शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
शिक्षा

‘२४ घण्टामै ट्रान्सक्रिप्ट’ को नारा लगाएको त्रिविले प्रमाणपत्र दिन लगाउँछ २० दिन

काठमाडौं आउनुपर्ने बाध्यता कहिले हट्छ ?
सोमबार, ०२ माघ २०७९, १० : २१
सोमबार, ०२ माघ २०७९

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले २०७५ सालमा विद्यार्थीले लब्धाङ्कपत्र (ट्रान्सक्रिप्ट) लिन पाइरहेको सास्तीको अन्त्य गर्दै आवेदन दिएको २४ घण्टामै उपलब्ध गराउने भनेर घोषणा गर्‍यो । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले एक कार्यक्रम आयोजना गरी २०७५ जेठ १३ गतेदेखि ‘परीक्षा व्यवस्थापन सूचना प्रविधि प्रणाली’ सुरु गरेको थियो । तत्कालीन उपकुलपति प्राडा तीर्थराज खनियाँले सो प्रणालीको उद्घाटन गर्दै त्रिवि अब सूचना प्रविधिमैत्री भएको बताएका थिए ।

‘हामी त्रिविलाई कागजविहीन बनाउने प्रयासमा छौं । यसैको सुरुवात आजदेखि एकै दिनमा ट्रान्सक्रिप्ट दिन थालेका हौं । एकै दिनमा ट्रान्सक्रिप्ट दिने सेवालाई विस्तारै क्षेत्रीय कार्यालय र क्याम्पसमा विस्तार गर्नेछौं,’ उनले भनेका थिए । उनले सन् २०२० सम्म अनलाइन प्रणालीलाई व्यवस्थित बनाई परीक्षा सुधार गरिने बताएका थिए ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले विद्यार्थीलाई ट्रान्सक्रिप्ट पाउन हप्ता लाग्ने भएकामा अब सजिलोका लागि फाराम भरेकै दिन पाउने बताएका थिए । त्यसका लागि नयाँ प्रविधि प्रयोग गरेर एक मिनेटमा ४५ वटा ट्रान्सक्रिप्ट छाप्ने बताइएको थियो । सोही प्रणालीमार्फत त्रिविले रजिष्ट्रेशन, परीक्षा फारम, नतिजा प्रकाशन, लब्धाङ्क र प्रोभिजनल सर्टिफिकेट समेत वितरण गर्दै आएको छ ।

पनिकाले त्यो बेला केन्द्रीय कार्यालयबाट सुरु गरेको उक्त कार्य विस्तारै पोखरा, नेपालगञ्ज, विराटनगर र अत्तरियाबाट समेत एकै दिनमा ट्रान्सक्रिप्ट दिने योजना बनाएको थियो । तर, त्यो योजना केही दिनको तडकभडक मात्र बन्न पुग्यो । त्रिवि अहिले पुरानै पारामा फर्किएको छ । २४ घण्टा होइन, अचेल २४ दिनमा पनि प्रमाणपत्र दिन नसक्ने अवस्था छ । आवेदन दिएको सात दिनभित्रमा प्रमाणपत्र उपलब्ध गराउने भनिए पनि सात दिनमै प्रमाणपत्र पाएको कोही पनि भेटिएका छैनन् । त्यसका लागि आवेदन दिएको कम्तीमा १० दिन त लागेकै छ ।

हाल दैनिक एक हजार ५०० भन्दा बढी विद्यार्थी ट्रान्सक्रिप्ट लिन पनिका बल्खु पुग्छन् । विद्यार्थीहरूले २० दिनमा पनि प्रमाणपत्र नपाएको गुनासो गर्दै आएका छन् । उनीहरूले त्रिविको नारा र व्यवहार फरक खालको भएको बताउने गरेका छन् ।

बझाङबाट स्नातक तहको प्रमाणपत्र लिन त्रिवि पुगेका प्रकाश सिंहले १८ दिनमा पनि नपाएको बताए । २०७० सालमा स्नातक तह उत्तीर्ण गरेका उनी मंसिरमा प्रमाणपत्र लिन काठमाडौं आएका थिए । प्रमाणपत्रका लागि आवेदन दिएको २० दिनपछि उनले प्रमाणपत्र पाएको बताए ।

‘निकै झन्झिटिलो प्रक्रिया पुरा गरेर २० दिनमा प्रमाणपत्र पाएँ । त्रिविले २४ घण्टाको नारा लगाएको थियो । २४ घण्टा भनेको त्रिविको भाषामा २० दिन पो रहेछ,’ उनले आक्रोश पोखे ।

टाढा टाढाबाट प्रमाणपत्र बनाउन आउनेहरूको आक्रोश यस्तै हुन्छ । उनीहरूले त्रिविका कारण निकै सास्ती खेप्नु परिरहेको बताउने गरेका छन् ।

त्रिविले २४ घण्टामा ट्रान्सक्रिप्ट उपलब्ध गराउने योजनापछि अन्य विभिन्न योजना पनि अघि सार्‍यो । तर, ती सबै योजना योजनामै सीमित बन्न पुगेका छन् । २४ घण्टामै सर्टिफिकेट उपलब्ध गराउने योजना असफल भएपछि त्रिविले २०७८ फागुनमा सेक्युरिटी फिचरसहितको ट्रान्सक्रिप्ट दिने योजना अघि सारेको थियो ।

नक्कली रोक्न र सबैलाई एउटै किसिमको उपलब्ध गराउनका लागि त्रिविले ‘सेक्युरिटी फिचर’ सहितको ट्रान्सक्रिप्ट उपलब्ध गराउने बताएको थियो । तर, त्यो पनि कार्यान्वयनको चरणमा जान सकेको छैन ।

त्रिविले भने विविध कारणले प्रमाणपत्र समयमै उपलब्ध गराउन नसकिएको जनाएको छ । त्रिविका सूचना अधिकारी योगेन्द्र दाहालले २०७५ सालमा २४ घण्टामै प्रमाणपत्र उपलब्ध गराउने योजना हाल स्थगित गरिएको बताए । प्राविधिक कर्मचारीको अभावमा उक्त योजना अघि बढ्न नसकेको उनको भनाइ छ ।

‘सफ्टवेयर डेभलप गरेर विकेन्द्रिकृत गर्न खोजेर हरेक क्षेत्रबाट वितरण गर्ने भन्ने थियो । तर, अहिले त्यो सफ्टवेयरले काम नगरिरहेको अवस्था हो । यो बन्ने प्रक्रियामा छ । सबैलाई लिङ्क गरेर अगाडि बढ्ने भन्ने हो, त्यो सबै प्रक्रियामै छ,’ उनले भने ।

त्रिविले अनलाइन मार्फत नै सर्टिफिकेटहरू उपलब्ध गराउने योजना त अघि सारेको छ तर, विविध कारणले कार्यान्वयनमा जान सकेको छैन । प्राविधिक कर्मचारीको अभावमा सहज रूपमा काम गर्न नसकिने सूचना अधिकारी दाहालको भनाइ छ ।

त्रिविले मुल प्रमाणपत्र र ट्रान्सक्रिप्ट गरी दुई प्रकारले प्रमाणपत्र उपलब्ध गराउँदै आएको छ । ट्रान्सक्रिप्ट सामान्यतया ७ दिनभित्रमा दिनुपर्छ भन्ने त्रिविको मान्यता हो । सोही आधारमा अपबाद बाहेक सात दिनभित्रमा ट्रान्सक्रिप्ट उपलब्ध गराउँदै आएको उनको भनाइ छ ।

तर, मुल प्रमाणपत्रको हकमा कुन समयको हो भन्ने प्रमुख हुने उनको भनाइ छ ।  ‘तत्कालैको हो भने बहालवाला भिसीले हस्ताक्षर गर्ने हो र तत्कालै दिइन्छ । तर, पुरानो हो भने त्यो बेलाको भिसीको को थियो, त्यसको हस्ताक्षर हुनुपर्छ । जसले गर्दा समय लाग्छ,’ सूचना अधिकारी दाहालले भने ।

यदि त्यो बेलाको भिसीको मृत्यु भएको अवस्था हो भने बहालबाला भिसीको हस्ताक्षर सहित प्रमाणपत्र उपलब्ध गराइन्छ । त्यस्तो अवस्थामा सामान्यतया १५ दिनको समय लाग्ने सूचना अधिकारी दाहालको भनाइ छ ।

‘यदि भिसी जिउँदो रहेको अवस्था हो भने यसैको हस्ताक्षर हुनुपर्ने हुन्छ । छैन भने बहालवालाले नै गर्ने हो । पूर्व भिसी सम्पर्कमै हुन्छन्, १०÷१५ वटा भएपछि लगेर जाने र हस्ताक्षर गराउने हो,’ उनले भने ।

त्रिविमा हाल प्राविधिक कर्मचारीको अभाव छ । सेवा आयोगले २०७३ सालदेखि कर्मचारी नियुक्त गर्न सकेको छैन । पुराना कर्मचारीहरू रिटायर्ड भएर गइसकेका छन् । तर, सेवा आयोगले नयाँ कर्मचारी नियुक्त गर्न नसक्दा काम गर्न निकै समस्या भइरहेको उनको भनाइ छ ।

कर्मचारी नियुक्तका विषयमा धेरै जसो मुद्दा परिरहेका छन् । जसले गर्दा सेवा आयोगले विज्ञापन गर्दा पनि कर्मचारीहरू नियुक्त हुन सकेका छैनन् । त्रिविले आफूलाई सूचना र प्रविधिमा सक्षम बनाई अगाडि बढ्ने योजना बनाएको छ । तर, विविधि कारण सहज रूपमा अगाडि बढ्न नसकिरहेको उनले बताए ।

त्रिविले सम्बन्धित कलेजबाटै प्रमाणपत्र उपलब्ध गराउने योजना बनाएको छ । पहिलो चरणमा क्षेत्रिय परीक्षा नियन्त्रण कार्यालयबाट उपलब्ध गराउने र विस्तारै कलेजबाटै उपलब्ध गराउने योजना त्रिविको छ ।

‘विस्तारै सम्बन्धित कलेजबाटै उपलब्ध गराउन पनि सकिन्छ । सबैतिर रेकर्डहरू अनलाइन पठाउन सकियो भने, रेकर्ड त्यहीँबाट हेर्न सकियो भने त त्यहीँबाट उपलब्ध गराउन सकिन्छ । सबैतिर लिंक गर्दा त एकले अर्काको रेकर्ड हेर्न सकिने अवस्था हुन्छ । एकले अर्काको हेरेर कलेजबाटै प्रिन्ट निकालेर दिने मात्र हो । त्यो त दिने नै भन्ने हो,’ उनले भने ।  

सबै अनलाइन मार्फत उपलब्ध गराउन थालेपछि नक्कली प्रमाणपत्रको समस्या बढ्न सक्ने उनको भनाइ छ । ‘भोलि गएर भेरिफिकेशनको लोड बढ्न सक्छ । किनभने नक्कलीका कुरा आउँछन् । त्यसले गर्दा भेरिफिकेशनको काम बढ्न सक्छ । यो नक्कली हो कि सक्कली हो भनेर सोध्ने खालको धेरै आउन सक्छन् । विदेशी कम्पनीले पनि अहिलेको तुलनामा भेरिफिकेशन बढी गराउन सक्छन्,’ उनले भने ।

विद्यार्थी संगठनहरूले लामो समयदेखि सम्बन्धित कलेजबाटै प्रमाणपत्र उपलब्ध गराउन माग गर्दै आएका छन् । चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचनमा समेत उनीहरूले सम्बन्धित कलेजबाटै प्रमाणपत्र उपलब्ध गराउने कुरालाई प्राथमिकताका साथ उठाउने बताएका छन् ।

अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले यो स्ववियु चुनावी एजेण्डा नै सम्बन्धित कलेजबाटै प्रमाणपत्र उपलब्ध गराउने रहेको बताइन् । ‘इलाममा पढेको विद्यार्थी ट्रान्सक्रिप्ट सर्टिफिकेट लिन त्रिवि आउनुपर्छ । अहिले नागरिकता इलाका प्रशासन कार्यालयबाट बनाउन सकिन्छ भने प्रमाणपत्र लिन काठमाडौं आउनुपर्ने किन ?’ उनले प्रश्न गरिन् ।

यो पटकको स्ववियु चुनावमा आफूहरूले यो मुद्दालाई प्राथमिकताका साथ उठान गर्ने उनको भनाइ छ । त्यस्तै नेविसंघ, अनेरास्ववियु लगायतका विद्यार्थी संगठनहरूले समेत सम्बन्धित कलेजबाटै प्रमाणपत्र उपलब्ध गराउनुपर्ने कुरालाई जोडदार रूपमा उठान गर्दै आएका छन् । उनीहरूले स्ववियु निर्वाचनमा समेत यो विषयलाई प्राथमिकतामा राख्ने बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी
लेखकबाट थप