शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

टर्की भूकम्प : समस्यामा परेकाको नाममा टिकटकमार्फत ठगी

बिहीबार, ०४ फागुन २०७९, १३ : ०९
बिहीबार, ०४ फागुन २०७९

टर्की र सिरियामा भूकम्पको बहानामा मानिसहरूलाई ठग्ने काम भइरहेको भन्दै सुरक्षा विशेषज्ञले चेतावनी दिएको छ । यसका लागि उनीहरुले मानिसहरूलाई झुटो कारण देखाएर चन्दा दिन आग्रह गरिरहेका छन् । 

३५ हजारभन्दा बढीको ज्यान गएको भूकम्पपछि आवश्यक सुविधा चाहिएका मानिसहरूको मद्दत गर्नका लागि यस्ता मानिसहरू दाबी गर्छन् । 

तर खाँचोमा परेका मानिसहरूलाई मद्दत गर्नुको सट्टा, यी मानिसहरूले दान गरिएको पैसा आफ्नै खाता र क्रिप्टोकरेन्सी वालेटहरूमा पठाइरहेका छन् ।

बीबीसीले यी ठगीहरूले प्रयोग गरिरहेका केही विधिहरू पहिचान गरेको छ । यसका साथसाथै केही यस्ता टुल्स पनि पहिचान गरिएको छ जसलाई तपाईँले खाँचोमा परेका मानिसहरूलाई सहयोग गर्नुअघि प्रयोग गर्न सक्नुहुन्छ ।

turkey1‘टर्कीका लागि प्रार्थना गर्नुहोस्’

कन्टेन्ट क्रिएटर्सले टिकटक लाइभमा डिजिटल उपहार प्राप्त गरेर पैसा कमाउन सक्छन् । अब टिकटक अकाउन्ट आवश्यकतामा परेका मानिसहरूका लागि मद्दत माग्नका लागि विध्वंसका तस्बिर, भिडियो र उद्धार कार्यलाई देखाउने टिभीका रेकर्डिङ पोस्ट गरिरहेका छन् । 

यसो गर्नका लागि यी मानिसहरू ‘आउनुहोस्, टर्कीको मद्दत गरौँ’, ‘टर्कीका लागि प्रार्थना गरौँ’, ‘भूकम्प पीडितका लागि दान गर्नुहोस्’ जस्ता क्याप्सनको प्रयोग गरिरहेका छन् ।  

एउटा खाताबाट तीन घण्टाभन्दा बढी समयको लागि लाइभ गरिएको थियो । यस लाइभमा विनाशको धमिलो हवाई दृश्य र बम विस्फोटका आवाजहरू प्रयोग गरिएको थियो । जब क्यामेरा बन्द हुन्छ, एक व्यक्तिको हाँसिरहेको आवाज सुनिन्छ र ती व्यक्ति चिनियाँ भाषा बोलिरहेका छन् ।

यो भिडियो प्रसारण गर्दा, यसको क्याप्सन थियो, ‘दान गरेर टर्कीलाई मद्दत गरौँ ।’

दोस्रो भिडियोले विस्फोटबाट भागिरहेका एक विचलित बालकको तस्बिर देखाउँछ । लाइभ स्ट्रिम गर्ने व्यक्तिले ‘कृपया यो लक्ष्य हासिल गर्न मद्दत गर्नुहोस्’ भनिरहेका छन् । यसो गर्दा, टिकटक उपहारहरूको स्पष्ट माग छ ।

तर भिडियोमा देखाइएको बालकको तस्बिर गत हप्ताको भूकम्पको तस्बिर होइन । रिभर्स इमेज टुल मार्फत तस्विरको जाँच गर्दा यो तस्बिर सन् २०१८ मा ट्विटरमा पोस्ट गरिएको पाइएको थियो । त्यस बेला पोस्ट गर्दा लेखिएको थियो, ‘अफ्रिन नरसंहार बन्द गर ।’

यदितपाईँ टिकटकमा उपहार दिन चाहनुहुन्छ भने, त्यहाँ एक महत्त्वपूर्ण कुरामा ध्यान दिनुपर्छ । बीबीसीले अनुसन्धानमा टिकटकले डिजिटल गिफ्टको ७० प्रतिशत लिने गरेको पाए पनि टिकटकले भने ७० प्रतिशतभन्दा कम लिने बताएको छ ।

टिकटकका प्रवक्ताले बीबीसीसँगको कुराकानीमा भने, ‘हामी टर्की र सिरियामा आएको विनाशकारी भूकम्पका कारण निकै दुःखी छौँ र भूकम्प राहत प्रयासमा मद्दत गरिरहेका छौँ । हामी यस्ता मानिसहरूलाई रोक्नका लागि पनि प्रयास गरिरहेका छौँ जसले चन्दाको बहानामा ठगीको काम गरिरहेका छन् ।’

turkey2क्रिप्टोकरेन्सीका लागि अपिल र एआईले बनाएको तस्बिर

ट्विटरमा, मानिसहरूले क्रिप्टोकरेन्सी वालेट लिङ्कसँग भावुक तस्बिरहरू सेयर गरिरहेका छन् र मानिसहरूलाई आवश्यकतामा परेकाहरूको नाममा मद्दत मागिरहेका छन् ।

एउटा खाताले १२ घण्टाभित्र ८ पटक मद्दतको लागि एउटै अपिल पोस्ट गर्‍यो । यस पोस्टमा, एक फायर फाइटरले भत्किएका भवनहरू बीच एउटा सानो बच्चालाई समातिरहेका छन् ।

तर, पोस्टमा प्रयोग गरिएका तस्बिर वास्तविक होइनन् । ग्रीक अखबार ओइएमएको रिपोर्ट छ कि यो एसियन फायर ब्रिगेड प्यानागियोटिक कोट्रिडिसको मेजर जनरलद्वारा आर्टिफिसियल इन्टेलिजेन्स सफ्टवेयर मिडजर्नीका लागि प्रयोग गरेका थिए । 

आर्टिफिसियल इन्टेलिजेन्सले तस्बिरहरू बनाउँदा अक्सर गल्ती गर्छन्, र ट्विटर प्रयोगकर्ताहरूले यो फायर फाइटरको दाहिने हातमा पाँच भन्दा बढी औँलाहरू छन् भनेर तुरुन्तै थाहा पाए ।

turkey3यसलाई थप पुष्टि गर्न, हामीले बीबीसीको प्राविधिक अनुसन्धान हब द ब्लु रुमका सहकर्मीहरूलाई उही सफ्टवेयर प्रयोग गरेर समान तस्बिर सिर्जना गर्ने प्रयास गर्न आग्रह गर्‍यौँ ।

जब सफ्टवेयरबाट भूकम्पपछि साना बच्चालाई बचाउने र ग्रीक झन्डासहित हेलमेट लगाएका फायर फाइटरको तस्बिर बनाउने कोसिस गरियो तब यस्ता खालका केही विकल्प सार्वजनिक भए । 

यस बाहेक, क्रिप्टो वालेटको ठेगानाहरू मध्ये एकको प्रयोग सन् २०१८ देखि ठगी गर्ने र स्प्याम ट्विटमा गरिएको थियो । दोस्रो वालेट अश्लील कन्टेन्टका साथै रुसी सोसल मिडिया वेबसाइट विकेमा पोस्ट गरिएको थियो ।

जब बीबीसीले अपिल पोस्ट गर्ने व्यक्तिलाई सम्पर्क गर्यो, उनले यसलाई झुटो भएको अस्वीकार गरे । उनले भने, ‘कनेक्टिभिटी कमजोर छ तर गुगल ट्रान्सलेट प्रयोग गरेर उनले ट्विटरमा हाम्रा प्रश्नहरूको जवाफ दिए ।’

ती व्यक्तिले भने, ‘ पैसा जम्मा गरेर भूकम्प पीडितलाई सहयोग गर्ने मेरो उद्देश्य हो । विपद् भएको ठाउँमा मानिसहरू समस्यामा परेका छन्, र विशेष गरी बालबालिकालाई खानेकुरा छैन । म यो कामको प्रमाण दिन तपाईँलाई रसिद देखाउन सक्छु ।’

तर, अहिलेसम्म उनीहरुले हामीलाई न रसिद पठाएका छन् न त परिचयको प्रमाण नै दिएका छन् ।

turkey4ट्विटर र पेपाल

ट्विटरमा स्क्यामरहरूले मानिसहरूबाट पैसा लिन नक्कली खाताहरू बनाउँछन् र त्यहाँ गरिएका पोस्टहरूलाई पेपालको खाताहरूसँग लिङ्क गर्छन् ।

सोनाटाइपका साइबर सुरक्षा विशेषज्ञ ए एक्स शर्मा भन्छन्, ‘यी अकाउन्ट आफ्नो भिजिबिलिटी बढाउनका लागि समाचार लेखहरू रिट्विट गर्छन्, चर्चित हस्तीको ट्विटको जवाफ दिन्छन् ।’

एएक्स शर्माले बीबीसीलाई भने, ‘उनीहरूले विपद् राहतको नाममा नक्कली खाताहरू सिर्जना गर्छन्, जुन वास्तविक संस्थाहरू र समाचार आउटलेटहरू जस्तै देखिन्छन्, तर यी खाताहरूबाट पैसा पेपाल खाताहरूमा ट्रान्सफर गरिन्छ ।’

उदाहरणका लागी, एउटा खाता छ @TurkeyRelief । यो अकाउन्टलाई जनवरीमा बनाइएको थियो र यसका ३१ फलोअर्स छन् । यो अकाउन्टबाट पेपालमार्फत् भूकम्प पीडितका लागि पैसा मागिन्छ । पेपाल अकाउन्टले हालसम्म दानको रूपमा ९०० अमेरिकी डलर प्राप्त गरिसकेको छ । यो रकममा ५०० डलर यो अकाउन्ट बनाउनेले दिएका छन् ।’

turkey5शर्माका अनुसार दाताहरूलाई यो सक्कली अकाउन्ट हो भन्ने लागोस् भनेर यस्तो गरिन्छ । 

यो हालैका दिनमा पेपालमा लन्च गरिएको सयभन्दा बढी खातामध्ये एक हो जहाँ टर्की र सिरियामा भूकम्प पीडितका लागि मद्दत मागिँदै छ । यीमध्ये केही खाता नक्कली हुन् ।

शर्मा भन्छन् कि सहयोगी गर्न चाहनेहरूले विशेष गरी आफू टर्कीमा रहेको लेख्ने खाताहरूबाट टाढा रहनुपर्छ, किनकि पेपालले टर्कीमा सन् २०१६ देखि काम गरिरहेको छैन ।

टर्की बाहिर पेपालको प्रयोग गरेर मानिसले मद्दत गरिरहेका छन् तर जब मद्दत माग्नेहरूले आफू टर्कीमा छु भन्छन् भने त्यो एक खालको खतरा हो । 

turkey6केही अन्य कुराहरू पनि छन् जसबाट सावधानी अपनाउन आवश्यक छ । यदि कसैले गुमनाम तरिकाले मद्दत माग्छन् वा चन्दाको नाममा थोरै रकमको कुरा गर्छन् भने त्यहाँ सावधानी अपनाउनु पर्छ ।

पेपालले ठगी गर्ने खातालाई निलम्बित गरेको छ । पेपाल प्रवक्ताले बीबीसीलाई भने, ‘चन्दा स्वीकार गर्न पेपाल प्रयोग गर्ने धेरैजसो मानिसहरूको नियत राम्रो छ, तर त्यहाँ कोही मानिस छन् जसले मद्दत गरिरहेका मानिसहरूलाई धोका दिने प्रयास गर्छन् ।’

ट्विटरले पनि @TurkeyRelief नामको अकाउन्टलाई निलम्बित गरेको छ तर कम्पनीले बीबीसीको प्रश्नको जवाफ दिएको छैन ।

turkey7

बीबीसी


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप