शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ए नेताजी

शनिबार, ०७ माघ २०७९, ११ : ३३
शनिबार, ०७ माघ २०७९

पराइको टीका पखाल्नुहोस्
बन्द गर्नुस् आँखा 
र हेर्नुस् आफैँ भित्रको म
गाढा अँध्यारो चिर्दै चिर्दै 
बलेको दागको आगो 

हर्नुहोस् त, के देख्नुहुन्छ नेताजी 
वास्तविकता कि यथार्थ ?
नियत कि नियति ?
चिन्ता कि चिन्तन ? 
नातावाद कि राष्ट्रवाद ?
सपनाको उज्यालो कि 
विपनाको कालो परिवेश ?
तपाईं कि केही पनि देख्नु हुन्न
तर तपाईंले नदेखे पनि यहाँ धेरै छ ।
अब देख्नुहोस् सहबिस्तार 
म कर्तव्यनिष्ठ हँु 
तपाईंले नदेखेको नेपाली 
नागरिकता दिदा 
नागरिकतामै सीमित हुन पुगेको 
र, सिमानाका लागि लडेर  
किनारमा खुम्चेको 
तपाईंको एउटा मतदाता नेपाली ।

केर्नुहोस् संविधानका धारा, नियम र ऐन 
यहाँ अधिकार छ, यहाँ कर्तव्य छ
यहाँ समावेशी छ, यहाँ न्याय छ
खै कहाँ छ, कसका लागि छ ? 
अब, लेख्नुहोस्
यहाँ नातावाद छ, यहाँ कृपावाद छ
समावेशी परिवारका लागि हो,
न्यायालय आफ्ना काण्ड गुपचुप गर्न हो,
सरकार आफ्ना आसेपासे पाल्न हो,
कृपया बन्द गर्नुहोस्
खाएका वाचा 

यहाँ जनता छ, यहाँ संघर्ष छ
यहाँ सहिदको रगत छ, साधना छ
खरानीमा उठेको सर्वोच्च नेपाल छ,
यहाँ छ नेपालीको गौरवपूर्ण अस्तित्व 
र आजकाल यस देशको सम्पूर्ण अर्थतन्त्र 
र, नेता पाल्ने हतियार राहदानी ।

म कुनै विषयको विज्ञ होइन
केही सक्न, जान्न खोजिरहेछु, नेताजी 
अन्तर उज्यालो दैत्य दिनहरूमा 
शासकले देश लुटपाट गरेको 
देख्ने नागरिक सक्नुहुन्छ ?
साँच्चै नेता भएर, राष्ट्रलाई हाँक्न
देश हाँक्न त 
आफ्नै दिल सफा हुनुपर्छ पहिले 
कुन प्रकारको नैतिकता छ, तपाईंको जीवनमा
र कति छ क्षमता, बुद्धिविवेक तपाईंमा
हिमाललाई सेतो हिँउले नछोपी नदी बग्दैन
कसरी आश गर्लान् जनता
कसरी चौतर्फी विकास राष्ट्रमा

डर, त्रास लाग्छ
तपाईंको आचारसंहिताको
तपाईंको कमाईं हो कि प्रायोजित ?
नैतिकतामा फरकपन
दिलमा जनता, राष्ट्रियता हुनुपर्छ माटाको 
हिउँदेबालीको प्रभावको फल 
वर्षा याममा सकिन्छ नेताजी
नत्र किन रगत वगाउँथे पुर्खाले 

तपाईंमा कति छ इच्छाशक्ति  ? 
र, कति छ अठोटको रुपान्तरण ?
छ, छैन खुला मस्तिष्क 
र मानवतापूर्ण दिल ।

पासोमा पर्न सक्छ जिव्रो
मध्य समयावदीमा काढिन सक्छ हुर्मत
अब सुन्नुहोस्, चल्नुहोस्
समयको वेग सँगै 
गतिशील, निरन्तरता, इमानदारीता
हाँक्नुहोस् राष्ट्रियता 
शुभकामना ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सन्तोष बोहरा
सन्तोष बोहरा
लेखकबाट थप