ग्रान्डाबाट विदेश जान खोज्ने युवायुवतीले धेरै कुरा सिक्न सक्ने बताए   जाँगर भए नेपालमा प्रशस्त आम्दानी गर्न सकिने भन्ने उदाहरण ग्रान्डाले प्रस्तुत गर्नुभएको श्रेष्ठले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप