शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल–भारत बैठक : गौतमबुद्ध विमानस्थलबाट सीमा उडान गर्न चाँडो सहमति दिन आग्रह

सोमबार, ०१ फागुन २०७९, २३ : ४१
सोमबार, ०१ फागुन २०७९

काठमाडौँ । नेपाल–भारत विदेश सचिवस्तरीय बैठकमा परराष्ट्र सचिव भरतराज पौड्यालले थप हवाई प्रवेश मार्गका साथै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सीमा उडान गर्न चाँडो सहमति दिन भारतसँग आग्रह गरेका छन् । 

सोमबार काठमाडौँमा भएको बैठकमा पौड्यालले  भारतीय समकक्षी तथा विदेश सचिव विनय मोहन क्वात्रालाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सीमा उडान अनुमति पाए दुई देशबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे । 

बैठकमा दुई परराष्ट्र सचिवले नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा कनेक्टिभिटी, व्यापार तथा पारवहन, विद्युत् क्षेत्रमा सहकार्य, कृषि, शिक्षा, संस्कृति, स्वास्थ्य क्षेत्र र जनताबीचको सम्बन्धलगायतका विषयमा छलफल गरेका थिए ।

दुवै पक्षले रेलमार्ग, प्रसारण लाइन, पुल र आईसीपीजस्ता कनेक्टिभिटी परियोजनाहरूमा भएको प्रगतिको सन्तोषजनक समीक्षा समेत गरेको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। पौड्यालले मलको आपूर्तिमा सहजता, खाद्यान्न निर्यातमा लगाइएको प्रतिबन्ध खुकुलो पार्ने र डायलासिस मेसिन नेपाललाई उपलब्ध गराएकोमा भारत सरकारलाई धन्यवाद समेत दिएका थिए। 

दुवै पक्षले पारवहन सन्धिको नवीकरण, व्यापार सन्धिको समीक्षा र व्यापारसम्बन्धी अन्तर–सरकारी समिति (आईजीसी) चाँडै नै बोलाउने विषयमा समेत छलफल गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

विनिमय बजारका सबै उत्पादनको उपयोग गरी दीर्घकालीन आधारमा नेपालबाट भारतमा विद्युत् निर्यात गर्न दिने विषयमा पनि दुवै पक्षले प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरुबीच सीमापार प्रसारण लाइनको प्राविधिक स्तरोन्नति र एलओसी आइभी अन्तर्गत प्रस्तावित चार प्रसारण लाइन आयोजनाको प्रारम्भिक स्वीकृतिबारे पनि छलफल भएको थियो।

दुई विदेश सचिवबीच सीमा विवादका विषयमा पनि छलफल भएको थियो । यस सम्बन्धमा उनीहरूले स्थापित द्विपक्षीय संयन्त्रमार्फत बाँकी रहेका खण्डहरूमा सीमा नाकाको काम पूरा गर्ने विषयमा विचार आदानप्रदान गरेका थिए।

उनीहरूले दुई देशका विदेश सेवा प्रज्ञा प्रतिष्ठानबीचको एमओयूलाई अन्तिम रूप दिन पनि सहमति जनाएका छन् ।दुई छिमेकीबीचको घनिष्ठ र बहुआयामिक सम्बन्धलाई झल्काउने मित्रता र सौहार्दपूर्ण वातावरणमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप