आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
कोरिडोर

नारायणगढ–बागलुङ ८ घण्टाको यात्रा अब ४ घण्टामै छोटिने

बिहीबार, ११ फागुन २०७९, १५ : ४४
बिहीबार, ११ फागुन २०७९

बुटवल । नारायणगढ–बागलुङ ८ घण्टाको यात्रा अब ४ घण्टामै छोटिने भएको छ । कालीगण्डकी कोरिडोरको निर्माण कार्यसँगै यो सम्भव हुन थालेको हो । राष्ट्रिय गौरवको आयोजनाको रूपमा आर्थिक वर्ष २०६७/२०६८ बाट निर्माण सुरु भएको कालीगण्डकी कोरिडोर अहिले दुई खण्डमा विभाजन गरेर काम धमाधम भइरहेको छ ।  

नेपाल–भारत बेलहिया (सुनौली) नाकादेखि मुस्ताङको कोरला नाका जोड्ने उद्देश्यले सुरु गरिएको उत्तर–दक्षिण व्यापारिक पारवहन मार्ग काली गण्डकी कोरिडोर ४३५ किलोमिटर लामो छ । त्यस्तै, पूर्व नवलपरासीको गैँडाकोटदेखि बागलुङको मालढुंगा तल्लो खण्ड २४० किलोमिटर छ । उता मालढुंगादेखि मुस्ताङको चीन जोड्ने कोरला नाकाको दूरी १९५ किलोमिटर छ । 

आयोजनाको सबै ‘ट्रयाक’ खोलिएर कालोपत्रेको गर्ने काम तीव्र गतिमा भइरहेको सडक परियोजना कार्यालयले जनाएको छ । पहिलो खण्डको भौतिक प्रगति ४० प्रतिशत र दोस्रो खण्डको ७८ प्रतिशत काम भएको छ । 
कालीगण्डकी कोरिडोर (गैँडाकोट, राम्दी मालढुंगा) सडक आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी पवित्रमणि आचार्यले पहिलो खण्डको भौतिक पूर्वाधारको काम ४० प्रतिशत भएको रातोपाटीलाई बताए । उनका अनुसार खण्ड खण्ड  गरेर ठेक्का लगाउने काम हुँदा केही खण्डका काम पुरा भएको र केही खण्डमा अझै ठेक्का लगाउन बाँकी रहेको छ । अहिले २४० किलोमिटरमध्ये ११३ किलोमिटर कालोपत्रे भइसकेको उनले जनाए । 

Kaligandaki 1 (1)

राम्दिदेखी रानी महलसम्म स्तरोन्नतिको काम बाँकी छ । गैँडाकोटदेखि पाल्पाको पिपल डाँडासम्म कालोपत्रे सकिएको छ । त्यस्तै रानी महल–अर्गेली खण्ड पनि कालोपत्रेको तयारी छ । रिडी, रुद्र बेनी हुँदै हर्मीचौरको कालोपत्रेका लागि आउँदो असारसम्मको समय छ ।
हर्मीचौरदेखि बागलुङको बलेवासम्म ५२ किलोमिटर कालोपत्रेका लागि कालिका कन्स्ट्रक्सनलाई ३ अर्ब रुपैयाँमा ठेक्का दिइएको छ । बलेवादेखि मालढुंगासम्म १० किलोमिटर ४७ करोडमा कालोपत्रेका लागि सम्झौता भएको इन्जिनियर आचार्यले बताए । 
दोस्रोे खण्डमा पर्ने मालढुंगा, बेनी, जोमसोम हुँदै कोरला सडकमा १९५ किलोमिटरको सडक ट्रयाक विस्तारको काम तीव्र गतिमा भइरहेको छ । काली गण्डकी कोरिडोर (बेनी, जोमसोम कोरला) सडक आयोजनाका इन्जिनियर सूचना अधिकारी मन्दा पन्थले मालढुंगा–बेनी, बेनी–जोमसोम र जोमसोम–कोरला क्षेत्रमा खण्ड–खण्ड बनाएर काम भइरहेको जनाइन् । 

पन्थका अनुसार मालढुंगा–बेनी २० किलोमिटर, बेनी–जोमसोम ७४ र जोमसोम–कोरला ११५ किलोमिटर छ । अन्य केही खण्डमा आउँदो असारसम्म कालोपत्रेको काम भइसक्ने छ । 
खास गरी कागबेनी जोमसोम धार्मिक पर्यटकलाई लक्षित गरेर यसै वर्ष कालोपत्रे गर्ने योजना रहेको सडक कार्यालयले जनाएको छ । यहाँ  चिसो मौसमका कारणले धेरै काम अब चैतपछि तीव्रता दिने  सूचना अधिकारी इन्जिनियर पन्थले बताइन् । 
यस्तै यो खण्डमा पर्ने  २२ वाट पुलमध्ये २० वटा ठेक्का लागेको छ  भने  ५ वटा पुल निर्माणको काम सकिएको छ । आयोजनाको पहिलो खण्डको अनुमानित ३० अर्ब बजेट रहेकोमा हालसम्म ७ अर्ब खर्च भइसकेको छ । यस्तै दोस्रो खण्डमा पनि साढे ५ अर्ब भन्दा धेरै बजेट खर्च भएको छ । 

3 (1)

सूचना अधिकारी पवित्रमणि आचार्यले पहिलो खण्डको बजेट ३० अर्ब नपुग्ने भएको आउँदो आर्थिक वर्षमा थप गर्नुपर्ने बताए । उक्त सडक भारत सरकारको एग्जिम डेभलपमेन्ट बैंकको ऋण सहयोगमा भारतीय निर्माण कम्पनी ईकेएले निर्माण गरिरहेको छ ।

पहाडी जिल्लाको जीवनस्तर उकास्ने अपेक्षा 
कालीगण्डकी नदीको किनारै किनार बनेको यस राजमार्गले पूर्वी नवलपरासीका ग्रामीण बस्ती, पाल्पाको पश्चिम क्षेत्र तथा बागलुङ र पर्वतका दुर्गम गाउँहरूलाई सहरसँग जोडेको छ । 
भारतबाट रोजगारी गरेर बागलुङ, पर्वत, गुल्मी, म्याग्दी र मुस्ताङसम्म नेपालीहरू सुनौली, चितवनको सडक प्रयोग गर्नुपर्ने अवस्था छ । यस्तै बुटवलबाट बागलुङको जैमिनी, बेलबगर, गुल्मीको कालीगण्डकीको फोक्सिङ, छाप चौरलगायत ग्रामीण ठाउँमा यात्रुवाहक ठुला गाडीहरू छुट्ने गर्छन् । अव यो सडक बनेपछि यात्रामा निकै सहज हुनेछ । 

Kaligandaki 2

इन्जिनियर आचार्यले बुटवलबाट अब बागलुङ सदरमुकाम १५० किलोमिटर दूरीमा खुम्चिने बताए । उनले नारायणगढ, मुग्लिङ, पोखरा हुँदै बागलुङ जान दैनिक ८ देखि १० घण्टाको यात्रा अब ४ घण्टामै छोटिने हुँदा जीवनस्तर परिवर्तन हुने बताए । 
कोरिडोरले दुई प्रदेशका ६ जिल्लाका २० लाख बढी जनसंख्यालाई सिधा सडक सञ्जालमा जोड्दै कृषिजन्य उत्पादन, पर्यटन विकास, विद्युत् उत्पादनमा समेत ठूलो सहयोग पु¥याउने अपेक्षा गरिएको छ । 

बागलुङको जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर पुनले कोरिडोरका कारण जनताको जीवनस्तरमा परिवर्तन ल्याउने अपेक्षा गरे । उनले व्यापार व्यवसायदेखि किसानको उत्पादन गाउँदेखि सहरसम्म पु¥याउन सकिने अपेक्षा आफूहरूले गरेको बताए । 
पहिले चिनियाँ बौद्ध धर्मावलम्बीहरू बौद्ध शिक्षा अध्ययनका लागि लुम्बिनी तथा भारतको पटना यही मार्ग भएर पुगेको विश्वास गरिन्छ । भारतीय व्यवसायी कालीगण्डकीको किनारै किनार चीनको कोरला पुग्ने गरेका थिए । 

निर्माणाधीन कोरिडोरलाई चिनियाँ बौद्ध धर्मावलम्बीहरूलाई लुम्बिनीसँग जोड्न सहज बन्ने लुम्बिनी विकास कोषका सूचना अधिकारी डा हरिध्वज राईले बताए । उनले रातोपाटीसँग भने,  ‘कोरला नाका निर्माण भएपछि यहाँ आउने चिनिया यात्रुको संख्या स्वतः वृद्धि हुन्छ ।’


कोरिडोरले दुई प्रदेशका ६ जिल्लाका २० लाख बढी जनसंख्यालाई सिधा सडक सञ्जालमा जोड्दै कृषिजन्य उत्पादन, पर्यटन विकास, विद्युत् उत्पादनमा समेत ठूलो सहयोग पु¥याउने अपेक्षा गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप