शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

किन राजीनामा दिन बाध्य भइन् जनमतकी सांसद गुरुङ ?

मङ्गलबार, ३० वैशाख २०८२, १४ : ५७
मङ्गलबार, ३० वैशाख २०८२

काठमाडौँ । जनमत पार्टीबाट लुम्बिनी प्रदेशको प्रदेश सभामा समानुपातिक सांसद बनेकी गीता गुरुङले आफ्नो पदबाट राजीनामा दिइएकी छिन् । हाल बेलायतमा रहेकी उनले उतैबाट इमेल गरेर राजीनामा दिएकी हुन् । 

गीता गुरुङका श्रीमान् कैलाश गुरुङ गत चैत ९ गते जनमत पार्टी छाडेर उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीमा प्रवेश गरेका थिए । त्यही दिनदेखि उनलाई प्रदेशसभा सदस्यको पदबाट राजीनामा दिन पार्टीबाट दबाब आइरहेको थियो । 

उनी निकट जनमत पार्टीका एक नेताले भने, ‘गीताजीका श्रीमान् कैलाशजी पार्टी छाडेर गइसकेपछि उहाँलाई पनि पार्टी छाड्न दबाब परिरहेको थियो । उहाँले त्यो दबाब थेग्न नसकेर प्रदेशसभाबाट तीन महिनाको बिदा लिएर बेलायतमा गएर बस्नु भएको थियो ।’ गुरुङले उतैबाट राजीनामा दिएर पठाएको ती नेताले बताए । 

जनमत पार्टीका एक नेताका अनुसार कैलाश गुरुङले आफ्ना श्रीमती गीता गुरुङलाई मन्त्री बनाइ दिनका लागि पटक–पटक पार्टीमा दबाब दिनेका गरेका थिए ।

तर जनमत पार्टीका लुम्बिनी प्रदेश इन्चार्ज राजेन्द्रप्रसाद गुप्ताले राजीनामा दिनका लागि कुनै प्रकारको दबाब नदिएको दाबी गरे । उनले भने, ‘उहाँले किन राजीनामा दिनुभएको छ, त्यो कुरा उहाँले आफ्नो राजीनामापत्रमा नै उल्लेख गर्नुभएको छ, उहाँले जनताको लागि काम गर्न सक्नु भएन त्यही भएर पारिश्रमिक खान नसकिने भनेर राजीनामा दिनुभएको छ ।’

जनमत पार्टीका एक नेताका अनुसार कैलाश गुरुङले आफ्ना श्रीमती गीता गुरुङलाई मन्त्री बनाइ दिनका लागि पटक–पटक पार्टीमा दबाब दिनेका गरेका थिए । पार्टीले गीतालाई मन्त्री नबनाएपछि कैलाश गुरुङ पार्टी छाडेर जसपा नेपालमा गएका छन् । 

जनमत पार्टी लुम्बिनी प्रदेश सभाका संसदीय दलका नेता सीके गुप्ताले गीता समानुपातिक सांसद भए पनि उनी न पार्टीका सम्पर्कमा थिइन्, न जनताकै सम्पर्कमा थिइन् । उनी पटक–पटक बेलायत गइरहने तथा पार्टीले खोजे पनि सम्पर्कमा आउँदिन थिइन् । ‘सायद त्यही कारणले उहाँले राजीनामा दिएको हुन सक्छ,’ गुप्ताले भने । 

कसैको सम्पर्कमा नरहेको कारण प्रदेशसभामा बसेर के गर्ने भनेर मनमा लागेको होला भन्दै उनले राजीनामा दिनका कुनै प्रकारको दबाब भने नरहेको स्पष्ट पारे गरे । 

अहिले बजेट बनाउने समय हो । सांसदहरूले आआफ्नो क्षेत्रका लागि कार्यक्रमको नामहरू दिइरहेका छन् । यस अवस्थामा उनी बेलायतमा गएर बसेको भन्दै पार्टीमा आलोचना हुँदै आएको थियो । बेलायतमा भए पनि उनको लेटरप्याडबाट बजेटका लागि कार्यक्रमहरू पेस गर्न भनेर पार्टीका नेताहरूले उनीसँग लेटरप्याड मागेका थिए । तर उनले त्यो दिन तयार नभएपछि पार्टीमा उनको आलोचना भइरहेको थियो ।

यसअघि पनि गीता गुरुङ लामो समयदेखि बेलायतमा बस्दै आएकी थिइन् । जनजातिबाट कसैको नाम नपाएपछि जनमत पार्टीले कैलाश गुरुङलाई सोधेर उनको नाम राखिदिएको थियो । पछि उनी समानुपातिक प्रदेश सभा सदस्यमा चुनिएकी थिइन् । उनको श्रीमान्ले निर्वाचन आयोगाबाट प्रदेश सभा सदस्यको प्रमाणपत्र हात पारिसकेपछि मात्र उनी बेलायतबाट फर्किएको जनमत पार्टीका नेताहरू बताउँछन् । 

बेलायतबाट फर्के पनि उनी प्रदेश सभामा त्यति सक्रिय थिइनन् । तर उनका श्रीमानले मन्त्री बनाउन पार्टी नेतृत्वलाई दबाब दिइरहेका थिए । 

राजीनामाको विषयमा विषयमा बुझ्न कैलाश गुरुङसँग पटकपटक सम्पर्क गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप