शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विगतबाट सिक्दै नागरिक बाचा पुरा गरौं : सभामुख घिमिरे

बिहीबार, १९ माघ २०७९, १३ : ४०
बिहीबार, १९ माघ २०७९

काठमाडौँ । सभामुख देवराज घिमिरेले छोटो समयमा नै संसदीय गतिविधिबाट नागरिका समस्या समाधान गरी नेपालको संसदीय इतिहासमै शिक्षा दिने किसिमको भूमिका खेल्न सांसदहरुलाई आग्रह गरेका छन् । बिहीवार संसद भवन नयाँ बानेश्वरमा आयोजित प्रतिनिधि सभाका सदस्यहरुको लागि दुई दिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नागरिकका समस्यहरुको चाङ बढ्दै गइरहेकाले नागरिकका समस्याहरुलाई समाधान गर्न संसदमा आफ्नो भूमिकालाई बलियो बनाउनुपर्ने बताए ।

सभामुख घिमिरेले विगतमा कतिपय सांसदहरुको आचार, व्यवहारहरु जनमुखी हुन नसकेको भन्दै संसदमा आइसकेपछि जनतासँग गरेका प्रतिवद्धताहरु पूरा गर्ने हिसावबाट अघि बढ्न सुझाव दिए । उनले विगतमा संसदमा भएका राम्रा कुराबाट शिक्षा लिँदै सांसदहरुले आफ्नो संसदीय भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताए । उनले नागरिकले संसदका गतिविधिबाट, अभिव्यक्ति र प्रयत्नबाट सांसदहरुको काम खोजिरहेको बताए । 

सभामुख घिमिरेले भने, ‘हामीप्रति देशले ठूलो अपेक्षा राखेको छ, यसका आफ्नै खालका प्रक्रियाहरु छन्, परम्पराहरु छन्, पद्धतिहरु छन्, यसलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्नुपर्नेछ । विगतलाई फर्किएर हेर्दा, हाम्रा आचार, व्यवहारहरु कतिपय मानेमा जनउत्तरदायी हुन नसकेका छन् भने कतिपय हामीले विचार गरेका हाम्रो वस्तु परिस्थितिको बारेमा उल्लेखनीय उपलब्धिहरु पनि छन् । पहिलो पल्ट सबै नयाँ नै हुन्छ, केही संख्या दोहोरिएर आउने कुरा बेग्लै हो, तर नयाँले पूरा गर्नुपर्ने दायित्व के हो ? कुन तरिकाबाट काम गर्न सक्दछौँ । गर्ने अभ्यासहरु कस्ता छन्, सामान्यतया यी कुराहरु अहिलेसम्मको अभ्यासमा हेर्दा, नयाँ संसद बनिसकेका र धेरै सांसदहरुले विगतमा योगदान गर्नुभएका कुराहरु छन् ।’ 

उनले भने, ‘यी सबै काम गर्दा कत्तिको जनउत्तरदायी भएर काम गरेका छौँ ? विषयमा आधारित भएर गर्नसकेका छौँ की छैनौँ ? हामीलाई निर्वाचित गर्ने नागकिरले संसदका गतिविधिबाट, अभिव्यक्ति र प्रयत्नबाट काम खोजिरहनुभएको छ । छोटो समयमा नै संसदीय गतिविधिले नेपालमा शिक्षा दिने किसिमको भुमिका हामीले खेल्नुपर्छ ।’
सभामुख घिमिरेले संसदलाई प्रभावकारी बनाउने सबैभन्दा ठूलो जिम्मेवारी सरकार र प्रमुख प्रतिपक्षको हुने बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप