मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
सरोकार

धुलो टकटक्याउन मात्र खुल्छ वीर अस्पतालको भीभीआईपी उपचार कक्ष

मङ्गलबार, १२ वैशाख २०८०, १२ : ०३
मङ्गलबार, १२ वैशाख २०८०

काठमाडौँ । लामो इतिहास बोकेको वीर अस्पतालको अति विशिष्ट (भीभीआईपी) उपचार कक्ष वर्षौँदेखि प्रयोगविहीन बनेको छ । सरकारका विशिष्ट व्यक्ति सामान्य स्वास्थ्य उपचार गराउन पनि विदेश जाने प्रवृत्तिले वीर अस्पतालको भीभीआईपी कक्ष उपयोगविहीन बनेको हो ।

विगत १६ वर्ष यता राष्ट्रका कुनै पनि भीभीआईपी वीर अस्पतालमा उपचारका लागि पुगेका छैनन् । राज्यले राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख लगायतका विशिष्ट व्यक्तिलाई विदेशमा गरिने उपचारका लागि ठूलो धनराशि खर्च गर्छ ।

सामान्य स्वास्थ्य उपचारका लागिसमेत बेलाबेलामा भीभीआईपी विदेश धाउने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् । वीर अस्पतालमा तत्कालीन राजपरिवारका सदस्यहरूले क्याबिनमै बसेर उपचार गराएको अस्पतालको रेकर्डमा देखिन्छ । यद्यपि गणतन्त्र आएपछि कुनै पनि भीभीआईपी भनेर तोकिएका राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखको नजरमा वीर अस्पताल परेको छैन ।

अस्पतालकी भीभीआईपी तथा भीआईपी उपचार कक्षकी इन्चार्ज सीता घिमिरेले यस कक्षमा उपचार गराउन वर्षौँदेखि कोही नआएको बताइन् ।

‘भीभीआईपी कक्ष सुविधासम्पन्न छ,’ उनले भनिन्, ‘म यहाँको इन्चार्ज भएपछि उपचारका लागि कोही पनि आउनु भएको छैन ।’

bir hospital vvp ip room (1)

नेपालमा सार्क सम्मेलन हुँदा अति विशिष्ट उपचार कक्षलाई अझै सुविधासम्पन्न बनाइएको उनले बताइन् । अस्पतालका अनुसार सार्क सम्मेलनका समयमा भीभीआईपी उपचार कक्षलाई थप सुविधासम्पन्न गराउन करिव २८ करोड खर्च  गरिएको थियो ।

इन्चार्ज घिमिरेका अनुसार दाँतको उपचारका लागि पूर्व राष्ट्रपति डा.रामवरण यादव पुगेका थिए । वीर अस्पतालमा थप सुविधासम्पन्न भीभीआईपी कक्ष बनाए पनि भीभीआईपीहरु उपचारका लागि विदेश धाउने परम्परा कायमै छ । गत सोमबार राष्ट्रपति रामचन्द्र पौडेल उपचारका लागि भारतको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स ‘एम्स’मा पुगेका छन् ।

राष्ट्रपति पौडेलको फोक्सोमा देखिएको सङ्क्रमणमा सुधार नआएपछि उपचारका लागि भारत पुगेका हुन् । यद्यपि राष्ट्रपति पौडेल स्वदेशमा दक्ष चिकित्सक हुँदाहुँदै उपचारका लागि भारत गएको नेफ्रोलोजिस्टहरूको भनाइ छ ।

bir hospital vvp ip room (3)

वीर अस्पतालको सुविधासम्पन्न तर उपयोगविहीन भीभीआईपी उपचार कक्ष सरसफाइका लागि हप्ताको एकपटक खोल्ने गरिन्छ । सफाइसँगै शय्याको कभर, पर्दा, सोफाका कभर, कार्पेट धुने काम नियमित चलिरहेको तर यहाँ उपचारका लागि कोही नआएको कर्मचारीहरू बताउँछन् ।

भीभीआईपी उपचार कक्षमा ५ वटा कोठा छन् । जसमा बिरामीको कोठासहित भान्सा, आफन्त तथा स्वकीय सचिव बस्ने कक्ष, अतिथि कक्ष, कुरुवा, सुरक्षाकर्मी बस्ने कोठाहरू छन् ।

bir hospital vvp ip room (2)

वीर अस्पतालको विशिष्ट (भीआईपी) उपचार कक्षमा भने सात वर्ष यता ३९ जना उपचारका लागि भर्ना भएका थिए । भीभीआईपी तथा भीआईपी कक्षको रेकर्डअनुसार २०७२ सालमा २ जना उपचारका लागि भर्ना भएका भएका थिए । यस्तै २०७३ मा २ जना, २०७४ मा ४ जना, २०७५ मा ५ जना, २०७६ मा ९ जना, २०७७ मा ५ जना, २०७८ मा ८ जना, र २०७९ मा ४ जना उपचारका लागि भर्ना भएका थिए ।

जसमा २०७८ मा ज्येष्ठ नागरिक, महिला तथा बालबालिका मन्त्री रमा रेग्मी, २०७९ मै स्वास्थ्यमन्त्री दुई पटकसम्म भर्ना भई उपचार गरेको थिए भने राज्यमन्त्री हिराबहादुर केसीले पनि उपचार गराएका थिए ।

सात वर्षको अवधिमा भीआईपी उपचार कक्षमा सांसदहरू, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, एमालेका सचिव योगेश भट्टराई, सांसदहरू शान्ता चौधरी, मीनबहादुर विश्वकर्मा, नेतृ रामकुमारी झाँक्री लगायतले उपचार गराएका थिए ।

विशिष्ट उपचार कक्षमा ४ वटा कोठा छन् । यस कक्षमा बिरामी बस्ने कोठासहित भान्सा, सुरक्षाकर्मी बस्ने कोठा, अतिथि कक्ष, कुरुवा कक्ष छन् । सबै कोठामा अट्याच बाथरुम छ । यस्तै बिरामी उपचारका लागि भीभीआईपी र भीआईपी कक्षसँगै चिकित्सक र नर्सका लागि छुट्टै कोठा पनि छ ।

bir hospital vvp ip room (4)

उपचारका लागि तयार बस्छन् स्वास्थ्यकर्मी

भीभीआईपी र भीआईपी कक्षमा उपचार गराउन आउनेहरूका लागि सधैँ स्वास्थ्यकर्मी, स्वास्थ्य उपकरण सहित कक्षलाई तयारी अवस्थामा राखिरहेको वीर अस्पतालका कार्यकारी निर्देशक डा. सन्तोष पौडेलले बताए ।

‘वीरका भीभीआईपी र भीआईपी कक्ष सुविधासम्पन्न छन्,’ उनले भने, ‘बिरामी कुरेर बसेका छौँ तर, त्यति बिरामी आउनु भएको छैन । भीआईपी कक्षमा बेलाबेलामा उपचारका लागि आउने गर्नुहुन्छ ।’

दुईवटै कक्षमा जतिबेला उपचारका लागि आए पनि वीर अस्पताल तयारी अवस्थामा रहेको उनले बताए ।

उनले भने, ‘भीभीआईपी र भीआईपी कक्षमा उपचार गर्न आएपछि तत्काल अन्य वार्डसँग समन्वय गरी डाक्टर, नर्स तयारी अवस्थामा हुन्छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप