आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

कतारले एलडीसी विकासमा ६० मिलियन डलर सहयोग गर्ने

मङ्गलबार, २३ फागुन २०७९, १८ : ४४
मङ्गलबार, २३ फागुन २०७९

दोहा । कतारका आमिर शेख तामिम विन हमाद अल-थानीले अति कम विकसित राष्ट्रहरूको  विकास प्रक्रियामा सहयोग गर्न कतारले ६० मिलियन अमेरिकी डलर सहयोग गर्ने बताएका छन् । 

संयुक्त राष्ट्रसंघको कम विकसित मुलुकको पाँचौँ सम्मेलनको उद्घाटन गर्दै कतारका आमिर अल-थानीले विश्वका कम विकसित देशहरूको क्षमता विकास गर्न ५० मिलियन अमेरिकी डलर तथा दोहा कार्यक्रमको लागि १० मिलियन अमेरिकी डलर खर्च गर्ने बताए । 

विश्वका कम विकसित राष्ट्रका राष्ट्रप्रमुखहरूको उपस्थिति रहेको सम्मेलनमा उपप्रधान एवं भौतिक योजना तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको उपस्थिति रहेको छ । यसैगरी ती देशका उच्च पदस्थ अधिकारी, अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधि, व्यवसायी, कूटनीतिक नियोगका प्रतिनिधि, प्रतिष्ठित व्यक्तित्व एवं पत्रकारहरूको उपस्थिति रहेको छ ।  

उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा कतारका आमिर अल-थानीले विश्वका कैयौं देशमा भैरहका द्वन्दले अति कम विकसित देशहरू मारमा परेको बताए ।

कतारले अन्तर्राष्ट्रिय स्तरमै शान्ति कायम गर्न मध्यस्थताको भूमिका निर्वाह गरेको स्मरण गर्दै आमिर अल-थानीले विकास, मानव अधिकार रक्षा र सुरक्षाको प्रत्याभुतिको लागि कतार सरकारले अन्तर्राष्ट्रिय स्तरमा काम गर्ने बताए ।

पछिल्लो समय टर्की र सिरियाले भोग्नुपरेको प्राकृतिक विपत्तिको जिकिर गर्दै उनले त्यस विपत्तिमा भएको मानवीय एवं भौतिक क्षति अपूरणीय भएको भन्दै अन्तर्राष्ट्रिय समुदायले यस आपत्कालिन समयमा साथ र सहयोग गर्न अपिल पनि गरे । 

सफल विश्वकप फुटबल सम्पन्न गरेको कतार कम विकसित मुलुकको हक हित र विकासमा साझेदार बन्दै अघि बढ्न तयार रहेको बताउँदै आमिर अल-थानीले कतारमा भइरहेको सम्मेलन दिगो विकासका लागि सन् २०३० सम्मको विकासको योजनामा अघि बढ्न संयुक्त राष्ट्रसंघको कम विकसित मुलुकको पाँचौँ सम्मेलन सफल हुने विश्वास व्यक्त गरे । 

यही फागुन २१ गते सुरु भएको सम्मेलन फागुन २५ गतेसम्म चल्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप