शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

निर्वाचनलगत्तै प्रतिकिलो २० रुपैयाँ बढ्यो चामलको मूल्य

बिहीबार, २८ पुस २०७९, ०७ : ०९
बिहीबार, २८ पुस २०७९

काठमाडौँ । निर्वाचनलगत्तै नेपाली बजारमा चामलको मूल्य उकालो लाग्न थालेको छ । निर्वाचन अघिसम्म सामान्य अवस्थामा रहेको चामलको मूल्य निर्वाचनताका एकाएक प्रतिकिलो २० रुपैयाँ र प्रतिबोरा ५०० रुपैयाँसम्म बढेर बजारमा आएको हो । उद्योगीहरूले बढाएको मूल्यमा चामल पठाएपछि सोही आधारमा उपभोक्तालाई बेचिरहेको खुद्रा व्यापारी बताउँछन् ।

निर्वाचनभन्दा अघिसम्म ७० रुपैयाँ प्रतिकिलो रहेको पोखरेली चामलको भाउ हाल ९० रुपैयाँ प्रतिकिलो पुगेको छ । यसअनुसार २० किलोको बोरामा ४०० र २५ किलोको बोरामा ५०० रुपैयाँसम्म मूल्यवृद्धि भएको छ ।

यस्तै, निर्वाचनअघि १२० रुपैयाँ प्रतिकिलो रहेको बासमती चामलको मूल्य हाल १० रुपैयाँ बढेर १३० रुपैयाँ प्रतिकिलो पुगेको छ । बासमती चामल पनि २० किलोको बोरामा २०० रुपैयाँसम्म मूल्य बढेर आएको छ ।

यसका साथै, स्टिम सोना मन्सुली चामलको मूल्य प्रतिकिलो ६० रुपैयाँ पुगेको छ । यसअघि, यो चामलको बजार मूल्य ५५ रुपैयाँ प्रतिकिलो थियो । यो चामलको मूल्य २० किलोको बोरामा १०० रुपैयाँ बढेको हो ।

बजारमा एकाएक चामलको मूल्य बढेसँगै चामलबाट बन्ने वस्तुहरूको मूल्यसमेत उकालो लागेको छ । बजारमा चिउराको मूल्य प्रतिकिलो ५ देखि १० रुपैयाँसम्म बढेको छ ।

नेपाल खुद्रा व्यापार संघले निर्वाचन यता उद्योगबाट पटक–पटक चामलको मूल्य बढेर आएको स्वीकार गरेको छ । संघका महासचिव अमुलकाजी तुलाधारले निर्वाचनअघि र निर्वाचनपछि समेत चामलको मूल्य वृद्धि कायम रहेको बताए । उनले उद्योगहरूले बढेको मूल्यसूचीसहित चामल पठाएकाले सोही आधारमा उपभोक्तालाई बिक्री गरिरहेको बताए । उनले भने, ‘मूल्य बढिरहेको छ । निर्वाचनअघि र पछिसमेत मूल्य बढेर आएको छ । एकैपटक किलोमा २० रुपैयाँसम्म मूल्य बढेर आएपछि बढेकै मूल्यमा बेच्नुप¥यो ।’

खुद्रा व्यापारीहरूले मूल्य बढ्नुमा उद्योगीलाई दोष दिइरहँदा उद्योगीहरू भने भारतमा मूल्य बढेकाले त्यसको प्रभाव नेपाली बजारमा देखिएको दाबी गर्छन् । रुस–युक्रेन युद्धका कारण विश्वभर खाद्यान्नको माग बढ्दा भारतमा धानको मूल्य बढेकाले नेपालमा चामलको मूल्य बढ्न थालेको उद्योगीहरूको तर्क छ । उद्योगी सन्दीप अग्रवाल भारतबाट धानको मूल्य बढेर आउँदा नेपाली उद्योगले बढेको मूल्यमा चामल बजारमा पठाएको रातोपाटीलाई बताए ।

खासगरी, पछिल्लो समय भारतमा धानको मूल्य प्रतिकिलो ७ रुपैयाँसम्म उकालो लागेको छ । नेपाली उद्योगहरूले उत्पादन गर्ने अधिकांश चामल भारतीय धानबाट बन्ने गर्छ । भारतीय बजारमा एक किलो धानमा ७ रुपैयाँसम्म मूल्य बढ्दा १ किलो चामलको मूल्यमा १२ रुपैयाँसम्म फरक पर्छ । ‘भारतमा धानको मूल्य बढ्दा १ किलो चामलमा १२ रुपैयाँसम्म फरक पर्छ,’ अग्रवाल भन्छन्, ‘त्यसमा उद्योगीको नाफा, डिलरको नाफा, थोक व्यापारी र खुद्रा व्यापारीको नाफा जोड्दा झनै महँगिन्छ ।’

नेपालमा हालै धान भित्र्याइए पनि भित्र्याइएको धान उद्योगसम्म पुग्ने समय भइसकेको छैन । यसका लागि अझै केही साता समय लाग्न सक्छ । तर, त्यो समयसम्म चामलको मूल्य बढेर माथि पुगिसक्ने सम्भावना रहेको संघका महासचिव तुलाधरले बताए । बजारमा नयाँ चामल नआएकाले समेत मूल्य बढेको हुन सक्ने उनको भनाइ छ ।

५ महिनामा १२ अर्बको धान–चामल आयात

चालु आर्थिक वर्ष २०७९÷८० को ५ महिनाको अवधिमा भारतबाट १२ अर्बभन्दा बढीको धानचामल भित्रिएको छ । धान र चामलमा भारतीय उत्पादनमा निर्भर नेपाली अर्थतन्त्रमा वार्षिक अर्बौं रुपैयाँ बराबरको आयात हुने गरेको छ । साउनदेखि मंसिरसम्मको अवधिमा भारतबाट ५ अर्ब ३६ करोड रुपैयाँभन्दा बढीको धान भित्रिएको छ ।

यसबाहेक, ७ अर्ब रुपैयाँभन्दा बढीको चामल र २८ करोड २६ लाख रुपैयाँभन्दा बढीको कनिका आयात भएको छ । भन्सार विभागले चालु वर्षको साउनदेखि मंसिरसम्मको अवधिमा उक्त मूल्य बराबरको धान, चामल र कनिका भित्रिएको जानकारी दिएको हो ।

उद्योगी अग्रवालले समेत नेपालमा सञ्चालित चामल उद्योगहरूलाई चाहिने शत प्रतिशत धान भारतबाट आउने गरेको प्रस्ट्याए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप