शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बागमती प्रदेशको ५ वर्षे उपलब्धि : ५३६ किलोमिटर सडक कालोपत्रे, ५६७ छोरी बुहारीलाई छात्रवृत्ति

शुक्रबार, ०५ फागुन २०७९, २० : ११
शुक्रबार, ०५ फागुन २०७९

मकवानपुर । बागमती प्रदेश सरकारले ५ वर्षको कार्यकालमा ५३६ किलोमिटर सडक कालोपत्रे गरेको छ । शुक्रबार एक कार्यक्रम आयोजना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रदेश सरकारले ५ वर्षे कार्यकालमा ५३६ किलोमिटर सडक कालोपत्रे गर्नुको साथै ७६१ किलोमिटर कच्ची सडक, ७७९ किलोमिटर ग्राभेल, १५४ किलोमिटर ढलान सडक निर्माण गरेको जनाएको हो  ।

प्रदेश सरकारले स्थापना कालदेखि हालसम्म गरेको कामहरूलाई समेटेर ५ वर्षे कार्यकालको सार्वजनिक गरेको पुस्तकमा सो कार्यलाई महत्त्वपूर्ण उपलब्धिको रूपमा लिएको छ । प्रदेश सरकारको ५ वर्ष पुस्तक सार्वजनिक गर्दै प्रदेशका मुख्यमन्त्री सालिकराम जम्मकट्टेले प्रदेश सरकार सुशासन र नागरिकको सेवा प्रवाहमा गम्भीर रहेको बताए । उनले सबैको सहकार्यबाट समृद्ध प्रदेश निर्माण सम्पन्न हुने बताए ।

उनले सबैको साथ र समर्थनबाट विकास निर्माणको काम अघि बढाउन सहज हुने भएकाले सहकार्यका लागि आग्रह गरे । उनले सरकारलाई आलोचना र सुझावको आवश्यकता रहेको बताए । नागरिकको खबरदारीबाट नै सरकारलाई सही दिशामा अघि बढ्न प्रेरित गर्ने उनको भनाई छ ।

प्रदेश सरकारले सो अवधिमा ६९ वटा पक्की पुल र ७ वटा झेलुङ्गे पुल निर्माण सम्पन्न गरेको तथ्याङ्क सार्वजनिक गरिएको छ । प्रदेश सरकारले ५ वर्षको अवधिमा संशोधनसहित ७० वटा ऐन निर्माण गरेको छ भने अध्यादेश ११, नियमावली ३३, निर्देशिका ५, कार्यविधि ४४, मापदण्ड ७ र आदेश १२ जारी गरेको छ ।

प्रदेश सरकारले ५ वर्षको अवधिमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत ५६७ छोरी बुहारीलाई छात्रवृत्ति प्रदान गरिएको छ । सरकारले उच्च शिक्षामा महिलाको पहुँच बढाउन भन्दै सो छात्रवृत्ति प्रदान गरेको थियो ।

गत २०७४ माघ ३ गते प्रदेश ३ को राजधानी हेटांैडा तोकी प्रदेश प्रमुख नियुक्त गरेको र २०७४ माघ २८ गते संविधान अनुसार प्रदेश प्रमुखबाट प्रदेशको मुख्यमन्त्रीमा डोरमणि पौडेललाई नियुक्त गरी प्रदेश सरकारको गठन गरिएको थियो । प्रदेशमा हालसम्म ४ जना मुख्यमन्त्रीले सरकार सञ्चालन गरेका छन् । स्थापना कालमा प्रदेशमा ७ मन्त्रालय रहेकोमा हाल ११ मन्त्रालय अन्तर्गत निकाय १९८ कायम रहेका छन् ।

यी मुख्य कामहरू:

– प्रदेशको पहिलो पाँच वर्षे आवधिक योजना निर्माण, कार्यान्वयन र त्यसको अर्धवार्षिक समीक्षा सम्पन्न गरिएको साथै प्रदेशको वस्तुस्थिति विवरण २०७५ तयार गरी तथ्याङ्क उपयोग गरिएको ।

– संघीय सरकारसँगको समन्वय र सहकार्यमा २० वटा समपूरक र विशेष अनुदानका आयोजनाहरू सञ्चालन र नवप्रवर्तन साझेदारी कोषमार्फत ११ वटा स्थानीय तहहरूमा नवप्रवर्तनात्मक परियोजनाहरू सञ्चालन गरी स्थानीय तहमा रोजगारी सिर्जना तथा आर्थिक विकासलाई प्रवर्द्धन गरिएको ।

– यस अवधिमा प्रदेश सुशासन केन्द्रमार्फत बागमती प्रदेश अन्तर्गत प्रदेश र स्थानीय तहमा निर्वाचित, मनोनीत तथा नियुक्त पदाधिकारी तथा कर्मचारीहरूका क्षमता विकासतर्फ हालसम्म ५,११२ जनप्रतिनिधिहरू तथा ८,१७४ जना कर्मचारीहरू गरी कूल १३,२८६ जना लाभान्वित भएका ।

– प्रदेशमा आव २०७८÷०७९ सम्ममा १५ हजार ५१७९ उद्योग दर्ता भएको ।

– ९ वटा जिल्लामा १० शीत भण्डार निर्माणको कार्य सम्पन्न हुने अवस्थामा रहेको जसबाट १५८०० मेट्रिक टन फलफूल तथा तरकारी भण्डारणमा सहजता हुने ।

– १०४१ सिँचाइ योजना सम्पन्न भई १३१३४८ हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध भएको र १६ वटा नदीहरूको नदी नियन्त्रणको गुरु योजना तयार गरी नदी नियन्त्रणका कार्य सुरु गरिएको ।

– २७६ वटा खानेपानी योजनाहरू सम्पन्न भई थप ४६१९६ घरधुरीहरूमा आधारभूत स्तरको खानेपानी सेवा पुगेको सहरी विकास तथा भवन पूर्वाधार तर्फ ३३० भवन, ४३४ पार्क निर्माण, १९५ सरकारी कार्यालय मर्मत र २०८९ जनता आवास निर्माण सम्पन्न ।

– प्रदेशभित्र ५३८९७५ सवारी दर्ता भएका र १०४३६ जनाले व्यावसायिक तालिम प्राप्त गरेका ।

– युवा उद्यमशीलता विकास अन्तरगत २६० स्वयंसेवक परिचालन, ४३ व्यवस्थित खेल मैदान, जिल्ला स्तरीय रङ्गशाला ७, कभर्ड हल ३० वटा सम्पन्न भएको ।

– सामुदायिक वन तथा अन्य क्षेत्रमा गरी ३९६ हेक्टरमा कूल ६२२९८५ जडीबुटीको बिरुवा रोपण गरिएको ।

– बागमती प्रदेशलाई ९७.२२ प्रतिशत साक्षरता सहित नेपालकै पहिलो साक्षर प्रदेश घोषणा गरिएको ।

– उच्च शिक्षामा महिलाको पहुँच बढाउन स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत ५६७ छोरी बुहारीलाई छात्रवृत्ति प्रदान गरिएको ।

– प्रदेशभित्र विभिन्न सूचकका आधारमा २० नमुना विद्यालय स्थापना, २२१ वटा शैक्षिक परामर्श केन्द्र सञ्चालन अनुमति ७२ विद्यालयलाई बस सेवा उपलब्ध, ३३१ माविमा इ–लाइब्रेरी, १९७ विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना र २२१ वटा सामुदायिक क्याम्पसहरूलाई सबलीकरण गरिएको ।

– आधारभूत तहदेखि माध्यमिक तहसम्मका ३७८८ जना शिक्षकहरूलाई पेशागत विकास तालिम र ९०२५ जनालाई पुनरताजगी तालिम प्रदान गरिएको ।

– प्रदेशभित्रका पर्यटकीय पदमार्ग, मठमन्दिर, पार्क, पर्यटन सूचना केन्द्र, पिकनिक घर र होमस्टे गरी ११५५० स्थानको सबलीकरण र व्यवस्थापन गरिएको ।

– बागमती प्रदेशको पर्यटन ब्रान्ड नाम स्वीकृति गरी लागु गरिएको साथै जुगल हिमश्रृंखला आरोहण खुला गरी पहिलो आरोहण सम्पन्न गरिएको ।

– विद्यालय स्वास्थ्य, सरसफाइ र छात्राहरूको स्वास्थ्य प्रवर्धनका लागि एक विद्यालय एक नर्स कार्यक्रम हालसम्म ११९ तहका ४५९ विद्यालयमा कार्यान्वयन गरिएको ।

– मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम र प्रदेशका १३ प्रादेशिक अस्पतालमा विशिष्टीकृत सेवा सञ्चालनमा ल्याइएको: प्रदेश लोकसेवा आयोगबाट सार्वजनिक सेवा प्रवाहको लागि ८२५ विभिन्न पदको विज्ञापन मार्फत परीक्षा सञ्चालन गरी नियुक्तिको लागि सिफारिस भएको ।

– बागमती प्रदेशको स्थानीय मानव विकास प्रतिवेदन र दिगो विकास लक्ष्यको आधार तथा मार्गचित्र तयार गरिएको ।

– १३ जिल्लाका जीर्ण प्रहरी चौकी निर्माण गरी सुरक्षाकर्मीका लागि कार्य वातावरण उपयुक्त सिर्जना गरिएको ।

– यस अवधिमा प्रदेश सरकार र मातहतका निकायहरूलाई विपक्षी बनाई दायर भएका २०८ मुद्दामध्ये ७४ मुद्दा किनारा लागिसकेको जसमा ८१ प्रतिशत मुद्दामा सफलता प्राप्त भएको । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप