सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

‘रातो स्टिकर’ भएको घरमा फर्किने जोखिम किन लिँदैछन् बाबुराम ?

आइतबार, २४ पुस २०७९, १७ : २६
आइतबार, २४ पुस २०७९

काठमाडौं । डा.बाबुराम भट्टराईले २०७२ असोज ९ गते माओवादी पार्टी ‘रातो स्टिकर’ (बस्न आयोग्य) भएको घर भन्दै सो पार्टी नै परित्याग गरेका थिए । तर अहिले त्यही ‘रातो स्टिकर’ भएको घरमा फर्किन उनी हतारिएका छन् ।

माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पुस २३ गते भेटेर नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईले पार्टी एकीकरण गर्ने सहमति गरे । त्यसको औपचारिकताका लागि आज उनले पार्टीको राजनीतिक समितिबाट पनि निर्णय गराइरहेका छन् ।

२०७२ असोजमा माओवादी छाडेका बाबुराम भट्टराईले २०७३ जेठ ३० गते नयाँ शक्ति पार्टी घोषणा गरेका थिए । तर उनले सो पार्टी एक वर्ष पनि चलाउन सकेनन् र २०७४ वैशाखमा उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम नेपालसँग पार्टी एकीकरण गरेका थिए ।

उपेन्द्र यादवसँग एकीकरण गर्दा ‘एउटा पसल थापिहालौँ, थोत्रो माल बेचिहालौँ’ भनेर पार्टी एकीकरण गरिएको होइन भनेका बाबुरामले २०७९ असारमा सोही पार्टीलाई ‘क्षेत्रीयतावादी’ आरोप लगाउँदै पार्टीबाट अलग भए । पाँच वर्षपछि उपेन्द्र यादवको साथ छाडेर नेपाल समाजवादी पार्टी गठन गरेका उनले त्यो पार्टी गठन गरेसँगै माओवादीसँग एकता गर्ने पहल सुरु गरिसकेका थिए ।

 

आक्रामक प्रचार प्रसार गरी नयाँ शक्ति घोषणा गर्दा त्यतिबेला एमालेका अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गरेका थिए, ‘नयाँ शक्तिले एमालेबाहेक अरु सबै दललाई धक्का दिनसक्छ ।’ तर ओलीको टिप्पणी गलत साबित भयो । नयाँ शक्ति जुन तामझामका साथ गठन भएको थियो, त्यसरी नै विस्तारै सेलाउँदै गएको थियो ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन नयाँ शक्ति पार्टीबाट बाबुराम आफूमात्र विजयी भए । सो पार्टीबाट स्थानीय तहमा ११०, प्रदेशसभामा ३ जना उम्मेदवार विजयी भएका थिए । त्यसपछि फोरमसँग मिलेर समाजवादी पार्टी बनाएका बाबुरामले तत्कालीन राजपासँग एकीकरण गरेर जनता समाजवादी पार्टी बनाएका थिए ।

तर सो पार्टीमा महन्थ ठाकुरहरु टिक्न सकेनन् र अलग भएर लोसपा बनाएका थिए । महन्थ ठाकुरहरु निस्केको केही समयपछि बाबुराम भट्टराई पनि अलग भएर आफ्नो अध्यक्षतामा नेपाल समाजवादी पार्टी बनाए । 

तर सुरुदेखि उनलाई साथ दिँदै आएका नेताहरू नेपाल समाजवादी पार्टी गठन गर्दासम्म उनको साथ छाडेर एकपछि अर्को गर्दै हिँडिसकेका छन् । नेपाल समाजवादी पार्टी गठन गर्ने बेला प्रशान्त सिंह, मदन राईले उनको साथ छाडेका छन् । बाबुरामलाई आदर्श मान्ने प्रशान्त सिंह र मदन राईमात्र होइन, सुरुदेखि बाबुरामलाई साथ दिएका डम्बर खतिवडाले पनि सुरुमै उनको साथ छाडेका थिए । बाबुरामले माओवादीसँग एकता गर्ने प्रस्ताव ल्याएपछि खतिवडाले उनको साथ छाडेका थिए ।

माओवादीमै हुँदादेखि नै बाबुरामलाई साथ दिँदै आएका प्रभु साह, महेन्द्र पासवान, वामदेव क्षेत्रीलगायतका थुप्रै नेताले बाबुरामको साथ छाडिसकेका छन् । नयाँ शक्ति बनाउन उनलाई साथ दिएका मुमाराम खनाल एक वर्ष नबित्दै सो पार्टी छाडेर हिँडेका थिए । वाम बुद्धिजीवीको रूपमा चिनिएका मुमाराम खनालले पनि बाबुराम भट्टराईलाई आफ्नो आदर्श मान्ने गर्थे । उनले नयाँ शक्ति छाड्ने बेला भनेका थिए, ‘हामीले १७९ वटा दलको बीचमा एउटा थपेर १८० औँ बनाउन खोजेका होइनौँ । तर, नयाँ शक्ति पार्टीको विकास क्रमले एउटा नयाँ थपिएर १८० औँ बन्नु बाहेक अर्को सम्भावना देखिएन ।’

माओवादी केन्द्रमै हुँदा बाबुराम पक्षीय नेताको रूपमा चिनिएका देवेन्द्र पौडेल नयाँ शक्ति गठन भएको एक वर्षपछि सो पार्टी छाडेर हिँडेका थिए । उनका साथमा अन्य १६ जना नेताले पनि त्यतिबेला सो पार्टी छाडेका थिए । पौडेल तत्कालीन नयाँ शक्तिका संगठन विभाग प्रमुख थिए ।

त्यतिबेला पौडेलले पुनर्गठित वृहत् ध्रुवीकरण केन्द्रीय संयोजन समिति गठन गरेका थिए । उनले माओवादीबाट नयाँ शक्तिमा गएका नेताहरूलाई समेट्ने प्रयास गरेका थिए । फलस्वरूप त्यतिबेला नै २०६ जना तत्कालीन नयाँ शक्तिका संघीय परिषद् सदस्यले सो पार्टी छाडेर नेता पौडेललाई साथ दिएका थिए । उनीहरू सबैजना पुनः माओवादीमै फर्केका थिए ।

पौडेलले त्यतिबेला बाबुरामले पार्टीमा लिएको लाइन सही नरहेको प्रतिक्रिया दिएका थिए । उनले भनेका थिए– मात्र समृद्धिको कुरा गरेर वा पाँच ‘स’ को कुरा गरेर मात्र हुँदैन । कसको लागि समृद्धि, कस्तो समृद्धि ? त्यो स्पष्ट हुनुपर्छ । हामीले नयाँ शक्ति भनेर पार्टी त बनायौँ तर, अहिले हाम्रो पहिचान के हो भन्ने अलमल छ । हामी कता हराएको जस्तो भएका छौँ ।

नयाँ शक्ति बनेको एक वर्षपछि सो पार्टीका सहसंयोजक महेश कर्मोचाले पनि पार्टी छाडे । उनी सो पार्टी छाडेर तत्कालै विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरममा प्रवेश गरेका थिए । उनले पनि त्यतिबेला नयाँ शक्ति एउटा पार्टी होइन, एनजीओ जस्तो भएको आरोप लगाएका थिए ।

अर्थ विज्ञको रूपमा पूर्व अर्थसचिव रामेश्वर खनाल पनि बाबुरामका साथमा नयाँ शक्ति निर्माणमा जुटेका थिए । तर उनी पनि धेरै समय त्यहाँ टिक्न सकेनन् । उनले त्यतिबेला नयाँ शक्ति पार्टी छाड्ने बेला आफ्नो ट्वीटरमा लेखेका थिए, ‘म कुनै पार्टीमा छैन, राजनीति मेरो क्षमताको विषय रहेनछ ।’

त्यसलगतै तत्कालीन नयाँ शक्ति पार्टीमा सुरक्षा तथा अनुसन्धान विभाग प्रमुखसमेत रहेका पूर्व डीआईजी गणेश राईले पनि पार्टी छोडेर हिँडेका थिए । अधिवक्ता समेत रहेका खिमलाल देवकोटा तत्कालीन नयाँ शक्ति पार्टीका प्रवक्ता थिए । उनी पनि एक वर्षपछि नयाँ शक्ति छाडेर माओवादी केन्द्रमा फर्केका थिए ।

त्यतिबेला नै तत्कालीन नयाँ शक्तिका विद्यार्थी संगठनका संयोजक ओमकुमार पौडेलसहित थुप्रै विद्यार्थी नेता पार्टी छाडेर माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

यसरी नयाँ शक्ति छाड्नेको बाढी आएपछि बाबुराम भट्टराईले आफ्नो साख जोगाउनका लागि उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम नेपालसँग एकीकरण गरेका थिए । त्यो एकीकरणमा पनि निकै झमेला भएको थियो ।

२०७४ वैशाख ८ मा पार्टी एकताका लागि बाबुराम, उपेन्द्र यादव, अशोक राईसहित तीन सदस्यीय एकता संयोजन समिति बनाइएको थियो । त्यो समितिले दुई वर्षसम्म प्रयास ग¥यो तर एकता सफल भइरहेको थिएन । २०७६ वैशाख २३ गते बल्ल दुई पार्टीबीच एकीकरणको घोषणा भएको थियो ।

अहिले गठन भएको नेपाल समाजवादी पार्टीबाट थुप्रै नेता बाहिरिन थालेपछि माओवादीको साथ बाबुरामले खोजेका हुन् । अब बाबुराम भट्टराईले पनि भन्न थालेका छन्, ‘पार्टी चलाउन सजिलो छैन ।’

नेपाल समाजवादी पार्टीमा मधेसबाट महिन्द्रराय यादवले साथ दिएका छन् । सो पार्टीबाट प्रतिनिधिसभा सदस्यमा उनीमात्र चुनाव जित्न सफल भए । बाबुराम आफू चुनाव नलडेर आफ्नो क्षेत्रबाट माओवादीका अध्यक्ष प्रचण्डलाई सघाएका थिए । त्यसको बदलामा उनले आफ्नी छोरी मानुषी यमी भट्टराईलाई काठमाडौँको क्षेत्र नम्बर ७ बाट चुनाव लडाएका थिए तर उनी पराजित भइन् ।

बाबुराम भट्टराईका लागि त्यो पनि एउटा प्रयोग नै थियो । बाबुराम भट्टराईले राजनीतिमा विभिन्न प्रयोग गरे पनि आजसम्म त्यसमा सफल भएका छैनन् ।

बाबुरामले नेपाल समाजवादी पार्टी घोषणा गर्दै यो पनि नयाँ प्रयोग नै हो भनेका थिए । माओवादीदेखि विभिन्न राजनीतिक प्रयोग गर्दै आएका बाबुरामले नयाँ शक्ति गठन, उपेन्द्र यादवसँग पार्टी एकता, समाजवादीबाट जसपा गठन, जसपा छाडेर नेपाल समाजवादी पार्टी गठन जस्ता सबै घटनाक्रमलाई एउटा नयाँ प्रयोगकै रूपमा अगाडि बढाएको बताउने गरेका छन् ।

२०३९ मा कम्युनिस्ट पार्टी सदस्यता लिएर मोहनविक्रम सिंह नेतृत्वको चौममा सक्रिय भएका बाबुराम २०४८ मा मसालबाट विद्रोह गरेर नेकपा (एकता केन्द्र)सँग एकता गरेका थिए । २०५१ देखि नेकपा माओवादीमा आएका बाबुराम २०५२ देखि जनयुद्धमा लागेका थिए । २०६५ मा माओवादीको उपाध्यक्ष भएका बाबुराम भट्टराई २०६८ मा प्रधानमन्त्री बनेका थिए । २०७२ असोजमा माओवादी र सांसद् पद त्यागेर २०७३ जेठ ३० मा नयाँ शक्ति पार्टी गठन गरेका उनले पछि फोरमसँग एकता गरे । पाँच वर्षपछि उनले सो पार्टी छाडेर आफ्नै नेतृत्वमा पार्टी गठन गरेका छन् । र अहिले सो पार्टीलाई माओवादी केन्द्रमा मिसाउन थालेका छन् । यी सबै घटनाक्रमलाई बाबुरामले एउटा प्रयोगको रुपमा लिएका छन् ।

उनी जसपामा हुँदा नै एउटा ट्वीट गरेका थिए र धेरै समयसम्म उनले त्यसलाई पीन गरेर राखेका थिए । उनले लेखेका थिए, ‘देशमा वैकल्पिक राजनीति र शक्तिको आवश्यकता/औचित्य सिद्धिएको वा नभएको हैन बरू बढेर गएको छ । साथै हामीले केही समय यता गर्दै आएको प्रयोग पनि त्यति परिणाममुखी हुन सकिरहेको छैन । अतः यसको निर्मम समीक्षा गरेर अघि बढ्ने साहस गरौं ! युगीन कार्यभार सजिलै/छिटै पूरा हुन्नन् ।’

उनले अर्को ट्वीटमा लेखेका थिए, ‘नेपालमा वैकल्पिक राजनीतिका आधारतत्व यी हुन् : १.वैज्ञानिक मानवतावादी विचार; २.भारत, चीन, अमेरिकासँग गतिशील सन्तुलनको मैत्रीसम्बन्ध; ३.हिमाल, पहाड, तराई/मधेसका सबै जाति/समुदायको पहिचान/अधिकारको रक्षा; ४.पार्टी र सत्तामा समावेसी/सहभागितामूलक लोकतन्त्र; ५.समावेसी/दिगो समृद्धि ;६. सुशासन/सदाचार ।’

अर्थात् अझै उनी वैकल्पिक राजनीतिको खोजीमा छन् । र, त्यसका लागि उनले विभिन्न प्रयोग गरिरहेका छन् । अहिले माओवादीसँग एकीकरण गर्नु पनि उनको लागि प्रयोग नै हो । माओवादीलाई लिएर जानयुद्धमा जानु उनको प्रयोग नै थियो । जनयुद्धबाट शान्ति प्रकृयामा आउनु पनि उनको प्रयोग नै थियो । माओवादी पार्टी छाडेर वैकल्पिक शक्ति निर्माणका लागि नयाँ शक्ति पार्टी खोल्नुपर्ने उनको लागि प्रयोग नै थियो ।

नयाँ शक्तिलाई तत्कालीन संघीय समाजादी पार्टी फोरम नेपालसँग एकीकरण गरी तराई, पहाड र हिमाललाई जोडेर वैकल्पिक शक्ति निर्माण गर्नु पनि उनको नयाँ प्रयोग नै थियो । पछि महन्थ ठाकुरको नेतृत्वको राष्ट्रिय जनता पार्टी नेपालसँग एकीकरण गर्नु पनि उनको प्रयोग नै थियो । जसपाबाट अलग भएर नेसपा गठन गर्नु पनि उनको एउटा प्रयोग नै थियो । तर उनका सबै प्रयोग असफल हुँदै आएको उनको साथ छाडेका एक नेताले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप