शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश १

मुख्यमन्त्रीलाई अझै बधाई थाप्न भ्याइनभ्याइ, २९ दिनमा आफ्नै सचिवालयले पाएन पूर्णता

सोमबार, २३ माघ २०७९, १६ : ४८
सोमबार, २३ माघ २०७९

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई अझै बधाई तथा शुभकामना थाप्न भ्याइनभ्याइ छ । मुख्यमन्त्री कार्यालयमा वा निर्वाचन क्षेत्र तथा अन्य जिल्लामा हुने कार्यक्रमहरुमा जाँदाजाँदै उनको २९ दिन वितिसकेको छ । यो समयमा उनले राजनीतिक भागबण्डाका लागि सत्ता सहयात्री दलहरुसँग छलफल गर्ने बाहेक प्रशासनिक ढंगले राम्रोसँगले काम गर्न पाएका छैनन् । 

त्यति मात्रै होइन उनले आफ्नै सचिवाललाई पनि पूर्णता दिन सकेका छैनन् । हालसम्म उनले आफ्नो प्रमुख स्वकीय सचिव जीवन कार्कीलाई नियुक्त गरेका छन् । तर, अरु टिम भने बनाएका छैनन् । मुख्यमन्त्रीले स्वकीय सचिव, सचिवालय, राजनीतिक सल्लाहकार, आर्थिक सल्लाहकार, प्रेस सल्लाहकार, सूचना प्रविधिमा एक–एक जना नियुक्ति गर्न पाउँछन् । प्रदेशको मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनमा अन्य सुविधा लिनसक्ने पनि व्यवस्था छ । यद्यपि त्यसका लागि ‘विशेष परिस्थितिलाई मध्यनजर गरी मन्त्रिपरिषद्ले निर्णय गर्न सक्नेछ’  भन्ने उल्लेख छ ।

आफूले मुख्यमन्त्री कार्यालयमा बसेर प्रशासनिक काम कारबाही गर्न नसक्नुमा आफ्नो पनि कमजोरी भएको उनी स्वीकार गर्छन् । ‘प्रदेश सरकारको मुख्यमन्त्री भएपछि अहिलेसम्म बधाई थाप्ने काम सकिएको छैन । अफिसमा बधाई खाँदाखाँदा अझै सकिएको छैन,’ मुख्यमन्त्री कार्की भन्छन्, ‘नातागोता, इष्टमित्र, पार्टी कार्यकर्ता, विपक्षी पार्टीका कार्यकर्ता सबै आउँछन् । किन आएका हुन् आशा गरेरै आएका हुन् कि ?’

मुख्यमन्त्री कार्कीले दोहोर्याएर पनि मानिसहरु आउने गरेको बताए । कतिपय संस्थागत हिसावले बधाई दिन आएपनि प्रत्येकले खादा, माला तथा फूलको गुच्छा दिँदा पनि समय बर्बाद भइरहेको उनी बताउँछन् । 
‘अब समाचार लेखिदिनु पर्यो । संस्थागत ढंगले आउँदा एक जनाले फूल दिँदा वा खादा लगाइदिँदा पनि हुने हो । तर, यहाँ सबैले प्रत्येक मानिसले दिनु परेको छ,’ उनी भन्छन्, ‘एक जनाले एक पटक दिए पनि हुने हो । दोहोर्याएर पनि दिने चलन रहेछ.. । दिनभरी आएका मानिसलाई पर्खाएर भेट्दिन जा भन्न पनि सकिएन । जसका कारण केही प्रशासनिक काम गर्न नपाएको सत्य हो ।’

Sewa Subidha (1)

कार्की पुस २४ गते नेकपा एमाले, नेकपा (मओवादी केन्द्र), राप्रपा र जसपाका ६० सांसदको समर्थन लिएर मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले पुस २५ गते शपथग्रहण गरेका हुन् । कार्कीले २५ गते नै शपथग्रहण गर्दै सानो आकारको मन्त्रीमण्डल पनि विस्तार गरेका थिए । यस्तै पुस २९ गते विश्वासको मत लिनुभन्दा अगाडि उनले थप तीन जना मन्त्री थप गरेका थिए ।

 जसमा माओवादी केन्द्रबाट दुर्गाप्रसाद चापागाईं र जीवन आचार्य रहेका छन् भने यस्तै एमालेबाट बुद्धिकुमार राजभण्डारी रहेका छन् । मुख्यमन्त्री कार्कीको नयाँ मन्त्रीमण्डलले प्रदेशको १३ मन्त्रालय घटाएर ९ मा झारेको छ । जसमध्ये एमालेले २, माओवादी केन्द्रले २, राप्रपाले १ र जसपाले १ मन्त्रालय लिइसकेको छ । 

जसमा एमालेका तिलकुमार मेन्याङ्बो खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालय, माओवादीका दुर्गाप्रसाद चापागाईलाई सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, राप्रपाका भक्ति सिटौलालाई उद्योग, कृषि तथा सहकारी मन्त्रालय, माओवादीका जीवन आचार्यलाई पर्यटन, वन तथा वातावरण मन्त्रालय, एमालेका बुद्धिकुमार राजभण्डारीलाई सामाजिक विकास र जसपाकी निर्मला लिम्बूलाई स्वास्थ्य मन्त्रालय जिम्मा दिइएको छ ।
 अहिलेसम्म आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय भने मुख्यमन्त्री आफैंले राखेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप