आइतबार, ०९ असार २०८१
ताजा लोकप्रिय

प्रसिद्ध धार्मिक क्षेत्र ‘कैलाश–मानसरोवर’ अब हेलिकप्टरमा सरर...

खर्च किस्ताबन्दीमा तिर्न पाइने
आइतबार, ०६ जेठ २०८१, १९ : ५८
आइतबार, ०६ जेठ २०८१

काठमाडौँ । धार्मिक पर्यटनको प्रसिद्ध गन्तव्य ‘कैलाश–मानसरोवर यात्रा’का लागि सिम्रिक एयरले आकर्षक प्याकेज ल्याएको छ । आन्तरिक पर्यटक र पर्यटन व्यवसायलाई गतिशीलता दिन कम्पनीले सनराइज कैलाश ट्राभल प्रा.लि.सँगको साझेदारीमा अफसिजन ट्राभल प्याकेज ल्याएको हो ।

कम्पनीले २ लाख ५० हजार रुपैयाँमै हवाई यात्रामार्फत कैलाश–मानसरोवर यात्रा गराउने जनाएको छ । नेपालगञ्ज–हुम्ला सिमीकोट–हिल्सा हुँदै थाक्लाकोट–मानसरोवर पुगेर कैलाश सर्किट घुमेर फर्किने रुटका लागि कम्पनीले ५ रात/६ दिनको प्याकेज बनाएको छ ।

नेपालगञ्जलाई मुख्य यात्रा विन्दु बनाएको कम्पनीले पहिलो रात यात्रुहरूलाई नेपालगञ्जकै सुविधासम्पन्न स्टार होटलमा खानेबस्ने सुविधा राखेको छ भने भोलिपल्ट (दोस्रो दिन) नेपालगञ्जबाट प्लेनमा सिमीकोट जाने प्रबन्ध मिलाएको छ ।

यात्राको तेस्रो दिन सिम्रिक एयरको हेलिकप्टरमार्फत यात्रुहरूलाई हिल्सास्थित अध्यागमन विभागमा पुर्याइने कम्पनीका महाप्रबन्धक मुरलीधर जोशीले रातोपाटीसँग बताए ।

‘हिल्सा पुग्ने बित्तिकै त्यहाँ क्रस–बोर्डर लागि आवश्यक अध्यागमन प्रक्रिया मिलाइनेछ । यसपछि थाक्लाकोटसम्मको करिब १ घण्टाको (२७ किलोमिटर) यात्रा बसमा गराइनेछ,’ उनले भने ।

चौथो दिन बिहानै निस्किएर करिब डेढ घण्टा (९५ किलोमिटर) को यात्रा पश्चात मानसरोबर ताल पुग्ने जोशीले बताए । ‘त्यहाँ पूजा, पाठ सकेर मानसरोबर परिक्रमा सुरु हुनेछ । कुल ९० किलोमिटर रहेको कैलाश–मानसरोबर सर्किट घुमेर सोही दिन प्रसिद्ध धार्मिक स्थल दार्चिन र यमदबारको भ्रमण हुनेछ । यात्राको महत्त्वपूर्ण यस दिनको बास बेलुका थाक्लाकोट फर्केर हुनेछ,’ जोशीले रातोपाटीसँग भने ।

कैलाश–मानसरोवर यात्राभर सुविधा सम्पन्न चिनियाँ पर्यटक बसको प्रयोग गरिने बताएका जोशीले सोही बसले यात्रुहरूलाई भोलिपल्ट (यात्राको ५औँ दिन) हिल्सा ल्याएर छाड्नेछ ।

हिल्साबाट सिम्रिक एयरले पुनः यात्रुहरूलाई सिमीकोट झार्नेछ । त्यसदिन सिमीकोटमै राखेर छैटौँ दिन प्लेनमार्फत यात्रुहरूलाई नेपालगञ्ज ल्याइने महाप्रबन्धक जोशीले बताए । नेपालगञ्जबाट भने यात्रुहरूले आफूखुसी यात्रा गर्न सक्नेछन् ।

Simikot-hilsha

यात्राको प्रारम्भविन्दु ‘नेपालगञ्ज’ नै किन ?

खासगरी सिम्रिक एयरले अफसिजनको पर्यटन व्यवसायलाई क्यास गर्नेगरी नेपाली धार्मिक पर्यटकहरूलाई नै केन्द्रमा राखेर कैलाश–मानसरोवर यात्राको प्याकेज बनाएको हो । चीनले भारतीय पर्यटकलाई प्रवेश निषेध गरे पनि मानसरोवर जान चाहने नेपाली पर्यटकका लागि आफूहरूले यस्तो प्याकेज बनाएको कम्पनीका महाप्रबन्धक जोशी बताउँछन् ।

‘अघिल्लो वर्ष कति नेपालीहरू कैलाश–मानसरोवर गएका रहेछन् त भनेर तथ्याङ्क हेर्दा तीन हजार प्लस गएका देखियो । यो राम्रो सङ्ख्या हो । यसमा केही सहज र सुविधामुलक प्याकेज दिन सकियो भने यस्तो सङ्ख्या थप बढ्न सक्छ भन्ने हामीलाई लाग्यो र प्याकेज बनायौँ,’ जोशीले भने ।

नेपालगञ्जलाई नै प्रारम्भ विन्दु बनाइनुको कारण खोल्दै उनले भने, ‘यता काठमाडौं–केरुङ्ग रुट निकै कठिन छ । यो रुटमा बसबाट मात्र यात्रा सम्भव भएको र त्यो पनि निकै कठिन र लगातार बसको यात्रा हुँदा दिक्दारपूर्ण हुने हुँदा हामीले सिमीकोट–हिल्सा रुटलाई रोजेका हौँ । यसो हुँदा प्लेन, हेलिकप्टर र बसको यात्रा हुँदा यात्रुहरूलाई बोरिङ्ग र थकान पनि हुँदैन ।’

पोखराबाट जाने, दाङ, तुलसीपुर, धनगढी लगायतका पश्चिम क्षेत्रबाट जाने यात्रीहरूलाई किन काठमाडौँ ल्याउने भनेर नेपालगञ्जलाई नै प्रस्थान विन्दु बनाएको उनले खुलासा गरे ।

नेपालगञ्जदेखि कैलाश–मानसरोवर–नेपालगञ्जको कुल प्याकेज २ लाख ५० हजार रुपैयाँको छ । तर, पूर्वी नेपाल, काठमाडौँ लगायतका क्षेत्रहरूबाट जाने यात्रीहरूले भने नेपालगञ्जसम्मको यात्राको प्रबन्ध आफैँले गर्नुपर्छ ।

यात्राको खर्च किस्तामा तिर्न पाइने

mansarobar

कम्पनीले यात्राको खर्च किस्तामा तिर्न पाइने सुविधासमेत यात्रुहरूलाई प्रदान गरेको छ । यसका लागि कम्पनीले चार वटा बैंकसँग सहकार्य गरेको छ ।

‘यात्रुहरूको सहजताका लागि कम्पनीले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, माछापुच्छ«े बैंक, हिमालयन बैंक र नबिल बैंकसँग सम्झौता गरेको छ । यी बैंकहरूमा खाता हुनेहरूले सरल र सहज रुपमा यात्राको खर्चबापत विना ब्याजको ऋण पाउनेछन्,’ महाप्रबन्धक जोशीले भने, ‘बैंकहरूले ९ महिनादेखि १२ महिना (एक वर्ष)सम्मको फाइनान्सिङ्ग सुविधा प्रदान गर्नेछ । त्यो पनि विना ब्याजको ।’

साथै, कम्पनीले यात्रुहरूको दुर्घटनासँगै पूर्णजीवन बीमा समेत गर्नेछ । यात्राको क्रममा दुर्घटना भए घाइते यात्रुको औषधि उपचारका लागि कम्पनीले ५ लाख रुपैयाँसम्मको मेडिकल बीमाको सुरक्षण प्रदान गरेको छ भने यात्रुको मृत्यु भएमा १० लाख रुपैयाँ बीमा भुक्तानी गरिने जोशीले बताए ।

यसबाहेक हवाई यात्राका क्रममा दुर्घटना भए वा केही भए हवाई उड्डयन ऐन अन्तर्गत तोकिए बमोजिमको बीमा यात्रुले छुट्टै पाउने जनाइएको छ । कम्पनीले कैलाश–मानसरोबर यात्राका लागि सगरमाथा लुम्बिनी कम्पनीसँग बीमा सम्झौता गरेको छ ।

कहिलेसम्म चल्नेछ प्याकेज ?

२१ मे, २०२४ देखि सुरु हुने यस भ्रमण प्याकेज सिजनभरि नै चल्ने सिम्रिक एयरले जनाएको छ । एउटा समूहमा बढीमा १५ जना सहभागी गराइने जनाएको कम्पनीले यात्रुहरूको मागका आधारमा तीन दिनको अन्तरालमा भ्रमण टोली कैलाश–मानसरोवर लैजानेछ । कैलाश–मानसरोवर यात्रा दक्षिण एसियामा प्रसिद्ध तीर्थयात्रा हो । ४६०० मिटरसम्मको उचाइमा रहेको यो धार्मिक क्षेत्र निकै कठिन र लामो पदमार्ग पनि हो । यस्तो कठिन र उच्च लेकको यात्रालाई हवाई (हेलिकप्टर) मार्फत छिटो, भरपर्दो र भरपुर आरामदायी बनाउने कम्पनीले विश्वास व्यक्त गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप