शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
राजनीति

रास्वपा सरकारबाट बाहिरिँदा के भन्छन् प्रमुख छ दलका नेताहरु ?

रास्वपाले सरकार छाड्नु रवि लामिछानेको महत्त्वकांक्षा : कांग्रेस
आइतबार, २२ माघ २०७९, २१ : ३७
आइतबार, २२ माघ २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएपछि राजनीति तरंगित बनेको छ । आइतबार दिउँसो रास्वापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेपछि मुलुकको राजनीति तरंगित भएको हो । 

सत्ता गठबन्धनको तेस्रो ठूलो दलले बहिर्गमनको बाटो रोज्दा विभिन्न टिकाटिप्पणी भइरहेका छन् । यद्यपि रास्वपाले सरकारलाई दिएको समर्थन भने फिर्ता नलिएकाले प्रचण्ड नेतृत्वको सरकारलाई केही राहत भने भएको छ । 

सत्ताको प्रमुख घटक एमाले र राप्रपाले पुस १० को सहमति कार्यान्वयन नभएर रास्वपा सरकारबाट बहिर्गमन हुनु दुःखद भएको प्रतिक्रिया दिएका छन् । 

यस्तै सत्ताको नेतृत्वकर्ता दल माओवादी केन्द्रले रास्वपा सरकारबाट बाहिरिनुमा प्रधानमन्त्री प्रचण्डको कुनै दोष नरहेको प्रतिक्रिया दिएको छ । यसैगरी नेपाली कांग्रेसले भने रास्वपाले सरकार छाड्नु रविको महत्वकांक्षा भएको टिप्पणी गरेको छ । 

प्रस्तुत छ, रास्वपाको सरकारबाट बाहिरिने निर्णय भएपछि दलका नेताहरुले दिएको प्रतिक्रियाको सार–

रास्वपाले सरकार छाड्नु रवि लामिछानेको महत्त्वकांक्षा : कांग्रेसका प्रवक्ता प्रकाशशरण महत

वर्तमान सत्ता गठबन्धन सत्तामा पुग्ने तीव्र महत्वकांक्षाको गठजोड हो । यहाँ महत्वकांक्षा पुरा नहुँदा यस्तो हुन्छ भन्ने थियो । रास्वपा सरकारबाट बाहिरिनु हुनै अनौँठो कुरा थिएन । रविजी आफू मन्त्रिपरिषद्मा नहुने परिस्थिति भइसकेपछि रास्वपा सरकारबाट बाहिरिएको हो । यसको अरु कारण छैन ।

महत्वकांक्षाको गठजोडमा कुनै निश्चित लक्ष्य छैन । हामी यो उद्देश्यका लागि अगाडि बढ्ने हो भन्ने परपर लक्ष्यमा समानता केही पनि छैन । यस्तो गठबन्धनमा यस्तो घटना त हुनु नै थियो । रविको महत्वकांक्षामा अड्चन आउँदा सत्ता गठबन्धनमा समस्या आएको देखिन्छ ।

यो समाधान गर्ने सत्ता गठबन्धनमा रहेका दलको हो । विरोधाभाषका बीच काम गर्न सकिन्छ कि सकिँदैन भनेर प्रधानमन्त्रीले सोच्नुपर्ने कुरा हो । कांग्रेस विपक्षमै छ । सत्ता गठबन्धनमा देखिएको खटपटमा हामी धेरै टिप्पणी गर्न चाहँदैनौं । अहिले हाम्रो मूल लक्ष्य राष्ट्रपतिमा छ ।

पुस १० को सहमति कार्यान्वयन नहुँदा रास्वपा बाहिरियो : एमालेका उपमहासचिव प्रदीप ज्ञवाली

रास्वपा सरकारबाट बाहिरिनु पर्ने परिस्थिति आउनु दुःखको कुरा हो । पुस १० गते नयाँ सत्ता सहकार्यको वातावरण निर्माण हुँदा भएको समझदारीको कार्यान्वयनमा समस्या देखियो । एक किसिमले कार्यान्वयन नै भएन भनौं न । त्यसले यो परिस्थिति निर्माण भयो । यो हुनुहुँदैन थियो ।

यसले सत्ता गठबन्धनमा ठूलो समस्या त नपर्ला किनभने रास्वपा सरकारबाट बाहिरिँदा पनि समर्थन फिर्ता लिएको छैन । रास्वपा सरकारमा नरहे पनि सरकारप्रतिको विश्वास कायमै छ । यसले ठूलो परिवर्तन ल्याउँदैन । तर यतिछिटै यो परिस्थिति निर्माण हुनु दुःखद् हो । सत्ता गठबन्धनले यसलाई गम्भीरता पूर्वक रियलाइज गर्नुपर्छ ।

प्रधानमन्त्रीको कुनै दोष छैन : माओवादी नेता तथा प्रधानमन्त्रीका राजनीति सल्लाकार हरिबोल गजुरेल

अस्ति भर्खर सरकार गठन भएको हो । हाम्रो कारणले रवि लामिछानेजी माथि मुद्दा भएको होइन । हामीले रविजीलाई गृहमन्त्री दिएकै हो । माओवादीले अर्थ र गृहमध्ये एउटा लिनुपर्ने थियो । तर माओवादीले रविजीलाई गृह दिएको हो । त्यसलाई उहाँले सम्मान गर्नु पर्ने  थियो । तर उहाँले सम्मान गर्न सक्नु भएन । सहजै पाएको मात्र बुझ्नु भयो । सरकार छाड्नुपरेको हाम्रो कारण होइन । उहाँकै कारण हो । यसमा प्रधानमन्त्रीको कुनै दोष छैन ।

उहाँले फेरि पनि गृह मन्त्रालय माग्नु भयो । सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआइकन गृह दिन सकिने अवस्था थिएन । त्यस्तो अवस्थामा उहाँलाई गृहमन्त्री बनाउँदा जनतामा के सन्देश जान्छ भन्ने कुरा पनि ख्याल गर्नु पर्छ । अर्का कुरा गृहमन्त्री रविजीलाई दिइएको हो । प्रचण्डको सदासयतालाई उहाँले सम्मान गर्नुपर्थे ।  उहाँले अरु नै मन्त्रालय लिँदा भइहाल्थ्यो । 

प्रतिष्ठाको लडाइँले रास्वपा बाहिरियो : राप्रपाका प्रवक्ता मोहन श्रेष्ठ

रविजीको नागरिकतासम्बन्धी सर्वोच्चको फैसलापछि गृहमन्त्रालयलाई प्रतिष्ठाको लडाइँ बनाइयो । रास्वपालाई गृह मन्त्रालय नै चाहिने र प्रधानमन्त्री गृह नदिन सक्ने अवस्थामा बन्यो । यसले रास्वपा सरकारबाट बाहिरियो । रास्वपा सरकारबाट बाहिरिँदैमा सत्ता गठबन्धनमा गणितीय असर गर्दैन । 

राष्ट्रियता, विकास र सुशासनका कायम गर्ने लक्ष्यका साथ यो गठबन्धन बनेको थियो । अहिलेको परिस्थितिले त्यो गतिलाई अल्मल्याउँछ । यसमा दुबै पक्ष दोषी छन् ।

रविजीले व्यक्तिवादी प्रवृत्ति देखाउनुभयो : जसपाका नेता मोहम्मद इस्तियाक राई

चुनावी परिणामले नै मुलुक आगामी पाँच वर्ष राजनीति अस्थिरतातिर जान्छ भन्ने निश्चित देखिएको छ । रविजीको पार्टी सरकारबाट बाहिरिने कुरा अस्थिरताको सुरुवता हो । उहाँले व्यक्तिवादी प्रवृत्ति देखाउनु भयो ।

आफू मन्त्री नहुन नपाउँदा पार्टीलाई नै सरकारबाट बाहिरि राख्नुभयो । यो पुरानो राजनीतिको पुनरावृत्ति हो । उहाँको पनि फरक प्रवृत्ति देखिएन । यो सरकारमाथि शंका र उपशंका उत्पन्न भइसकेको छ ।

सरकार अगाडि बढेपछि राजनीति समीकरण यही रहन्छ भन्ने छैन । अब केही बाहिरिने र केही भित्रिने अवस्था बन्छ । यसको तयारी हुँदैछ जस्तो लाग्छ । 

सत्ता गठबन्धनको खिचडीको अन्तरविरोध : एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडा

रास्वापा सरकारबाट बाहिरिनु सत्ता गठबन्धनको खिचडीको अन्तरविरोध हो । खिचडी सरकार सत्ता सिनाझप्टी अन्तरविरोधमा रास्वपाले मन्त्री फिर्ता बोलाएको छ । लामिछानेजीलाई आफू गृहमन्त्री हुन नपाए अरु कोही पनि कुनै मन्त्री नहुन भन्ने मनमा रहेछ । त्यो प्रकट भएको देखिन्छ । यो लोभ हो, स्वार्थ हो । लामिछानेजीले च्याखेदाउका लागि समर्थन राखिनै राखेका छन् ।

फेरि एउटा समय आएर गृहमन्त्री हुन सकिन्छ कि भनेर च्याखेका लागि विश्वासको मत छदैछ भनेका हुन् । सत्ता समीकरण परिवर्तन हुन्छ हुँदैन भन्ने विषय सिद्धान्त, आदर्श र नीति नभएकाहरुबारे अनुमान गर्न सकिँदैन ।

उहाँहरु बढी उत्तेजित भएर छोडिपनि हाल्न सक्ने र भावुक भएर सरकार पुनः जान सक्ने हुन सक्छ । यो लामिछानेजीको हातमा मात्र छैन । उहाँलाई खेलाउनेहरुले के सल्लाह दिन्छन्, त्यहाँबाट उहाँको खेल सुरु हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप