बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

समग्रमा पारिजातको अध्ययन

शनिबार, ०६ फागुन २०७९, १९ : ०८
शनिबार, ०६ फागुन २०७९

नेपाली साहित्यमा पारिजात सदावहार चर्चाको केन्द्रमा रहेकी स्रष्टा हुन् । उनको सिर्जनात्मक शक्ति र जीवन शैलीका कारण उनलाई चर्चा र विवादबाट कहिले पनि टाढा हुनु परेन । यही कारण आधा दर्जन जति उनका जीवनीमूलक पुस्तक प्रकाशित भइसकेका छन् । अहिले फेरि समग्र पारिजातसम्बन्धी पुस्तक आएको छ ‘सुश्री पारिजात’ । 

कथा, कविता, उपन्यास, नियात्रा, निबन्धलगायतका छब्बीस थान पुस्तक प्रकाशित गरिसकेका साहित्यकार गोविन्द गिरी प्रेरणाको ‘सुश्री पारिजात’ भने पहिलो जीवनी पुस्तक हो । दुई दशकको परिश्रमले लेखेको यस पुस्तकको प्रकाशन फाइन प्रिन्टले गरेको छ । 

पारिजात, विष्णुकुमारी वाइवा, छेकुडोल्मा, सुमित्रा काँडा, शीत लामा, ढुन्डु पारिजातजस्ता अनेक नाम भए पनि प्रसिद्धि भने उनी पारिजातबाटै भइन् । पारिजातले नेपाली साहित्यमा कथा, कविता, उपन्यास, आत्मसंस्मरण, स्तम्भ लेखन गरेका भए पनि उनी मूलत उपन्यासकारकै रूपमा प्रतिष्ठित छन् । नेपाली साहित्यमा पारिजात र ‘शिरीषको पूmल’ एक अर्काका पर्याय नै बनेका छन् । 

‘सुश्री पारिजात’मा पारिजातसम्बन्धी पहिले प्रकाशन भएका पुस्तकहरूमा भन्दा धेरै र अहिलेसम्म सार्वजनिक नभएका तथ्यगत सामग्रीहरू यस पुस्तकमा रहेका छन् । यस दृष्टिले लेखक प्रेरणाले पुस्तक प्रकाशनपूर्व पारिजातसम्बन्धी अध्ययन र खोजमा धेरै नै मेहनत गरेको प्रष्ट हुन्छ । यस पुस्तकमा पारिजातको बाल्यकाल, काठामडौँ आएपछिका सिर्जना, सङ्गत, सङ्घर्ष, बानीव्यवहार, राल्फाको अभियान, प्रगतिवादी लेखन, राजनीतिक आबद्धतालगायतका विषयमाथि प्रकाश पारिएको छ ।

दार्जिलिङमा पाँच कक्षामा पढ्दा पारिजात निकै सोझी थिइन् । उनको खिल्ली उडाइन्थ्यो, हेपिन्थ्यो । तर काठमाडौँ आएपछि भने उनी विचारले बलियो बनेकी थिइन् । ‘शिरीषको पूmल’ले नै पारिजातलाई परिचय, पुरस्कार, प्रतिष्ठा दिएको थियो । देशविदेशको पाठ्यक्रममा परेको थियो । जर्मनी, ग्रीक, फ्रान्सेली, हिन्दी, आसामी भाषामा अनुवाद भएको थियो । तर यही उपन्यासलाई वामपन्थी लेखकहरूले विरोध गरे । स्वयम् पारिजातले पनि जलाइदिए हुन्छ भनेर लेखे । ‘शिरीषको पूmल’माथि भएका विरोधाभाषी व्याख्याले विचार र आग्रहले साहित्यिक सिर्जनाप्रतिको दृष्टिकोण कसरी विपरीत हुँदोरहेछ भन्ने उदाहरण  बनेको छ । 

प्रेमा शाहको सुझावअनुसार ‘शिरीषको पूmल’ शीर्षक राखिएको यस उपन्यासकोे भूमिकाले विशेष चर्चा पाएको थियो । निबन्धकार शङ्कर लामिछानेको भूमिका अनौपचारिक शैलीको विद्वत् र दर्शनयुक्त थियो । त्यही भूमिकामा जापानी उपन्यासको चोरीको आशय पनि रहेको थियो । तर पारिजातसँगको विशेष सम्बन्धका कारण लामिछानेले उपन्यास प्रकाशनको खर्चको व्यवस्था गरिदिएका थिए । प्रकाशित भएपछि मदन पुरस्कार गुठीमा पुस्तक बुझाउन पनि लामिछाने नै गएका थिए । 

पारिजातको पर्याय उपन्यास नै बनेको भए पनि उनको काठमाडौँका प्रारम्भिक दिन निकै दुखद बनेको थियो । उनले लेखेको पहिलो उपन्यास प्रकाशनका लागि धेरै प्रकाशकहरू कहाँ  धाएका थिए । कसैले हिज्जे नमिलेको, कसैले भाषागत अशुद्धि भएको, कसैले हिन्दीको बढी प्रयोग भएको भनेर अस्वीकार गरेका थिए । यही पीडामा उनले ‘सङ्घर्ष’ लगायत तीन उपन्यासको पाण्डुलिपि जलाएर जाडो महिनामा आगो तापेको तथ्य पुस्तकमा रहेको छ । 

काठमाडौँ आएपछि उनलाई रचना प्रकाशनमा इतिहासकार चित्तरन्जन नेपालीले सघाएका थिए । नेपालीले वि.सं.२०१३ मा ईश्वर बराल सम्पादक रहेको ‘धरती’ पत्रिकामा सुश्री पारिजातको नामबाट तीनवटा कविता प्रकाशन गरिदिएका थिए । त्यसैको उत्साहले उनले अर्को वर्ष नै पहिलो कवितासङ्ग्रह ‘आकाङ्क्षा’ प्रकाशित गरेकी थिइन् ।

स्कुल पढ्दादेखि नै पारिजातको चुरोट पिउने लत थियो । काठमाडौँ आएपछि मदिराको सोखिन भइन् । कतिपय लेखकहरू मदिरा लिएर उनको कोठामा पिउन जाने गर्दथे । कोही कोही त राति एघार बजे पनि ढोका ढकढकयाउने पुग्नेहरूको नामसमेत पुस्तकमा रहेको छ । पारिजातको डेरामा प्रायः साहित्यकारहरूको जमघट भइरहन्थ्यो । पुतलीसडकमा डेरा हुन्जेलसम्म त्यहाँ लेखक कविहरू कहिले खाली हुन्थेन । त्यसपछि चोभारको भाजङ्गल, म्हेपी, पुकुसी र बालाजुको डेरामा भने विशेष सम्बन्ध भएकाबाहेक अरु नजाने गरेको तथ्य पनि गोविन्द गिरी प्रेरणाले पुस्तकमा उल्लेख गरेका छन् ।

त्यसो त पारिजात प्रेम र यौनको मामलामा पनि सधैँ चर्चामा रहिन् । धनुवीर मुखिया, हर्क गुरुङ, विमल राल्फालगायत केही कविहरूसँगको अन्तरङ्ग सम्बन्धको बारेमा पनि प्रेरणाले पारिजात र उनका निकटतम व्यक्तिहरूसँगका कुराकानी, संस्मरणहरूलाई उद्धृत गरेका छन् ।  

दाजुको विवाहपछि एउटै डेरामा बस्न असहज भएपछि पारिजात र सुकन्या अर्कै डेरामा गएका थिए । त्यसबेला उनीहरू चरम आर्थिक सङ्कटमा परेका थिए । कतिसम्म भने फेर्नलाई लुगासमेत नभएको र परीक्षा दिनका लागि फारम भर्ने पैसासमेत नभएको तथ्य पुस्तकमा रहेको छ । केही समयपछि भने पारिजातले मदन मेमोरियल स्कुलमा जागिर पाएका थिए । जागिरका लागि वासुदेव लुइँटेलले अन्तर्वार्ता लिएको र कमलमणि दीक्षितले नियुक्ति पत्र दिएको पनि ‘सुश्री पारिजात’मा रहेको छ । त्यसपछि दीक्षित र पारिजातबीच लेखकीय सम्बन्ध कायम भएको थियो । त्यही कारण पारिजात बाथ रोगले थला परेको बेला दीक्षितले आपैmँले स्याल मारेर मासु पठाएको र मदन पुरस्कार पाएको सूचना दिन कोठामा पुगेको सन्दर्भ पनि पुस्तकमा रहेको छ ।    

पारिजात प्रगतिवादी लेखक हुन् । उनी राजनीतिक रूपमा पनि नेकपा चौथो महाधिवेशनमा आबद्ध थिइन् । रामेश, मञ्जुल, रायन, निनुहरूजस्ता युवालाई समेटेर राल्फा अभियानको नेतृत्व पनि गरेकी थिइन् । २०४६ को आन्दोलनमा पनि सक्रिय सहभागी भइन् । यसरी  राजनीतिमा नै लागेको कारण वामपन्थीहरूले ‘शिरीषको पूmल’लाई गैर जीवनवादी उपन्यास भनेर विरोध गरेका थिए । पारिजात आपैmले पनि जनविरोधी उपन्यास भन्दै लेखेकी थिइन्– ‘अनि शिरीषको पूmल लेखँेँ । त्यो विसङ्गतिपूर्ण, निस्सारता, शून्यवादी र अर्थहीनताले भरिएको उपन्यास थियो । जसले समाजलाई उँभो लगाउन होइन, समाजलाई सक्दो बिगाथ्योँ । त्यसलाई म आपँैmले जनविरोधी उपन्यास भनेर घोषणा गरिसकेकी छु । यसको अस्तित्व नभए पनि हुन्छ । तर त्यो अहिले मरेको छैन ।’ पृष्ठ २१४

प्रगतिशील लेखककै नाममा पारिजात पटकपटक विवादमा परेकी थिइन् । उनले शिक्षा मन्त्रालय र प्रज्ञा प्रतिष्ठानबाट सहयोग लिएको, प्रज्ञाबाट विद्वत्वृत्ति लिएको, उपचारका लागि दरबारमा विन्तीपत्र राखेकोमा पनि विवादमा परेकी थिइन् । वि.सं.२०२३ मा भवानी घिमिरेले ‘भानु’ पत्रिकामा लिएको अन्तर्वार्तामा पनि विवादमा परेकी थिइन् । यसैको विरोधमा निनु चापागाईंले सुशील देवकोटाको नाममा विराटनगरबाट पारिजातलाई प्रगतिशीलको नाममा जनतालाई झुक्याउने ढोँगी काम गरेको आरोपसहित पत्र पठाएका थिए । त्यसको जवाफमा पारिजातले ‘प्रगतिशील हुँ भनेर छाती ठोक्ने अथवा बिल्ला लगाउने लोभ भने गरेकी छैन भनेर लेखेको तथ्य पनि पुस्तकमा रहेको छ । 

पारिजातका जीवनका महत्त्वपूर्ण घटनाका साथै उनको गम्भीर स्वास्थ्य स्थिति, स्तम्भ लेखन, सम्पादन, अनुवाद, त्रिविविमा सभासद् नियुक्ति, प्रज्ञामा कुलपतिको सन्दर्भ, सिर्जना, दृष्टिकोण, व्यवहार, आनीवानी, प्रेम, यौनजस्ता विषयलाई लेखक गोविन्द गिरी प्रेरणाले पुस्तकमा सन्दर्भ सामग्रीसहित प्रकाश पारेका छन् । सबैभन्दा महत्त्वपूर्ण पारिजातको आधिकारिक जन्म मितिलाई यसै पुस्तकमा प्रष्ट पारिएको छ । यी सबै दृष्टिले ‘सुश्री पारिजात’ पारिजात, उनको सिर्जना र जीवनलार्र्र्र्र्र्र्र्र्र्र्ई समग्ररुपमा तयार पारिएको पुस्तक बनेको छ । नेपाली भाषासाहित्यका लागि यो पुस्तक वास्तवमा नै उपलब्धिको बनेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्रीओम श्रेष्ठ ‘रोदन’
श्रीओम श्रेष्ठ ‘रोदन’
लेखकबाट थप