बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

नीतिकथा : श्रद्धाको शक्ति

शुक्रबार, १७ चैत २०७९, १० : ०८
शुक्रबार, १७ चैत २०७९

संसार श्रद्धा र विश्वासमा टिकेको छ । जीवनमा यसले विशेष महत्व राख्छ । श्रद्धा र विश्वास विना कुनै पनि काम गर्न सकिन्न । श्रद्धा र विश्वास भए जतिसुकै ठूलो काममा पनि सहजै सफलता पाउन सकिन्छ नभए केही पनि गर्न सकिन्न । सकिए पनि सफलता पाउन गाह्रो पर्छ । श्रद्धा र विश्वासमा यति ठूलो शक्ति छ कि, जसले ढु्ङ्गालाई पनि देवता बनाउँछ । श्रद्धा र विश्वास छैन भने औषधीले पनि काम गर्न सक्दैन । 

भारतीय सन्त तुलसीदासको नाम भाइबहिनीहरूले पनि सुनेको हुनुपर्छ । उनले रामचरित मानस लेखेर रामभक्तिको अनुपम नमूना पेश गरेका थिए । उनलाई एक दिन बिहानै एउटी महिला आएर सुक्क सुक्क गर्दै प्रणाम गरिन् । सन्तहरू शरणमा आउनेलाई आशीर्वाद दिने गर्छन् । विशेष किसिमको सन्त परम्परा नै हो । सोही अनुसार उनले पनि ती महिलालाई सौभाग्यवती हुनु भन्ने आशीर्वाद दिए । उनको आशीर्वाद सुनेर महिलाले अकमकिँदै भनिन्–

‘गुरुदेव ! म चाहन्छु तपाईँको आशीर्वाद निस्फल नहोस् । त्यसैले यसको सट्टा अर्कै आशीर्वाद दिन आग्रह गर्छु ।’

उनको कुरा सुनेर तुलसीदासले आश्चर्य मान्दै भने–

‘किन र देवी ! अहिलेसम्म मेरो आशीर्वाद निस्फल भएको छैन भन्नेमा भलिभाँती परिचित हुनुहुन्छ । तैपनि आशङ्का किन ? भन्नुस् कारण के हो ?’

‘कारण ठूलै छ गुरुदेव !’ उनले आँखाबाट आँसु झार्दै भनिन्–

‘किन कि भरखरै मेरो पतिदेवको निधन भएको छ ।’

‘होइन, त्यस्तो हुनै सक्दैन । मैले सच्चा मनले आशीर्वाद दिएको छु भने निस्फल हुने प्रश्नै आउँदैन ।’

यति भन्दै उनले ती महिलालाई आँखा चिम्म गरी श्रद्धा र विश्वासपूर्वक केही समय राम नाम जप गर्न लगाए । उनले भनेबमोजिम महिलाले केही बेर रामको नाम जप के गरेकी थिइन् उनको पतिदेव निद्राबाट ब्युँझे जस्तै गरी हाइ गर्दै उठे । यस्तो चमत्कार देखेर उपस्थित सबैले आश्चर्य माने । 

एक कान दुई कान हुँदै यस्तो समाचार बादशाह अकबरसम्म पुग्यो । उनले आश्चर्य मान्दै तुलसीदासलाई बोलाउन लगाए । यतिबेला उनी रामचरित मानस लेख्दै थिए । त्यसैले आफू आउन नभ्याउने भन्दै सोही अनुसारको समाचार पठाए । समाचार पाउनासाथ अकबर रिसाए र सैनिकहरूलाई बलपूर्वक ल्याउने आदेश दिए । 

बादशाहको आदेश थियो किन बेर लाग्थ्यो र । सैनिकहरूले तत्कालै लछार पछार गर्दै बादशाह समक्ष पेश गरे । त्यसपछि अकबरले रिसाउँदै भने– 

‘तिमीले मरेको मानिसलाई बचायौ  रे हो ?’

‘मरेको मानिस बाँचेको त हो तर त्यो मेरो कारणले नभई प्रभु रामको कृपाले हो ।’

‘त्यसो हो भने पुन: अर्को त्यस्तै चमत्कार गरेर देखाउन आदेश दिन्छु ।’ 

सन्तहरू भनेका सन्त नै हुन् । उनीहरू नचाहिने कुरामा न कसैसँग डराउँछन् न आफ्नो इष्टदेवबाहेक अरूलाई वास्ता गर्छन् । उनले निर्भयतापूर्वक भने–

‘माफ गर्नुहोला सम्राट् ! न म कुनै चमत्कारी हुँ न त्यस्तो चमत्कारी विद्या सिकेको छु । यस्ता निरर्थक कुरामा विश्वास पनि गर्दिन र त्यस्तो सोच्ने फुर्सद पनि छैन । रामको भक्त हुँ । फेरि पनि भन्छु यहाँ जेजति भएको छ उनकै कृपाले भएको छ ।’

‘उसै त कुन कानमा सुन’ भने जस्तो अकबर यसै पनि क्रोधित थिए आफ्नो आदेशको वास्ता गरेन भन्ने निहुँमा । त्यसमाथि अहिले पनि कुरा त्यस्तै गरेपछि क्रोधको सीमा रहेन । उनले कड्किँदै भने–

‘ए हो ? खोइ हेरौँ म पनि तिम्रो रामको कृपा कस्तो हुँदो रहेछ ।’

यति भनेर तुलसीदासलाई फतेहपुर सिकरी जेलमा बन्द गरिदिए तर उनी भने त्यस्तो अवस्थामा पनि विचलित भएनन् । उनको रामप्रति पूर्ण श्रद्धा र विश्वास थियो । जस्तोसुकै विपत्तीमा पनि रामले रक्षा गर्छन् भन्ने उनको मान्यता थियो । त्यसैले तत्कालै हनुमान चालिसा रचना गरी ४० दिने जपको अनुष्ठान सुरू गरे । अनुष्ठान पूरा हुनासाथ यस्तो चमत्कार भयो कि जेलमा विशाल बाँदर समूहले आक्रमण गरी तहल्का मच्चाए । लाखै प्रयास गर्दा पनि जेल प्रशासनले त्यसलाई रोक्न सकेन ।

यो खबर अकबरसम्म पनि पुग्यो । उनले तत्कालै छानबीनका लागि दरबारी बैठक बोलाए । दरवारीमध्ये एक जना वृद्ध सज्जनले हात जोर्दै भने–

‘शहंशाह ! यी सबै विना कसुर सन्तलाई दण्ड दिनुको परिणाम हो ।’

बल्ल बादशाहलाई भूल महसूस भयो । उनले तुलसीदासको चरणमा परी माफी माग्दै रिहा गरे । उनी रिहा हुनु के थियो बाँदरको उपद्रो पनि रोकियो । त्यसपछि तुलसीदासले अकबरलाई हमेशाका लागि फतेहपुर सिकरी छाडेर जान सुझाव दिए । उनको सुझाव अनुसार अकबरले राजधानी पुनः दिल्लीमा सारी तुलसीदासलाई निजी स्वजनमा नियुक्त मात्र  गरेनन् आइन्दा राम र हनुमानका भक्तहरूमाथि कुनै पनि त्यस्तो व्यवहार नगर्नु, जसले उनीहरूको आत्मसम्मानमा चोट पुगोस् भन्ने आदेशसमेत दिए । 

यस प्रसङ्गमा केकति सत्यता छ त्यो त थाहा छैन । पढिँदै र सुनिँदै आएको कुरा हो तर श्रद्धा र विश्वासमा ठूलो शक्ति हुन्छ भन्ने कुरा भने सत्य हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप