शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
प्रदेश

बागमतीको मुख्यमन्त्रीमा गठबन्धनभित्र भागबन्डाको लफडा

आइतबार, २४ पुस २०७९, १४ : ४५
आइतबार, २४ पुस २०७९

मकवानपुर । बागमती प्रदेश सरकारको नेतृत्वका विषयमा सत्तारुढ गठबन्धन दलहरू बीच भागबण्डा मिल्न सकेको छैन । गत बिहीबार सरकार गठनका लागि आह्वान गर्दै प्रदेश प्रमुखले पुस २५ गते अपराह्न ४ बजेसम्म सरकार निर्माणका लागि बहुमत सदस्यसहित दाबी पेस गर्न सूचना जारी गरेसँगै सत्ता गठबन्धनमा आबद्ध दलहरू छलफलमा जुटेका थिए । तर, उक्त विषयमा केन्द्रीय तहमा सरकारको नेतृत्वको भागबन्डाको विषय टुङ्गिन नसक्दा समस्या देखिएको छ ।

सत्तारुढ दलका शीर्ष नेतृत्वले बागमती प्रदेशको नेतृत्वबारे निर्णय गर्न नसक्दा प्रदेशमा सरकार गठनका लागि दलका नेताहरू थप अन्योलमा परेका छन् । सरकारको नेतृत्वका लागि सत्ता गठबन्धनका तीन वटै दलका नेताहरू आ–आफ्नो सशक्त दाबी गरिरहेका छन् ।

गठबन्धनमा आबद्ध तीन वटै दलका नेताहरू आ–आफ्नो पक्षमा दाबी अनुसार नतिजा निकाल्न तीव्र लबिङमा छन् । तर, उक्त दलका शीर्ष नेतृत्वले सरकारको मुख्यमन्त्रीसहित अन्य पदको भागबन्डाको विषयमा भने निर्णय लिन सकेको छैन । सरकार गठनका विषयमा केन्द्रीय समीकरण अनुसार नै अघि बढ्ने तयारी अनुसार सत्ता गठबन्धनका दलहरू शीर्ष नेतृत्वको निर्णय पर्खिरहेका छन् ।

बागमती प्रदेशको मुख्यमन्त्रीमा सत्ता गठबन्धनमा आबद्ध नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाको सशक्त दाबी छ । एमालेबाट जगन्नाथ थपलिया मुख्यमन्त्री बन्ने लबिङमा छन् भने माओवादी केन्द्रबाट शालिकराम जमरकट्टेल र राप्रपाबाट उद्धव थापा मुख्यमन्त्रीको दाबेदारको रूपमा प्रस्तुत भएका छन् ।

एमाले बागमती प्रदेश संसदीय दलका नेता थपलियाका अनुसार केन्द्रले बागबण्डा टुङ्ग्याए लगत्तै प्रदेश सरकारमा सत्ता गठबन्धनबाट प्रदेश प्रमुख समक्ष दाबी पेस हुनेछ । प्रदेश सरकारको नेतृत्व एमाले पाउनुपर्ने आधारहरू सहित केन्द्रमा आफूले दाबी पेस गरेको र सोही अनुसार निर्णय आउने उनले बताए ।

सरकारको नेतृत्वको विषयमा शीर्ष नेतृत्वले आज नै निर्णय लिने र प्रदेश प्रमुखले दिएको समय सीमाभित्र सत्ता गठबन्धनका तर्फबाट आफूले दाबी पेस गर्ने उनको भनाइ छ ।

‘केन्द्रले आज बेलुकासम्म भागबण्डा टुङ्ग्याउँछ । त्यस लगत्तै हामी सरकार गठनका लागि प्रदेश प्रमुख समक्ष दाबी पेस गर्छौँ । हामीले आधारसहित हाम्रो पक्षमा निर्णय गराउन लबिङ गरेका छौँ । केन्द्रले पनि सोही अनुसार निर्णय लिन्छ भन्ने हाम्रो विश्वास हो,’ उनले भने ।

यता राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापा पनि सरकारको नेतृत्वको विषयको निर्णय केन्द्रबाट अड्किएको बताउँछन् । केन्द्रले सरकारको नेतृत्व लगायतको विषयमा भागबण्डा टुङ्ग्याउन नसकेका कारण कसको नेतृत्वमा जाने भन्नेमा समस्या भइरहेको बताए ।

प्रदेश प्रमुखले दिएको समय सीमाभित्र केन्द्रले सरकारको नेतृत्वको भागबण्डा टुङ्ग्याउने उनले बताए । बागमती प्रदेश सरकारको नेतृत्वको लागि राप्रपाले पनि आफ्नो दाबी पेस गरेकाले सोही अनुसार लबिङ भइरहेको उनको भनाइ छ ।

‘सरकार गठनका विषयमा नेतृत्वको निर्णय हुन बाँकी छ । केन्द्रमा त्यसको छलफल भइरहेको छ । निर्णय आए लगत्तै प्रदेश प्रमुख समक्ष हामी दाबी पेस गर्छौँ । हामीले पनि सरकारको नेतृत्वका लागि आधारसहित दाबी पेस गरेका छौँ र सोही अनुसार लबिङमा छौँ,’ उनले भने ।

उनका अनुसार ७ प्रदेशमध्ये बागमती प्रदेशमा राप्रपाको प्रभाव राम्रो रहेकाले सरकारको नेतृत्वमा दाबी गरिएको हो । यस विषयमा पार्टी नेतृत्वले पनि आफ्नो तर्फबाट लबिङ गरिरहेको उनले बताए । सत्ता गठबन्धनमा भागबण्डा नमिलेको खण्डमा पार्टी नेतृत्वको निर्देशन अनुसार प्रदेशस्तरमा फरक गठबन्धन बनाएर अघि बढ्न पनि राप्रपा तयार रहेको र त्यस्ता प्रस्ताव आइरहेको उनले बताए ।

यता नेकपा माओवादी केन्द्र बागमती प्रदेशका संसदीय दलका नेता शालिकराम जमरकट्टेल पनि गठबन्धन दलका शीर्ष नेतृत्वले छिट्टै नै भागबन्डाको विषय टुङ्ग्याएर मार्ग दिनुपर्ने बताउँछन् । माओवादी केन्द्रबाट पनि सरकारमा दाबी रहेको र सोही अनुसार लबिङ भइरहेको उनले बताए । शीर्ष नेतृत्वको सहमति अनुसार भागबण्डा टुंगिने र नेतृत्वको निर्णय स्वीकार गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ । भागबन्डाको विषयमा सत्ता गठबन्धन दलहरू बीच सहमति बनेपछि प्रदेश प्रमुख समक्ष सरकार गठनका लागि दाबी पेस गर्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप