बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

सिटीलाई ऐतिहासिक लगातार चौथो लिग उपाधि

आइतबार, ०६ जेठ २०८१, २२ : ५८
आइतबार, ०६ जेठ २०८१

इतिहाद । म्यानचेस्टर सिटीले ऐतिहासिक लगातार चौथोपटक प्रिमियर लिगको उपाधि जितेको छ । लिगमा यस्तो उपलब्धि हासिल गर्ने सिटी पहिलो टोली बनेको हो ।

सिजनको अन्तिम खेलमा वेस्ट ह्यामलाई पराजित गर्दै पेप ग्वार्डिओलको टोलीले प्रिमियर लिगमा आफ्नो दबदबा कायम राखेको छ । उता, आर्सनलले पनि एभर्टनलाई हराउँदै सिटीलाई अन्तिम खेलसम्म चुनौती दिए पनि अन्त्यमा दुई अङ्कले पछि पर्दै फेरि एक पटक उपाधि विमुख हुन पुग्यो ।

आइतबार राति भएको खेलमा सिटी ३–१ गोलले विजयी बन्यो । सिटीका लागि प्रिमियर लिगमा यो सिजन उत्कृष्ट खेलाडी घोषित भएका फिल फोडेन पुनः नायक बने । सिटीले जित्नै पर्ने खेलको दोस्रो मिनेटमा नै उनले टोलीलाई अग्रता दिलाए ।

१८ औँ मिनेटमा उनले टोलीको अग्रता दोब्बर बनाए । पहिलो हाफको अन्त्यमा मोहम्मद कुडुसले वेस्ट ह्यामका लागि एक गोल फर्काए पनि दोस्रो हाफमा रोड्रीले गोल गर्दै टोलीका जितसँगै उपाधि पनि सुनिश्चित गरे ।

उता, आर्सनलले एभर्टनलाई २–१ गोलले हरायो । खेलको ४० औँ मिनेटमा इड्रिसा गाना गुयेको गोलले पछि परेको आर्सनलले दुई मिनेटपछि नै टाकेहिरो टोमियासुको गोलको मद्दतले खेलमा फर्किएको थियो ।

८९ औँ मिनेटमा काई हाभट्जले गोल गर्दै टोलीलाई आशा दिलाएका थिए । तर, उता, सिटी विजयी भएपछि मिकेल आर्टेटाको टोलीको सपना चकनाचुर बन्यो । ३८ खेलपछि सिटीको ९१ अङ्क बटुल्यो भने आर्सनल ८९ अङ्कमा सीमित बन्यो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप