बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय
सङ्गीत

घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई

बुधबार, १७ असार २०८३, ०८ : ००
बुधबार, १७ असार २०८३

सारांश

  • पछिल्लो समय गीतसङ्गीत निर्माणको क्रम निकै घटेको छ, जुन एक समय दैनिक ५ देखि ७ वटासम्म नयाँ गीत सार्वजनिक हुनु सामान्य थियो।
  • लगानी अनुसारको प्रतिफल नहुनु, युट्युबमा अर्ग्यानिक भ्युज घट्नु, टिकटकमा भर पर्नुपर्ने अवस्था, आर्थिक मन्दी र विदेशबाट हुने लगानीमा कमी आउनु जस्ता कारणले गीतसङ्गीत निर्माणमा कमी आएको छ।
  • आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को अनधिकृत प्रयोग र पाइरेसीले सर्जकको वास्तविक सिर्जनाको आम्दानी घटाउँदै लगानीकर्ताहरूलाई लगानी गर्न डराएको छ, जसले गर्दा नेपाली सङ्गीतको मौलिकता र गुणस्तरमा चुनौती थपिएको छ।

काठमाडौँ । पछिल्लो समय गीतसङ्गीत निर्माणको क्रम निकै घटेको छ ।

कुनै समय बजारमा दैनिक ५ देखि ७ वटासम्म नयाँ गीत भित्रिनु सामान्य जस्तै मानिन्थ्यो । विशेषगरी डिजिटल प्लेटफर्म र युट्युबको लहरसँगै गीत तथा भिडियो निर्माणमा ठुलो बाढी नै आएको थियो । तर, हाल यो गति सुस्त देखिएको छ । अचेल बजारमा फाट्टफुट्ट मात्र नयाँ गीतहरू सार्वजनिक हुने गरेका छन्, जसलाई स्वयं संगीतकर्मीहरूले पनि स्वीकारेका छन् । 

केही वर्ष अघिसम्म कोरियोग्राफर तथा निर्देशक गम्भीर विष्टलाई म्युजिक भिडियो निर्देशनमा भ्याइनभ्याइ हुन्थ्यो । महिनामा ८ देखि १० वटासम्म भिडियो निर्देशन गर्ने विष्टको व्यस्तता अचेल निकै घटेको छ । अहिले उनी महिनामा मुस्किलले २ देखि ४ वटा मात्र भिडियो निर्देशन गर्छन् । 

गीतसंगीतको बजार खस्किनुमा लगानी अनुसारको प्रतिफल नहुनु मुख्य कारण रहेको विष्टको बुझाइ छ । 'युट्युबमा पहिले जस्तो अर्ग्यानिक भ्युज आउन छाडेको छ, बुस्ट नगरी भिडियो पुर्‍याउनै गाह्रो भइसक्यो,' विष्ट भन्छन्, 'अचेल गीत चल्नका लागि टिकटककै भर पर्नुपर्ने अवस्था छ । टिकटकमा भ्युज राम्रो गए पनि त्यसले युट्युबमा सोझै प्रतिफल दिँदैन ।' बजारमा देखिएको आर्थिक मन्दीका कारण पनि गीतसङ्गीत निर्माणमा कमी आएको विष्ट बताउँछन् । '५–७ लाख रुपैयाँको बजेटमा बन्ने भिडियोहरू अहिले २–३ लाखमा बनाउन खोजिन्छ । गीत निर्माणमा लगानी धेरै घटेको छ,' उनले थपे । 

गीत निर्माणको सङ्ख्या घटेको अनुभव सङ्गीतकार तथा एरेन्जर राकेश सोनीको पनि छ । कुनै समय महिनामा १५ देखि २० वटासम्म गीत एरेन्ज गर्ने सोनीको कामको चाप आधा घटेर ८–१० वटामा सीमित भएको छ । मेरो काम मात्र होइन, अहिले बजारमा समग्र रूपमै गीत सङ्गीत सिर्जनाको अनुपात घटेको छ,' सोनी भन्छन्, 'अडियो र भिडियो निर्माण निकै महँगो भएको छ, तर युट्युबबाट हुने आम्दानी घटेको छ । त्यसैले लगानीकर्ताहरू डराएका छन् ।' चल्तीका थोरै कलाकारहरूको मात्र गीत सङ्गीत सार्वजनिक भइरहेको उनको भनाइ छ । 

गीत र भिडियोको सङ्ख्यात्मक कमीलाई वितरक कम्पनीहरूले पनि नजिकबाट नियालिरहेका छन् । नेपालको अग्रणी डिजिटल प्लेटफर्ममध्येको एक ओएसआर डिजिटलका रूपेश खड्गीका अनुसार विगतको तुलनामा नयाँ गीतहरूको रिलिज सङ्ख्या करिब ४० प्रतिशतले घटेको छ । बजारको बदलिँदो स्वरूप र लगानीकर्तासँगको अविश्वासका कारण गीत सङ्गीत निर्माण घटेको खड्गी बताउँछन् । 'अहिले दर्शकहरूको ध्यान युट्युबबाट फेसबुक रिल्स, टिकटक र युट्युब शर्ट्सतिर मोडिएको छ । छोटो भिडियोमा भाइरल भए मात्र पूर्ण गीत सुन्न दर्शक युट्युबमा आउने ट्रेन्ड बसेको छ,' उनी थप्छन्, 'युट्युब आफैंले पनि विज्ञापन र रिचको नीति कडा बनाएको छ ।' युट्युबको आम्दानी घटेसँगै गीत निर्माणमा कमी आएको खड्गीको भनाइ छ । 

खड्गीका अनुसार नेपाली गीत संगीतमा हुने लगानीको ठुलो हिस्सा वैदेशिक रोजगारी वा विदेशमा बस्ने नेपाली गीतकार तथा स्रष्टाहरूको हुन्थ्यो । तर नेपालमा रहेका कतिपय प्रतिनिधिहरूले लगानीमा पारदर्शिता नराख्दा अहिले त्यो फन्डिङ रोकिएको छ । 'विदेशमा बस्ने गीतकार वा लगानीकर्ताहरूले नेपालमा विश्वास गरेर पैसा पठाउँथे, तर यहाँ भिडियो कति बजेटमा बन्यो भन्ने सही तथ्याङ्क दिइएन । कतिपय अवस्थामा त रकम दुरुपयोग मात्र भयो, गीत नै बनेनन्,' उनी थप्छन्, 'यसरी विश्वास गुमेपछि बाहिरबाट हुने लगानी लगभग ठप्पजस्तै भयो, जसले गर्दा बजारमा नयाँ कामहरू आउन निकै कम भएका छन् ।' 

  • एआई चुनौती ? 

पछिल्लो समय नेपाली गीत सङ्गीत निर्माण घट्नुको अनेक कारणमध्ये एक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) पनि हो । कतिपयले स्रष्टा तथा सर्जकको सिर्जना एआई प्रयोग गरेर सार्वजनिक गरिदिएका छन् । यसले गर्दा सर्जकको वास्तविक सिर्जनाको आम्दानी घट्दै गएको छ र लगानीकर्ताहरू लगानी गर्न डराइरहेका छन् । 

यही कुरा दोहोर्‍याउँछन् लोक गायक तथा सर्जक कस्तुप पन्त । बजार खस्किनुमा टिकटक जस्ता सामाजिक सञ्जालमा सिर्जना भएका अवरोधहरू त छँदै छन्, त्यसबाहेक प्रविधिको अनधिकृत प्रयोग पनि बढिरहेको उनी बताउँछन् । 'एआईको बढ्दो अनधिकृत प्रयोग र पाइरेसीले हाम्रा मौलिक कन्टेन्टहरू कपी गरेर सार्वजनिक गरिदिँदा सक्कली सिर्जनाहरू ओझेलमा परिरहेका छन्,' पन्त भन्छन्, 'भ्युज र दर्शकहरूको रुचि पनि एआई सिर्जनाहरूतिरै मोडिएको छ, जसले गर्दा मूल स्रष्टा र लगानीकर्ताहरू प्रत्यक्ष मारमा परेका छन् ।' सर्जकको बौद्धिक सम्पत्तिको दुरुपयोग भइरहँदा पनि यस प्रविधिलाई मर्यादित र व्यवस्थित बनाउन राज्यस्तरबाट कुनै ठोस नीति वा नियम आउन नसक्दा सर्जकहरू निराश भइरहेको उनको भनाइ छ । 

पन्त एआईको यस्तो प्रयोगलाई व्यवस्थित र मर्यादित बनाउन राज्यस्तरबाट कुनै ठोस नीति नआएकोमा चिन्ता व्यक्त गर्छन् । 'हामी स्रष्टाको अधिकारको कुरा त गर्छौँ, तर सबैभन्दा बढी मारमा परेका लगानीकर्ता (प्रोड्युसर) को लगानी सुरक्षाबारे सोचेका छैनौँ,' उनले थपे, 'प्रोड्युसर सुरक्षित नभएसम्म बजारमा नयाँ सिर्जनाहरू आउन सक्दैनन् ।' 

प्रविधिको यो परिवर्तनलाई रेकर्डिङ स्टुडियो सञ्चालक तथा सङ्गीतकर्मी विपिन आचार्य भने अलि फरक कोणबाट हेर्छन् । उनी एआईलाई सङ्गीत निर्माणको शैली परिवर्तन गराउने एउटा बलियो माध्यम मान्छन् । आचार्यको अनुभवमा अहिले धेरैजसो सर्जक र गीतकारहरूले प्रारम्भिक ट्रयाक वा कम्पोजिसन एआईबाटै तयार पारेर परिमार्जनका लागि स्टुडियोमा पठाउने गरेका छन् । 'एआईले सङ्गीत र स्वरसहितको ट्रयाक सहजै बनाइदिने हुँदा गीतकारहरूलाई सजिलो भएको छ,' आचार्य भन्छन्, 'पहिले शब्द सिर्जना गरेपछि त्यसलाई रेकर्ड गराउन ठुलो खर्च र मिहिनेत गर्नुपर्थ्यो । अहिले एआईकै सहयोगमा सजिलै गीतको ढाँचा तयार हुने हुँदा व्यक्तिगत रूपमा ठुलो लगानी गरेर रेकर्डिङ गराउने क्रम अलि घटेको छ ।' 

तर, यो सहजतासँगै एआईले सङ्गीत क्षेत्रमा एउटा गम्भीर प्रश्न पनि उब्जाइदिएको आचार्य बताउँछन् । 'हामीले दिनौँ लगाएर गर्ने काम एआईले केही मिनेटमै गरिदिन्छ । चित्त बुझेन भने तुरुन्तै अर्को विकल्प दिन्छ । यसले गर्दा सङ्गीतको गहिरो ज्ञान वा मिहिनेतविना नै कोही पनि सजिलै एरेन्जर बन्न सक्ने अवस्था आएको छ,' उनी भन्छन्, 'यसले नेपाली सङ्गीतको मौलिकता र गुणस्तरमा कस्तो प्रभाव पार्ला भन्ने कुरा भविष्यमा प्रस्ट हुँदै जाला, तर यसले सिर्जनात्मक क्षेत्रमा नयाँ चुनौती भने अवश्य थपेको छ ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप