बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय
बैठक निष्कर्षविहीन

रास्वपाको निर्णायक भनिएको बैठक आइतबारसम्मका लागि स्थगित

शनिबार, २१ माघ २०७९, २३ : ०९
शनिबार, २१ माघ २०७९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निर्णायक भनिएको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । बैठकपछि पार्टीका मुख्य सचेतक सन्तोष परियारले बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको र आजको बैठकले कुनै निर्णय गर्न नसकेको बताए । उनले आइतबार बिहान साढे ११ बजे अर्को बैठक बसेर आवश्यक निर्णय गर्ने बताए ।

शनिबार पार्टी कार्यालयमा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसेको थियो । पार्टीले सरकारलाई दिएको दुई दिनको समय सकिन लाग्न बसेको निर्णायक भनिएको बैठक निष्कर्षबिहीन भएको हो । रास्वपाले गृह मन्त्रालयमा आफ्नो अडान लिँदै आएको छ भने त्यो दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तयार भएका छैनन् । 

शनिबारै गृहबाहेकको अरु कुनै मन्त्रालय लिन सत्ता साझेदार दलका तर्फबाट एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डले रास्वपालाई प्रस्ताव गरेका थिए । रास्वपाका सभापति रवि लामिछानेले शुक्रबार एमाले अध्यक्ष ओली र शनिबार प्रचण्डसँग छलफल गरेका थिए । छलफलमा दुबै नेताले रविलाई आफै सरकारमा नजान प्रस्ताव गरेको र गृह बाहेकको मन्त्रालय लिन पनि भनेको बताइएको छ । यसमा रविले पार्टीमा छलफल गरेर निर्णय लिने जवाफ फर्काएका थिए । 

तत्काल सरकारबाट बाहिरिनुभन्दा सरकारमै रहनु पार्टीका लागि पनि हितकर हुने आवाज पार्टीका बहुमत सदस्यको रहेकाले रविले सुरुमा आफू निकटकासँग आन्तरिक छलफल गरेका थिए । त्यसछि शनिबार अबेरसम्म बैठक बसेपनि निष्कर्षविहीन भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप