मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

वीर अस्पतालमा ‘एमआरआई’ गर्न बिरामीलाई हैरानी: हप्तौँसम्म कुर्नुपर्ने बाध्यता

बुधबार, १३ वैशाख २०८०, ०७ : १४
बुधबार, १३ वैशाख २०८०

काठमाडौँ । बारा निजगढका शंकर क्षेत्रीलाई बेला बेलामा शरीर झम्झमाउने, आलोपालो गरी शरीरका फरक फरक अङ्ग लाटो हुने, नचल्ने भएपछि उपचारका लागि वीर अस्पतालमा आइतबार उपचारका लागि पुगेका थिए । 

चिकित्सकले उनको स्वास्थ्य परीक्षणकै क्रममा एमआरआई गर्न सुझाव दिए । उनको एमआरआई गर्ने पालो भने वैशाख १७ गते परेको छ । 

उपचारका लागि राजधानी बाहिरबाट आएकोमा एमआरआईका लागि साता दिनसम्म कुर्दा खर्च नबढ्ने कुरै भएन । त्यसैले, चाँडै पालो सारिदिन भन्दै उनका आफन्त अस्पतालका कर्मचारीसँग अनुरोध गर्दै थिए । 

यस्तै, नुवाकोटकी तुलसीकुमारी अधिकारी टाउको दुख्ने, वाकवाक आउने समस्या दोहोरिएपछि उपचारका लागि वीर अस्पताल आएकी थिइन् । ७२ वर्षीया अधिकारीलाई पनि चिकित्सकले एमआरआई गर्न सुझाए । 

अधिकारी उपचार गराउन २०७९ चैत्र २५ गते आए पनि उनको एमआरआई गर्ने पालो १७ दिन पछि थियो । सोहीअनुसार उनी दोस्रो पटक गाउँबाट आएर वीर अस्पतालमा एमआरआई गर्न आइतबार पुगेकी थिइन् ।  

यसरी वीर अस्पतालमा एमआरआईका लागि एक सातादेखि दुई सातासम्म बिरामीले कुर्नुपर्ने बाध्यता छ । एमआरआई शुल्क अन्य अस्पतालको तुलनामा सस्तो भए पनि लामो समयसम्म कुर्नुपर्ने बाध्यताका कारण बिरामीहरू सास्ती खेप्न बाध्य छन् । 

वीर अस्पतालमा उपचारसँगै एमआरआई गर्नेमध्ये दैनिक ६÷७ जनाले पहुँचका आधारमा साही दिनै पालो पाउने गरेको अस्पतालका एक कर्मचारीले बताए । उनी भन्छन्, ‘तर टाढा टाढाबाट आएका सर्वसाधारण भने पालो नै कुर्नुपर्ने बाध्यतामा छन् ।’ 

टाउको, गर्धन, घुँडा, कम्मर, पेट लगायतको अङ्गको उपचार गर्न गएकालाई आवश्यकताका आधारमा  एमआरआईका लागि सिफारिस गरिन्छ । 

दिनमा अस्पतालको सबै विभागबाट एक सयदेखि डेढ सयसम्मलाई एमआरआईका लागि सिफारिस गरिने अस्पतालले जनाएको छ । धेरै जसो अर्थोपेडिक डिपार्टमेन्ट, न्युरो सर्जरी, न्युरो मेडिसिन, चेष्टको लगायतका विभागमा उपचार गर्न आएकालाई एमआरआई गर्न चिकित्सकहरूले सिफारिस  गर्ने अस्पतालले जनाएको छ ।

एमआरआईको चाप 

वीर अस्पतालको एमआरआई चापमा चलेको अस्पतालका  कार्यकारी निर्देशक डा. सन्तोष पौडेलले बताए । ‘अन्य एक्सरे जस्तो एमआरआई चाँडो हुँदैन ।’ उनले भने, ‘एमआरआई गर्दा बिरामी आनन्दले सुतेपछि मेसिनले स्क्यान गर्ने समयसम्म कुर्नुपर्छ । बिरामीको रोगको प्रकृतिअनुसार  एमआरआई गर्न समय लाग्छ ।’ 

क्यान्सर लगायतका केही रोगीलाई औषधी दिएर समेत एमआरआई गरिन्छ । जसलाई एक घण्टासम्म समय पनि लाग्न सक्ने उनले बताए ।

बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म दिनमा २५ वटा एमआरआई गरिने उनको भनाइ छ । शनिबार बिदाको दिनमा समेत अस्पतालले एमआरआई मेसिनलाई सञ्चालन गर्ने गरेको अस्पतालका कार्यकारी निर्देशक डा   पौडेलले बताए ।

‘बिरामीलाई सकेसम्म बढीभन्दा बढी सेवा दिन लामो समयसम्म एमआरआई मेसिन सञ्चालन गरेका छौँ,’ उनले भने, ‘अन्य ठाउँमा एमआरआई गर्ने दर दैनिक १२÷१३ वटा हुन्छ, हाम्रो कम्तीमा दैनिक २५ वटासम्म गरिन्छ ।’ 

वीर अस्पताल एमआरआई गर्ने मेसिन एउटा मात्रै छ । एमआरआई मेसिन सर्भिसिङका लागि केही समय मात्रै छुट्याइएको छ ।

गम्भीर प्रकृतिका बिरामी, आकस्मिक रुपमा एमआरआई गर्नु परेमा पालो कुर्नु नपर्ने उनको जिकिर छ । 

एमआरआई मेसिन खर्चिलो र खरिद प्रक्रिया लामो भएकाले तत्काल नयाँ मेसिन थप्ने योजना नभएको निर्देशक पौडेलको भनाई छ ।

सिटी मेसिन बनाइँदै 

वीर अस्पतालमा सिटी स्क्यान गर्ने मेसिन पनि एउटै मात्र छ । सिटी मेसिन चौबीसै घण्टा सञ्चालन गरिएको छ ।  सिटीको कम क्षमता भएको तथा मेसिन बिग्रिएकाले मर्मत कार्य भइरहेको उनले जनाए । 

पछिल्लो समय अस्पतालमा सिटी स्क्यान गर्ने दर बढाएर  दैनिक ७५ जनासम्म पुर्‍याएको उनको भनाइ छ । एमआरआईको तुलनामा सिटी स्क्यान चाँडो हुने उनको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप