सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

‘इफ एण्ड बट’को कुरै हुँदैन, नक्कली शरणार्थी प्रकरणमा जोडिएका सबैलाई कारबाही गर्नुपर्छ’

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी ब्याक हुन सक्दैन : डा. शेखर कोइराला
बुधबार, २७ वैशाख २०८०, १३ : ५६
बुधबार, २७ वैशाख २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणमा देशका उच्च ओहोदाका कर्मचारी र राजनीतिक नेतृत्वको संलग्नता खुलेको छ । उनीहरू धमाधम पक्राउ परिरहेका छन् । यसैबीच पूर्व गृहमन्त्री बालकृष्ण खाणसमेत पक्राउ परेका छन् । यो विषय सामसुम पार्न शीर्ष तहमा नेताहरू लागेको पनि सार्वजनिक टीकाटिप्पणी भइरहेको छ । 

यस्तै, नेपाली काँग्रेसमा महामन्त्री गगन थापाले मन्त्री सिफारिस गरेको विषयलाई लिएर खुलेरै पार्टीभित्रको असन्तुष्टि बाहिर पोखेका छन् । काँग्रेसका नेता डा शेखर कोइराला पार्टी सभापति शेरबहादुर देउवासँग मिलेर महामन्त्रीद्वयलाई पेलेको आरोप पनि छ ।, प्रस्तुत छ यिनै विषयमा केन्द्रित रही विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूले काँग्रेस नेता डा शेखर कोइरालासँग गरेको कुराकानीको सम्पादित अंश:

नक्कली भुटानी शरणार्थीको विषयमा काँग्रेसका ठुला नेताहरू पनि जोडिएका छन् । शीर्ष नेताहरूले यो काण्डलाई मिलेर सामसुम पार्न खोजेको भन्ने आरोप पनि लागेको छ । यस विषयमा तपाईंको धारणा के हो ? 

–देशको लागि यो एकदमै लज्जास्पद कुरा हो । प्रहरी, प्रशासनले जुन अनुसन्धान गरिरहेको छ । त्यो अब रोकिन्छ जस्तो मलाई लाग्दैन । किनभने यो राजनीतिक वृत्तमा राष्ट्रिय स्तरमा आइसकेको छ । यो अन्तर्राष्ट्रिय स्तरमा पनि गइसक्यो । यो शरणार्थीलाई अमेरिका पठाउने भनेपछि उनीहरू पनि सशङ्कित हुन्छन् नि त । यो के भइरहेको छ नेपालमा भनेर । त्यसैले, यो रोकिन्छ भन्ने मलाई विश्वास लाग्दैन । 

आजसम्म प्रहरी प्रशासनले गरेको कामलाई गरेको भन्नु पर्छ । यसमा जो–जो पर्छन्, दोषीलाई कारबाही कारबाही गर्नुपर्छ । इफ एण्ड बटको कुरै हुँदैन । तपाईंहरू कन्फ्युज नहुनुहोस् । प्रहरीले अनुसन्धान गरिरहेको छ । त्यो एउटा लेबलसम्म पुग्छ पुग्छ । त्यो प्रहरीले गरेर अदालतमा जानुपर्छ । 

यसमा राजनीतिक दबाब हुनुहुँदैन । यो विषयमा तीन जना नेताहरू बसेर छलफल गरे, दुई जनाले छलफल गरे भनेको विषय हामीले पढिरहेका छौँ । तर, उहाँहरूले जे सुकै कुरा गर्नुहोस् । मैले अघि पनि भने फेरि एक पटक रिपिट गर्छु । यो विषय अन्तरराष्ट्रियकरण भइसकेको छ । त्यसैले, त्यति सजिलो गरी अब प्रहरी प्रशासन पनि ब्याक हुन सक्दैन । 

को सानु भण्डारी ? मैले उसलाई चिनेको पनि छैन ।

तपाईंको पनि नाम जोडिएको छ त ?

– हा हा हा....

यदि तपाईंको पनि संलग्नता देखियो भने के गर्नुहुन्छ ? तपाईंको संलग्नताको दबी गर्दै अडियो पनि आएको छ त ।

– के मैले बोलेको अडियो आएको छ र ? मैले बोलेको सुन्नु भएको छ ? त्यसै अनुमान नगर्नुहोस् तपाईंहरु ।

सानु भण्डारीले तपाईंलाई पैसा दिएको अरे त ?

को सानु भण्डारी ? मैले उसलाई चिनेको पनि छैन । तपाईं केशव दुलाल भन्नुहुन्छ भने उसलाई मैले चिनेकै हो । घरैमा आउँछ, भेट्छ । तपाईंहरुसँग पनि उसले फोटो खिचेको होला । यसको माने शेखर कोइराला पनि सहभागी छ भन्ने ? यस्ता फाल्तु कुरा नगर्नुहोस् । यसमा म कतै पनि कहिल्यै पनि र केहीमा पनि इन्भल्ब छैन । 

यस विषयलाई थामथुम पार्न जुन दबाब आइरहेको छ । आरजु देउवा र बालकृष्ण खाण जोडिएपछि फेरि विषय अर्कैतिर गएको हो ? 

– तपाईंहरु पनि एउटा माइन्ड सेट लिएर बस्नु भएको छ । पहिले फ्याक्ट के हो त्यसमा जानुपर्छ । प्रहरीले अनुसन्धान गर्दैछ । त्यसलाई पर्खनु न । तपाईंहरुलाई के लागेको छ भने यो टाइँ टाइँ फिस हुन्छ भन्ने लागेको छ । त्यो नहोस् भनेर तपाईंहरु पनि भनिरहनुहोस् । हामी पनि बोलिराखेका छौँ । यसमा प्रहरी सम्वेदनशील ढंगले काम गरिरहेको छ नि । (उनीसँग कुरा गरेलगत्तै बालकृष्ण खाण पक्राउ परेका छन् ।)

अर्को प्रसङ्ग । कोशी प्रदेश सरकार परिवर्तन गर्ने कि नगर्ने ? 

– कसरी परिवर्तन गर्नुहुन्छ । पहिले त्यो बताउनु होस् । मेरो चाहना भनेको नेपाली काँग्रेसको नेतृत्वमा सरकार बनोस् । काँग्रेस विपक्षमा छ । माओवादी र जसपा सरकारमा छन् । जो कि केन्द्रमा हामीसित गठबन्धनमा छन् । पहिले उनीहरूले सरकारबाट समर्थन फिर्ता लिनुपर्‍यो नि त । उनीहरूले समर्थन फिर्ता नलिइकन हामीले के गर्न सक्छौँ ?

उहाँहरूको असन्तुष्टि के हो भन्ने विषयमा महामन्त्रीसँगै सोध्नुहोला ।

काँग्रेस संसदीय दलको नेता परिवर्तनको खेल पनि भइरहेको छ नि ...।

– यो कुरा सेकेण्डरी पार्ट हो । बिग्रिएकै यही कुरा हो । पहिलो कुरा त माओवादी र जसपाले सरकारबाट समर्थन फिर्ता नलिएसम्म हामीले केही गर्न सक्दैनौँ । 

अर्को प्रसङ्ग, काँग्रेसका दुवै जना महामन्त्री किन असन्तुष्ट हुनुभएको ? उहाँहरूको खास असन्तुष्टि के हो ? 

– तपाईंहरुले के सुन्नुभयो, थाहा छैन ? जो मन्त्री बन्नुभएको छ, नेपाली काँग्रेसबाटै मन्त्री बन्नुभएको छ । सबैसँग सल्लाह गरेरै भएको छ । उहाँहरूको असन्तुष्टि के हो भन्ने विषयमा महामन्त्रीसँगै सोध्नुहोला । मसँग सोधेर त हुन्न होला नि त ।

तपाईंको खेमामा हुनुहुन्थ्यो महामन्त्री गगन थापा । पछि तपाईंसँग असन्तुष्ट भएजस्तो र शेरबहादुरसँग संघर्ष गर्ने कुरामा पनि तपाईंसँग नमिलेको जस्तो र दुवैतिर पेलाइमा परेको आशय छ नि ? 

– तपाईंले आशय बुझ्नु भयो होला । मसित कुनै किसिमको तिक्तता छैन । हिजो पनि हामीले डेढ दुई घण्टा बसेर कुरा गरेका छौँ । यहाँ तपाईंहरु चिन्ता गर्नुपर्ने कुनै कारण छैन । 

महामन्त्री गगन थापा विरक्तिनु भएको चाहिँ किन त ? 

– नेपाली काँग्रेसको महामन्त्री भएपछि विभिन्न कुरा आउँछन् । पार्टीको महामन्त्रीले जसरी काम गर्नुपर्ने थियो, त्यसरी भएन भन्ने साथीहरूले भन्छन् । त्यस्ता धेरै कारणहरू हुन्छन् । त्यो सभापतिजीसँगको असन्तुष्टि पोखेको होला । पदाधिकारीको बैठक भइरहन्छ । त्यहाँ कुरा राख्नु भएको होला । 

त्यो कुरा चाहिँ सामाजिक सञ्जालमा आयो नि त ? 

– त्यो बुझेँ मैले, बैठकमा कुरा राखेपछि सामाजिक सञ्जालमा आएको हो । 

काँग्रेसको आगामी कार्यक्रम कस्तो हुनु पर्छ ? 

नेपाली काँग्रेस आफ्नो सोचाई छ, विचार छ, सिद्धान्त छ । एक्लै चुनाव लड्ने भन्ने हामीहरूले सुरु गर्नुपर्छ । मैले त सुरु गरिसकेको छु । महामन्त्रीजीहरुले पनि यही कुरा गर्नुभएको छ । त्यसकारण हामीले हाम्रो संगठनलाई एकदम वडासम्म पुर्‍याउनु पर्‍यो । टोलसम्म पुर्‍याउनु पर्नेछ । खाली चुनावको बेलामा मात्रै पुग्ने होइन, अरुबेला पनि पुग्नु पर्नेछ । जनतासँग जोडिनुपर्ने हामीहरुको आवश्यकता छ । 

पार्टी सभापति शेरबहादुर देउवाको जुन मनोभावना र कार्यशैली छ, त्यसबाट पार्टीको कार्यप्रणाली मजबुत हुने सम्भव छ त ? 

सम्भव गराउनु पर्छ हामीले । कुरा गराउनु पर्छ । छलफल गरिरहेका छौँ । तपाईंहरु किन चिन्ता गर्नुहुन्छ । 

पार्टी सभापति देउवासँग भावी सभापतिको रूपमा तपाईंको सहमति भइसकेको हो ? 

–पार्टी सभापति कसैले दिएर दिने कुरा हो ? सभापतिको लागि चुनाव हुन्छ । त्यहाँ कसले हार्छ, कसले जित्छ, अहिले नै कसरी थाहा हुन्छ ? यस्तो मनगढन्ते कुरा किन गर्नुहुन्छ तपाईं ।

पार्टी सभापति निष्क्रिय हुनुभयो भन्ने गुनासो छ । कसरी पार्टी चल्छ त ? 

अब पार्टीको महाधिवेशन प्रतिनिधिहरूले उहाँलाई जिताएर पठाएको हो । महाधिवेशन प्रतिनिधिसँगै तपाईंले सोध्नुहोला । मोरङमा पनि हुनुहुन्छ होला, उहाँहरूसँगै सोध्नुहोस् । 

भर्खरै जनतासँग जोडिने भन्नु भयो । त्यो कार्यक्रम चाहिँ के हो त ? 

हामी जनतासँग अलिक टाढा भयौँ । दोस्रो कुरा भनेको पार्टी स्थापना हुँदा वीपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर राणाहरूले जनतासँग जोडिएर काम गर्नुभयो । त्यसपछि हामी जनतासँग जोडिएरै अगाडि बढेका थियौँ । जनताको मर्मलाई बुझेर अगाडि बढेरै यहाँसम्म आइपुगेका हौँ । 

तर अहिले हामी जनतासँग टाढिएको महसुस मैले गरिरहेको छु । त्यसकारण हामी पुरानै बाटोमा फर्किनु पर्‍यो । जनतासँग जोडिनु पर्‍यो । जनतासँग जोडिनका लागि अहिले अरु धेरै उपाय छ । त्यसबेलाको जस्तो छैन । त्यसकारण जनतामा जानुपर्छ । जनतासँग घुलमिल हुनुपर्छ । नेपाली काँग्रेसले मात्रै गर्न सक्छ भन्ने जुन व्यापक रूपमा आएको छ, त्यसलाई फेरि अगाडि लानुपर्छ । 

पार्टी नेतृत्व असफल भइसकेको जस्तो लाग्दैन ? 

– होइन सफल, असफल केही लागेको छैन । 

पार्टीको नीति महाधिवेशनको कुरा चाहिँ कहाँ पुग्यो ? 

– नीति महाधिवेशनको कुरा त अहिले पनि गरिरहेकै छु नि । त्यो छिटोभन्दा छिटो गर्नुपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप