शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
खानपान

मिथिला खानपानमा आँपको अचार

शनिबार, २३ जेठ २०८३, १२ : १५
शनिबार, २३ जेठ २०८३

सारांश

  • आँपको सिजन सुरु भएसँगै मिथिलामा आँपको अचार बनाउने तयारी सुरु भएको छ, जुन यस क्षेत्रको सांस्कृतिक धरोहर हो ।
  • मिथिलामा आँपलाई फलहरूको राजा मात्र नभई प्रेम, समृद्धि र पवित्रताको प्रतीक मानिन्छ, जसको धार्मिक, सामाजिक र सांस्कृतिक अनुष्ठानहरूमा पनि विशेष महत्त्व छ ।
  • नेपाल सरकारले मधेस प्रदेश, विशेषगरी सप्तरी र सिराहा जिल्लालाई आँपको केन्द्र बनाउँदै उत्पादन र बजारीकरण बढाउन प्रशोधन केन्द्र स्थापना जस्ता नीतिहरू अवलम्बन गरेको छ ।

यस वर्षको आँपको सिजन सुरु भइसकेको छ । आँपको टिकला (टिकोला) कच्चु, खटमिट्ठी र तरकारीको रूपमा खान थालिएको छ । हालै भएको वर्षाले गर्दा आँपका कोसामा बल मिल्न थालेको छ । यो यस कुराको सङ्केत हो कि अब आँपको अचार बनाउने तयारी सुरु गर्दा हुन्छ । आँपको अचार एक सामान्य परिकार मात्र होइन मिथिलाको सांस्कृतिक धरोहरको एउटा हिस्सा पनि हो ।

आँपलाई फलहरूको राजा भनिन्छ । यो यसको उत्कृष्ट स्वाद, सुगन्ध र पौष्टिक तत्त्वको लागि संसारभर अत्यन्त लोकप्रिय छ । गृष्म र वर्षा ऋतुमा फल्ने आँप मिथिला समाजले पाएको प्रकृतिको वरदान र सर्वाधिक स्वादिलो र सबैलाई मनपर्ने फल हो । मिथिलामा आँपको आफ्नै अनौठो महत्त्व छ ।

मिथिलाको धरतीमा आँपका सयौं परम्परागत र दुर्लभ प्रजातिहरूका साथै सरही, सिन्दुरी, मालदह, बम्बई, कलकतिया, लंगडा, जरदालु उब्जाइन्छ । यहाँ आँपको विविधता यति प्रसिद्ध छ कि मिथिला समाज आँप महोत्सव गर्न पनि रुचाउँछन् ।

आँप महोत्सव आँप प्रेमीहरूका लागि यसको अनौठो स्वाद र आनन्द अनुभव गर्ने अवसरको रूपमा रहेको हुन्छ । विशेष गरी गर्मी मौसममा मानिसहरूले विभिन्न प्रकारका आँपहरू खाएर रमाइलो गर्छन् । किनभने यो मौसमी फल हो । आँप महोत्सव मिथिलामा एक अनौठो प्रतियोगिताका रूपमा प्रायः हरेक वर्ष कुनै न कुनै ठाउँमा आयोजना गरिन्छ, जसमा मानिसहरूले थरिथरिका आँपहरूको स्वाद लिने मात्र होइन, आँप र आँपको नर्सरीको प्रदर्शनी र व्यापार पनि गर्छन् ।

मैथिली साहित्य र लोकगीतहरूमा पनि आँपको मञ्जरी र आँपको बगैँचाको वर्णनले भरिएको छ, जो ग्रामीण जीवन र परस्पर प्रेमका प्रतीक हुन्छन् । आँपको सिजनमा “माघ गुजरे, फागुन मजरे, चैत लिए टिकोला । वैशाखमे कोषाओ जेठ–अखारमे भकोसा ।“ जस्ता लोकोक्ति खुबै सुन्न पाइन्छ ।

मैथिली साहित्य र मिथिला संस्कृतिमा आँपलाई फलको राजा मात्र नभई सांस्कृतिक प्रतीक, प्रेमको सन्देशवाहक र प्रकृतिको सुन्दर आभूषणको रूपमा पनि वर्णन गरिएको पाइन्छ । कविकोकिल महाकवि विद्यापतिले आफ्ना गीत र पदावलीहरूमा वसन्त ऋतुको वर्णन गर्दा आँपको मञ्जरीको मनमोहक चर्चा गरेका छन् । मैथिली संस्कृतिको पहिलो लिखित ग्रन्थ वर्ण रत्नाकरदेखि लिएर विभिन्न पुराण र ग्रन्थहरूमा समेत आँपको रूखको महिमा गाइएको छ ।

गर्मी मौसममा आँप खानुको छुट्टै आनन्द हुन्छ । तर यसको अनेक किसिमको महत्त्व पनि छ । मिथिला संस्कृतिमा आँपको रूख र यसको फल केवल कृषि उत्पादन मात्र होइन, जन्मदेखि मृत्युसम्मको हरेक धार्मिक, सामाजिक र सांस्कृतिक अनुष्ठानको एक आवश्यक भाग पनि हो । 

यसलाई प्रेम, समृद्धि र पवित्रताको प्रतीक मानिन्छ । कुनै पनि शुभ समारोह, यज्ञ वा पूजाको सुरुवातमा कलश स्थापनाको लागि ‘आम्रपल्लव’ (आँपको कलिलो पात) को प्रयोग अनिवार्य छ । आँपको पल्लव बिना, पूजा अपूर्ण मानिन्छ । विवाह अनुष्ठानको समयमा आँपको विवाह गर्ने चलन छ । हिन्दु सनातन धर्म र मैथिली परम्पराहरूमा दाहसंस्कारको लागि आँपको काठ प्रयोग गरिन्छ ।

स्वास्थ्य लाभका दृष्टिले पनि आँपको निकै महत्त्व छ । आँपको पातमा भिटामिन ए, सी, बीका साथै शक्तिशाली एन्टिअक्सिडेन्टहरू हुन्छन् । यो रगतमा चिनी नियन्त्रण गर्न, पाचन सुधार गर्न, तौल घटाउन र स्वस्थ छाला र कपाल कायम राख्नका लागि प्राकृतिक उपचार हो । 

आँपको पातलाई पानीमा उमालेर (काढा बनाएर) पिउनाले ग्यास, कब्जियत जस्ता समस्याहरूबाट राहत मिल्छ । यो शरीरको तौल घटाउनमा उपयोगी छ । आँपको पातको चिया पिउनाले शरीरको मेटाबोलिज्ममा सुधार हुन्छ, जसले बोसो छिटो जलाउन र तौल घटाउन मद्दत गर्छ । आँपको पातको एन्टी–इन्फ्लेमेटरी गुणहरूले दाग र चिलाउने जस्ता छालाको समस्याहरूलाई कम गर्छ ।

आँपको विभिन्न परम्परागत व्यञ्जन र परिकार बनाइन्छ जस्तै– कुच्चा, खटमिट्ठी, तरकारी, अचार, अम्मठ (अमोठ) आदि । मिथिलामा आँपको अचार बनाउने शैली विशिष्ट किसिमको छ, जसले गर्दा आँपको अचार त तीन–चार वर्षसम्म पनि खान मिल्छ । मैथिल भोज र भोजनहरूमा आँपको अचार एक अभिन्न हिस्साको रूपमा रहेको छ । आँपको अचार मिथिलाको सांस्कृतिक धरोहर हो ।

मिथिला घरपरिवारको खानपानमा धेरै प्रकारका आँपको अचार सामान्य परिकारको रूपमा रहेको छ । आँपको अचार गर्मीको स्वादिष्ट र लोकप्रिय परिकार हो । यो काँचो आँपलाई सानो टुक्रामा काटेर, नुन र बेसार, मसला हालेर, केही समय घाममा सुकाएर, र त्यसपछि तोरीको तेल र विभिन्न मसलाहरू हालेर भाँडोमा राखेर बनाइन्छ ।

अचार भन्नाले सामान्यतया आँप जस्ता अमिलो फल, अदुवा, लहसुन, हरियो खुर्सानीजस्ता मसलाको संरक्षित परिकारलाई बुझाउँछ, जो नुनिलो, अमिलो, मसालेदार, तेलदार परिकार हुन्छ । संरक्षित अचार विश्वभरि रमाइलो, स्वादिष्ट, अमिलो मसलाको रूपमा रुचाइन्छ । उत्तरी अमेरिकाको डेली स्पियर्सदेखि लिएर दक्षिण एसियाली खानामा व्यापक रूपमा प्रयोग हुने अचार विभिन्न संस्कृतिहरूको अचार बनाउने आफ्नै शैलीहरू छन् ।

मिथिला क्षेत्रको परम्परागत र लोकप्रिय परिकार दादी नानीहरूको विशेष प्रकारको स्नेहयुक्त कर्तव्यमा पर्छ । उनीहरूले जेठ मासमा पानी पर्न थालेपछि अचार बनाउन थाल्छिन् । किनभने वर्षाको पानीको स्पर्श पाएर आँपमा रेशाहरू फुट्न थाल्छन् । कलिलो आँपको अचार बन्दैन । हावाहुरीमा झर्ने कलिलो टिकला खटाइको लागि सुकाएर राख्ने चलन छ । 

नेपालमा आँप खेती कुल फलफूलको क्षेत्रफलको करिब ३२ प्रतिशत ओगट्ने प्रमुख फल हो । कृषि अर्थतन्त्रको महत्वपूर्ण हिस्सा भएपनि मौसममा निर्भरता, आधुनिक प्रविधिको कमी र भण्डारणको अभावले उत्पादनमा उतारचढाव आउने गरेको छ । बजारमा माग उच्च भए पनि अझै पनि ठूलो परिमाणमा बाह्य देशबाट आँप आयात गर्नुपर्ने बाध्यता छ ।

नेपाल सरकारले आँप खेतीलाई उच्च प्राथमिकतामा राखी उत्पादन र गुणस्तर वृद्धि गर्ने नीति लिएको छ । पकेट तथा ब्लक विकास कार्यक्रम मार्फत बगैँचा व्यवस्थापन, अनुदानमा गुणस्तरीय बिरुवा वितरण, रोग नियन्त्रण र मधेस प्रदेशलाई आँपको केन्द्र बनाउन प्राविधिक तथा वित्तीय सहयोग उपलब्ध गराउने नीति अवलम्बन गरिएको छ । 

राष्ट्रिय फलफूल विकास केन्द्रले किसानलाई उन्नत प्रविधि, ग्राफ्टिङ विधि र रोग नियन्त्रण सम्बन्धी तालिम दिने गरेको छ । कुल आँप उत्पादनको ६२ प्रतिशतभन्दा बढी हिस्सा ओगट्ने मधेस प्रदेशलाई आँपको ‘सुपर जोन’ वा केन्द्रका रूपमा विकास गर्न जलवायु अनुकूल खेती, मूल्य अभिवृद्धि र बजारीकरणका कार्यक्रमहरू सञ्चालित छन् । 

आँपका उन्नत जातहरूको विकास तथा गुणस्तरीय कलमी बिरुवा उत्पादनमा जोड दिइएको छ । आँपमा लाग्ने मञ्जर (फूल) सुक्ने रोग र अन्य प्रकोपबाट जोगाउन कृषि ज्ञान केन्द्रहरूले परामर्श सेवा उपलब्ध गराउने गरेको छ ।

आँपको राजधानी मानिने सप्तरी जिल्लामा नेपाल सरकार तथा मधेस प्रदेश सरकारले आँप खेती प्रवर्द्धनका लागि विशेष नीति तथा कार्यक्रमहरू सञ्चालन गरिरहेका छन् । सप्तरीमा पछिल्लो समय आँपको उत्पादनमा उल्लेख्य वृद्धि भइरहेको छ र यस आर्थिक वर्षमा करिब ७५ हजार मेट्रिकटन आँप उत्पादन हुने अनुमान छ ।

नयाँ राष्ट्रिय बजेटमा सरकारले सप्तरी र सिराहा जिल्लाका आँप किसानहरूको उत्पादनलाई मूल्य अभिवृद्धि गर्न र बजारीकरण सहज बनाउन आँप प्रशोधन केन्द्र स्थापना गर्ने विशेष नीति पनि ल्याएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अजयकुमार झा
अजयकुमार झा
लेखकबाट थप