शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

वैज्ञानिक कथा : मांसाहारीको जीवन

मङ्गलबार, १२ वैशाख २०८०, १० : ०१
मङ्गलबार, १२ वैशाख २०८०

‘यो हत्या र हिंसा भनेको के हो बाबा !’ बालक छोरो अबोधले बाबु सुबोधसँग सोध्यो । 
‘हत्या भनेको काट्नु र मार्नु हो भने हिँसाको अर्थ धेरै हुन्छन् बाबु !’ सुबोधले हचुवामै उत्तर दिए । अबोध त्यतिमै रोकिनएन र थप जिज्ञासा तेर्स्याउँदै भन्यो–
‘त्यो धेरै भनेको कति हो नि बाबा !’  

‘सानै छौ, अहिलेलाई यति बुझ अरूलाई दुःख दिनु, दुव्र्यवहार गर्नु, दुर्वचन बोल्नु, कसैको मन दुखाउनु, मन दुखाउने कुरा गर्नु, अरूको मानसम्मान, इज्जत र प्रतिष्ठा आदिमा मनले, वचनले र शरीरले हानिनोक्सानी पु¥याउनु, कसैप्रति दुर्भाव वा कुभावना राख्नु, कसैको अनावश्यक कुरा काट्नु, घृणा र तिरस्कार गर्नुजस्ता सबै व्यवहार हिँसाभित्र पर्छन् बाबु !’ सुबोधले छोराको जिज्ञासा मेटाउने प्रयास गरे । 
‘त्यसो भए अरूमाथि गरिने सबै किसिमको नराम्रो व्यवहार हिँसामा पर्दा रहेछन् होइन ?’
‘हो, ठीक भन्यौ बाबु !’
‘यस्तो व्यवहार कसैप्रति कसैले पनि गर्नुहुँदैन हो ?’
‘गर्नमात्र होइन सोच्नसम्म पनि हुँदैन ।’
‘ग¥यो भने के हुन्छ नि बाबा !’
‘पाप लाग्छ बाबु पाप ।’

‘त्यो पाप भनेको चाहिँ के हो नि बाबा !’
‘के भन्ने खोइ । जुन कामले बाँचुन्जेल दुःख दिन्छ, अरूले नराम्रो आँखाले हेर्छन् र अन्त्यमा यमदूतले पिट्छन्, नरकमा पर्नुपर्छ त्यस्ता काम सबै पाप हुन् ।’
‘ओ हो ! साह्रै डर लाग्दो पो रहेछ ।’
‘हो त नि !’
‘अनि नि ?’
‘के अनि बाबु ?’ 

‘यही कि मांसाहार गर्ने पशुपक्षीलाई पनि पाप लाग्छ होला नि होइन ?’
‘किन र ? उनीहरूले त्यस्ता के काम गरेका हुन्छन् र पाप लाग्ने ?’
‘किनकि उनीहरूले पशुपक्षी कीरा कमिला मारेर खान्छन् नि ?’
‘त्यो त हो तर उनीहरूलाई पाप लाग्दैन ।’
‘किन बाबा ! उनीहरूलाई चाहिँ नलाग्ने ?’
‘किनकि उनीहरूले खानका लागि मारेका हुन् ।’
‘त्यसो भए खानका लागि मार्दा चाहिँ पाप लाग्दैन हो ?’
‘हो, त्यस्तै बुझ । आहाराका लागि मार्दा पाप लाग्दैन ।’
‘त्यसो भए मानिसले मार्दामात्र किन पाप लाग्छ त बाबा !’

‘किन कि मांसाहारी पशुपक्षीलाई प्रकृतिले तोकिदिएको आहार नै त्यही हो । त्यसैले पाप लाग्दैन तर मानिसका लागि तोकिएको आहार त्यो होइन । त्यसैले पाप लाग्छ ।’
‘मासु त मानिसले पनि खान्छन् नि ?’

‘खान त खान्छन् तर उनीहरूको आहारा त्यो होइन । प्रकृतिले जसलाई जुन आहारा तोकिदिएको हुन्छ त्यही नै उनीहरूको आहारा हो । मासाहारी जनावरको मासु नै आहारा हो । त्यसैले उनीहरूले बाँच्नकै लागि पानि अरूलाई मार्नैपर्छ तर मानिसको आहार त्यो नभएकाले मार्नुहुँदैन ।’
‘त्यसो भए मानिसले किन मासु खाएका त बाबा ।’
‘खाए पनि यो भनेको उनीहरूलाई नतोकिएको आहारा हो । त्यसैले त्यसको फल मानिस आफैँले पाइरहेका छन् ।’
‘कसरी बाबा ?’

‘कसरी भन्ने, पिता पुर्खा एउटै ट्याबलेट नखाएर सय वर्ष बाँच्दथे । अहिलेका मानिस आमाको पेटबाटै औषधी खाएर आउँछन् । तैपनि नानाभाँतीका रोगले छाडेको छैन ।’
‘कुरो अलि बुझिएन नि बाबा !’ 
‘प्रष्टै छ नि बाबु ! मांसाहारी पशुपक्षीको शरीर नै त्यस्तै हुन्छन् । दाह्रा हुन्छन्, नङ्ग्रा हुन्छन्, चुचा हुन्छन् । पाचन प्रक्रिया पनि त्यस्तै हुन्छ । माछा, मासु खान्छन् त्यो पनि काचै । अझ कतिले त सिङ्गै निल्छन् । तैपनि उनीहरूलाई पेट दुःख्दैन । जेजे खान्छन् सबै पचाउन सक्छन् तर मानिसको त्यस्तो हुँदैन । उनीहरूको आहारा भनेको फलफूल, दूध, दही र अन्न हो । त्यसमा पनि धेरै यस्ता छन्, जसलाई नपाकाई खानै हुँदैन । नत्र पचाउन सकिन्न, पेट दुख्छ, अनि यसैका कारण अनेक किसिमका रोग लाग्छन् । देखेका छैनौ संसारमा कति असपाताल बनेका छन्, कति वैद्यखाना खुलेका छन् । रोग जाँच्ने औजारहरू बनेका छन् । तैपनि रोगले छाडेको छैन । केही रोग त यस्ता पनि छन्, जसको यस अघि नामै सुनिएको थिएन । यसको अर्थ हो मांसाहारी पशुपक्षीको आहार नै मासु थियो । त्यसैले उनीहरूलाई पाप लागेन । अर्थात् पचाउन सके रोग लागेन तर मानिसको आहारा त्यो थिएन । त्यसैले पाप लाग्यो । अर्थात् पचाउन सकेनन्, रोग लाग्यो र दुःख पाउनुप¥यो ।’ सुबोधले लामो व्याख्यान दिए ।

अनि यमदूतले पिट्छन्, नरक जानुपर्छ भनेको के हो नि बाबा ।’ अबोधले थप जिज्ञासा राख्यो ।
‘यमदूतले पिट्छन् भनेको र नरक जानुपर्छ भनेको दुःख पाउनु हो बाबु !’ सुबोधले थप प्रष्ट्याउँदै भने–
‘यमदूत भनेका यमराजका दूत हुन् । यमराज भनेको समय वा त्यसको व्यवस्थाक हो । यसो भन्नुको अर्थ समयले दुःख दिन्छ भन्नु हो । रोगको मूल घर भनेकै पेट हो । प्रायः सबै रोगको उत्पत्ति पेटबाटै उत्पन्न हुन्छ । जब मानिस आफू प्रतिकुल आहार गर्न थाल्छ तब राम्ररी पचाउन सक्दैन र रोग लाग्छ । यमदूतले पिट्छन् भनेको यही हो ।’ ‘अनि नरक जानुपर्छ भनेको नि ?’ 

‘यो भनेको पनि त्यस्तै हो । जब रोगले थलिएर दिसा पिसावमा डुबेर बस्नुपर्ने अवस्था आउँछ तब उसको बास नरककुण्डको जस्तो हुन्छ । किनकि नरक कुण्ड भनेको यस्तै अवस्थाको नाम हो बुझ्यौ ?’
‘बुझेँ बाबा !’
के बुझ्यौ भन त ।’
‘यही कि मानिसले मांसाहार गर्नु ठूलो पाप रहेछ । यस्तो आहार गर्दा रोग लागेर जीवनभर दुःख पाउनुपर्ने रहेछ । त्यसैले आजैदेखि मांसाहार नगर्ने कसम खान्छु ।’ 
‘स्यावास बाबु ! ठीक भन्यौ, खुसी लाग्यो ।’
उनीहरू बाबुछोराबीच यस्तै कुरा हुँदै थियो । भित्रबाट आमा सरलाले खाना खान बोलाइन् । उनीहरू भान्छाकोठातिर लागे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कमल रिजाल
कमल रिजाल
लेखकबाट थप