शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राष्ट्रिय एकता दिवस

‘पृथ्वीनारायणले भौगोलिक मात्रै होइन, सांस्कृतिक एकता पनि गरेका थिए’

बुधबार, २७ पुस २०७९

पृथ्वीनारायण शाहको जन्मजयन्तीमा राष्ट्रिय एकता दिवस मनाउने र सार्वजनिक बिदा दिने जुन निर्णय सरकारले गर्‍यो, त्यो प्रशंसायोग्य छ, तर त्यो खुसीले गरिएको होइन । राष्ट्रिय प्रजातन्त्र पार्टीले यसलाई सर्तका रूपमा राखेको थियो । हामीले भनेका थियौँ— पृथ्वी जयन्ती मनाउन मान्दैनौ भने हामी सरकारलाई सहयोग गर्दैनौँ । 

यसरी बाध्यतावश गरिए पनि अब यो निर्णय सदाका लागि होस् भन्ने मेरो चाहना छ । कतिपय पक्षको तर्क छ— पृथ्वीनारायणले नेपालको भौगोलिक एकीकरण त गरे तर सांस्कृतिक, भावनात्मक र भाषिक एकीकरण एकीकरण गरेनन् । त्यसैले यसलाई एकीकरण मान्न सकिँदैन ।

अहिले यो किसिमको भाष्य निर्माण गर्ने प्रयास भइरहेको छ । संसारमा भौगोलिक एकीकरण भएपछि नै भावनात्मक एकीकरण क्रमिक रूपमा हुने हो । त्यसो हुनाले यो नितान्त वामवादीहरूले सिर्जना गरेको गलत र विकृत भाष्य हो । पृथ्वीनारायण भौगोलिक एकीकरणकर्ता मात्र होइनन्, भावनात्मक एकता र सांस्कृतिक एकीकरणकर्ता पनि हुन् । 

राज्यहरूमा पनि शत्रुको नाक, कान काटिदिने चलन थियो । त्यो एउटा परिस्थिति र समयमा कतिपयको काटिएको हो । काटिएकै होइन भनेर जुन भाष्य पृथ्वीनारायण शाहका भक्तहरूले निर्माण गर्न खोज्छन्, त्यो गलत हो ।

काठमाडौं उपत्यकामा विजय हासिल गरेपछि कुमारीको पाउ ढोगेर उनले राज्य सुरु गरेका थिए । उनले नेपाललाई चार वर्ण छत्तीस जातको साझा फूलबारी भनेका थिए । उनले यसलाई हिन्दुहरूको स्थान माने पनि हरेक धर्मावलम्बीले आफ्नो कुलधर्म कायम राख्नु भनेका थिए । उनी काठमाडौं उपत्यका नेवाः संस्कृति र सभ्यताको एकदमै ठुलो संरक्षक थिए । त्यस कारण पृथ्वीनारायण नेपालको 'साझा संस्कृति'को नरम तानाशाह थिए । फेरि, तानाशाहको प्रशंसा गर्ने ? भन्लान् । आजभन्दा २५० वर्षअगाडि संसारमा धेरैजसो तानाशाहले नै शासन गरेका थिए । त्यो परिस्थितिमा नेपालमा मात्रै ठूलो लोकतन्त्र हुनुपथ्र्यो भनेर हुँदैन । 

पृथ्वीनारायणमाथि सधैँ लाग्ने आरोप के हो भने, उनले कीर्तिपुरका नेवारको नाक काटे । उनले आफैँ काटेको होइन । पहिले कीर्तिपुरेले उनका उनका भाइ सुरप्रताप शाहका आँखा फुटाइदिएका थिए, त्यसो हुनाले प्रतिरोधस्वरूप त्यो काम भयो । त्यतिबेला अन्य राज्यहरूमा पनि शत्रुको नाक, कान काटिदिने चलन थियो । त्यो एउटा परिस्थिति र समयमा कतिपयको काटिएको हो । काटिएकै होइन भनेर जुन भाष्य पृथ्वीनारायण शाहका भक्तहरूले निर्माण गर्न खोज्छन्, त्यो गलत हो । यो भएको कुरालाई स्वीकार गर्नुपर्छ । 

rabindra mishra

अर्कोतिर, पृथ्वीनारायणले हिंसा प्रयोग गरे भनिन्छ । एउटा तथ्य के हो भने आजको समयमा पनि जब राज्य–राज्यबीच लडाइँ हुन्छ, जब राज्यका दुई पक्षबीच द्वन्द्व हुन्छ, त्यहाँ हिंसा प्रयोग हुन्छ । संसारमा हिंसा प्रयोग नगरी कुनचाहिँ एकीकरण भएको छ ?  कहीँ नभएको कुरा हामी मात्र खोज्ने ? २५० वर्षअघि तानाशाह त संसारभरि थिए । हिंसा प्रयोग भएकै थियो । 

पृथ्वीनारायण जस्तो दू्रदर्शी, आँटिलो नेतृत्व त्यतिबेला नभइदिएको भए आज नेपाल हुँदैनथ्यो ।

भारतको एकीकरण हुनेबेला वल्लभभाइ पटेललाई संसारको सबैभन्दा शान्तिपूर्ण एकीकरणकर्ता भनिन्छ । तर एकदमै  रणनीतिक महत्त्वको हैदराबादलाई भारतमा एकीकरण गर्न अप्ठेरो पर्‍यो । ऊ एकीकरणमा आउन नमानेपछि हिंसा प्रयोग भयो । त्यस सम्बन्धका दस्तावेजहरू धेरैपछि मात्र सार्वजनिक भए । त्यहाँ दसौँ हजारको ज्यान गएको देखियो । त्यसकारण हामीले त्यही समयको परिप्रेक्ष्यमा यस्ता विश्लेषण गर्नुपर्ने हुन्छ । 

यसको अर्थ मैले हत्या, हिसाको औचित्य दर्शाउन खोजेको होइन । लोकतन्त्र आइसकेपछि लोकतान्त्रिक विचारले जित्न नसकेर मान्छे मारेर हिँडेको माओवादी हिंसाको औचित्य दर्शाउने, अनि आजभन्दा २५० वर्षभन्दा अगाडिको हत्या–हिंसा एकदम गलत थियो, राज्यले माफ माग्नुपर्छ भनेर भन्ने ? त्यो कुरा त्यति सही होइन । त्यसकारण हामीले यो विषयलाई मनन गर्नुपर्छ । 

पृथ्वीनारायण जस्तो दू्रदर्शी, आँटिलो नेतृत्व त्यतिबेला नभइदिएको भए आज नेपाल हुँदैनथ्यो । कतिपयले भन्लान् नेपाल नभए के हुन्थ्यो त ? अरू केही त भइहाल्थ्यो नि भन्लान् । तर हरेक देशका नागरिकले त्यो देश बनिसकेपछि त्यो देशको माटोप्रतिको आस्था सबैभन्दा प्रगाढ हुन्छ र सबैभन्दा बलियो हुन्छ । 

आज युक्रेनका जनता त्यसरी पीडाकष्ट भोगेर किन आफ्नो भूमिको संरक्षण गर्न खोजिरहेका छन् ? किनभने त्यो देशप्रतिको भक्ति हो र त्यो माटोप्रतिको आस्था हो । जुन बनिसकेको देशमा आज हामी जन्मियौँ, यस देशको निर्माता पृथ्वीनारायणलाई मान्नु हाम्रो दायित्व हुन जान्छ । आज हामीले नेपाली भएर आफ्नो धर्म, संस्कृति, जातजाति, भाषाभाषीमाथि गर्व गर्दा एउटा आदर्श र राष्ट्रिय एकताको प्रतीकलाई सम्मान गर्नु कुनै सामान्तवादी सोच होइन ।  

पृथ्वीनारायणको दूरदर्शिता उनको दिव्योपदेशमा झल्किएको छ । त्यसलाई मनन गर्ने हो भने मात्रै नेपालको अर्थनीति, राजनीति र कूटनीति धेरै नै सन्तुलनमा आउँथ्यो । दुई ढुङ्गाबीचको तरुल कसले भनेको ? भोलि सङ्कट आइलाग्छ, आफैँ जाइ नलाग्नु तर आइलाग्नेलाई नछोड्नु कसले भनेको ?  उनले नेपाल निर्माणको जग हालेपछि पश्चिम किल्ला काँगडा पूर्वमा टिस्टा पुगेथ्यौँ भनेर टिस्टासम्म शाह वंशकै पालामा पुगेको होइन देशको सीमा ? हो पछि आएर सङ्कुचित भयो, त्यो भिन्नै कुरा हो । तर यो भूमिमा उनले जेजस्ता दिव्य उपदेश दिएका छन्, त्यसलाई हामीले मनन गर्न आवश्यक हुन्छ । 

मैले त भन्ने गरेको छु, पृथ्वीनारायण शाहको सालिक ढालेर, उनलाई सरापेर मार्क्स र माओलाई माला लगाउन जानेहरूले, पूजा गर्न जानेहरूले यो देश बनाउन सक्दैनन् ।

उनले ‘यो देशको संस्कृति जोगाउनका लागि मुजुरा हेर्न नजानू’ भने । यसको अर्थ हो— तिमी आफ्नै नाच हेर, आफ्नै गान सुन, आफ्नै धर्मसंस्कृति मनाऊ । यस्तै, उनले पैसा लगेर विदेशमा नराख, नेपालभित्रै राख भनेका छन् । नेपाली उद्योग, कलकारखानालाई प्रवद्र्धन गर भनेका छन् । त्यो समयमा प्रजा मोटा भए मात्रै राजा बलिया हुन्छन् भनेका छन् । 

नेपालको राजसंस्थाले बझ्नुपर्ने के हो भने प्रजा मोटा हुनैपर्छ राजसंस्था दिगो हुनका लागि । त्यो दूरदर्शिता हेर्नुभयो भने उनले संस्कृतिका बारेमा बोलेको, कूटनीति र नेपालको सुरक्षाका बारेमा बोलेको, नेपालको राजसंस्था कस्तो हुनुपर्छ भनेर बोलेको, नेपालमा समतामूलक समाज कसरी निर्माण हुनुपर्छ भनेर बोलेको कुरालाई विचार गर्दा उनी अत्यन्तै दूरदर्शी नेता थिए । अत्यन्तै आँटिला नेता थिए । सारा नेपालीले उनको गौरवगाथा गाउनैपर्छ । 

rabindra mishra 3

मैले त भन्ने गरेको छु, पृथ्वीनारायण शाहको सालिक ढालेर, उनलाई सरापेर मार्क्स र माओलाई माला लगाउन जानेहरूले, पूजा गर्न जानेहरूले यो देश बनाउन सक्दैनन् । यो देश नबन्नुको प्रमुख कारणमध्ये त्यो पनि एक हो । किनभने हामीले हाम्रोमा गर्व गर्न जानेनौँ ।

पृथ्वी जयन्तीमा जसरी सार्वजनिक बिदा दिन थालियो, जसरी पृथ्वीजयन्ती पुनर्स्थापित भएको छ, यसलाई हामीभन्दा मुनिको पुस्ताले बचाएर लानुपर्छ र यसमा गर्व गर्नुपर्छ । नेपाली हुनुको त्यो एउटा गर्वभाव पनि हो । नेपालको एकताको प्रतीक सधैँका लागि राख्नुपर्ने व्यक्तित्व पनि हो । 

मैले पृथ्वीनारायण शाहको गाथा गाउँदै गर्दा विगतको भूतले मलाई सताएको, पश्चगमनको भूतले मलाई सताएको भन्ने आरोप लाग्न सक्छ, लागेको पनि छ । यो नेपाल भन्ने देशलाई जोगाउने र सँगसँगै यसलाई स्थिर र शान्त राख्ने हो । शान्त र स्थिर नभईकन संसारमा कुनै पनि देश रूपान्तरणमा जान सक्दैन । त्यसैले नेपालको शान्ति  र स्थिरता सबैभन्दा प्रधान विषय हो । अनि सँगसँगै रूपान्तरण विषय पनि प्रधान हो । 

मेरो विचारभन्दा माथि राखेर हेर्दाखेरि र यो देशको भलोलाई सोच्दाखेरि ३०–४० वर्षपछि यो देशमा कस्ता किसिमका समस्या र जटिलता आउन सक्छन् भनेर सोच्दा यो देशमा राजसंस्थाको पुनःस्थापना अत्यावश्यक छ भन्ने निष्कर्षमा म पुगेको हुँ ।

अहिलेको परिप्रेक्ष्यमा जस्तो किसिमको भूराजनीतिको विकास भएको छ, संसारमा जसरी नेपाल त्यो बदलिँदो भूराजनीतिको केन्द्र बनेको छ, जसरी एकापट्टि एक अर्ब ४० करोड जनसङ्ख्या भएको र अर्कापट्टि एक अर्ब ३० करोड जनसङ्ख्या भएको भिन्न–भिन्न राजनीतिक व्यवस्था अँगालेका दुई देश संसारकै शक्तिशाली भएर आएका छन् । ती शक्तिशाली बनेर आइरहँदा पश्चिमा देशहरूको रणनीति नै बदलिन थालेको छ । तपाईं इन्डो प्यासिफिक रणनीतिको कुरा गर्नुस् या बेल्ट एन्ड रोडको कुरा गर्नुस्, ती रणनीति बदलिन थालेका छन् । यसरी भूराजनीतिको केन्द्र बन्न लागेको देशभित्र सम्पूर्ण संस्था कमजोर छन् । राष्ट्रपतिको संस्था कमजोर छ, सर्वोच्च न्यायालयको संस्था कमजोर छ, प्रधानमन्त्रीको संस्था कमजोर छ, कर्मचारी, प्रहरी लगायत सम्पूर्ण संस्था कमजोर छन् । यहाँभित्रको जातीय संवेदनशीलता बढेको छ । त्यसैगरी धार्मिक जनसंख्याको बनोट बदलिँदै गएको छ । यस्तोबेला जब सङ्कट आइलाग्छ, कुनै पनि संस्थाले यसलाई ह्यान्डल गर्न सक्दैन । त्यस्तो भएका देशहरू संसारमा अरू पनि धेरै छन् । नपरुन्जेल केही भएको छैन जस्तो लाग्छ, परेपछि त्यसलाई सम्हाल्न सकिँदैन । 

देश गणतन्त्रमा गए पनि भोलिका दिनमा आउने जटिलताका सम्भावना प्रबल रूपमा देखिएका छन् । त्यस्तो बेला लामो ऐतिहासिक विरासत बोकेको संस्था मानिसले खोज्दा रहेछन् । संसारमा अन्त पनि खोजिएको छ सङ्कटको घडीमा । यो देश त शाह वंशले निर्माण गरेको र शासन गर्दै आएको हो नि । त्यो पनि होइन भनेर निहुँ खोजिदिने ? त्यो वंशबाट केही कमजोरी भएको भए पनि लामो ऐतिहासिक विरासत बोकेको छ । आज पनि मधेस, पहाड, हिमाल वा काठमाडौंका नेवाहरूको कोर बस्तीमा राजसंस्थाको प्रतीक राजा ज्ञानेन्द्र पुग्दा हजारौँ मानिस निस्किएको तपाईं देख्नुहुन्छ । एउटा ठाउँको मानिस अर्को ठाउँमा लगिएको होइन । त्यसकारण ३०–४० वर्षपछिको देशलाई परिकल्पना गरेर आआफ्ना विचारभन्दामाथि देशलाई राख्नैपर्छ भन्ने मेरो मान्यता हो । 

म राजावादी भएर होइन, म त उत्कृष्टतावादी हुँ । म मेरिटोक्रेसीमा विश्वास गर्छु, तर त्यो मेरो विश्वास हो । मेरो विश्वासभन्दा ठूलो त यो देश हो नि । यो देश सबैको हो, विचार मेरो मात्रै हो । त्यसकारण मेरो विचारभन्दा माथि राखेर हेर्दाखेरि र यो देशको भलोलाई सोच्दाखेरि ३०–४० वर्षपछि यो देशमा कस्ता किसिमका समस्या र जटिलता आउन सक्छन् भनेर सोच्दा यो देशमा राजसंस्थाको पुनःस्थापना अत्यावश्यक छ भन्ने निष्कर्षमा म पुगेको हुँ । पछिल्लो समय त्यही निष्कर्षका साथ म राजनीतिमा अगाडि बढिरहेको छु । 

(कुराकानीमा आधारित)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया