बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बारामा पर्यटन प्रवर्द्धनका लागि हाइकिङ

तराईमै अब पहाडको उकालो ओरालोको आनन्द
बिहीबार, ०९ चैत २०७९, १६ : ००
बिहीबार, ०९ चैत २०७९

बारा । तराईका जिल्लामा हाइकिङ भन्दा अलि अनौठो लाग्न सक्छ तर उत्तरमा चुरे शिवालिकसँगै जोडिएको बाराको अम्लेखगञ्ज क्षेत्रमा हाइकिङका लागि राम्रो गन्तव्य पत्ता लागेको छ । जीतपुरसिमरा उपमहानगरको वडा नं २१ को झोलुङ्गे पुलदेखि वडा नं २२ को सिद्धबाबा मन्दिर हुँदै ढुकुवाबास ३ नं पुलसम्म करिव ७ किलोमिटर हाइकिङ रुट पत्ता लागेको हो । यो बारा जिल्लाकै पहिलो हाइकिङ रुट हो ।

अम्लेखगञ्जबाट चकरी जाने बाटोमा पर्ने खोलामा रहेको झोलुंगे पुलदेखि तेर्सो उकालो लागेर झण्डै ३ किलोकिटर यात्रा तय गरेपछि सिद्धबाबा मन्दिर पुगिन्छ भने त्यहाँबाट करिव ४ किलोमिटर यात्रा गरेपछि ३ नं पुलसम्म पुग्न सकिन्छ ।

सिद्धबाबा मन्दिर ऐतिहासिक धार्मिक तथा एउटा राम्रो प्राकृतिक पर्यटकीय गन्तव्यको रुपमा सम्भावना बोकेको ठाउँ हो । स्थानीयहरुले यहाँ दैनिक पूजाआजा गर्ने गर्दछन् । सिद्धबाबाको मन्दिर पुगेर दक्षिणतर्फ देखिने हरियाली र मनमोहक दृश्यसँगै चुरेबाट बग्ने खोलानाला, अलि नजिकैको अम्लेखगञ्ज र सिमरा बजारको सुन्दर दृश्यले पर्यटकको मन लोभ्याउँछ । अझ त्यहाँदेखि उत्तरतर्फ सफा मौसम भएको बेला प्रस्टसँग हिमाल, तल फाँटका सुन्दर बस्ती देख्न सकिन्छ ।

h3

सो क्षेत्रमा जीतपुरसिमरा उपमहानगरले बुधबार हाइकिङ कार्यक्रम सञ्चालन गरेको थियो । हाइकिङका क्रममा बाटोमा पर्ने अप्ठ्याराहरुको अध्ययनसँगै पर्यटकीय स्थलको रुपमा विकास गरी आन्तरिक र बाह्य पर्यटकको प्रवर्द्धन गर्न जीतपुरसिमरा उपमहानगरपालिकाले स्थानीय होटल तथा पर्यटन व्यवसायीसँग हातेमालो गर्दै एकदिने हाइकिङ कार्यक्रम आयोजना गरेको हो ।

सो कार्यक्रममा प्रहरी प्रशासनका स्थानीय प्रमुख तथा प्रतिनिधिहरु, जीतपुरसिमरा उपमहानगरका प्राविधिक, होटल तथा पर्यटन व्यवसायी, सम्वन्धित वडाका वडाध्यक्षसँगै स्थानीय सञ्चारकर्मीहरु सहभागी थिए ।

h12

हाइकिङ ट्रयाक नभएको, पैदल यात्रुहरुका लागि विश्रामस्थल, पिउने पानीको अभाव देखिएको यात्रामा सहभागीहरुको गुनासो थियो । होटल तथा पर्यटन व्यवसायी संघ बारामा महासचिव गोविन्द गहतराजले अम्लेखगञ्जलाई हाइकिङ क्षेत्रका रुपमा विकास गर्न सकिने बताए ।

‘यो ठाउँमा पैदलयात्रीहरुका लागि ट्रयाक छैन, यात्रुहरुका लागि ठाउँ–ठाउँमा विश्रामस्थल, पिउने पानीको अभाव देखिएको छ । अब थोरै लगानीमा पनि रुटहरु खोलेर, अम्लेखगञ्जको झोलुङ्गे पुलदेखि सिद्धबाबा मन्दिर हुँदै ३ नं पुलसम्म पर्यटकहरुका लागि १ दिनको हाइकिङ प्याकेज हामी बनाउन सक्छौं,’ गहतराजले भने, ‘हाइकिङको माध्यमबाट यहाँ आन्तरिक तथा बाह्य पर्यटक ल्याउन सकिन्छ तर व्यवस्थित नभएको अवस्था छ, यसका लागि स्थानीय, प्रदेश तथा संघ सरकारको छिटो ध्यान पुगोस् भन्ने हाम्रो चाहना हो ।’

h7

बाराको १६ वटा पालिकामध्ये चुरेसँग जोडिएको जीतपुरसिमरा उपमहानगर र निजगढ नगरपालिका मात्रै हो । जीतपुरसिमरा उपमहानगरको वडा नं २१ र २२ अम्लेखगञ्जदेखि ३ नं पुलसम्मको भूभाग तराईको पहाडका रुपमा परिचित छ ।

पूर्वपश्चिम राजमार्ग, मधेश प्रदेशकैै एक मात्र निकुञ्जका रुपमा रहेको पर्सा राष्ट्रिय निकुञ्जसँगै जोडिएको यो क्षेत्रमा पर्यटकहरुका लागि प्याकेजमै कार्यक्रम बनाउन सके जिल्लाको समग्र आर्थिक विकासमा समेत टेवा पुग्ने देखिन्छ । 

h1

बारामा विशेष गरेर पर्सा राष्ट्रिय निकुञ्ज, हात्तीसार आउने भारतीय पर्यटकहरुका लागि प्याकेजमै कार्यक्रम सञ्चालन गर्न नसक्दा अम्लेखगञ्जसम्म आएका पर्यटक छिमेकी जिल्ला मकवानपुर, चितवनको सौराहा जाने गर्दछन् ।

जीतपुरसिमरा उपमहानगर–२२ का वडाअध्यक्ष शेखरकाजी लामाले अम्लेखगञ्जमा राणकालीन शासकहरुसँग जोडिएको ऐतिहासिक तथा चर्चित धार्मिक स्थलहरु भएकाले यो क्षेत्रमा ट्रेकिङ र हाइकिङ दुवै कार्यक्रम सञ्चालन गर्न सकिने बताए । ‘अम्लेखगञ्जको झोलुङ्गे पुल हुँदै सिक्रनी, कोडभञ्ज्याङ, पोखरी हुँदै सिद्धबाबा मन्दिर पुगिन्छ, मन्दिर दर्शन गरेर त्यहाँबाट ढल्के, ढुकुवाबास भ्यूटावरसम्म पुगिन्छ,’ उनले भने ।

h11

उपमहानगर–२१ का वडाध्यक्ष सुवास श्रेष्ठले अम्लेखगञ्ज क्षेत्र जीतपुरसिमरा उपमहानगरको मात्रै नभएर मधेस प्रदेशकै पर्यटकीय सम्भावना बोकेको ठाउँ भएको बताए । ‘जीतपुरसिमरा उपमहानगरपालिका, विभिन्न संघसंस्था, होटल व्यवसायी संघहरु मिलेर हाइकिङका लागि रुट खोज्ने काम भएको छ, यो क्षेत्रमा उपमहानगरले छिट्टै एउटा डीपीआर तयार गरेर काम अगाडि बढाउँछ,’ उनले भने ।

h8

हाइकिङ विशेष गरेर मानवीय स्वास्थ्यसँग जोडिएकाले पनि उपमहानगरले सो क्षेत्रमा लगानी गर्ने बताएको छ । ‘पूरै रुट कति किलोमिटरमा छ, कति समयमा पुग्न सकिन्छ, हाइकिङमा पर्यटकको सुरक्षा कसरी गर्न सकिन्छ, सिद्धबाबा मन्दिरलाई कसरी व्यवस्थित गर्ने, बिजुली, खानेपानी, सीसी क्यामेरा जडान लगायतका विषयमा उपमहानगरले अध्ययनको काम सुरु गरिसकेको छ,’ इन्जिनियर सञ्जिव रुपाखेतीले भने, ‘बेरोजगार युवाहरुलाई रोजगारीका लागि प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको बजेटलाई सदुपयोग गरेर हाइकिङका लागि बाटो खुलाउने हाम्रो योजना छ ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप