सोमबार, ०५ जेठ २०८२
ताजा लोकप्रिय

राइड सेयरिङ नियमावली जारी गरिएपछि राइडर्समा उत्साह

आइतबार, ०४ जेठ २०८२, १९ : २८
आइतबार, ०४ जेठ २०८२

पोखरा । नेपालमै पहिलोपटक गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमन तथा व्यवस्थापन सम्बन्धी नियमावली जारी गरेको छ । 

वैशाख ३१ गते बसेको मन्त्रिपरिषद बैठकले राइड सेयरिङलाई वैधानिकता दिने गरी नियमावली पारित गरिएको हो । नियमावली पारित भएपछि राइडर्सहरु उत्साहित देखिएका छन् । राइडर्स तथा सेल्फ ड्राइभ व्यवसायीहरुले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेर नियमावली पारित गरेकोमा धन्यवाद ज्ञापन गरेका हुन् ।

राइडर्स नेपाल पोखराका अध्यक्ष अनिल श्रेष्ठले नियमावलीसँगै हजारौं युवाको रोजगारीमा स्थायित्व ज्ञारेण्टी भएको बताए । ‘यहाँ प्रशस्त राइड सेयरिङ चलिरहेकै थियो र हजारौं व्यक्तिले यसबाट सेवा पाइरहेकै थिए । हामीले पनि सेवा दिइरहेका थियौं,’ उनले भने, ‘यात्रुले सजिलो, छिटो, स्तरीय सेवा पाउन् र हामीजस्ता युवाहरुको रोजीरोटीको पनि गण्डकी सरकारको यो निर्णयले ग्यारेन्टी गरेको छ ।’

सेल्फ ड्राइभ व्यवसायी रमेशराज पाण्डेले पनि नियमावलीको प्रशंसा गर्दै सरकारले सेवामैत्री नियमावली पारित गरेको बताए । ‘पहिले व्यवसाय गर्न अनेकन समस्या थियो । अब भने स्पष्ट कानुनी ढाँचाभित्र रहेर व्यवसाय गर्न सहज हुनेछ,’ उनले भने, ‘पर्यटकलाई गुणस्तरीय सेवा दिन सकिने भएको छ । जुन पर्यटन प्रवद्र्धनका लागि समेत सकारात्मक संकेत हो । अब पहिलेजस्तो दुःख भोग्नु नपर्ला भन्नेमा विस्वस्त छौँ ।’

भेटमा मुख्यमन्त्री पाण्डेले यात्रुको सुरक्षा र सुविधामा विशेष ध्यान दिन राइडर्सहरुसँग आग्रह गरे । ‘सरकारले नियमावली ल्याएको छ । यसलाई व्यवस्थित गर्ने दायित्व तपाईंहरुकै हो,’ उनले भने, ‘यात्रुले सुरक्षित र सहज सेवा पाउन सकुन् भन्ने हाम्रो मान्यता छ । तपाईंहरु सचेत रहनुपर्छ ।’ उनले राइड सेयरिङ नियमावलीले यातायात व्यवसायीहरुलाई समेत मर्का नपर्ने बताए ।

‘नियमावलीले यातायात संचालन गरिरहेका व्यवसायीलाई पनि घाटा हुँदैन,’ उनले भने, ‘भाडाका सवारी सञ्चालन गर्दै आएका कम्पनीलाई प्रोत्साहित गर्न दर्तामा छुट दिने नीति लिइएको छ ।’ 

राइड सेयरिङमा दर्ता हुने कम्पनी र एप्सले सुरक्षाको सबै मापदण्ड पुरा गरेको हुनुपर्छ । प्रक्रिया पुरा नगर्नेहरुलाई जरिवाना धेरै रहेको स्मरण गराउँदै मुख्यमन्त्री पाण्डेले भने ‘अटेर गर्नेलाई छुट हुँदैन । सबैले नियम पालना गर्नुहोला, सबैलाई गर्न भन्नु पनि होला ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप