शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
सन्दर्भः गजेन्द्रनारायण सिंहको २१ औं पुण्यतिथि

गजेन्द्रनारायण मधेसको मात्रै होइन, देशकै नेता

मङ्गलबार, १० माघ २०७९, १५ : ५९
मङ्गलबार, १० माघ २०७९

गजेन्द्रनारायण सिंह नेपाली राजनीतिमा गजेन्द्र ‘बाबु’को नामले चिनिने अग्ला नेता हुन् । नेपाली राजनीतिले सिंहलाई संघीयता, समभाव, समानता आन्दोलनका प्रणेता भनेर पनि चिन्छन् । दल प्रतिबन्ध रहेका बेलामा सांस्कृतिक एवं वैचारिक संगठनका रुपमा नेपाल सद्भावना परिषद् गठन गरी राजनीति थालेका थिए उनले । त्यसअघि उनी नेपाली काँग्रेसमा सक्रिय थिए ।

सन् १९९० मा उनले सद्भावना परिषद्लाई नेपाल सद्भावना पार्टीको रुपमा स्थापित गरेका थिए । उनले पार्टी गठन गर्नुको मुख्य उद्देश्य नेपालमा असमानता, विभेदको अन्त्य भइ प्राकृतिक सद्भाव कायम गर्नु थियो, जसकारण पार्टीको नाम नै सद्भावना राखेका थिए । 

उनले मुख्य तीनवटा एजेण्डालाई अघि सारेका थिए । पहिलो, नेपालमा बसोबास गर्ने विभिन्न समुदाय र क्षेत्रलाई अधिकार सम्पन्न बनाउन स्वायत्तता सहितको संघीयता, राज्यमा सबै जात, वर्ग र समुदायको पहुँचका लागि समावेशी । दोस्रो, सबैको साँस्कृतिक पहिचानको मान्यताको इन्द्रेणी राष्ट्रवाद वा देशभक्तिका कुरा । तेस्रो, मधेसलाई एकीकृत गर्न हिन्दी भाषालाई राष्ट्रिय भाषाको मान्यता ।

सिंहको पहिलो एजेण्डा संघीयता पूरा भएको छ । तर, उनले माग गरेको स्वायत्तता सहितको संघीयता नेपालमा आएको छैन । 

नेपालमा संघीयता ल्याउनुको मुख्य श्रय सिंहलाई नै जान्छ । त्यसपछि उनले उठाएको समावेशीका मान्यता स्थापित भएको छ । राज्य समावेशी हुँदै गएको छ । तर, समावेशीका नाममा बलियो समुदायले समावेशीको मर्मलाई समाप्त पार्दैछ ।

सबैको पहिचानलाई अझै मान्यता दिइएको छैन् अर्थात् देशलाई बहुलराष्ट्रिय स्वीकार गरिएको छैन । हिन्दी भाषाले मधेसलाई जोडेको छ तर मान्यता पाउन सकेको छैन । मधेसका लागि अहिले सम्पर्क भाषाको रुपमा हिन्दी स्थापित भइसकेको छ तर सरकारी मान्यता पाएको छैन । 

सिंहले चाहेको सद्भाव भने अझै कायम भइसकेको छैन । समाजमा सद्भाव कायम नहुँदा समृद्धि समाजवाद सम्भव नै हँुदैन । यसको बलियो उदाहरण सिङ्गापुर हो । 

तीन पटकसम्म लगातार भएको मधेस आन्दोलनले केही अधिकार स्थापित गराएको छ । तर सिंहले चाहे झैँ नेपालको भावनात्मक एकीकरण भएको छैन ।  राजनीतिक घटनाक्रमले मधेस र गैर मधेसबीचको भावनात्मक दूरी नजिक्याउन सकेको छैन । जाति जनजाति बीच भावनात्मक एकता हुन सकेको छैन ।

अभिवादन मन्त्र ‘जय मातृभूमि’ उनैले सुरुवात गरेका थिए । यसले पनि उनको मातृभूमि प्रतिको स्नेह प्रष्ट्याउँछ । आफू जन्मिएको माटोप्रति उनको अमिट लगाव थियो । उनी जुन माटोमा हुर्किए, जुन माटोबाट राजनीतिक यात्रा आरम्भ गरे, त्यो माटोलाई सधैँ दिलोदिमागमा ताजा राख्न अभिवादन मन्त्र बनाएका थिए । 

गज्जुबाबुले मातृभूमि प्रतिको प्रेमलाई उनले आफ्नो पार्टी पंक्तिमा मात्र सीमित राखेनन्, यसलाई नेपाली राजनीतिमा समेत स्थापित गराए । उनी मधेसका आर्थिक, सामाजिक, राजनीतिक मुद्दालाई निरन्तर रूपमा उठाइराख्ने एक अथक सिपाही थिए । 

यसो गर्दा उनी आफूइतर दलका नेतालाई घृणा, आलोचना गरेर समय बिताउन रुचि राख्दैनथे । उनी आफू इतरका विचार राजनीतिलाई पनि उत्तिकै सम्मान गर्ने अग्ला नेता थिए । 

सिंह मधेसका मात्र होइन, देशकै नेता बन्न चाहेका थिए तर उनले भन्ने गर्थे, ‘यो देश निश्चय हाम्रो हो, तर राज्य भने होइन ।’ यो कथन उनको राजनीतिक लक्ष्य र व्यक्तित्वलाई दर्शाउँछ । 

दूरदृष्टि, सालिन स्वाभाव, प्रष्ट विचार, मातृभूमि मोहलगायतका ओजले नै गजेन्द्रबाबु पञ्चायती व्यवस्थाको प्रतिकूल अवस्थामा पनि मधेस आन्दोलनलाई स्थापित गर्न मात्र सफल भएनन्, सबैका मनमा बस्न सफल बनेका थिए । 

आफ्नो गन्तव्यमा कसरी पुग्न सकिन्छ भन्ने राजनीतिको उनलाई राम्रो हेक्का थियो । उनी आफ्नो गन्तव्यमा पुग्न मुलुकमा विभाजनको राजनीतिलाई कहिल्यै दिमागमा ल्याएनन् । न त्यस खालका अभिव्यक्ति उनीबाट कहिल्यै सार्वजनिक भए ।

सिंह जहिल्यै मातृभूमिप्रति आफ्नो राजनीतिक दृष्टिकोणलाई केन्द्रीत बनाइराखे । उनले घृणा, द्वेषको राजनीति भन्दा प्रेम, सद्भावको राजनीतिलाई केन्द्रमा राखे । मधेसमा पछाडि पारिएका वर्ग समुदायको उत्थानका लागि राजनीति गर्ने गज्जुबाबु पहाड र हिमालका पछाडि पारिएका समुदायको उत्थानका लागि राजनीति गर्ने गोरेबहादुर खपांगीसँग समेत सहकार्य गरे । 

संयुक्त पार्टी कार्यालय सञ्चालन गरी पछाडि पारिएका मधेसी र आदिवासी जनजाति समुदायको उत्थानका लागि संयुक्त आन्दोलन अघि बढाए सिंहले । उनले देखाएको हरेक पहिचानको मान्यता सहितको राज्य र समभावको राजनीतिको अझै खाँचो छ । गजेन्द्र पथ नै मुलुकको सही पथ साबित हुने देखिन्छ ।

लेखक मेहता लोसपाका नेता हुन् 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सन्तोष मेहता
सन्तोष मेहता

लेखक राजपा नेपालका प्रवक्ता हुन् ।

लेखकबाट थप