बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
मातातीर्थ

कसरी प्रसिद्ध भयो मातातीर्थ कुण्ड ?

आमासँग संसर्ग गर्ने विरुपाक्षको तीर्थाटनको कथा
बिहीबार, ०७ वैशाख २०८०, १८ : ४२
बिहीबार, ०७ वैशाख २०८०

हाम्रो शास्त्रीय वचन छ, ‘मातृदेवो भव, पितृदेवो भव ।’ अर्थात् मातापिता नै देवता हुन् । 

वेदहरूमा मातालाई पृथ्वीको र पितालाई आकाशको संज्ञा दिइएको छ– तन्माता पृथिवी तत्पिता द्यौ । अर्थात्, आमा पृथ्वी हुन् भने पिता आकाश । 

वैदिक मन्त्र छ, ‘एकः सूर्यो विश्वमनु प्रभूतः ।’ अर्थात्, एउटै सूर्यले विश्वलाई प्रज्ज्वलित गरिरहेको छ । 

सूर्यको किरणले पृथ्वीमा जीवको अस्तित्व सम्भव छ, पृथ्वीको उब्जाउले जीवन सम्भव छ र जन्मका लागि मातापिता चाहिन्छ । आमाको शरीरबाट अर्को शरीर निस्केर सृष्टि चलेको छ । यसमा आमाको हात र हृदय अथाह छ । यस किसिमको चिन्तन हाम्रा पुर्खाले धेरै अघिदेखि गर्दै आएका हुन् । 

अधिकांश प्राणीका लागि आमा नै पहिलो गुरु हुन् । बोल्न कोसिस गर्ने, घिस्रिन कोसिस गर्ने सन्तानसँग एउटी आमाले अनेक संवाद गरिरहेकी हुन्छिन्, जुन सौन्दर्यलाई शब्दमा व्यक्त गर्न सकिँदैन । यो किसिमको संवादको अगाडि हाम्रा शास्त्रमा उल्लिखित प्रश्नकर्ता र उत्तरकर्ताको उवाच वा संवादले उत्रो अर्थ राख्दैन । संस्कृत शब्द ‘अम्बा’ अपभ्रंश हुँदै नेपालमा आमा शब्द बनेको हो । सुनिन्छ पनि– बोल्ने कोसिस गरिरहेका केटाकेटी अम्बा–अम्बा–अम्बा दोहोर्‍याइरहेका हुन्छन् । 

आज अर्थात् वैशाख कृष्णपक्ष अमावास्या तिथि, जसलाई हामीले आमाको मुख हेर्ने पर्वका रूपमा मनाउँदै आएका छौँ । यस दिन काठमाडौँको चन्द्रागिरिस्थित मातातीर्थ कुण्डमा स्नान गर्नेको घुइँचो लाग्ने गर्छ ।

मातातीर्थको कथा

श्रीहरि रुपाखेतीले आफ्नो पुस्तिका ‘आमाको तीर्थ मातातीर्थ’मा चन्द्रागिरिस्थित मातातीर्थकुण्डको उत्पत्ति सम्बन्धमा एउटा किम्बदन्ती उल्लेख गरेका छन् । किम्बदन्ती भन्छ: उहिलेको कुरा हो । यसै मातातीर्थ कुण्डको वनतिर एउटा गोठालो केटो वस्तुभाउ चराउन जान्थ्यो । आमा नभएको त्यस टुहुरो केटाले त्यहाँको कुवा छेउ गएर अन्न खान लाग्दा ईश्वरीय शक्तिले अन्नलाई तान्छ । के रहेछ भनी हेर्दा उसले आफ्नी आमाको दर्शन पायो । यसै घटनाले यो ठाउँ मातातीर्थ कुण्डका रूपमा प्रसिद्ध भएको हो । 

‘हिमवत्खण्ड’ पुराणमा हिमवत्खण्डभित्रका केही अध्यायलाई ‘नेपालमाहात्म्य’ उल्लेख गरिएको छ । जसमा पापी विरुपाक्षलाई सिद्धऋषि नेमुनिले नेपालका तीर्थ घुमाएको प्रसंग छ । नेमुनि र विरुपाक्ष नेपालको पूर्वी भेग कोशी नदीसम्म पुगेर काठमाडौँ उपत्यकाका सबै शिवलिंग, शक्तिपीठ, पवित्रनदी, संगम र कुण्डहरूको भ्रमण गर्छन् । 

रुपाखेतीले आफ्नो पुस्तिकामा ‘नेपालमाहात्म्य’को प्रसंग प्रस्तुत गरेका छन् । हे विरुपाक्ष ! सुन, अब म तिमीलाई मातातीर्थको माहात्म्य बताउँछु ।  मातातीर्थ भनेको यस्तो तीर्थ हो, जहाँ स्नान मात्र गर्नाले पनि मानिस मातृऋण (दूधको ऋण)बाट मुक्त हुन्छ ।

विरुपाक्षलाई मातृसंसर्गको महापापले कुष्ठरोग लागेको थियो । सोही रोग निवारणका लागि सिद्ध ऋषि नेमुनिले तीर्थ घुमाएका थिए । यसै सिलसिलामा सिद्धि पाएको बाहुन विरुपाक्षले चैत्रकृष्ण अष्टमीका दिन मातातीर्थ स्नान गरेको हो, (हिमवत्खण्ड अध्याय १३९ श्लोक ११) ।

हाम्रा अधिकांश संस्कृति मानिसलाई सभ्यतातर्फ उन्मुख गराउने उद्देश्यले सुरुवात भएको बुझिन्छ । सभ्यतातर्फ उन्मुख हुनका लागि मानिसले पुराना धेरै अभ्यास र प्रवृत्तिलाई परिवर्तन गर्दै जानुपर्ने थियो । तर, समाजले बनाएको नियम तोडिने भएपछि अनेक कथाको सहारा लिएको देखिन्छ । 

कुलचन्द्र कोइरालाको पुस्तक ‘नेपाली सांस्कृतिक जात्रापर्व’मा उल्लेख भए अनुसार, धर्मशास्त्रमा प्रत्येक औँसीलाई पितृको श्राद्ध गर्ने दिन मानिन्छ । तापनि वैशाख कृष्ण औँसी (नेपाली संस्कृतिमा मातृऔँसी)लाई आमाको निम्ति विशेष तिथि मानिन्छ । आमा नहुनेहरूले यस दुई छाक भात खान पनि निषेध गरिएको छ र रात परेपछि खान वर्जित छ । यसलाई निशी बार्ने भन्ने चलन छ ।

उनका अनुसार, वर्ष सुरु हुने वैशाख महिनाको नाउँ माधव पनि हो र माधव विष्णुको प्रसिद्ध नाउँ हो । विशाखा नक्षत्रमा पूर्णिमा तिथि पर्ने यो महिनाको प्रचलित नाउँ वैशाख बनेको छ । वैशाख शुक्ल तृतीया तिथि (अक्षय तृतीया)मा दान गर्दा र पितृका निम्ति श्राद्ध गर्दा अक्षय फल प्राप्त हुने भनिएको छ । 

पुर्खाले गर्दै आएका धार्मिक अनुष्ठानहरूले धेरै अर्थतिर संकेत गर्छन् । अधिकांश अनुष्ठान भने मनशान्तिसँग सम्बन्धित देखिन्छन् । आमाबुवा जीवित छँदै उनीहरूको सेवासुश्रूर्षा गर्दा मनले जति शान्ति पाउँछ, त्यो शान्ति मृत्युपछि दिइने श्राद्धसँग तुलना हुँदैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप