शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

विद्यार्थी संगठन र स्ववियु निर्वाचनको औचित्य

बुधबार, १७ फागुन २०७९, १२ : ०५
बुधबार, १७ फागुन २०७९

विद्यार्थी संगठन राजनीतिक चेतनाले अभिप्रेरित शैक्षिक र सामाजिक संस्था हो । यसले आम विद्यार्थीको भावनाको प्रतिनिधित्व गर्नुपर्छ । 

शैक्षिक मुद्दाहरूमा केन्द्रित रहँदै सामाजिक, सांस्कृतिक र राजनीतिक परिवर्तनको संवाहकको रूपमा भूमिका खेल्नुपर्छ । समग्र विभेद अन्त्यको लागि सिर्जनात्मक र प्रतिरोधात्मक आन्दोलनको नेतृत्व गर्नुपर्छ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाको मुद्दालाई निरन्तर उठान गर्नुपर्छ । भ्रष्टाचार, अनियमितता, बेरोजगारी र समग्र बेथितिहरूको विरुद्धमा खरो उत्रिनुपर्छ । 

उठान गर्नुपर्ने शैक्षिक समस्याहरू 

मुलुकका लागि आवश्यक जनशक्ति उत्पादन गर्न राज्यसँग ठोस योजना छैन । व्यापारीहरूको नाफाका लागि सबैभन्दा सुरक्षित र भरपर्दो लगानीको थलो शिक्षा क्षेत्र भएको छ । 

अरू क्षेत्रबाट टाट पल्टिएका लगानीकर्ताले समेत शिक्षा क्षेत्रलाई नाफा परिपूर्तिको माध्यम बनाएका छन् । राज्यले सरकारी र सामुदायिक विद्यालयको स्तरोन्नतिको लागि प्रभावकारी योजना ल्याएको छैन । अव्यवहारिक शिक्षाले गर्दा शैक्षिक संस्थाहरू बेरोजगार उत्पादन गर्ने कारखाना जस्ता भएका छन् । 

त्यस्तै, असमान शिक्षाले धनी र गरिब बीचको खाडल गहिरिँदै छ ।  विश्वविद्यालयका शैक्षिक प्रमाणपत्रहरू कागजी खोस्टा जस्ता छन् । पन्ध्र बिस वर्ष लगाएर शिक्षा आर्जन गरेपछि देशमा रोजगारी नपाएर विदेश जानुपर्ने बाध्यता छ । 

उता व्यवहारिक, प्राविधिक र सीपमूलक शिक्षा नारामा मात्र सीमित छन् । हाम्रा विश्वविद्यालयले उत्पादन गरेका जनशक्ति विदेशमा मजदुरी गर्न जानुपर्ने अनि हाम्रो देशलाई विज्ञ आवश्यक पर्दा विदेशबाट मोटो रकम तिरेर ‘हायर’ गर्नुपर्ने अवस्था छ । 

विद्यार्थी संगठनले समीक्षा गर्नुपर्ने पक्ष 

अधिकांश विद्यार्थी सङ्गठनहरू राजनीतिक दलका दातृसंस्थाको रूपमा छन् । पार्टीको सैद्धान्तिक आधारमा टेकेर मात्रै उनीहरूले अस्तित्व धानेका छन् । विगतको त्याग, समर्पण र बलिदानीको विरासतमा उभिएको विद्यार्थी सङ्गठनहरू यतिबेला प्रभावहीन र सङ्कटको अवस्थामा पुगेका छन् । 

आजका विद्यार्थी संगठनका नेताहरू आफ्नै संगठन भित्रको आन्तरिक समस्यालाई समाधान गर्ने ल्याकत राख्दैनन् । सिधा भाषामा भन्दा विद्यार्थी संगठन छन्, आन्दोलन छैन । राजनीतिक दलका कार्यकर्ताहरू छन्, असली विद्यार्थी नेता छैनन्  । 

आफूलाई विद्यार्थी संगठनको नेता भन्न रुचाउने मान्छेहरू, न विद्यार्थीको प्रमुख मुद्दामा केन्द्रित छन् न खस्कँदो शैक्षिक अवस्थाको बारेमा गम्भीर छन् । बरु पार्टीको गुट, उपगुटलाई समातेर व्यक्तिगत स्वार्थको दुनो सोझ्याउने काममा लिप्त छन् । 

शैक्षिक मुद्दालाई छाडेर केही संगठनका प्रतिनिधिहरू कलेजको सम्बन्धन र भर्ना लगायतको विषयमा मोलमोलाई गर्न समय खर्चिन्छन् । भ्रष्टाचार, अनियमितता जस्ता बेथितिहरूको विरोधमा खरो उत्रिनुपर्ने युवा विद्यार्थी नेताहरू आफै कर्मचारी सरुवा–बढुवामा घुस खान्छन् । 

युवा पुस्ताका नेता भन्न रुचाउनेहरु फिल्डमा जमेर स्थापित हुनु भन्दा ठूलाबडाको चाप्लुसी गर्नुमा आफूलाई सुरक्षित ठान्छन् । शैक्षिक माफियाहरूसँग घाँटी जोडेर निजी शैक्षिक संस्थामा लगानी गर्छन् । अनि आफै निजीकरण र व्यापारीकरणको विरोध गरेजस्तो गर्छन् ।  

यी र यस्तै प्रकृतिका सीमा र कमजोरीलाई नसच्याए उनीहरुको राजनीतिक भविष्य मात्र होइन, सिंगो विद्यार्थी आन्दोलननै विकृत भएर जानेछ । 

के हो स्ववियु ? 

स्वतन्त्र विद्यार्थी युनियन अर्थात् स्ववियु विद्यार्थीले विद्यार्थीकै लागि जन्माएको साझा संस्था हो । स्ववियु नेतृत्व उत्पादन गर्ने थलो हो । शिक्षा क्षेत्रका समग्र समस्याको उठान गर्ने आन्दोलन हो । 

साथै, विद्यार्थीका दैनिक जीवनसँग जोडिएका समस्याहरुको सहज समाधानको उपयुक्त माध्यम हो । विद्यार्थी र प्रशासन बीचको खाडल पुर्ने सेतु हो । शैक्षिक गुणस्तरमा ध्यान दिने अन्तरदृष्टि हो । विद्यार्थीहरुमा राजनीतिक चेतना जगाउने ज्ञान कुञ्ज हो । विद्यार्थीको हक हितको लागि बोल्ने संगठित आवाज हो । 

स्ववियु विद्यार्थीको क्षमता विकासको उपयुक्त मञ्च हो । शिक्षा क्षेत्रका सबै खाले बेथिति, विकृति, विसंगतिको कालो बादल हटाउने सुनौलो रवि किरण हो । विद्यार्थीको साथी हो, अनि अभिभावक हो । विद्यार्थीलाई छत्रछायाँ प्रदान गर्ने कल्पवृक्ष हो । 

स्ववियूको विरासतलाई नियाल्दा 

कुनै समय सर्वसाधारणहरू राजनीतिक अधिकारबाट वञ्चित थिए । राजा महेन्द्रले सत्ता हातमा लिएपछि दलहरु प्रतिवन्धित भए । गुमेको राजनीतिक अधिकार प्राप्तिको सिलसिलामा विद्यार्थीहरूले संयुक्त आन्दोलनको खोजी गरे र साझा संस्थाको आवश्यकता महसुस गरे । जसको परिणामस्वरुप त्रिभुवन विश्वविद्यालयमा वि.स २०२० साल वैशाख १९ गते स्ववियुको स्थापना भयो । 

२०२० साल भदौ २० गते स्ववियुको पहिलो निर्वाचन सम्पन्न भयो । नेपालमा अहिले विद्यमान १२ वटा विश्वविद्यालयमध्ये अधिकांशमा स्ववियु निर्वाचनको अध्यास हुन थालेको छ । एकतन्त्रीय पञ्चायती व्यवस्थाका विरुद्धको आन्दोलनमा स्वतन्त्र विद्यार्थी युनियनको भूमिका अग्रस्थानमा रहेको थियो । 

२०३० सालमा स्ववियुलाई समेत प्रतिवन्ध लगाएपछि विद्यार्थी आन्दोलनको रापताप भुसको आगोझैँ भित्रभित्रै सल्कियो । जसका कारण तत्कालीन व्यवस्था धरासायी बन्दै गयो । यो सबै देखेका राजा वीरेन्द्रले २०३६ सालमा जनमत सङ्ग्रह गर्न बाध्य भए । सँगै स्ववियु पनि फुकुवा भयो । 

२०३५ सालदेखि २०६५ सालसम्म ३० वर्षको अवधिमा १४ पटक स्ववियु निर्वाचन सम्पन्न भयो । २०६५ साल यता भने स्ववियु निर्वाचन हुन सकेको थिएन । तर २०७९ चैत्र ५ गते १४ वर्षपछि स्ववियु निर्वाचन हुन गइरहेको छ । 

स्ववियुको औचित्य 

शिक्षा क्षेत्रमा सुधार गर्नुपर्ने अनगिन्ती समस्याका चाङ छन् । विश्वविद्यालयमा सुधार गर्नुपर्ने असङ्ख्य पक्षहरू छन् । देश अस्थिर राजनीतिको भुमरीमा छ । नेपालको सामाजिक अवस्था कुरीति, कुसंस्कार र अन्धविश्वासले जेलिएको छ । गणतन्त्रवादी शक्तिहरूको फितलो कार्यशैलीको कारण प्रतिगमनकारी शक्तिहरू मसानघाटबाट टाउको उठाउन थालेका छन् । 

यी यावत् मुद्दाहरू बोकेर विद्यार्थी संगठन मैदानमा उत्रनुपर्छ । स्ववियुमार्फत् विद्यार्थी आन्दोलनलाई संस्थागत र आधिकारिक बनाउनु पर्छ । 

अझै पनि स्ववियुको औचित्य फराकिलो बन्दै गएको छ । यसका अलावा विश्वविद्यालयका पदाधिकारी र क्याम्पस प्रमुखको नियुक्तिमा हुने राजनीतिक भागबण्डाले अर्को विकृति निम्त्याएको छ । 

समय सापेक्षअनुसार पाठ्य पुस्तकहरु नबनाइनु, नयाँ नयाँ शैक्षिक कार्यक्रमहरू आउन नसक्नु, प्राध्यापक, कर्मचारी तथा शिक्षकहरूको स्तर खस्कँदै जानु पनि अर्को समस्या हो । 

स्ववियु मार्फत नै विद्यार्थी नेताहरू विद्यार्थीको बीचमा पुग्ने गर्छन् । विद्यार्थीको माझमा आफ्ना विचारहरु स्पष्ट राख्ने मौका पाउँछन् । यो विद्यार्थी नेताहरू सच्चिने माध्यम पनि हो । विद्यार्थीहरूप्रति उत्तरदायी र जवाफदेही रहने अभ्यास हो । संगठनको विचार, सिद्धान्त र कार्यक्रमका साथै विद्यार्थी नेताहरूको गतिविधि र ईमान्दारीतालाई जाँच्ने कसीसमेत हो ।   

निश्कर्ष 

आज हामी जुन दुनियाँमा बाँचेका छौ, त्यो राजनीतिबाट अछुतो छैन । देशमा राजनीतिले विकृति ल्याएको होइन । खराब मान्छेको हातमा राजनीतिक अधिकार परेका कारण देशको समग्र अवस्था विकृत भएको हो । 

राजनीतिक रूपमा सचेत हुन पाउनु मान्छेको नैसर्गिक अधिकार हो । ईमान्दार मान्छेहरू राजनीतिबाट पाखा लाग्नु भनेको खराब मान्छेहरुबाट शासित हुन तयार हुनु हो । त्यसैले, खराब मान्छेहरुका लागि मैदान खाली गरिदिनु हुँदैन । ईमान्दार र स्वच्छ छवि भएका मान्छेहरू राजनीतिमा आउनु पर्छ । अनि मात्र देशको अवस्था सुधार हुन्छ । 

राजनीति पनि एउटा साधना हो । त्याग, समर्पण र बलिदानीको पर्याय हो । सबै मान्छेले भाग लिन सक्छन् तर निरन्तरता दिन सक्दैनन् । विद्यार्थी आन्दोलनबाट सुरु भएको राजनीतिक यात्राले कतिलाई देशकै नेतृत्व लिने हैसियतसम्म लान सक्छ । 

आजको विद्यार्थी आन्दोलन र स्ववियुको भूमिकाले भोलिको दिनमा असल र सक्षम नेतृत्व उत्पादन गर्न सफल होस् । आउँदै गरेको स्ववियु निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित रूपमा सम्पन्न होस् । विद्यार्थी संगठनहरुलाई अग्रीम शुभकामना । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

आस्था घिमिरे
आस्था घिमिरे
लेखकबाट थप