शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
कविता

बा, कसको मालिक ?

शनिबार, १३ फागुन २०७९, ०८ : ५९
शनिबार, १३ फागुन २०७९

प्रकाश विक 
बा, म गरिबको छोरो हुँ भन्ने कुरा  
तपाईंका हत्केला हेरेर थाहा पाएँ
ठूलो आलिशान महलभित्र विलासिताको 
जीवन भाग्यमा थियो होला सायद 
तर ती भाग्यका रेखा 
 हातबाट मेटिदा,
साँच्चै कोदालीको ढाडमा भेटिदा थाहा पाएँ
बा, साहुले नमज्जाले घर घेरेर थाहा पाएँ ।
        म गरिबको छोरो हुँ भन्ने कुरा 
          तपाईका हत्केला हेरेर थाहा पाएँ ।

धन कमाएर नाम कमाउछुँ 
नाम कमाएर धन कमाउँछु
भनेर हो बा,
तपाईंले सरम नमानी नमानी
परिश्रम गरेको ।

तर, बीउ जति अब्बल भए पनि, 
जिउमा जति बल भएपनि 
हाम्रो घरको धानले धन दिन भने
खासै सकेको छैन ।
अब नदीले नदिंदा 
बिचरा बगरले के गरोस्,
बूढो गोरुसँग बलवान् बगरले के गरोस् ।
मूलले नै घात गर्छ त
नहरले के गरोस् ।

अरबौं अरबको अरबमा 
सपना देख्नेहरुले 
    सपना भेट्न पनि पाईन्छ भन्ने सुनेर 
सपना भेट्ने आसमा गएकाहरु
     सपना राम्रोसँग नदेखेको भएर हो कि 
अरबमा बनेको लाखौंको बाकसभित्र 
निदाएर घर फर्किए ।

कहिल्यै बिउँझिन नपर्ने गरी
 सपना देख्न सुतेकाहरुले
कोदालीलाई निकै भाग्यमानी बनाएर गए ।
किनभने 
बा, तपाईंका हत्केलाले 
कोदालीकोभाग्यका रेखा 
गुमेको याद नगर्दो हो र ?
निर्जनताले उत्सव मनाएको बेला 
एकदिन हाम्रो घरमा,
    गज्जबको खुशी छाएको थियो 
जहाँ अगेनुको पेटले 
खरानीपाएको थियो
कसौंडीको पेटले 
पानी पाएको थियो।

   खुशीका आँसुले आमाका गह भरिका थिए
मेरा भाइहरुको अनुहारमा पनि
    हर्षको महोत्सव लागेको थियो ।
     मेरो, आमाको, बजैको
      खुसीको बाकसको 
ताला लिएर 
मेरा भाइहरु
       सबैको खुसीको बाकसको
     मालिक बन्न चाहन्थे ।

तर 
  बा, कसको मालिक बन्न चाहन्थे ?
सायद
यसको उत्तर पश्चिमतिर छ कि ?
              कि पूर्वमा ?
  चारै दिशामा बाँडिएको यो प्रश्नको उत्तर 
              उत्तरमा छ 
             किनकि, मेरा बा उत्तर जाँदा 
प्रश्नै प्रश्नको झोला बोकेर गएका थिए रे 
            तर सानो झोला बोकेर गएका मेरा बा 
             घर फर्किदा आफू अटाउने ठूलो 
              बाकसमा आएका थिए 
    बा, आफै बाकसको मालिक भएर आएका थिए ।
                  र, त 
     भाइहरुको मालिक बन्ने 
     सपना चकनाचुर भयो,
घरको गज्जवको 
     खुसी गयो 
    अगेनुको खरानी बिना पेट रित्तियो 
    कसौंडीको पानी बिना पेट रित्तियो 
        घरबाट गएको सानो झोला 
         बाकस बनी भित्रियो ।।

आज आलिशान बाकसको 
मालिक भएर आएका 
मेरा बालाई म
    कुन शब्दले सम्बोधन गरौ ?
      कुन शब्दले स्वागत गरौ?
        स्वागत बा लाई गरौ कि 
           बाकसलाई ?

बा,कसलाई सोधौ म यो प्रश्न ?
     आजबाट हाम्रो घरमा 
   मात्र गरिबी हुने छ तर गरिब हुने छैन 
       आजबाट गरिब हरायो 
         भाइलाई खेलौनाको रहर हरायो 
    आमाको टीका हरायो 
           चुरा हरायो 
        अनि गाजल हरायो 
  मेरी बूढी बजै भन्नुहुन्छ–
         बाबु, बुढेसकालमा 
मेरो तातो जल हरायो ।
भाग्यका रेखा मेटिए 
सपनाको महल हरायो ।

हाम्रो घरमा त्यो गरिब जायज थियो 
नाजायज त गरिबी मात्रै हो ।
हाम्रो घरमा 
त्यही सानो झोला नै लायक थियो 
नालायक त ठूलो बाकस मात्रै हो ।
                      प्युठान, हालः काठमाडौं
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप