शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अब्बल अम्पायर भएर देखाउँछु : सभामुख घिमिरे

मङ्गलबार, ०९ फागुन २०७९, २१ : ४८
मङ्गलबार, ०९ फागुन २०७९

स्याङ्जा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आफू अहिले निर्णायकको भूमिकामा रहेकाले अब्बल निर्णायक भएर देखाउने बताएका छन् । 

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाद्वारा मंगलबार मिर्मीमा आयोजित खेलकुद महोत्सव एवं अध्यक्ष कप प्रतियोगिता, २०७९ को उद्घाटन गर्दै उनले निष्पक्षताका साथ अब्बल निर्णायकको भूमिका निर्वाह गर्ने बताएका हुन् । 

प्रतिनिधिसभाको सभामुखको भूमिकामा आफू रहेसँगै निष्पक्षताका साथ भूमिका निर्वाह होस् भन्ने धेरैको कामना रहेको भन्दै उनले आफू त्यो भूमिकामा अब्बल भएर देखाउने बताएका हुन् ।

“म अहिले अम्पायरको भूमिकामा छु र अब्बल अम्पायर भएर देखाउने छु”, उनले भने, “तर त्यसका लागि खेलाडी र टिमले राम्रो खेल प्रदर्शन गर्नुपर्छ, विजयी हासिल गर्ने काम टिम र खेलाडीमाथि भर पर्छ ।” 

जनताले गरेका अपेक्षा पूरा गर्नका लागि तयार रहेको उनले बताए । भौतिक पूर्वाधार, बाटोघाटो, खेलमैदानको विकास तथा संस्कार संस्कृतिको संरक्षण र प्रवर्द्धनमा यहाँका स्थानीयवासीले आफूप्रति राखेको अपेक्षा पूरा गर्नका लागि सहजीकरण गर्ने उनले बताए ।

खेल जीवनको अभिन्न अङ्ग, जीविकाको आधार तथा राष्ट्रकै पहिचान बनाउन सक्ने भएकाले यसलाई व्यावसायिकतातर्फ जोड्दै जानुपर्नेमा उनले जोड दिए ।

गण्डकी प्रदेशसभा सदस्य महेश भट्टराई, निर्मला थापा, निवर्तमान प्रदेशसभा सदस्य मोहन रेग्मी, गाउँपालिकाका अध्यक्ष खीमबहादुर थापा, उपाध्यक्ष सावित्रा कोइरालालगायतले प्रतियोगिताको सफलता साथै निरन्तरताका लागि शुभकामना व्यक्त गरेका थिए । कालीगण्डकी पालिकास्तरीय प्रतियोगिता भोलि सकिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप