शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
कर्णाली प्रदेश

कर्णालीका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक : कसको कति ?

काठमाडौँमा घर जग्गादेखि जलविद्युत आयोजनामा लगानीसम्म
शुक्रबार, १० चैत २०७९, १८ : ५४
शुक्रबार, १० चैत २०७९

सुर्खेत । कर्णाली प्रदेशका मन्त्री र राज्यमन्त्रीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । यसअघि मुख्यमन्त्री राजकुमार शर्माले सम्पत्ति विवरण सार्वजनिक गरिसकेका थिए । 

बाँकी ६ मन्त्री र १ राज्यमन्त्रीले पनि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । जसमध्ये अर्थमन्त्री विनोद शाहको सम्पत्ति सबैभन्दा धेरै देखिएको छ । उनीसँग प्रशस्त चल अचल सम्पत्ति देखिएको छ  । 

उनकी श्रीमती लक्ष्मी देवी शाहको नाममा काठमाडौँको बुढानीलकण्ठमा ७५ लाख मूल्य पर्ने २ तलाको घर रहेको सम्पत्ति विवरणमा उल्लेख छ  । उक्त रकम ऋण गरेर खरिद गरिएको उल्लेख गरे पनि त्यो भन्दा बढी मूल्यमा घडेरीसमेत जोडेको सम्पत्ति विवरणमा उल्लेख छ । श्रीमतीकै नाममा भक्तपुरको सूर्य विनायक गाउँपालिका–६ मा ४८ लाख मूल्यको घडेरी रहेको उल्लेख गरिएको हो । 

उक्त घडेरी पैतृक सम्पत्तिबाट खरिद गरिएको उल्लेख गरेका छन् । यस्तै आठबीस नगरपालिका–४ राकम दैलेखमा १० लाख मूल्य बराबरको १८५ वर्ग मिटर क्षेत्रफलको जग्गा रहेको छ । उक्त जग्गा पारिश्रमिकबाट खरिद गरिएको उल्लेख गरिएको छ । यस्तै काँधीकाठ गाउँपालिका– १ मा ५० रोपनी पैतृक जग्गा रहेको शाहले उल्लेख गरेका छन् । 

उनको साथमा सुनका गहना मात्रै २५ तोलाको रहेको छ । यस्तै गहना नबनाइएको सुन ५० तोला रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । यस्तै १५ तोलाको हिराको हार र १५ सय तोला चाँदीका भाँडा रहेको उल्लेख गरेका छन् । यी सुनचाँदीका गरगहना पैतृक सम्पत्ति, छोरा र आफ्नो पारिश्रमिकबाट खरिद गर्नुका साथै हिराको हार छोरीले अस्ट्रेलियाबाट उपहार दिएको उल्लेख गरेका छन् । उनका छोरा पनि अमेरिका बस्छन् ।

 यस्तै शाहको नाममा रहेका २ बैँकमा २० हजार बराबरको रकम मौज्दात छ भने ८६ लाख ऋण पनि रहेको छ । उक्त ऋण मासिक ६५ हजारका दरमा तिर्ने गरेका छन् । उनीसँग १६ लाख मूल्य बराबरको टोप्रा प्राडो गाडी छ । उक्त गाडी उनले ०५४ सालमा सांसद हुँदाताका नै खरिद गरेका थिए । 

यसै गरी कानुन मन्त्री कृष्णबहादुर जिसीले आफूसँग घर नभएको उल्लेख गरेका छन् । तर, श्रीमतीको नाममा वीरेन्द्रनगरको लाटीकोइली, जर्वुटामा तीन वटा घडेरी रहेको उल्लेख गरेका छन् । १ कट्ठा १ धुरको जग्गा पैतृक सम्पत्ति र ४ लाख ऋणबाट जग्गा खरिद गरेको उनले उल्लेख गरेका छन् । यस्तै जर्वुटामा पारिश्रमिकबाट १२ लाख पर्ने अर्को घडेरी पनि खरिद गरिएको उल्लेख गरेका छन् ।  जिसीसँग चल सम्पत्तिको नाममा ५ तोला सुन, १० तोला चाँदी रहेको छ । उक्त सुन बाबुआमाबाट प्राप्त उल्लेख छ भने चाँदी श्रीमतीको माइतीबाट प्राप्त गरेको उल्लेख छ । 

यस्तै मन्त्री जिसीको दुई वटा बैंकमा गरी ६५ हजार रकम मौज्दात रहेको छ  भने आफू र श्रीमतीको गरी ३ वटा कम्पनीमा ४ लाख ३७ हजार बराबरको शेयर लगानी रहेको उल्लेख गरेका छन् । उनीसँग ११ लाख ६९ हजार बराबरको ऋण रहेको छ भने एउटा मोटरसाइकल र एउटा स्कुटर रहेको छ । त्यो पनि विक्री भइसकेको तर नामसारी गर्न मात्र बाँकी रहेको जिसीले उल्लेख गरेका छन् । 

उनले आफ्नो चिङ्गाड कृषि तथा पशुपालन फर्म रहेको पनि उल्लेख गरेका छन् भने ४ लाख ५० हजार बराबरको दैनिक उपभोगमा घरायसी सामान, फर्निचर लगायतका रहेको उल्लेख गरेका छन् ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जीत बहादुर मल्लले आफूसँग बाँकेको कोहलपुरमा ०५९ सालमै खरिद गरेका २ वटा घर, चल सम्पत्तिमा १० लाख नगद, ५ तोला सुन र ५ तोला नै चाँदी रहेको उल्लेख गरेका छन् ।  सुन २ लाखमा खरिद गरिएको र चाँदी ५० हजारमा खरिद गरिएको सम्पत्ति विवरणमा उल्लेख छ । उनीसँग बैँकमा ३ लाख रकम मौज्दात रहेको छ । त्यसबाहेक उनीसँग ५० हजार बराबरको मोबाइल फोन मात्र छ । 

सामाजिक विकास मन्त्री टेकराज पछाइको सम्पत्ति विवरणमा जुम्लाको कनका सुन्दरी गाउँपालिका–६ मा एउटा  पुरानो घर रहेको उल्लेख छ ।  यस्तै कनका सुन्दरी–६ मा १४ हजार १३२ वर्गमिटरमा फैलिएको जग्गा छ । त्यो उनको पैतृक सम्पत्ति हो ।  

यस्तै उनले बर्दियाको राजापुर नगरपालिका–२ मा १ बिघा जमिन रहेको उल्लेख गरेका छन् उक्त जमिन व्यापार गरी खरिद गरेका हुन् । उनीसँग १५ तोला सुन र २० तोला चाँदी छ । यद्यपि प्राप्तिको स्रोत भने खुलाएका छैनन् ।  

साथै उनी र उनको परिवारको नाममा गरी ५ वटा बैंकमा ७ लाख ५० हजार रकम मौज्दात रहेको छ । उनीसँग ऋण भने छैन । बरु विभिन्न कम्पनीमा १७ लाख ५० हजार बराबरको शेयर लगानी रहेको छ । उनी शेयर रहेका मध्ये ३ वटामा संस्थापक नै रहेको उल्लेख गरेका छन् । साथै उनीसँग एउटा मोटरसाइकल रहेको छ । 

यसै गरी भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले बुझाएको सम्पत्ति विवरणमा सल्यान बागचौरमा ४ लाख ५० हजार मूल्य बराबरको पुरानो घर रहेको उल्लेख छ ।  साथै सो स्थानमा उनको ३२ रोपनी जग्गा छ । चल सम्पत्तिमा ५ तोला सुन र नगद २० हजार छ । त्यो सबै पारिश्रमिकबाट जोडेको उनले उल्लेख गरेका छन् । 

बैँकमा २ लाख ८ हजार रकम हालै प्राप्त पारिश्रमिकबाट बचत रहेको उल्लेख छ । उनले दोलखाको चर्चित खिम्ती जलविद्युत आयोजनामा पनि लगानी गरेको देखिएको छ ।  १ लाख रकम शेयर लगानी रहेको उनको आफ्नै सप्लायर्स पनि रहेको छ । यस्तै १३ लाख मूल्य बराबरको सुर्खेतमा जग्गा रहेको पनि उनले उल्लेख गरेका छन् । 

यद्यपि उनले ५८ लाख बराबर ऋण पनि रहेको उल्लेख गरेका छ । उनले सप्लायर्सबाट वार्षिक ३ लाख आम्दानी गर्ने गरेका छन् । 

भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्री मंगलबहादुर शाहीसँग पनि प्रशस्त धन सम्पत्ति रहेको सम्पत्ति विवरणबाट देखिन्छ । आमा र छोरीको नाममा २ वटा घर रहेको उनले उल्लेख गरेका छन् । मुगुको सौरु गाउँपालिका–५ र श्रीनगरमा २ वटा घर रहेका हुन् । जुन एउटा पैतृक सम्पत्तिकै रूपमा रहेको छ भने अर्को बकस पत्रबाट प्राप्त भएको उल्लेख गरेका छन् । 

यस्तै उनको सोरुमै जग्गा जमिन छ । चल सम्पत्तिमा उनीसँग ७ तोला सुन र १० तोला चाँदी छ । उक्त सम्पत्ति शिक्षक हुँदा तलब, केही पैतृक सम्पत्ति र केही व्यवसायबाट जाडेको उल्लेख गरेका छन् । उनको बैङ्क ब्यालेन्स ३० हजार रहेको छ । उनीसँग १६ लाख ७० हजार बराबरको ऋण रहेको छ । यस्तै छोरीको नाममा एक स्कुटर, ५ वटा गाई गोरु, एउटा मोबाइल, एक क्यामेरा र ल्यापटप पनि रहेको उल्लेख गरेका छन् । उक्त सामान छोरीको तलब र व्यक्तिगत व्यवसायबाट जोडेका उल्लेख गरिएको छ ।  

 यस्तै भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत राज्यमन्त्री उर्मिला विश्वकर्माको डोल्पाको त्रिपुरासुन्दरी–३ मा २ वटा घर रहेका छन् । एउटा घर १५ लाखमा खरिद गरिएको र एउटा पैतृक सम्पत्ति भएको उल्लेख गरिएको छ ।  यस्तै १२ तोला सुन, १० तोला चाँदी र १० लाल हिरा रहेको छ । यस्तै उनीसँग व्यवसायबाट प्राप्त गरेको २० लाख बराबरको रकम बैँकमा मौज्दात रहेको छ । यस्तै एउटा सहकारीमा उनको ५० हजार शेयर लगानी रहेको छ भने २ वटा बैँकबाट गरी ४ लाख ऋण पनि रहेको छ । साथै १०० वटा बाख्रा, २० गाई गोरु र ५ वटा भैँसी रहेको सम्पत्ति विवरणमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप