आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

सभामुख बन्न एमालेका नेताहरूले थाले दौडधुप

बुधबार, २७ पुस २०७९, १७ : ०४
बुधबार, २७ पुस २०७९

काठमाडौँ । आगामी माघ ५ गते प्रतिनिधिसभाको सभामुख चयन गर्न निर्वाचन गर्ने कार्यतालिका छ ।  मंगलबार प्रतिनिधिसभाका ज्येष्ठ सदस्य तथा सभाध्यक्ष पशुपति शमशेर राणाले सभामुखको निर्वाचनको मिति घोषणा गरेका थिए । जसअनुसार राणाले संसद सचिवालयका महासचिव महासचिव भरतराज गौतमलाई माघ ३ गतेभित्र निर्वाचनको तयारी गर्न निर्देशन दिइसकेका छन् ।

नेकपा माओवादी केन्द्र र एमालेबीच प्रधानमन्त्री र सभामुख आलोपालो गर्ने सहमति भइसकेको छ । सोही सहमति अनुसार माओवादी केन्द्रले प्रधानमन्त्री पद पाएपछि सभामुख एमालेबाट बन्ने निश्चित भएको छ ।

योसँगै एमालेका नेताहरु सभामुख बन्न दौडधुपमा लागेका छन् । सभामुखको निर्वाचन हुन ८ दिनमात्रै बाँकी हुँदासम्म ओलीले उक्त पदका लागि कसैलाई संकेत वा अफर गरेका छैनन् । पार्टीका नेताहरुले ओलीको निर्णयलाई पर्खेर बसेका छन् । यद्यपि एमाले नेताहरुले सभामुख हुन आफ्नै तरिकाले भेटघाट र छलफल जारी राखेका छन् । तर, ओली निकट नेता गोकुल बास्कोटाले सभामुखका विषयमा कुनै छलफल नभएको जिकिर गरे । उपयुक्त समयमा सभामुखका विषयमा पार्टीले निर्णय गरेर जाने बास्कोटाले बताए ।

एमालेबाट उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा, रघुजी पन्त र विद्या भट्टराईले सभामुखमा इच्छा देखाएका छन् । पार्टीमा चार जना नेताले खुलेर सभामुखका लागि लबिङ गरिरहेका छन् । ओलीले सभामुख बनाउँदा आफ्नो विश्वास पात्र नेतालाई मात्रै सभामुख बनाउने धेरैको आकलन छ । गुरुङ सभामुख हुने व्यक्तित्व र क्षमता भए पनि ओलीलाई क्रस गर्न सक्ने भएकाले उनी पहिलो रोजाइमा नपर्ने धेरैको बुझाई छ । कतिपय महत्त्वपूर्ण निर्णयमा समेत गुरुङले स्वविवेक प्रयोग गर्न सक्ने भएकाले उनको सम्भावना कम हुने स्रोत बताउँछ ।

तर, गुरुङले आफ्नो चाहनाभन्दा पनि पार्टीको महत्त्वपूर्ण हुने बताए । ‘मेरो सभामुखमा दाबी रहन्छ । पार्टीको सिनियर नेता पनि हुँ ।  जिम्मेवारी पाए काम गर्न सक्छु भन्ने छ,’ गुरुङले भने, ‘आफ्नो केमा दाबी छ, त्यसैमा भन्ने हो । मेरो सभामुखमा दाबी छ ।’विश्वकर्मा पनि सभामुखका लागि इच्छुक देखिएका छन् । विश्वकर्मा एमाले अध्यक्ष ओलीका विश्वासपात्र मानिएकाले उनी नै सभामुख हुन सक्ने धेरैको आकलन छ । यद्यपि उनको पक्षमा समेत ओलीले मुख खोलेका छैनन् ।

यसअघि सांसद र मन्त्री भइसकेकाले पन्तले पनि सभामुखमा इच्छा देखाएका छन् । तत्कालीन एमालेमा माधवकुमार नेपाल निकट भइ काम गरेका उनी पार्टी विभाजनपछि ओलीतिरै फर्किए । अहिले ओलीले पन्तलाई समानुपातिक सांसद बनाएपछि मन्त्री भन्दा सभामुखमा जाने इच्छा देखाएका छन् । यदि पार्टीले आफूलाई सभामुख बनाउने निर्णय गरे जिम्मेवारी लिन तयार रहेको पन्तले बताए । यस्तै विद्या भट्टराईले पनि सभामुखमा इच्छा देखाएकी छन् । कास्कीबाट २ पटक निर्वाचित भट्टराई पार्टीले जिम्मेवारी दिएमा सभामुख पदको जिम्मेवारी लिने पक्षमा छिन् ।

उता, कांग्रेसले सभामुख पदमा उम्मेदवारी दिने या नदिने भन्ने निर्णय गरिसकेको छैन । सभामुखको चुनाव हुन अझै समय बाँकी भएकाले कुनै निर्णय नगरेको नेता प्रदीप पौडेलले बताए । ‘सभामुखको निर्वाचन हुन अझै समय छ । पार्टीकै उम्मेदवार हुन्छ कि कुनै उम्मेदवारलाई समर्थन गर्छ भनेर अहिले नै भन्न सक्ने अवस्था छैन,’ पौडेलले भने, ‘पार्टीले माघ ५ गते अघि सभामुखका विषयमा स्पष्ट निर्णय गरेर जान्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप