शनिबार, २१ माघ २०७९
ताजा लोकप्रिय

एडिथ थमसन : प्रेमीको अपराधको लागि मृत्युदण्ड पाएकी युवती

मंगलबार, २६ पुस २०७९, १४ : ०५
मंगलबार, २६ पुस २०७९

९ जनवरी १९२३ मा, एडिथ थमसन र उनका प्रेमी, फ्रेडरिक बाइवाटर्सलाई एडिथको पतिको हत्याको अपराधमा मृत्युदण्डको सजाय सुनाइयो ।

यद्यपि, एडिथलाई उनका पतिको हत्या गरिनेछ भन्नेबारे उनलाई पहिल्यै नै थाहा थियो भन्ने कुनै पनि प्रमाण थिएन ।  

तैपनि किन एडिथलाई दोषी ठहराइयो ? र, एक शताब्दी पछि पनि यो मुद्दा अझै किन चर्चामा छ ?

९ जनवरी १९२३ मंगलबारको दिन थियो । जल्लाद (फाँसी दिने व्यक्ति) र उनका सहयोगी हतार हतार लन्डनको होलोवे जेलको कोलो कोठा बाहिर पुगे । त्यो निकै चिसो बिहान थियो ।

उनको अगाडि २९ वर्षीया एडिथ थमसन, काँध झुकाएर उभिइरहेकी थिइन् । विगत केही दिनदेखि एडिथलाई दुखाइ कम गर्न शक्तिशाली औषधिको इन्जेक्सन दिइएको थियो, जसका कारण उनी लगभग बेहोस थिइन् ।

मृत्युदण्ड दिने समूह उनको कोठामा प्रवेश हुँदा, उनले एकपटक लामो सास फेरिन् ।

एक व्यक्तिले एडिथलाई नाडीमा समातेर उठाउँदै भने, ‘चिन्ता नलिउ । यो निकै छिटो समाप्त हुनेछ ।’

एडिथको हात र खुट्टालाई साङ्लाले बाँधिएको थियो । त्यही अवस्थामा उनलाई फाँसी दिइने ठाउँ सम्म लगियो र केही बेरमै उनको मृत्यु भयो ।

edith1त्यहाँभन्दा करिब एक किलोमिटर टाढा, पेन्टोनभिल जेलमा त्यति नै बेला, एडिथका २० वर्षका प्रेमीले पनि यसै नियतिको सामना गर्नुपर्यो ।

उनको मृत्युदण्डको तीन महिना अघि, फ्रेडी बाइवाटर्सले एडिथका श्रीमान् पर्सीलाई छुराले एकपछि अर्को थुप्रैपटक प्रहार गरे । त्यतिबेला श्रीमान्–श्रीमती थिएटरबाट घर फर्किरहेका थिए । फ्रेडीले सधैं आफ्नी प्रेमिका एडिथलाई आक्रमणबारे अलिकति पनि थाहा नभएको कुरामा जोड दिए ।

एडिथको अपराध के थियो ? उनी मनमोहक थिइन् । उनी मजदुर वर्गकी स्वतन्त्र महिला थिइन् ।

यस प्रकरणको अनुसन्धानमा संलग्न एक विज्ञका अनुसार एडिथ त्यो युगको नैतिक सिद्धान्त नमान्ने महिलालाई सहन नसक्ने समाजको शिकार भइन् ।

जसरी सफल उपन्यासकार र पटकथा लेखक एडगर वालेसले लेखेका थिए, ‘यदि यस देशको इतिहासमा कुनै महिलालाई उनको अपराधको कुनै पनि प्रमाण बिना, केवल एक निरक्षर जनताको बर्बर पूर्वाग्रहको कारण सुली चढाइयो भने त्यो एडिथ थमसन थिइन् ।’

edith2‘उनी फरक हुन चाहन्थिन्’

एडिथ ग्रेडन अन्य श्रमिक वर्गका महिलाहरू भन्दा धेरै फरक जीवन बिताउन चाहन्थिन् ।

उनको जन्म सन् १८९३ मा क्रिसमसको दिन लन्डनको उपनगर मनोर पार्कमा भएको थियो । उनी आफ्ना आमाबुवाका पाँच सन्तानमध्ये पहिलो थिइन् ।

‘जेठी छोरी भएकोले, एडिथले एक बहिनी र तीन भाइहरूको हेरचाह गरेर आमालाई मद्दत गरिन् । ’

जब एडिथले आफ्नो स्कूली शिक्षा पूरा गरिन्, निकै उच्च महत्वाकांक्षी र बुद्धिमान युवती उनी काम गर्न शहरतिर लागिन् । लन्डनमा, उनले बार्बिकन स्थित महिलाको ह्याट बनाउने थोक कम्पनी, कार्लटन एन्ड पामरमा जागिर खान थालिन् । उनी निकै छिटो कम्पनीकी मुख्य खरिदार बनिन् ।

एडिथको केसको बारेमा दुईवटा पुस्तक लेख्ने लौरा थमसन भन्छिन्, ‘उनी एक यस्ती तथाकथित साधारण महिला थिइन् जो असाधारण बन्न चाहन्थिन् ।’

जनवरी १९१६ मा, एडिथले पर्सी थमसन, एक शिपिंग क्लर्कसँग विवाह गरिन् ।  दम्पतीले इल्फोर्डको ४१, केन्सिङ्टन गार्डेनमा एउटा घर किने ।  यो घर श्रीमान् श्रीमती हुर्केको ठाउँबाट टाढा थिएन ।

त्यतिबेला एडिथले आफ्नो पतिको भन्दा धेरै तलब पाउँथिन् । त्यसैले घरको २५० पाउण्डको मूल्य तिर्न एडिथले आधाभन्दा बढी रकम दिएकी थिइन् । तर, घर खरिदका लागि कागजातहरू एडिथका श्रीमान् पर्सीको नाममा बनाइनुपर्ने थियो ।

edith3एक नवविवाहित महिलाको रूपमा, एडिथमाथि घरेलु जीवन अपनाउँदै छिट्टै आमा बन्ने अपेक्षा राखिएको थियो तर एडिथको त उद्देश्य अरु केही नै थियो ।

एडिथ पनि एक उत्कृष्ट नर्तक पनि थिइन् । त्यसैले उनले लन्डनका उत्कृष्ट होटल र डान्सिङ हलमा साँझ बिताउन रुचाइन् । यी सहरका ती ठाउँहरू थिए, जुन उनीजस्ता सामाजिक हैसियतका महिलाका लागि बनाइएको थिएन ।

एडिथको साँझ प्रायः वेस्ट एन्डका थिएटर, सिनेमा हल र रेस्टुरेन्टहरूमा साथीहरूसँग बित्थ्यो ।

एडिथसँग सम्बन्धित नभएकी लौरा थमसन भन्छिन्, ‘एडिथ मलाई असाध्यै आधुनिक महिला लाग्छिन् । उनी जीवनको आशीर्वादले भरिएकी युवती थिइन् । उनी इलाकाकी यस्ती महिला हुन् जो महत्वाकांक्षी छिन् । उनी सपना देख्ने महिला हुन् ।’

‘उनलाई आफ्नै घर चाहिएको थियो, जुन उनले पाइन् पनि । तर, घर श्रीमानको नाममा थियो ।’

एडिथ त्यस युगका सिद्धान्तहरूमा बाँधिन तयार थिइनन् । उनी साधारण श्रीमती थिइनन् । त्यो भन्दा बढि कुरा यो हो कि एडिथका एक प्रेमी पनि थिए, जो एक सुन्दर र आकर्षक युवक थिए र एडिथ भन्दा आठ वर्ष कान्छा थिए ।

edith4‘मैले एक यस्ती महिलालाई भेटेँ जसले आफ्ना तीन श्रीमान् गुमाइसकेकी थिइन्’

फ्रेडरिक बाइवाटरले ग्रेडन परिवारलाई पहिलेदेखि नै चिनेका थिए । किनभने, उनी त्यही विद्यालयमा पढ्थे जहाँ एडिथका भाइ पढ्थे । फ्रेडीले १३ वर्षको उमेरमा लन्डन छोडेका थिए र मर्चेन्ट नेवीमा सामेल भए ।

जब उनी जून १९२१ मा घर फर्के, फ्रेडरिकलाई पर्सी, एडिथ र उनकी बहिनी एभिस ग्रेडनको साथ आइल अफ वाइटमा एक हप्ताको छुट्टी बिताउन निमन्त्रणा गरियो ।

यी बिदाहरू बिति नसक्दै जवान एडिथ र फ्रेडरिक बीच एक गोप्य रोमान्स सुरु भइसकेको थियो । जब फ्रेडरिकलाई थमसन परिवारसँग केही हप्ता बस्न आमन्त्रित गरियो, यो माया झनै बढ्यो ।

अन्तमा भयो के भने पर्सीसँग झगडापछि फ्रेडरिकले ४१ केसिङ्टन गार्डनमा भएको घर छोडेर जानुपर्यो । पर्सीले अक्सर आफ्नी श्रीमतीसँग पनि दुर्व्यवहार गर्थे । फ्रेडरिकसँगको बहसको क्रममा, पर्सीले एडिथलाई उठाएर कोठाको अर्को कुनामा फ्याँकिदिएका थिए जसका कारण उनलाई नराम्रोसँग चोट लाग्यो ।

फ्रेडी प्रायजसो टाढै बस्ने भएकोले यो प्रेमी जोडीले एक–अर्कालाई चिट्ठी लेख्ने गर्दथे । एडिथको कडा निर्देशन थियो कि चिट्ठी पढ्ने बित्तिकै नष्ट गर्नुपर्ने ।

लरा थमसनले आफ्नो नयाँ किताबमा फ्रेडी र एडिथका यी पत्रबारे विस्तारपूर्वक कुरा गरेकी छिन् । उनी भन्छिन्, ‘यी दुईको पत्र उत्कृष्ट दस्तावेज हो । चिट्ठीलाई मान्ने हो भने एडिथले आफ्नो व्यक्तित्वको दोस्रो पाटो छताछुल्ल पोखिदिएकी छिन् । यसमा खुलेर भावना व्यक्त गरिएका छन् ।’

edith5एडिथको चिठ्ठीमा भावनाका सागर देखिन्छ । यी अक्षरहरू भावनाहरूको उडान हुन् जुन दैनिक जीवनको वास्तविकता र सपनाहरू बीच घुम्छन् ।

पत्रमा कहिलेकाहीँ दिनभरका मामूली कुराहरू उल्लेख गरिएको हुन्छन् भने अर्को क्षणमा उनी यौन सम्बन्ध, गर्भपतन र आत्महत्यासँग सम्बन्धित निकै व्यक्तिगत विचार पनि व्यक्त गर्छिन् ।

एउटा चिठ्ठीमा यस्ता कुरा पनि लेखिएको छ, जुन निकै कुटिल षड्यन्त्र जस्तो देखिन्छ । एडिथलाई फिक्सनमा धेरै रुचि थियो ।

यस्तो अवस्थामा उनी कयौं पटक आफूलाई उपन्यासमा पात्रको रूपमा देख्थिन् र त्यसो गर्दा उनले पर्सीको खानामा गिलासको स–सानो टुक्रा मिसाएर उनीबाट छुटकारा पाउने इच्छा व्यक्त गरेको संकेत दिन्थिन् ।

एउटा पत्रमा, एडिथले लेखिन्ः

‘हिजो मैले एउटी महिलालाई भेटें जसले तीन पति गुमाएकी थिइन् र यो युद्धको समय थिएन । उनका दुई श्रीमान् डुबेका थिए र एकले आत्महत्या गरेका थिए, र म केही यस्ता  मानिसहरूलाई पनि चिन्छु जसले एक श्रीमान्बाट पनि छुटकारा पाइरहेका छैनन् । यो कति अन्याय हो । बेस र रेग, आइतबार बेलुकीको खानामा आइरहेका छन् ।’

अर्को एउटा पत्रमा एडिथ लेख्छिन्ः

‘म ‘लाइट बल्ब’ जस्ता आशाले उत्साहित थिएँ र मैले धेरै लाइट बल्ब प्रयोग गरेँ, यसमा पिसेका मात्रै होइनन्, थुप्रै ठूला टुक्रा पनि थिए । तर यसको कुनै असर नै भएन । यो खबर तिमीलाई तारबाट पठाउछु भन्ने ठूलो आशा लिएर बसेको थिएँ । तर, यसबाट केही भएन ।’

युनिभर्सिटी कलेज लन्डनका प्रोफेसर रेनी वेइसले धेरै दशकदेखि एडिथको केसको अध्ययन गरेकी छिन् । यी चिठ्ठीहरू ‘उम्लिरहेको रोमान्टिक जोशका कल्पनाहरूको अभिव्यक्तिबाहेक अरू केही नभएको’ उनको विश्वास छ ।

एडिथका लागि उनका शब्द घातक साबित भयो ।

edith6‘उनले किन त्यसो गरे ?’

फ्रेडीले पर्सीलाई आक्रमण गरेको दिन, उनले बेलग्रेभको एक बगैंचामा पहिले नै आक्रमण गरेर लुकेर बसेका थिए ।

३ अक्टोबर, १९२२ मा, एडिथ र पर्सीले आफ्नो साँझ पिकाडिलीको गोल चक्करस्थित, क्राइटन थिएटरमा कमेडी शो द डिपर्स हेरेर बिताए । शो समाप्त भएपछि, दुबै लिभरपूल स्ट्रीटको लागि सबवे ट्रेनमा चढे । त्यहाँबाट दुबै रेलबाट इल्फोर्ड पुगे ।

बेलग्रेभ रोडमा रहेको आफ्नो घरतिर लाग्ने बित्तिकै एक व्यक्तिले दम्पतीलाई आक्रमण गरे । पछि प्रहरीले एडिथलाई सोधपुछ गर्दा आक्रमणका कारण आफू बेहोस भएको बताएकी थिइन् । पछि उनले श्रीमान् भुइँमा लडिरहेको देखिन् ।

एक डाक्टरलाई बोलाइयो, जसले पर्सीको मृत्यु भइसकेको बताए ।

सुरुमा ३२ वर्षीय पर्सीको अचानक रक्तश्रावका कारण मृत्यु भएको अनुमान गरिएको थियो । तर, प्रहरीले पर्सीको शव जाँच गर्दा उनको घाँटीमा छुराको निशान भेटियो। दिनको उज्यालोमा, पर्सीको रगत ४४ फिट (१३ मिटर) को दायरामा फैलिएको देखे ।

edith7पर्सीका भाइले प्रहरीलाई फ्रेडीसँग सोधपुछ गर्नुपर्छ भनेर भने । उनी दुई हप्ता अघि लण्डन फर्किएका थिए । फ्रेडीकी आमाको घरमा उनको कोठामा खोजी गरियो र त्यहिँबाट एडिथको फ्रेडीको नाममा पठाइएको पहिलो प्रेम पत्र भेटियो ।

इल्फोर्ड प्रहरी थानामा एक करिडोरमा अनुसन्धान गर्नेहरुले यस्तो बन्दोबस्त मिलाए जहाँ एडिथ र फ्रेडीले एक–अर्कालाई आँखामा आँखा जुधाएर हेर्न सकून् ।

यसरी एडिथले आफ्नो अपराध स्वीकार गर्नेछिन् भन्ने आशा प्रहरीलाई थियो । आमनेसामनेको यो सोधपुछ पछि, एडिथले रुँदै भनिन्, ‘उनले यस्तो किन गरे ? मैले उनले त्यसो गर्छन् भन्ने अपेक्षा गरेको थिइनँ । हे भगवान, हे भगवान । म के गर्न सक्छु ? मैले सत्य बोल्नु पर्छ ।’

मोरिया जहाजमा फ्रेडीको क्याबिनको अनुसन्धान गरियो र त्यहाँ एउटा बक्समा बन्द थप चिट्ठी भेटिए । यसमा एडिथले पर्सीबाट छुटकारा पाउने इच्छा व्यक्त गरेको पत्र समावेश थियो ।

फ्रेडीले पर्सीलाई छुरा घोपेको कुरा अस्वीकार गरेनन् । तर, उनले दाबी गरे कि पर्सीले उनलाई पहिले आक्रमण गरे र उनले आफूलाई बचाउन बदला लिएका थिए ।

जब प्रहरीले  फ्रेडीलाई एडिथमाथि पनि हत्याको मुद्दा चल्नेछ भने तब फ्रेडीले जवाफ दिए, ‘तिमीले उनलाई किन आरोप लगाउनेछौ ? मिसेस थमसनलाई मेरो गतिविधि बारे केही पनि थाहा थिएन ।’

edith8‘पहिलो रातको माहौल कस्तो थियो’

मुद्दाको बहस हुनुअघि पत्रका विषयवस्तुहरू पत्रपत्रिकामा व्यापक रूपमा प्रकाशित भए । अभियुक्तहरू सामाजिक आँधीमा परे ।

लौरा थमसन भन्छिन्, ‘फ्रेडी र एडिथ जादुई व्यक्तित्व बने । उनीहरुको नामले सेलिब्रिटीको दर्जा हासिल भयो । फ्रेडी रूपर्ट ब्रुकको पात्र बने र एडिथका वरिपरि त कामुकताको तानाबाना बुनिएका थिए । ’

६ डिसेम्बर १९२२ मा, हत्याको मुद्दाको सुनुवाईका लागि एडिथ र फ्रेडीलाई ओल्ड बेलीको अदालतको कोचाकोच कोठामा लगियो ।

लण्डनको यस प्रसिद्ध अदालत बाहिर ठूलो भीड जम्मा भएको थियो  । अदालतमा जनता बस्ने हिस्सा त मानौँ लण्डनको सबैभन्दा महँगो स्थान बन्यो ।

मुद्दाको सुनुवाइ नौ दिनसम्म चल्यो । मुद्दाको अन्तिम दिनहरूमा, बेरोजगार युवाहरू हरेक रात अदालतबाहिर भेला हुन थाले र भोलिपल्ट बिहान उनीहरु लाइनमा बसेको आफ्नो ठाउँलाई त्यस बेला बेलायतको औसत दैनिक ज्यालाभन्दाभन्दा धेरै गुणा बढी मूल्यमा बेचिदिन्थे ।

edith9लेखक बेभर्ली निकोल्स, त्यस समयमा एक युवा रिपोर्टर थिए र उनी मुद्दाको पूरा सुनुवाईका बेला उपस्थित थिए । उनका लागि यो मुद्दा ‘रोमन साम्राज्यको त्यो समय जस्तै थियो जब इसाईहरूलाई सिंहको अगाडि फ्याँकिने गरिन्थ्यो ।’

सन् १९७३ मा बीबीसी रेडियोको एक कार्यक्रममा, बेभर्लेले ओल्ड बेलीको माहौल ‘विवाहको पहिलो रात जस्तो थियो’ भनेर वर्णन गरे ।

‘त्यहाँ सबै किसिमका मानिसहरु जम्मा हुन्थे । ठिक त्यस्तै जस्तो स्टलमा सजिएर उभिरहेका हुन्थे । समाजका माथिल्लो तहका महिला, सनसनी खोज्नेहरु र ती सबैजना  यो मुद्दालाई यसरी हेर्न आउँथे मानौँ उनीहरुले यो मुद्दा हेर्नका लागि पैसा दिएका छन् ।’

म्याडम तुसाद म्युजियमका कलाकारहरू पनि अदालत नम्बर एकमा उपस्थित हुन्थ । उनीहरु लन्डनका दुई सबैभन्दा नयाँ खलनायकको रेखाचित्र बनाउथे गर्दथे ताकि पछि म्युजियमको चेम्बर अफ हरर्रमा उनीहरुको जीवन–अकारको मूर्तिहरु राखेर भीड जम्मा गर्न सकून् ।

edith10‘एउटी स्वार्थी महिला’

प्रहरीका लागि एउटा महत्त्वपूर्ण प्रमाण प्रेमपत्रका सामग्री थिए । जब त्यसलाई खचाखच भरिएको अदालतमा ठूलो स्वरमा पढिन्थ्यो । त्यतिबेला जनताको तर्फबाट चर्को नाराबाजी उठ्ने गर्दथ्यो । यसपछि, निर्णायक सदस्यहरूलाई ती चिट्ठी मनमनै पढ्न भनियो ।

लौरा थमसन भन्छिन्, ‘ती चिट्ठीलाई खचाखच भरिएको अदालतमा पढिनुको यातना – त्यसबारे सोचेर नै मलाई डर लाग्छ । ती निकै निजी र रोमान्टिक शब्दहरु पढिँदै थिए र जनताले त्यस्तो व्यवहार गरिरहेका थिए ।’

‘मानौँ सनकी पागलको जमघट ती निकै नीजि वार्तालाप सुन्नका लागि नै जम्मा भएका छन् । मलाई लाग्छ कि यो त कसैलाई भावनात्मक रुपमा यातना दिनुजस्तै थियो ।’

प्राध्यापक वेइस भन्छन्, ‘सायद एडिथप्रति घृणाको एक कारण ट्रायलको समय थियो । किनभने यो मुद्दा प्रथम विश्वयुद्धपछिको अवधिमा चलिरहेको थियो ।’

प्रोफेसर वेइस थप्छन्, ‘वातावरण यस्तो थियो कि बेलायतमा युद्ध विधवाहरूको भीड थियो र यहाँ एक सामान्य तप्काबाट आउने स्वार्थी महिला थिइन् जोसँग सबैकुरा थियो । उनी सुन्दर थिइन् ।’

‘उनीसँग एउटा राम्रो घर थियो । असल श्रीमान् थिए । उनी नाचगानका कार्यक्रममा जान्थिन् । उनी थिएटरमा जाने गर्थिन् । उनले पार्टीहरू दिने गर्थिन् । र हेर्नुहोस् त उनले यो के गरिन् । उनका लागि सायद एक राम्रा व्यक्ति पर्याप्त थिएनन् ।’

प्रोफेसर वेइस बताउँछन्, ‘जनताले फ्रेडीलाई माया गर्थे, तर एडिथलाई असाध्यै घृणा गर्थे । तिनीहरूको नजरमा, एडिथ एक यस्ती खलनायक थिइन् जसले एक नौजवानलाई   बहकाएर आफ्नो बसमा पारेकी थिइन् र यसका कारण यस्तो स्थिति निम्तियो जसका कारण पहिला एक व्यक्तिको मृत्यु भयो र अब अर्को युवा फाँसीमा चढ्ने निश्चित भइरहेको थियो ।’

edith11‘ती महिला दोषी होइनन्’

होलोवे जेलमा सुलीमा चढाइने बेला २९ वर्षका एडिथसँग मतदान गर्ने अधिकार थिएन ।

जसरी मानिसहरूले एडिथलाई घृणा गर्थे । त्यस्तै न्यायाधिश शेरम्यानले पनि उनलाई घृणा गर्दथे । सुनुवाइका क्रममा उनले प्रहरीको तर्फबाट बारम्बार हस्तक्षेप गरे ।

क्रस–परीक्षण पछि मुद्दाको निष्कर्ष निकाल्दै, न्यायाधिश शेरम्यानले जूरीका सदस्य–जसलाई उनले महानुभाव मात्रै भन्थे, जबकी त्यसमा दुई महिला पनि थिए–सँग भने कि एडिथका व्याभिचार बारे के सोच्थे–

उनले भने, म‘ विश्वस्त छु कि सही दिमाग भएका अन्य मानिस जस्तै यदि तपाईं पनि यस्तो खालका घटना सोच्दा मात्रै पनि घृणाले भरिनु हुनेछ ।’

एडिथ विरुद्ध कुनै ठोस प्रमाण थिएन । पर्सीको शवमा विष र गिलासका टुक्राहरूका लागि परीक्षण गरियो, र यसमा एडिथ विरुद्ध प्रमाणको रूपमा काम गर्न सक्ने कुनै पनि कुरा फेला परेन ।

हत्या भएको रात पनि साक्षीहरुको बयानले पनि एडिथको त्यो बयानको पुष्टि भएको थियो कि उनी आफ्ना श्रीमानमाथि भएको हमलाले स्तब्ध भएकी थिइन् ।

एडिथका वकिलको सबै अपीलहरूको बावजुद, एडिथ कठघरमा उभिएर प्रमाणमाथि बयान दिइन् । लौरा थमसन भन्छिन्, ‘मेरो विचारमा, एडिथको त्यो कदम उनको निर्दोषताको संकेत थियो कि तपाईं यति धेरै अडिग हुनुहुन्छ कि तपाईं त्यसो गर्न चाहनुहुन्छ ।’

तर, एडिथले भयानक गल्ती गरिन् । प्रहरीले चिठीमा लेखेको कुरा उनको विरुद्धमा प्रयोग गरेको थियो । उनीहरूले त्यसबाट गलत निष्कर्ष निकाले र उनलाई ‘दोषी ठहराउन’ पत्रहरूको भ्रामक मिति बताए ।

मुद्दा ११ डिसेम्बरमा निर्णायकको अदालतमा गयो । करिब दुई घन्टासम्म विचारविमर्श गरेपछि, नराम्रोसँग डराएकी एडिथलाई लगभग झुण्ड्याएर अदालतमा ल्याइयो जहाँ उनलाई र फ्रेडीलाई हत्याको दोषी ठहर गरियो ।

अदालतको कोठामा कोलाहलको बीचमा, फ्रेडीले रुँदै भने, ‘जुरीको निर्णय गलत छ । ती महिला दोषी छैन ।’ जब न्यायाधिश शेरम्यानले यो जोडीलाई मृत्युदण्डको सजाय सुनाए तब उनको विगमाथि कालो टोपी राखियो ।

जब एडिथलाई जेलको कोठातिर लगिँदै थियो तब उनी चिच्याउँदै रोइरहेकी थिइन् ।

edith12‘उनीसँग बाँच्ने कुनै मौका नै थिएन’

एडिथले फाँसीमा झुण्डिनु एक दिन अघि आफ्ना आमा–बुवालाई अन्तिम पटक भेटिन् ।

फ्रेडीलाई मृत्युदण्डबाट बचाउनको लागि एक लाख भन्दा बढी मानिसहरूले एक याचिकामा हस्ताक्षर गरे । यद्यपि, यस्तो देखिन्छ कि एडिथ प्रति कसैको पनि सहानुभूति थिएन ।

लौरा थमसन भन्छिन्, ‘महिलाले उनलाई मन पराउँदैनथे किनभने उनीहरु एडिथसँग डराउँथे, उनी ती महिलामध्ये एक थिइन् जसबारे अन्य महिलाको सोच थियो कि पुरुष त्यस्ता महिला चाहन्छन् र उनले आफैँलाई तनावमा पारेकी थिइन् त्यसैले उनीप्रति दया देखाउन सकिँदैनथ्यो ।’

मानिसहरूले अखबारहरूमा लेख लेखे र तिनीहरूमध्ये धेरै कठोर थिए । द टाइम्सले लेख्यो, ‘यो केसमा यस्तो स्थिति कहिले पनि सिर्जना हुन सकेन कि सहानुभूतिको एक अंश पनि व्यक्त गर्न सकियोस् । यो पूरै मामिला असाध्यै सीधा र अनैतिक थियो ।’

स्व–घोषित नारीवादी रेबेका वेस्टले यहाँसम्म लेखिन् कि एडिथ ‘एक गरीब बच्चा थिइन् । समाजलाई स्तब्ध बनाउने फोहोरको एउटा टुक्रा थिइन् ।’

मृत्युदण्ड पछि, महिलाहरूले बेलायती गृह सचिव विलियम ब्रिजम्यानलाई एक पत्र लेखेर महिलाको मर्यादाको रक्षा गरेकोमा धन्यवाद दिए, किनभने उनले मृत्युदण्डको सजायलाई कम गर्न अनुमति दिएकी थिइनन् ।

edith13एडिथले जेलबाट पत्र लेखिन् । त्यसमा बिर्सिएकी महिलाको पीडाको वर्णन गरिएको थियो ।

आफ्ना आमाबुवालाई लेखेको पत्रमा एडिथले लेखिन्, ‘यस्तो लाग्छ कि आज सबैकुरा अन्त्य भएका ेछ । म केही सोच्न सक्दिनँ । यस्तो लाग्छ कि म एउटा खाली बाक्लो पर्खालको अगाडि उभिरहेकी छु, जसलाई न मेरो आँखाले देख्न सक्छ, न त मेरो भावनाले यसलाई पार गर्न सक्छ ।’

‘मैले नगरेको अपराधको सजाय पाएको छु भनेर म सोच्न सक्दिनँ । मलाई यसको बारेमा थाहा पनि थिएन । न त पहिले न त्यतिबेला नै ।’

पहिलेका दशकहरूमा, मृत्युदण्डको सजाय पाएका प्रत्येक महिलालाई छुट दिइन्थ्यो । तर, एडिथले दायर गरेका सबै निवेदन खारेज गरिदिए ।

लौरा थमसन भन्छिन्, ‘एडिथको फाँसीको सजाय सुनिश्चित गर्न गृह मन्त्रालय कुन हदसम्म गयो, त्यो निकै भयावह लाग्छ ।’

लौरा विश्वास गर्छिन् कि एडिथको व्यभिचारलाई ‘नैतिकतामा प्रहार’ मानिन्छ । यो यस्तो व्यवहार थियो जसले ‘विवाहको व्यवस्था र त्यसको सबै सद्गुणहरु ध्वस्त हुने डर थियो ।’

edith14‘कम्तीमा उनी अहिले उनीहरुसँगै छिन्’

एडिथको शव अन्ततः सिटी अफ लन्डनको समाधिस्थलमा लगेर उनका आमा–बुवासँगै गाडिएको थियो ।

सेप्टेम्बर १९२३ मा, एडिथको घरमा थमसन परिवारको घरेलु सामानको लिलामी भएको थियो । घरको बगैँचादेखि सडकसम्म मानिसको भीड जम्मा भएको थियो । तिनीहरू सबै एडिथको जीवनको एक टुक्रा पाउन चाहन्थे ।

लिलामी गर्नेहरूमध्ये एकले भने, ‘घरको निजी बगैंचाको हरेक पातहरू टिपिएका थिए ताकि लिलामीमा समावेश मानिसहरुले आफ्ना साथीहरूलाई उनीहरूले पनि एडिथको घरबाट केही फेला पारेको कुरा बताउन सकून् ।’

एडिथ र फ्रेडीको मैनको आकृति म्याडम तुसादमा आकर्षणको सबैभन्दा ठूलो केन्द्र बन्यो ।

उनीहरुको आकृति अन्ततः १९८० को दशकमा चेम्बर अफ हरर्सबाट हटाइयो । आज तिनीहरूलाई संग्रहालयको बेसमेन्टमा राखिएको छ, जहाँ पुतलाको मैन पग्लिरहेको छ र रङ खुइलिरहेका छन् ।

प्रोफेसर वेइसले एडिथलाई माफी दिलाउनका लागि वर्षौंसम्म लडाइँ लडिन् । २०१८ मा, एडिथको शवलाई उनको आमाबाबुसँगै मनोर पार्कको सिटी अफ लन्डनको समाधिस्थलमा पुनः गाडिएको थियो ।

प्रोफेसर वेइस भन्छन्, ‘मलाई उनको आमाको अन्तिम इच्छा पूरा गर्ने आशा थियो । कम्तिमा अब उनी उनीसँग त छिन् ।’

बेलायतमा मृत्युदण्ड खारेज भएको ५० वर्षभन्दा बढी बितिसक्दा पनि लौरा थमसनको विचारमा, एडिथलाई के भयो त्यो आज पनि सान्दर्भिक छ ।

उनी भन्छिन्, ‘मानिसहरुलाई यो याद दिलाइरहनु पर्छ कि केही पनि फेरिएको छैन । पूर्वाग्रह सधैँ बनिरहन्छ । मात्रै यसको रङ फेरिरहन्छ ।’

लौरा थमसन भन्छिन्, ‘यस कहानीले एउटा यस्तो भयावह चेतावनी पनि पाइन्छ कि तपाईं जोप्रति खराब विचार राख्नुहुन्छ, उनीहरुका लागि आफ्नो सबैभन्दा खराब विचारमाथि लगाम लगाएर राख्नुहोस् ।’

‘हामी अझै पनि अस्वीकारको संस्कृतिमा बाँचिरहेका छौं । एडिथलाई समाजबाट अस्वीकृत गरिएको थियो । यो एकदमै खतरनाक लालसा हो, तर समाजले यसलाई बेवास्ता गर्न सक्दैन ।’

बीबीसी

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

एजेन्सी
एजेन्सी
लेखकबाट थप