बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
प्रदेश सरकार

कर्णालीका ८ मध्ये ७ जना पहिलो संसद यात्रामै मन्त्रीको कुर्सीमा

बिहीबार, १२ माघ २०७९, १२ : ४१
बिहीबार, १२ माघ २०७९

सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा ०७४ सालको स्थानीय तह निर्वाचनमा वडा सदस्यमा निर्वाचित भएका थिए । संवैधानिक व्यवस्था र दलिय शक्तिका आधारमा उनी वडा सदस्य हुँदै रुकुम पश्चिमको जिल्ला समन्वय समितिको प्रमुख बने ।

लामो समय राजनीति गरेका शर्माको त्यही नै पद पहिलो लाभको पद थियो ।  झण्डै पाँच वर्ष समन्वय प्रमुखको जिम्मेवारी पूरा गरेका शर्माले ०७९ को प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनमा भने प्रदेशतर्फको टिकट पाए ।

नेकपा (माओवादी केन्द्र) का पोलिब्यूरो सदस्य समेत रहेका शर्माले रुकुम पश्चिम (२) बाट निर्वाचित भएर पहिलो पटक संसदीय राजनीतिमा प्रवेश गरेका हुन् । ०४२ सालदेखिनै राजनीतिमा लागेका उनी माओवादीले थालेको १० वर्षे सशस्त्र जनयुद्धमा पूर्णकालिन रुपमा भूमिगत भएर संघर्ष गरेका नेता हुन् । प्रदेश सभा संसदीय दलमा बहुमत जुटाएर दल नेता चुनिएका उनी राष्ट्रिय राजनीतमा फेरिएको समीकरणपछि संसदको पहिलो यात्रामै कर्णालीको तेस्रो मुख्यमन्त्री बने ।

नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका शर्मा भाग्यमानी बने, जो ०७४ मै मुख्यमन्त्रीको दाबीसहित प्रदेश झरेका एमालेका यामलाल कँडेललाई पछि पारेर मुख्यमन्त्री बन्न सफल भए ।

मुख्यमन्त्री शर्मा मात्र होइनन्, कर्णालीका राज्यमन्त्रीसहित ६ जना पनि संसदको पहिलो यात्रामै बन्नी बनेका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका कृष्णबहादुर जिसी ‘जितेन्द्र’ सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ (१) बाट नेपाली कांग्रेससहितको समर्थनमा निर्वाचित भएका थिए । ०५३ सालमा एमाले निकट अनेरास्ववियूको इलाका कमिटी अध्यक्ष बनेका जिसी ०५४ सालमा सक्रिय पार्टी सदस्यताको लागि पहल गरे पनि उमेर कम भएकाले पाएका थिएनन् । त्यसपछि  ०५४ सालमा माओवादी विचार धारासँग नजिक भई ०५५ सालमा  माओवादी निकट विद्यार्थी संगठनमा आवद्ध भएर जनयुद्धमा होमिए । उनी युद्धका क्रमम  सैन्य संरचना स्क्वायडको सह–कमाण्डर हुँदै सैन्य हेडक्वाटरको इञ्चार्ज समेत भएका थिए । 

०६० सालमा जनमुक्ति सेनाको बटालियन कमिसार हुँदै जनमुक्ति सेनाको बिग्रेड कमाण्डरको भूमिका निर्वाह गरेका उनी लामो राजनीतिक संघर्षपछि पहिलो पटक संसदीय राजनीतिमा प्रवेश गरे । शान्ति प्रक्रियापछि माओवादी पार्टीको सुर्खेत जिल्ला नेतृत्व समालेका उनी अहिले प्रदेश कमिटीको उपाध्यक्ष छन् । 

भौतिक पुर्वाधार, उर्जा तथा जलस्रोत मन्त्री बनेका मुगुका मंगलबहादुर शाही पनि पहिलो पटकको संसद यात्रामै मन्त्री बनेका हुन् । केन्द्रीय सदस्य रहेका उनी मुगु (२) बाट निर्वाचित भएका हुन् । उनले एसएलसीसम्मको अध्ययन गरेका छन् । यस्तै सल्यानका भीम प्रकाश शर्मा पनि पहिलो संसदीय यात्रामै मन्त्री बने । तत्कालिन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पालामा राजनीतिक सल्लाहकारको भूमिका निभाएका उनी यो पटक भने मन्त्री बनेका हुन् । सल्यान (२) बाट निर्वाचित भएका उनले भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । 

समानुपातिक कोटाबाट सांसद बनेकी डोल्पाकी उर्मिला विश्वकर्मा पनि संसदको पहिलो यात्रामै राज्यमन्त्री बन्न सफल भइन् । ‘माओवादीबाट सकेसम्म एक जना महिलालाई मन्त्री बनाउने कुरा उठिरहेको थियो, तर मन्त्रालयको संख्या थोरै र आकाँक्षीहरु धेरै भएपछि सबै पुरुष मात्रै मन्त्री बने,’ माओवादीका एक नेताले भने,‘सभावेशीतालाई मध्यनजर गर्दै उहाँ (उर्मिला)लाई भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत राज्यमन्त्री बनाएका हौँ ।’ उनी जनयुद्धमा सहभागी बनेकी महिला नेतृ हुन् । कर्णालीमा माओवादीले यसअघि पहिलो कार्याकालमा मन्त्री बनिसकेका नेताहरुलाई मन्त्री नबनाउने नीति लिएपछि नयाँ सांसदहरुले पालो पाएका हुन् ।

यता एमालेबाट मन्त्री बनेका तीन मध्ये दुई जना पनि पहिलो संसद यात्रामै मन्त्री बन्न सफल भए । सामाजिक विकास मन्त्री बनेका टेकराज पछाई जुम्ला (२) बाट निर्वाचित भएका हुन् । उनले कांग्रेस–माओवादीका साझा उम्मेदवार, बहालवाला मन्त्री समेत रहेका एकीकृत समाजवादीका पदम रोकायालाई पराजित गरेका थिए ।

 विद्यार्थी राजनीतिबाट उदाएका उनी दुई कार्यकाल अस्कलको स्ववियू सभापति भएका थिए । मास्टर्ससम्मको अध्ययन गरेका उनी एमालेभित्र आशा लाग्दा नेताको रुपमा चिनिन्छन् । उनी अहिले एमालेको प्रदेश कमिटी उपसचिव समेत रहेका छन् । यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका जीतबहादुर मल्ल पनि संसदको पहिलो यात्रामै मन्त्री बनेका हुन् । मुगु (१) बाट निर्वाचित भएका उनी पूर्वशिक्षक हुन् । उनी एमाले मुगुको जिल्ला अध्यक्ष समेत हुन् ।

 आर्थिक मामिला तथा योजना मन्त्री बनेका विनोदकुमार शाहले भने यसअघि एक पटक मन्त्रीको अनुभव बटुलिसेका नेता हुन् । उनी राजाको शासनकालमा ०५९ सालतिर जलस्रोत सहायक मन्त्री बनेका थिए । एमाले प्रदेश अध्यक्ष समेत रहेका उनी ०४३ मा नेमकिपाबाट साविक लकान्द्र गाविसको प्रधानपञ्च बनेका थिए । ०४८, ०५१ मा नेमकिपा र ०५६ एमालेबाट चुनाव लडेका थिए । जसमध्ये ०५१ सालको निर्वाचनमा मात्रै विजयी भएका थिए । सांसद भइरहेकै समयमा उनी एमाले प्रवेश गरे । जबकी त्यो बेला पश्चिम क्षेत्रमा एमालेभन्दा नेमकिपाको वर्चश्व थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप